Comments Add Comment

हत्या गरिएका राष्ट्रपतिकी पत्नीको बयान : उनीहरुले सोचे, म मरिसकेकी छु

मार्टिन मोइसे

२० साउन, काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या हुँदा उनकी पत्नी पनि घाइते भएकी थिइन् । यो घटनामा उनी एक्लो प्रत्यक्षदर्शी हुन् । निको हुने क्रममा रहेकी मार्टिन मोइसेले हालै मात्र राष्ट्रपतिको हत्याको विषयमा खुलेर कुरा गरेकी छन् ।

राष्ट्रपतिको हत्या हुँदा उनको हात र पाखुरामा गोली लागेको थियो । गोली लागेर उनी खाटको एकापट्टि लडेकी थिइन् र मुखसम्म रगत आइपुगेको थियो ।

‘मैले उनको (राष्ट्रपति जोभेनेल) हत्या हुनुभन्दा पहिला तिनीहरूको बुट मात्र देखेको थिएँ,’ मार्टिनले सुनाइन् । उनी भुइँमा गोली लागेर लडिरहेको बेला गोली हानी हत्या गरिएका उनका पतिको शव अर्कोपट्टि लडिरहेको थियो ।

‘त्यसपछि मैले आफ्नो आँखा बन्द गरें र अरु केही पनि देखिनँ,’ उनले त्रासदीपूर्ण घटनाको स्मरण गर्दै भनिन् ।

आँखा बन्द गरेपछि उनले केही नदेखे पनि हत्या गर्ने समूहले आफ्ना पतिले राखेको फाइलमा केही खोजिरहेको आवाज सुनेकी थिइन् । ‘त्यो होइन, त्यो होइन’, स्पेनिस भाषामा उक्त समूहले बोलेको मार्टिन सम्झिन्छिन् । अन्तिममा उनीहरूले भने, ‘हो, यही हो ।’

हत्याराहरू बाहिर निस्किने बेला उनीहरूमध्ये एउटाले उनको खुट्टा चलायो र अर्कोले अनुहारमा फ्ल्यासलाइट बालेर अझै जिउँदो छिन् कि भनेर हे¥यो ।

‘तिनीहरू बाहिर निस्किँदा मलाई पनि मरेको ठानेका थिए,’ मार्टिन सम्झिन्छिन् ।

यो घटना जुलार्ई ७ को हो । २५ वर्षअघि विवाह गरेकी मार्टिनले आफ्ना पति गुमाउनुपरेको थियो भने उनी आफैं पनि घाइते थिइन् । मार्टिनलाई यो रक्तपातपूर्ण घटना सम्झिन मन छैन । तर, हाइटीका नागरिकलाई आफ्ना पतिको हत्यारा को हो भन्ने प्रश्नको उत्तर दिनका लागि पनि आफू बोल्नु परेको उनी बताउँछिन् ।

मार्टिनलाई यो रक्तपातपूर्ण घटना सम्झिन मन छैन । तर, हाइटीका नागरिकलाई आफ्ना पतिको हत्यारा को हो भन्ने प्रश्नको उत्तर दिनका लागि पनि आफू बोल्नु परेको उनी बताउँछिन् ।

हाइटीको प्रहरीले यो घटनामा संलग्न रहेको आशंकामा १८ कोलम्बियाली, केही हाइटी र हाइटी मूलका अमेरिकीलाई पक्राउ गरेको छ । अन्य मानिसको पनि खोजी जारी छ । आशंका गरिएका व्यक्तिमा कोलम्बियाका पूर्वसैनिक पनि छन् । साथै पूर्वन्यायाधीश, सुरक्षाकर्मी, बीमा एजेन्ट र राष्ट्रपतिको सुरक्षा टोलीका दुई कमाण्डर पनि सामेल छन् । प्रहरीका अनुसार ६३ वर्षीय चिकित्सक तथा पास्चर क्रिस्टियान इम्यानुअल सानोन यो घटनाका योजनाकार रहेको खुलेको छ ।

यद्यपि आलोचकले भने यो घटनामा प्रहरीले आशंका गरेका मानिसमाथि नै प्रश्न उठाएका छन् । अहिले पक्राउ परेकामध्ये कसैको पनि सम्बन्ध आर्थिक कारोबारसँग देखिएको छैन । तर, मार्टिन मोइसेसहितका व्यक्तिहरु भने यो घटनामा प्रमुख योजनाकारले हत्याको आदेश दिने र पैसा बुझाउने गरेको हुनसक्ने तर्क गर्छन् ।

मार्टिन आफ्नो घरमा सधैं तैनाथ हुने ३० देखि ५० सुरक्षाकर्मी कहाँ गए भन्ने प्रश्न गर्छिन् । उनीहरूमध्ये कसैलाई पनि गोली लागेको थिएन र कोही घाइते पनि भएका थिएनन् ।

‘मैले यो बुझ्न सकेको छैन कि कसैलाई पनि गोली नलाग्ने कसरी हुन सक्छ ?,’ मार्टिनको प्रश्न छ । हत्या हुँदा राष्ट्रपति जोभेनेल मोइसे ठूलो राजनीतिक संकटको सामना गरिरहेका थिए । आफ्नो समयावधिभन्दा लामो समयसम्म पदमा बसेको, स्थानीय संयन्त्रलाई आफ्नो हातमा लिएको जस्ता आरोपमा उनीविरुद्ध प्रदर्शन भइरहेका थिए । राष्ट्रपतिसँग हाइटीका केही कुलीन घराना पनि सन्तुष्ट थिएनन् ।

अहिले मार्टिन आफ्ना पतिलाई कसले हत्या गरेको हो भन्ने जान्न चाहन्छिन् । ‘कुलीन घरानाका मानिस र प्रणालीले मात्र उनको हत्या गर्न सक्छ,’ मार्टिनले भनिन् ।

हत्या भएको दिन उनीहरू सुतिरहेका थिए, त्यसैबेला उनीहरूले गोली चलेको आवाज सुने । मार्टिनका अनुसार गोलीको आवाज सुनेपछि उनी आफ्ना दुई छोराछोरीलाई उठाउन गइन् । उनीहरू अहिले २० र १० वर्ष उमेरका छन् । उनले दुवैलाई बाथरुममा लुक्न भनिन् । उनीहरू आफ्नो कुकुरसँगै बाथरुममा लुके । जहाँ ढोका मात्र थियो, झ्याल थिएन ।

राष्ट्रपति जोभेनेलले फोन डायल गरे र सहयोगको लागि आग्रह गरे । ‘मैले कसलाई फोन गरेको भनेर सोधें,’ उनी घटनाको स्मरण गर्दै भन्छिन् ।

मार्टिनका अनुसार उनले डिमिट्री हेरार्ड र जिन लागुएल सिभिललाई फोन गरेको बताए । उनीहरू राष्ट्रपतिको सुरक्षामा खटिने दुई वरिष्ठ अधिकारी हुन् । ‘उनीहरूले आफूहरू आउँदै गरेको बताएका थिए,’ जोभेनेलले मार्टिनसँग भनेका थिए ।

तर, हत्याराहरू निकै छिटो भयरहित तरिकाले घरभित्र छिरे । उनीहरू भित्र छिरेपछि जोभेनेलले मार्टिनलाई भुइँमा सुत्न भने । यसो गर्दा सुरक्षित रहन सक्ने उनको सोचाइ थियो ।

‘त्यहाँ तिमी सुरक्षित हुन सक्छौ,’ जोभेनेलले भनेका थिए । मार्टिनलाई भनेको यो जोभेनेलको अन्तिम वाक्य थियो ।

हत्या गरिएका हाइटीका राष्ट्रपति जाभोनेल मोइसे

त्यसपछि अन्धाधुन्ध रुपमा उनीहरूको कोठामा गोली चल्न थाल्यो । सबैभन्दा पहिला गोली उनलाई लाग्यो । उनको हात र कुहिनामा गोली लाग्यो । उनी भुइँमा ढलिरहेकै बेला उनलाई आफूबाहेक परिवारका सबैको हत्या भयो भन्ने लागेको थियो ।

हत्याराहरू कसैले पनि क्रियोल वा फ्रेन्च भाषा नबोलेको मार्टिन बताउँछिन् । उनीहरूले स्पेनिस मात्र बोलेका थिए र कोठामा केही खोज्दै गर्दा उनीहरूले कसैलाई फोन गरेका थिए । उनीहरूले राष्ट्रपतिको दराजबाट खोजेको कुरा पाएको जस्तो बुझिन्थ्यो ।

‘उनीहरूले कोठामा केही खोजिरहेका थिए र अन्तिममा भेट्टाए,’ मार्टिन भन्छिन् । उनलाई त्यो फाइल के थियो भन्नेचाहिं थाहा छैन ।

‘त्यतिबेला मलाई उकुसमुकुुस भइरहेको थियो । मेरो मुखभरि रगत थियो र मैले सास पनि फेर्न पाइरहेको थिइनँ,’ उनी थप्छिन्, ‘मेरो दिमागमा सबै मरिसके भन्ने चलिरहेको थियो किनकि राष्ट्रपतिलाई मार्न सक्छन् भने उनीहरूले सबैलाई मार्न सक्छन् ।’

राष्ट्रपतिले सहयोग मागेका अधिकारीहरू अहिले हिरासतमा छन् । अहिलेसम्म यो घटनामा संलग्न रहेको आशंकामा २० जनाभन्दा बढी पक्राउ परिसकेका छन् । तर, मार्टिन भने हाइटीको प्रहरीको अनुसन्धानप्रति सन्तुष्ट छैनन् । उनी यो घटनाको अनुसन्धानको लागि अन्तर्राष्ट्रिय एजेन्सीहरूले सहयोग गर्नुपर्ने बताउँछिन् । उनका अनुसार राष्ट्रपतिको हत्याको लागि कति रकम दिइएको थियो भन्ने पनि स्पष्ट खुल्नुपर्ने बताउँछिन् । कोलम्बियाली हत्याराहरू हाइटीमा लुकीछिपी खेल्न नआएको उनको तर्क छ । हत्याराहरूलाई कसैले पैसा दिएको थियो भन्ने पत्ता लगाउनुपर्ने मार्टिनको भनाइ छ ।

एफबीआईले शुक्रबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय पार्टरसँग मिलेर न्याय दिलाउने काममा सहकार्य गर्न तयार रहेको बताएको छ । राष्ट्रपतिको हत्याको लागि हाइटीका कुलीन घरानाले पैसा दिएको हुन सक्ने मार्टिनको आशंका छ ।

मार्टिनको आशंका हाइटीका शक्तिशाली व्यवसायी रेगिनाल्ड बौलोसमाथि छ । जोभेनेलको कारण उनले धेरै कानूनी अवरोधको सामना गरेका थिए भने हत्यापछि उनलाई यसबाट फाइदा पनि पुगेको बताइएको छ । उनी आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्दैछन् ।

रोगिनाल्ड बौलोस भने आफूले राष्ट्रपति बन्न जोभेनेल मोइसेको हत्या गराउनु जरुरी नरहेको बताउँछन् । बरु बाँचिरहेकै भए उनको छवि बिग्रिँदै गएर मानिसहरूले आफूलाई झन् धेरै मत दिने तर्क उनले गरिरहेका छन् ।

मार्टिन कुनै पनि हालतमा हत्यारा पत्ता लाग्नु जरुरी रहेकोमा जोड दिन्छिन् । ‘म यो हत्या गराउने मानिस पक्राउ परून् भन्ने चाहन्छु, अन्यथा उनीहरूले शक्तिमा आउने हरेक राष्ट्रपतिको हत्या गर्न सक्छन् । एकपटक उनीहरूले राष्ट्रपतिको हत्या गरे भने अर्को पटक पनि गर्छन्,’ मार्टिनको तर्क छ ।

मार्टिन आफू आगामी निर्वाचनमा उठ्ने तयारीमा रहेको बताउँछिन् । आफ्ना पतिको सपना आफूले पूरा गर्ने मार्टिनको अठोट छ । ‘राष्ट्रपति जोभेनेलसँग एउटा भिजन थियो र हामी हाइटीका मानिसहरू त्यो भिजनलाई मर्न दिँदैनौं,’ मार्टिनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment