१५ भदौ ,विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको एक टोलीले नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय डिपोमा भएको अनियमितताको सम्बन्धमा छानबिन सुरु गरेको छ ।
निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा व्यापक भ्रष्टाचार, तौलमा घटी, न्यून गुणस्तरको पेट्रोलियम पदार्थ बिक्री वितरण तथा ढुवानी र पेट्रोलियम पदार्थको जाँचमा गैरकानुनीरुपमा रकम लिने गरेको उजुरी परेपछि अख्तियारबाट उपसचिव प्रभात सिंहको नेतृत्वमा छानबिन गर्न टोली आएको बताइएको छ ।
टोलीले क्षेत्रीय कार्यालय डिपोबाट पेट्रोलियम पदार्थको नमुना सङ्कलन, पेट्रोलियम पदार्थको तौल जाँच, मेसिन जाँचका साथै ढुवानी व्यवसायी, प्रशासन, लेखा तथा कार्यालय प्रमुख र कर्मचारीसँग पनि आवश्यक जानकारी लिएको टोलीले जनाएको छ ।
नापतौल गुणस्तर क्षेत्रीय कार्यालय विराटनगर, वाणिज्य कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङका कार्यालय प्रमुख एवम् प्रतिनिधिको समेत सहभागिता रहेको सो टोलीले आयल निगमको कागजपत्र तथा नमुना सङ्कलनसमेत आफ्नो नियन्त्रणमा लिएको छ ।
पेट्रोलियम पदार्थको नमुना गुणस्तर विभाग पठाइएको छ भने आवश्यक कागजपत्रलगायतका अन्य विषय छानबिनका लागि अख्तियार टोलीले राखेको बताइएको छ । त्यस्तै अख्तियारसहितको टोलीले मोरङको हात्तीमुडामा रहेको कोसी पेट्रो केमिकल्सको उत्पादित डिजलको नमुना सङ्कलन गरी परीक्षणका लागि गुणस्तर विभागमा पठाउनुका साथै सम्पूर्ण कागजपत्र जाँच गरेको छ । उद्योगी सुबोध कोइरालाद्वारा सञ्चालित सो उद्योग केही महिना अगाडिदेखि सञ्चालनमा आएको हो ।
टोलीले राहुल एन्ड निसान्स पम्प, शिवम पम्प, तिरुपती पम्प, कोसी पेट्रोलियम, धिताल एन्ड धिताल आयल स्टोर, एभी आयल, द विजया पेट्रोलियम, सुनसरी आयल, पूर्वाञ्चल आयल, एसलाल एन्ड सन्स, अन्नपूर्ण आयल लगायतका एकदर्जन पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको तौल मेसिनको जाँच गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिनुभयो । तर उनीहरुको तौलमा घटी नभएको अनुगमनका क्रममा पाइएको बताइएको छ । रासस
प्रतिक्रिया 4