+
+

प्रचण्डको प्रश्न- हामीलाई गाली गरेर ज्ञानेन्द्र फर्काउने ?

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २३ गते १४:५९

२३ भदौ, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जालमा चर्को आलोचना र गालीगलौज गरेको सुनिनु अनौठो घटना होइन । तर, शनिबार धनगढीमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा प्रचण्डले नै उल्टै आफ्ना आलोचकहरुलाई गाली गरेको सुनियो ।

एमाओवादी निकट आरोप लाग्दै आएको एउटा निजी टेलिभिजनले निर्वाचनको पूर्वसन्ध्यामा प्रचण्डको तस्वीरसहितको ब्यानर राखेर आयोजना गरेको अन्तरक्रियामा कांग्रेस र एमालेका स्थानीय नेताहरुले प्रचण्डसामु हिटलर, इदी अमिन र सद्दाम हुसैनको नाम लिँदै जनयुद्धकालमा आफ्ना निहत्था कार्यकर्तालाई घरमा बसिरहेका बेला घाँटी रेटेर मारेको बताइरहँदा प्रचण्डको निधारमा चिटचिट पसीना आएको थियो ।prachanda-full-photo

नेपाली कांग्रेसका स्थानीय नेता गोविन्दराज जोशी लगायतले प्रचण्डकै अगाडि उहाँले हेगमा उभिनुपर्ने सम्भावना रहेको आरोप लगाएपछि प्रचण्डले आफ्नो ‘प्रचण्ड स्वरुप’ देखाउँदै नेतालाई असफल भन्ने जनता नै असफल ठहरिने बताउनुभयो । राजनीतिक विश्लेषक किशोर नेपाल र झलक सुवेदीसमेतको उपस्थिति रहेको अन्तरक्रियामा जनसमुदायबाट आएको कठोर आलोचनालाई जवाफ दिने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले नेतालाई असफल भन्ने जनता नै असफल ठहरिने तर्क गर्नुभयो । ‘को सफल, को असफल छोड्दिनोस् । नेताहरु जनतैले बनाउने हो ।’ प्रचण्डले भन्नुभयो- ‘कस्तो नेता छ भन्ने कुरा कस्ता जनता छन् भन्नेमा निर्भर हुन्छ ।’

पहिले पसीना काढेका प्रचण्डले पछि आफ्नो तेजिलो रुप देखाउँदै भन्नुभयो- ‘अहिले हामी सबै राजनीतिक नेता बेकारका छौं भने हामी नेपाली महान छौं भन्ने ठाउँ छ ? तपाईले रातारात बनाउन सक्नुहुन्छ नेता ? तपाईले सक्नुहुन्छ ? रातारात अर्को नेता बनाएर फेरिदिऔं न त भनेर हुने जात हो ? वीपी कोइराला भन्नोस्, महेन्द्र भन्नोस् या अहिले हामी राजनीतिक नेतृत्वमा भएका गिरिजाप्रसाद कोइराला, यो प्रक्रियामा ल्याउने हामी सबै एक दिनका, दुई दिनका उपज हैनौं । कोही पनि हुनै सक्दैन । यो बुझ्न पर्‍यो भन्ने मेरो हार्दिक अनुरोध छ ।’

बाह्रबुँदे समझदारीपछिको प्रक्रियाप्रति चित्त बुझेको छैन र निरंकुश राजा नै फर्काउन मन छ भने आफूहरुलाई जति गाली गरे पनि हुने भन्दै प्रचण्डले जनतासमक्ष रोष पोख्नुभयो- ‘तपाईहरुले यस्तो गरिराख्नु भो भने पाउनु चाँहि के हुन्छ ? अर्को राम्रो नेता पाउनुहुन्छ ? अर्को राजनीतिक पार्टी पाउनुहुन्छ ? अर्को राजनीतिक यात्रा शुरु गर्न सक्नुहुन्छ ? उहाँले धनगढीबासीलाई निकै आक्रामक ढंगले भन्नुभयो- ‘निरंकुश प्रतिगामी, सामन्तीलाई फर्काउन चाहुनुहन्छ ?’ त्यही फर्काउन चाहनुहुन्छ भने अहिलेका नेतालाई बेस्सरी गाली गर्नोस् । जति गरे पनि भयो । राजै फर्काउन मन छ भने, निरंकुश सामन्ती सत्ता नै ल्याउन मन छ भने त अहिलेका नेतालाई गाली गरेसम्म गरे भो । भण्डाफोर गरे भयो । जे जे मन लाग्छ, गरे भयो ।’

आफूलाई हेग पुर्‍याउने आरोप लगाइएको प्रति जवाफ दिँदै प्रचण्डले भन्नुभयो-‘हजारौं महिलाहरुलाई दर्दनाक किसिमले बलात्कार गरेर, योनीमा बन्दूक घुसारेर मारिएकालाई तपाई के भन्नुहुन्छ ? यसलाई तपाईले हिसाब गर्न पर्छ कि पर्दैन ? यसलाई चाहिँ तपाईहरुले नहेर्न पर्ने, अनि तपाई हिजोको कुरा एकांगी ढंगले उठाएर माओवादीलाई चाहिँ दोष देखाउन खोज्नुभयो भने यो समग्र संक्रमणकालको परिवर्तनको प्रक्रियामाथि तपाईले न्याय गर्नुहुन्छ कि अन्याय गर्नुहुन्छ ?

एमाओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध नभएको भए ज्ञानेन्द्र थुनेका एमाले, कांग्रेसका नेताहरुलाई जेलबाट निकाल्न गाह्रो पर्ने तर्क समेत गर्नुभयो । कार्यक्रममा अखण्ड सुदुरपश्चिमका पक्षधरले प्रचण्डमाथि जातीय कुरा गरेर देशलाई विभाजित गर्न खोजेको आरोप लगाए भने थारु समुदायका स्थानीयहरुले चाहिँ पहिले थारुवान राज्य दिन्छु भन्ने एमाओवादीकै पोलिटब्यूरो सदस्य लेखराज भट्टले अखण्ड सुदुरपश्चिमको वकालत गरेर थारुमाथि अन्याय गरेको प्रचण्डलाई सुनाएका थिए । कतिपय सहभागीले अहिलेको राजनीति नेतृत्व असफल भएको आरोप लगाएका थिए । प्रचण्डले थारुहट र सेती महाकाली दुई प्रदेश बनाउने तर दुई प्रदेशको सीमाना स्थानीइ जनताको सहमतिमा अहिलेका जिल्लाका आधारमा नभई नयाँ नक्शांकन गरिने स्पष्टीकरण दिनुभयो ।

टेलिभिजनमा प्रस्तुत प्रचण्डको उत्तेजक भनाइ यस्तो थियो

जनता र नेताको वीचमा अविभाज्य सम्बन्ध हुन्छ । नेपालमा र अन्तरराष्ट्रिय राजनीतिमा पनि एउटा प्रचलन के छ भने पार्टीलाई वा नेतृत्वलाई आलोचना गरेर आफ्नो जिम्मेवारीबाट पन्छिने एउटा प्रवृत्ति इतिहासदेखि वर्तमानसम्म पनि छ । नेपालमा यो आजभोलि अलिक बढेको छ । मलाई यसमा चिन्ता छ । को सफल, को असफल छोड्दिनोस् । किनभने नेता र नीतिको वीचमा, नेता र जनताको वीचमा यस्तेा सम्बन्ध हुन्छ, छुट्याउनै सकिँदैन । नेताहरु जनतैले बनाउने हो । कस्तो नेता छ भन्ने कुरा कस्ता जनता छन् भन्नेमा निर्भर हुन्छ, अन्ततः । यो कुरा साहित्यकारले अलि सजिलै भन्न सक्दा रहेछन्, तपाईहरु राजनीतित्र या अरु आम मान्छेले भन्न सक्दारहेन छौं ।

विश्वप्रशिद्ध साहित्यकार लुसुनले भन्नुभएको थियो । अमेरिकनहरुले अफिम खुवाएर चिनियाँहरुलाई लठ्ठ पारेको थियो, त्यतिबेला चिनियाँहरु नेतालाई गाली गरेर हिँड्थे । नेता बेकारका, यी सब दलाल, गद्दार । बडो सजिलो छ नेतालाई गाली गर्न । लुसुनलाई पीर लाग्यो र उहाँले भन्नुभो, नेता हैन, हामी जनतै बेकारका । हामी यस्ता नेता जन्माउने कस्ता जनता ? जनताले नेता जन्माउने कि नेताले जनता जन्माउने भन्ने प्रश्न गर्नु भो लुसुनले । म यहाँहरुलाई यो कुरातिर ध्यानाकषिर्त गर्न चाहन्छु ।

अहिले हामी सबै राजनीतिक नेता बेकारका छौं भने हामी नेपाली महान छौं भन्ने ठाउँ छ ? तपाईले रातारात बनाउन सक्नुहुन्छ नेता ? तपाईले सक्नुहुन्छ ? रातारात अर्को नेता बनाएर फेरिदिऔं न त भनेर हुने जात हो ? वीपी कोइराला भन्नोस्, महेन्द्र भन्नोस् या अहिले हामी राजनीतिक नेतृत्वमा भएका गिरिजाप्रसाद कोइराला, यो प्रक्रियामा ल्याउने हामी सबै एक दिनका, दुई दिनका उपज हैनौं । कोही पनि हुनै सक्दैन । यो बुझ्न पर्‍यो भन्ने मेरो हार्दिक अनुरोध छ ।

नेतृत्वका आफ्ना सीमा हुँदैनन् त भन्दा सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । त्यो सीमा र कमजोरी सच्याउन आँट गर्ने नेता अगाडि बढ्छ, आफ्नो सीमा र कमजोरीलाई सच्याउन सकेन भने त्यो धकेलिन्छ । पाखा लगाइदिन्छ इतिहासले ।

अहिलेको हामी राजनीतिक नेतृत्वले पनि अहिलेका समस्या समाधान गर्नका निम्ति हाम्रा आफ्नै सीमा के हुन्, कमजोरी के हुन् र जनतालाई र राष्ट्रलाई नयाँ ठाउँमा लैजान सकिएन भने इतिहासले हामीलाई पाखा लगाउँछ । यो नियम नै हो । तर, म के मान्दिन भने अहिले नै नेतृत्व असफल भैसक्यो भन्ने चाहिँ म मान्दिँन । साथीहरुले नेतृत्व असफल भैसक्यो भन्नु भो, यो कुरा विल्कुल सही हैन भन्ने मेरो धारणा छ ।

हामी बाह्र बुँदे सहमति, १० वर्षको जनयुद्ध, द्वन्द्व जे भन्नुहोस्, एउटा ठूलो परिघटना नेपालमा भयो । त्यो परिघटनामा आधारित भएर बाह्रबुँदे समझदारी बन्यो । त्यो समझदारीबाट एउटा नयाँ प्रक्रियाको शुरुवात नेपालमा भयो । यो प्रक्रियाको अन्त्य भएको छैन । यो यात्रा टुंगिएको छैन । त्यस कारण तपाईहरुले यो प्रक्रियाको नेतृत्व गर्ने पार्टीलाई असफलताको बिल्ला अहिले नै भिराउनु मनोगत हुन्छ । यो सही हुँदैन । किनकि यो यात्रा टुंगिएको छैन । यो प्रक्रिया कहाँ पुग्छ भन्ने कुरा हामीले हेर्नै पर्ने हुन्छ । हाम्रो चाहिँ के छ भने, हामीले जुन याज्ञा शुरु गर्‍यौं, त्यो जारी छ र सफलताको नजिक जाँदैछ भन्ने छ । अहिले गिरिजाप्रसाद कोइराला त हुनुहन्न, शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दुईजनामध्ये मचाहिँ छु र अरु नेताहरु हुनुहुन्छ । हामी सबैले जे कल्पना गरेर यो यात्रा शुरु गरेको हो, यो कायम छ । जतिबेलासम्म यो यात्रा कायम रहन्छ, त्यतिबेला तपाईहरुले हामीलाई पूर्णरुपमा असफल भन्नुभयो भने तपाईहरु नै असफल हो । जसले त्यस्तो ठान्नुभएको छ, तपाईहरुले नै काँही न काहीँ चिजलाई लगत ढंगले बुझ्नुभएको छ । गलत ढंगले तपाई विचलित हुनुभएको छ भन्ने अर्थ लाग्छ ।

यो प्रक्रिया जारी रहँदासम्म यो प्रक्रियाको प्रारम्भ गर्ने नेता अथवा पार्टीहरुलाई असफलताको बिल्ला भिराएर तपाईहरुले पाउनु के हुन्छ ? एउटा त गलत मैले भनें, अर्को मेरो तर्क के छ भने तपाईहरुले यस्तो गरिराख्नुभो भने पाउनु चाँहि के हुन्छ ? अर्को राम्रो नेता पाउनुहुन्छ ? अर्को राजनीतिक पार्टी पाउनुहुन्छ ? अर्को राजनीतिक यात्रा शुरु गर्न सक्नुहुन्छ ? या निरंकुश प्रतिगामी, सामन्तीलाई फर्काउन चाहुनुहन्छ ? त्यही फर्काउन चाहनुहुन्छ भने अहिलेका नेतालाई बेस्सरी गाली गर्नोस् । जति गरे पनि भयो । राजै फर्काउन मन छ भने, निरंकुश सामन्ती सत्ता नै ल्याउन मन छ भने त अहिलेका नेतालाई गाली गरेसम्म गरे भो । भण्डाफोर गरे भयो । जे जे मन लाग्छ, गरे भयो ।

तपाईलाई लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, सामाजिक न्याय चाहिएको हो भने तपाईले आलोचना त गर्नोस्, आलोचना गर्ने त्यति स्वतन्त्रता त तपाईलाई छ, यात्रा नै बिथोलिने गरिकन, यो ऐतिहासिक प्रक्रिया नै विचरित हुने गरी गर्नुभयो भने त्यसले जनतालाई हित गर्दैन । नेता र नेतृत्वबारे मैले यति भनें । यो भन्दा बढी भन्दिँन ।

००००

एउटा सत्य म के राख्न चाहन्छु भने जनयुद्धले ल्याएको परिवर्तन, जागरण, अभियानले ल्याएको परिवर्तन ००७ साल यताका अन्य परिवर्तनहरुभन्दा धेरै नै ठूलो छ । तपाईहरु यसको तुलनै गर्न सक्नुहुन्न । तपाईरुले भनेर के गर्नुहुन्छ ? एकछिन मुखको तीतो फाल्नुमात्रै हो ।

तपाईहरु माओवादीको विरोध गर्नुहुन्छ, तर इतिहासले सावित के गरिसक्यो भने अरु सबै परिवर्तनहरु राजतन्त्रभित्रका एउटै प्रणालीभित्रका परिवर्तनहरु हुन् । तर, यसपटकको परिवर्तन गणतन्त्रमा हो, एमात्मकताको अन्त्य, संघात्मकतामा हो । समावेशितामा हो । धर्म निरपेक्षतामा हो । यो गुणात्मकरुपले फरक छ ।

जनयुद्धविना यस्तो हुन्थ्यो भन्ने लाग्छ एमाले र नेपाली कांग्रेसका साथीहरुलाई ? तपाईहरुले बडो सजिलै भन्नुभयो यो परिवर्तन गणतन्त्र नभएर शान्तिपूर्ण आन्दोलनबाट भएको हो । तपाईहरुको शान्तिपूर्ण त त्यतिबेला ज्ञानेन्द्रको जेलभित्र थियो । जनयुद्धको ताकत नभएको भए तपाईहरुलाई जेलबाट बाहिर निकाल्नै गाह्रो पथ्र्यो । यसो भने भनें तपाईहरु के गर्नुहुन्छ ? यसलाई तपाई सत्य मान्नुहुन्छ कि मान्नुहुन्न ? एमालेका साथीहरुले जनयुद्धको आधार इलाका रोल्पामा प्रचण्ड बाबुरामलाई भेट्न गएर पहिलो सहमति माओवादीसँग किन गर्नुभयो तपाईहरुले ? जनयुद्धले केही नै गर्दोरहेनछ भने किन हामीलाई भेटियो ? गिरिजाबाबुसँगको पहिलो भेटमा मैले गिरिजाबाबुलाई भनें, तपाई गणततन्त्रमा आउनुपर्‍यो, हामी बहुदलीय प्रतिश्पर्धामा आउँछौं । यही हो सम्झौता र नेपाललाई नयाँ बनाउने शुरुवात यहीँबाट भएको हो ।

नेपाली कांग्रेसका साथीहरुले भन्नुभो। जनयुद्धमा घाँटी रेटियो । यहाँ दशौं हजार मान्छे एमाले र नेपाली कांग्रेसकै नेतृत्वमा भएको सरकारले मार्‍यो । हजारौं महिलाहरुलाई दर्दनाक किसिमले बलात्कार गरेर, योनीमा बन्दूक घुसारेर मारिएकालाई तपाई के भन्नुहुन्छ ? यसलाई तपाईले हिसाब गर्न पर्छ कि पर्दैन ? त्यो तथ्य हो कि हैन ? कति कताबाट मारिए भन्ने त तथ्य नै छ नि त । कैलाली, कञ्जनपुर, बाँके बर्दिया विश्वप्रशिद्ध छ । सबभन्दा बढी बेपत्ता पारिएको, सबभन्दा बढी हत्या गरिएको, अमानवीय अत्याचार गरिएको घटनालाई त विश्वमै नमूना आपराधिक घटना त भनेकै छ नि त । यसलाई तपाई हामीले हिसाब गर्ने कि नगर्ने ?

जे भए पनि हामीले के सम्झौता गर्‍यौं भने सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएर छानविन गरौं र एकदम अपराधी नै साबित भए भने कारवाही पनि गरौं भनेर हामीले भनेकै छौ नि त । हामी जतिबेला प्रधान न्यायाधीशको सरकार बनाउने सहमतिमा गयौं, त्यतिबेलाको अध्यादेशमा कांग्रेस, एमाले, माओवादी, मधेसी मोर्चा र देशका सबै राजनीतिक पार्टीको सहमतिले सही गरिएको छ नि त । यसलाई चाहिँ तपाईहरुले नहेर्न पर्ने, अनि तपाई हिजोको कुरा एकांगी ढंगले उठाएर माओवादीलाई चाहिँ दोष देखाउन खोज्नुभयो भने यो समग्र संक्रमणकालको परिवर्तनको प्रक्रियामाथि तपाईले न्याय गर्नुहुन्छ कि अन्याय गर्नुहुन्छ ? यो कुरा म नेपाली कांग्रेस र एमालेका साथीहरुलाई विचार गरिदिन म अनुरोध गर्न चाहन्छु । धेरै संवेदनशील छ यो विषय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?