Comments Add Comment

निर्णायक मोडमा एमाले

१ भदौ, काठमाडौं । सोमबार मध्यरात हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पन्ने वक्तव्य जारी गरी पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु’, राति एघार बज्नै लाग्दा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन गर्ने षडयन्त्र भइरहेको सन्देश पनि ओलीले दिएका छन् । वक्तव्य जारी गर्नुअघि ओलीले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई स्थायी कमिटी बैठक र प्रमुख सचेतक विशाल भट्टराईलाई संसदीय दलको बैठक बस्नेबारे सूचना पठाउन निर्देशन दिएका थिए । स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।

प्रमुख सचेतक भट्टराईले संसदीय दलको बैठक नियमित भएको बताए । ‘संसद् अधिवेशन शुरु हुनुअघि र अन्त्य भएपछि दलको बैठक बस्नु नियमित प्रक्रिया हो’, भट्टराईले भने । तर सोमबार दिनभर विकसित राजनीतिक घटनाक्रम र राति अबेर अध्यक्ष ओलीले वक्तव्य जारी गर्नुले एमालेभित्रको संकट थप गहिरिएको बुझ्न गाह्रो पर्दैन ।

यो पनि पढ्नुहोस एमाले विभाजन क्षम्य हुँदैन : ओली

स्रोतका अनुसार, वरिष्ठ नेता माधवकुमार नेपालले पनि मंगलबार आफू निकट सांसद र केन्द्रीय सदस्यहरुसँग छलफल गर्दैछन् । ‘यो छलफलले सम्भवतः महत्वपूर्ण निर्णय लिनेछ’, स्रोत भन्छ । सोमबार दिउँसो सरकारले संघीय संसद् अधिवेशन अन्त्य गरे लगत्तै एमालेभित्र उकुसमुकुस बढेको थियो । साँझसम्म दुवैतर्फका नेताहरुको दौडधुप र सम्वाद जारी रह्यो । तर पार्टी एकताबारे अन्योल कायमै रहेका बेला अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै अनुशासित र सक्रिय भूमिकामा रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टी एकता जोगाउन दोस्रो एवम् तेस्रो तहका नेताहरु लागि परेपनि अध्यक्ष ओली र नेता नेपाल भने पार्टी विभाजनमा प्रष्ट देखिएका छन् । माधव नेपालकै कारण सत्ताबाट बाहिरिनुपर्ने अभिव्यक्ति दिंदै आएका ओलीले आफू निकट नेताहरुलाई सम्झौता नगर्ने अडान छोडेका छैनन्

एक नेताका अनुसार, केही दिनभित्रै एमाले विवादले निर्णायक रूप लिने सम्भावना धेरै छ । ‘अझै पनि पार्टी एकता जोगिने वा नजोगिने भन्ने निर्धारण अध्यक्ष कमरेडकै निर्णयमा भर पर्छ,’ ती नेता भन्छन् । माधव नेपाल अलग हुने निष्कर्षमा पुगिसकेकाले एकता जोगाउने वा विभाजन रोज्ने भन्ने अब अध्यक्ष ओलीकै निर्णयमा भर पर्ने उनी बताउँछन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठकले एकताको सन्देश दिनेगरी निर्णय गरी औपचारिक र अनौपचारिक संवादको ढोका खुला गरेमा एकता जोगिने सक्ने ती नेताको विश्वास छ ।

सोमबार अबेरसम्म पनि दुवै पक्षका दोस्रो एवम् तेस्रो तहका नेताहरु बीच यो विकल्पमाथि छलफल भएको छ । २५ साउनमा केन्द्रीय कमिटी बैठक राखेर पार्टी विधान संशोधनको निर्णयसहित दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने अध्यक्ष ओलीको निर्णयबाटै नेता नेपाल थप सशंकित बनेकाले यो त्यो कोर्स सच्याउँदा एकता जोगिने एक नेता बताउँछन् । ‘पार्टी एकता जोगाउन सरकारमा सहभागी नहुने र सम्माजनक एकताको पक्षमा उभिने निर्णय गर्‍यौं । तर अध्यक्ष कमरेडले एकलौटी बैठक राखेर अगाडि बढ्नुभएपछि परिस्थिति बिग्रियो’, नेपाल निकट ती नेता भन्छन् ।

एकताको पक्षमा रहेका दोस्रो तहका नेताहरुको जोडबलकै कारण सम्मानजनक एकताको पक्षमा उभिन सहमत भएका नेता नेपाल विधान संशोधनसहित महाधिवेशनतर्फ ओली अगाडि बढेपछि रुष्ट बनेका थिए । त्यसपछि माधव समूहको बैठक बसेको छैन । ‘२२ साउनको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा प्रष्ट छौं । थप कुनै निर्णय भएको छैन,’ उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् ।

त्यो दिनको बैठकले मूलतः तीन महत्वपूर्ण निर्णय गरेको थियो- सरकारमा सहभागी नहुने, दश बुँदे सहमतिलाई थप उपलब्धिमूलक बनाउने र सम्मानजनक एकताको पक्षमा उभिने । माधव नेपालसहित स्थायी कमिटीका नेताहरुले एक स्वरमा आफू निकट केन्द्रीय सदस्यहरुलाई यही सन्देश दिएका थिए । तर तीन दिनपछि बैठक राखेर पेलेर जाने सन्देश ओलीले दिएको भन्दै नेता नेपालले सत्तारुढ गठबन्धनका नेताहरुसँग संवाद अगाडि बढाए ।

सत्ता गठबन्धनका एक नेताका अनुसार, आइतबार मात्रै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग माधव नेपाल छलफलमा बसे । त्यही छलफलपछि सोमबार प्रधानमन्त्री देउवाले संसद् अधिवेशन अन्त्यको निर्णय गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन-२०७३ अनुसार, माधव नेपालसँग पार्टी विभाजन गर्न आवश्यक संख्या नपुग्ने भएकाले अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गरिएको छ । ऐनले पार्टी र दलमा ४०/४० प्रतिशत संख्या हुनुपर्छ । तर माधव नेपालसँग त्यो संख्या छैन । कति संख्या पुग्छ भन्ने टुंग्याउन सोमबार साँझसम्मै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ । २२ साउनको केन्द्रीय कमिटी बैठकमा ८० को हाराहारीमा केन्द्रीय सदस्य उपस्थित भएका थिए । तर पार्टी विभाजन हुँदा सबै नेता नजाने अनुमानसहित नेता नेपाल निकट नेताहरुले हस्ताक्षर संकलन गरिरहेका छन् ।

स्रोतका अुनसार, मंगलबार नै प्रधानमन्त्री देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी छ । ‘परिस्थिति बदलिएन भने मंगलबार नै अध्यादेश आउँछ’, स्रोत भन्छ । अध्यादेश कसरी ल्याउने भन्नेबारे भने छलफल चलिरहेको छ । नेता नेपाललाई दल विभाजन गर्न उपयुक्त हुनेगरी अध्यादेश ल्याउन प्रधानमन्त्री देउवा सहमत छन् ।

नेता नेपाल तर्फ उभिने सांसद संख्या भने लगभग यसअघि नै तय भएको छ । साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन माधव नेपाललाई २१ सांसदले साथ दिएका थिए । पार्टी एकताको पक्षमा उभिने घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलगायत दश जना तटस्थ बसे भने भीम रावलले त्यसबेला राजीनामा घोषणा गरेका थिए । ‘कसरी अध्यादेश ल्याउँदा पार्टी विभाजनमा सहज हुन्छ, त्यसरी नै ल्याउने हो’, स्रोत भन्छन् ।

सोमबारको सकस

अध्यक्ष ओली र नेता नेपाल अडानमा टसमस नभए पनि एकता जोगाउन भने बाँकी नेताहरु लगातार लागि परेका छन् । सोमबार एमाले मुख्यालय थापाथलीमा ओली निकट नेताहरुको दौडधुप र संवाद तीव्र बन्यो । विशेषगरी संसदीय दलका नेता सुवास नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य शंकर पोखरेल लगातार सम्वाद र भेटवार्तामा थिए ।

आइतबार मात्रै पोखराबाट राजधानी आएका गुरुङ दिनभर जसो दौडिए । महासचिव ईश्वर पोखरेल र शंकर पोखरेलसँग पार्टी कार्यालयमा सम्वाद गरे पछि उनी माधव निकट उपमहासचिव घनश्याम भुसाललाई भेट्न पुगेका थिए । त्यसपछि साँझ अध्यक्ष ओलीलाई भेट्न गुरुङ बालकोट पुगे ।

उता, माधव निकट नेताहरु पनि लगातार संवाद र भेटवार्तामा रहे । विशेषगरी २७ असारमा दश बुँदे पार्टी एकताको सहमति गरेका कार्यदलका नेताहरु सक्रिय बने । पोलिट्ब्युरो सदस्य अरुण नेपालको संयोजनमा माधव समूहका २० भन्दा बढी केन्द्रीय सदस्यहरु दिनभर छलफलमा बसे ।

कार्यदलमा रहेका उपाध्यक्ष भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायत स्थायी कमिटीका नेताहरुसँग पनि उनीहरुले छलफल गरेका थिए ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल-माधव नेपालसहितको पार्टी एकता गरिनुपर्ने र त्यस्तो वातावरण बनाउनुपर्ने निष्कर्षसहित अरुण नेपाल, ठाकुर गैरे, जीवन घिमिरे, यज्ञराज सुनुवार, नारायण खतिवडा, टंक कार्की, ममता गिरी, माधव अर्याल, निरज आचार्य, सोम पाण्डे, राजबहादुर बुढा, सुरेन्द्र मानन्धर, पवित्रा निरौला, देउमान सम्बाहाङ्फे लगायतले पहल लिएका थिए । यी नेताहरुले ओली निकट सुवास नेम्वाङ र विष्णु पौडेलसँग पनि छलफल गरे ।

पार्टी एकता जोगाउन दोस्रो एवम् तेस्रो तहका नेताहरु लागि परेपनि अध्यक्ष ओली र नेता नेपाल भने पार्टी विभाजनमा प्रष्ट देखिएका छन् । माधव नेपालकै कारण सत्ताबाट बाहिरिनुपर्ने अभिव्यक्ति दिंदै आएका ओलीले आफू निकट नेताहरुलाई सम्झौता नगर्ने अडान छोडेका छैनन् । ‘माधव नेपाल आउनु हुन्न । सकेसम्म बाँकी धेरै नेता ल्याउने भन्ने लगभग निष्कर्षमा (केपी ओली) हुनुहुन्छ’ ओली निकट एक नेता भन्छन् ।

यता माधव नेपाल पनि ओलीले सुध्रिने छाँट नदेखाएको निष्कर्षसहित अलग पार्टी बनाउने निष्कर्षमा पुगेका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन र संसद् विघटनमा असफल भइसक्दा पनि ओलीमा अहंकार र दम्भ कायमै रहेकाले एकता सम्भव नरहेको नेता नेपालले आफू निकट नेताहरुलाई बताउने गरेका छन् ।

यो पनि पढ्नुहोस देउवाको रोडम्याप : दल विभाजन अध्यादेश, अनि मन्त्रिपरिषद् विस्तार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सइन्द्र राई

राजनीतिक ब्युरोमा कार्यरत वरिष्ठ सम्बाददाता राई मुलतः बामपन्थी राजनीतिक मामिलामा कलम चलाउँदै आएका छन् ।

ट्रेन्डिङ

Advertisment