+
+
संसदीय छानबिन विशेष समिति प्रतिवेदन :

सञ्चालक र सीईओकै बदनियतले डुबाइए सहकारी

सहकारीका सञ्चालक र प्रमुख कर्मचारीले आफ्नो पद दुरुपयोग गर्दै सहकारीको स्रोत–साधन निजी फाइदाका लागि उपयोग गरेका छन् । उनीहरूले सहकारीको ऋण प्रणालीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आफन्त, परिवारका सदस्य वा आफ्नै कम्पनीलाई प्राथमिकता दिएर ऋण दिएको पाइएको छ ।

विजय पराजुली अच्युत पुरी विजय पराजुली, अच्युत पुरी
२०८१ असोज ४ गते २१:१७

४ असोज, काठमाडौं । सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूकै बदनियतका कारण नेपालमा सहकारी संस्थाहरू समस्यामा पुगेको देखिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्यामा रहेका ४० सहकारी संस्थाको विश्लेषणबाट यस्तो निष्कर्ष निकालेको हो ।

समितिले समस्याग्रस्त घोषित २२ सहकारी संस्था, गोरखा मिडिया नेटवर्क, गितेन्द्रबाबु (जीबी) राई संलग्न सात सहकारी संस्था र अन्य सार्वजनिक प्रश्न उठेका १२ सहित ४० सहकारी संस्थाको वित्तीय विश्लेषण गरेको थियो ।

समितिले समस्याग्रस्त २२ सहकारी संस्थाको विश्लेषणबाट ती संस्थामा ४२ अर्ब ८१ करोड कुल निपेक्ष तथा बचत दाबी रहेको विवरण निकालेको छ ।

सार्वजनिक रूपमा प्रश्न उठेका १८ सहकारीमा कुल २८ अर्ब ४८ करोड र सेयर पूँजी १ अर्ब ८९ करोड रहेको देखिएको छ । ती संस्थाको अध्ययनबाट समितिले प्रचलित कानुन विपरीत अप्राकृतिक व्यक्ति (विभिन्न निजी कम्पनी) र संस्थाका सञ्चालकका नाममा ऋण लगानी गरिएको निष्कर्ष निकालेको छ । जसले गर्दा सहकारी संस्थाहरू नै समस्यामा परेको देखिएको छ ।

समितिले भनेको छ, ‘व्यवस्थापकीय कमजोरी, कानुनी नियमन अभाव, वित्तीय अनुशासन कमी र दुरुपयोग भएका स्रोत–साधनलाई मुख्य कारण मान्न सकिन्छ ।’

समितिले व्यवस्थापनमा रहेका व्यक्तिले सहकारीको पारदर्शिता, जिम्मेवारी र दीर्घकालीन योजना बेवास्ता गरेका कारण सहकारी संस्था समस्यामा परेको निष्कर्ष निकालेको छ ।

सहकारीका उच्च पदस्थ अधिकारीले आफ्नो पद दुरुपयोग गर्दै संस्थाका वित्तीय स्रोत व्यक्तिगत लाभका लागि प्रयोग गर्ने गरेको देखिएको छ । धेरै सहकारीमा कुशल व्यवस्थापनकै अभाव देखिएको समेत समितिको निष्कर्ष छ । यसले सहकारीको वित्तीय स्थिति कमजोर बन्न पुगेको देखिएको छ ।

सहकारीका सञ्चालक र प्रमुख कर्मचारीले आफ्नो पद दुरुपयोग गर्दै सहकारीको स्रोत–साधन निजी फाइदाका लागि उपयोग गरेका छन् । उनीहरूले सहकारीको ऋण प्रणालीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आफन्त, परिवारका सदस्य वा आफ्नै कम्पनीलाई प्राथमिकता दिएर ऋण दिएको पाइएको छ ।

सहकारीको वित्तीय संशाधन सीमित व्यक्तिमा केन्द्रित हुँदा सहकारीको सर्वाङ्गीण विकासमा नकारात्मक असर पुगेको देखिएको छ ।

‘जब सीमित पदाधिकारी र सञ्चालकले केवल आफ्ना आफन्त वा निकटका व्यक्तिलाई मात्र ऋण दिने प्रवृत्ति देखाउँछन्, सहकारीको वित्तीय स्थिति कमजोर बन्छ,’ प्रतिवेदनमा छ ।

सहकारी ऐनले गैरसदस्य र संस्थासँग कारोबारमा रोक लगाएको छ । प्राकृतिक व्यक्तिमात्र सहकारी संस्थाको सेयर सदस्य हुन सक्ने र सेयर सदस्यसँग मात्र कारोबार गर्न पाइने कानुनी व्यवस्था विपरीत गैरसेयर सदस्य र निजी कम्पनीमा लगानी गर्दा नेपालमा सहकारी संकट देखिएको छ ।

कान्तिपुर बचत तथा ऋण सहकारी संस्था 

करिब ८ अर्ब रुपैयाँ बचत दायित्व रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा वर्तमान र पूर्वसञ्चालक तथा व्यवस्थापक सहित सीमित व्यक्तिले  असीमित स्रोत अपचलन गरेको देखिन्छ । सहकारी संस्थाको कर्जा लगानी जम्मा ३ अर्ब  १० करोड ८ लाख मात्र छ । असुल हुनुपर्ने ब्याज ३ अर्ब ४६ करोड  ६० लाख छ ।

सहकारीमा कर्जाको ६.४९ प्रतिशत हिस्सा वर्तमान र पूर्वसञ्चालकले लगानी गरेको कम्पनी र १०.४५ प्रतिशत कर्जा सञ्चाकहरूले नै दुरुपयोग गरेको पाइएको छ । सञ्चालक समिति अध्यक्ष हिमालयनविक्रम मल्ल ठकुरीले ८ करोड ३ लाख १६ हजार, सचिव जोगलाल लामाले ७ करोड ६८ लाख ४० हजार, कोषाध्यक्ष प्रेमध्वज लामाले ६ करोड ३३ लाख ८९ हजार रुपैयाँ सहकरीको स्रोत परिचालन गरेका छन् ।

त्यस्तै सदस्य नारायणप्रसाद रिमालले १ करोड ७५ लाख २३ हजार, सानुकान्छा लामाले १ करोड १८ लाख ७४ हजार, इन्दु बर्माले १ करोड ६२ लाख ८ हजार र देवराज पराजुलीले ५ करोड ७९ लाख ३२ हजार रुपैयाँ ऋण लिएर वर्षौंदेखि ब्याज समेत भुक्तानी नगरेको देखिन्छ ।

एकपटक लिएको ऋण चुक्ता नहुँदासम्म अर्को ऋण दिन नपाइने भए पनि २६ सदस्यले ८९ पटकमा १ अर्ब ८० करोड ७३ लाख  २१ हजार ऋण लिएको पाइएको हो । सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर (सीबी) लामाको समुहले मात्रै करिब १ अर्ब रुपैयाँ अपचलन गरेको छ ।  सीबी र उनको समूहले  प्रक्रिया पूरा नगरी ९२ करोड ९४ लाख ९४ हजार रुपैयाँ अपचलन गरेका हुन् । सीबी करिब २२ वर्ष सहकारीको अध्यक्ष भएर काम गरेका हुन् ।

सहकारीमा साँवा र ब्याज समेत गरी ६ अर्ब ५६ करोड ६८ लाख १७ हजार बक्यौता छ । जसमध्ये ५० ठूला ऋणीले चलाएको ऋण अनुपात ५७ प्रतिशत छ । ठूला ऋणीमा वर्तमान सञ्चालक समिति र पूर्वअध्यक्ष  लामा र उनका व्यावसायिक साझेदार छन् ।

सहकारीका वर्तमान र पूर्वसञ्चालकले कान्तिपुर अस्पतालमा गरेको ऋण लगानीको साँवा र ब्याजसमेत बक्यौता रकममात्र ७१ करोड १ लाख ६ हजार छ । परिचित रियलस्टेट व्यवसायी विदुर धमलाले सहकारीबाट लिएको ऋणको साँवा र ब्याज १४ करोड ५८ लाख ३ हजार पुगेको छ ।

पुशपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ

कान्तिपुर सेभिङ एन्ड क्रेडिटसँगै सीबी लामाले पुशपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ पनि चलाउँदै आएका थिए । समस्याग्रस्त घोषणा भइसकेको सहकारीको मागदाबी १ अर्ब ११ करोड ४८ लाख रुपैयाँ छ । यस्तै ऋण लगानी १ अर्ब १६ करोड ५२ लाख छ । सहकारीको कुल कर्जामध्ये २७.६८ प्रतिशत ऋण विभिन्न कम्पनीमा असुरक्षित रुपमा प्रवाह गरेको पाइएको हो ।

सहकारीको कुल ऋणको ८७.२३ प्रतिशत २७ जना ऋणीले प्रयोग गरी अपचलन भएको छ । जसमा सीबी लामा, जुली श्रेष्ठ, बहादुर लामा लगायत कान्तिपुरमा समेत ऋण लिएर नतिर्ने हुन् । यस्तै गोरखा सेभिङ एन्ड क्रेडिटका पूर्व तथा ऋणी डीबी बम्जन पनि सहकरीबाट ऋण नतिर्नेमा छन् । उनले १० करोड ६३ लाख ऋण तिरेका छैनन् ।

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था

४ अर्ब ५८ करोड ६६ लाख ७३ हजार बचत दायित्व रहेको यो सहकारीले २ अर्ब ६९ करोड ३ लाख ८५ हजारमात्र कर्जा लगानी गरेको छ । बचत संकलनको तुलनामा ऋण लगानी न्यून रहेको अवस्थामा उक्त ऋणको ५८ प्रतिशत ठूला ४७ ऋणीलाई दिएको पाइएको हो ।

१ अर्ब ६६ करोड ६४ लाख ५० हजार रुपैयाँ ऋण र ६२ करोड ९१ लाख ४४ हजार बैंक मौज्दात देखाइएको छ । सहकारी अध्यक्ष रामबहादुर गौतम र उनले सञ्चालन गरेका परियोजनामा ऋण लगानी तथा पेश्की समेत नदेखाई सहकारीबाट रकमान्तर गरेर लगानी भएको हो ।

गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड

अवकाश प्राप्त ब्रिटिस गोरखा सेना एकताबद्ध गरी वित्तीय स्रोत संकलन र परिचालन गर्ने उद्देश्यले स्थापना भएको गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड सहकारीका पूर्वअध्यक्ष डम्बरबहादुर बम्जन र सहकारी सञ्चालक व्यवस्थापकको बदनियतले समस्याग्रस्त भएको छ ।

४ अर्ब १२ करोड १० लाख १६ हजार बचत दायित्व रहेको सहकारीको कर्जा तथा पेश्की १ अर्ब ५२ करोड ४० लाख ४९ हजार मात्रै छ । सहकारीको बक्यौता ब्याज नै २ अर्ब ९३ करोड ९६ लाख ७० हजार छ ।  पूर्वअध्यक्ष बम्जन र उनका दाइ तेजबहाजदुर तामाङसहित वर्तमान र पूर्वसञ्चालक समिति पदाधिकारी सहितले लिएको ऋण वर्षौंदेखि नतिर्दा ऋणभन्दा बक्यौता ब्याज बढी पुगेको छ ।

कुल लगानीको १७.७५ प्रतिशत निजी कम्पनीमा लगानी गरेको सहकारीले ३३ ठूला ऋणीलाई ७६.४८ प्रतिशत ऋण लगनी गरेको छ । ३३ ऋणीमध्ये पनि वर्तमान तथा पूर्वसञ्चालक समितिले खडा गरेका नक्कली ऋणी हुन् । सहकारीमा पूर्वअध्यक्ष बम्जनको ५६ करोड ४० लाख ५५ हजार र उनका दाइ तेजबहादुरको ७८ करोड १५ लाख ८१ हजार ऋण बक्यौता छ । जुन कुल बचत दायित्वको करिब एक तिहाइ हुन आउँछ ।

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

सहकारीमा कुल बचत दायित्व २ अर्ब ९७ करोड ८९ लाख छ । जसमध्ये ७९ करोड ३६ लाख २१ हजार लगानी र पेश्की तथा कर्जा ६६ करोड २० लाख ७७ हजार छ । बचत दायित्व र कर्जा तथा अन्य लगानीमा ठूलो अन्तर देखिन्छ । सहकारीको ऋण लगानीमध्ये पनि ९२.४६ प्रतिशत २५ ठूला ऋणीलाई लगानी भएको पाइएको हो  ।

सहकारीले २४.०४ प्रतिशत ऋण कम्पनी र १४.३२ प्रतिशत ऋण सञ्चालकलाई नै लगानी गरेको हो । सहकारीले कृषि परियोजनामा  गरेको लगानीको साँवा तथा ब्याज २७ करोड ४५ लाख २० हजार, समिट अस्पताल भक्तपुरमा गरेको ऋण लगानीको साँवा तथा ब्याज २५ करोड ६२ लाख १९ हजार पुगेको छ । सहकारी अध्यक्ष तेजविक्रम थापाले नै सञ्चालन गरेको कृषि टेलिभिजनको ऋणको साँवा तथा ब्याज ५ करोड ४९ लाख ४ हजार पुगेको छ ।

नेपाल वित्तीय सहकारी संस्था

दीपकप्रसाद बास्कोटा संस्थापक अध्यक्ष रहेको नेपाल वित्तीय सहकारी संस्थामा ठूला १६ ऋणीले दुई तिहाइभन्दा धेरै ऋण प्रयोग गरेको पाइएको छ ।

साहित्यकार डा. तुलसीप्रसाद भट्टराई अध्यक्ष रहेको सहकारी संस्थाको कुल ऋण तथा बक्यौता ब्याज समेत १९ करोड ५४ लाख ४० हजार रहेकोमा १६ जनाले  ६८.०४ प्रतिशत प्रयोग गरेको पाइएको हो ।

सहकारी अध्यक्ष भट्टराई भने ठूला ऋणीको सूचीमा देखिँदैनन् । सहकारीको बचत दायित्व ४० करोड ३९ लाख ४२ हजार छ । ११ करोड ७४ लाख ३७ हजारको स्थिर सम्पत्ति छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था

नेपाली कांग्रेस सहकारी समितिका पूर्वसचिव समेत रहेका सुरेन्द्र भण्डारीले स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पछि सचिव भएर चलाएको  श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले निजी कम्पनीमा गरेको लगानी, सहकारीकै विभिन्न परियोजनामा लगानी गर्ने र त्यसबाट प्रतिफल नआउने जस्ता कारण सहकारी समस्याग्रस्त भएको छ ।

६ अर्ब ३४ करोड ६९ लाख बचत दायित्व रहेको सहकारीको कर्जा लगानी ४ अर्ब ४७ करोड १७ लाख र ब्याज बक्यौता ९८ करोड ४६ लाख छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा मागदाबी भने ७ अर्ब १५ करोड ९५ लाख पुगेको छ । सहकारीले गरेको ऋण लगानीमध्ये ठूला ५० ऋणीले मात्रै ७७.६४ प्रतिशत ऋण प्रयोग गरेको पाइएको हो ।

जसमध्ये श्री लालीगुराँस जनस्वास्थ्य सहकारीको बक्यौता साँवा र ब्याज ३५ करोड ५१ लाख, अभिन्या इन्भेस्टमेन्ट ट्रेडिङ कम्पनी प्रालिमा २३ करोड ८ लाख ६० हजार, भैरवकुण्ड हाइड्रोपावरमा २५ करोड ७ लाख ७५ हजार, अग्नि एयरमा २२ करोड ७२ लाख ३५ हजार,  श्री लालीगुराँस फाउन्डेसनमा २१ करोड ७४ लाख ४४ हजार, पेज टु प्रिन्ट मिडियामा २१ करोड ४० लाख १७ हजार, लालीगुराँस अस्पतालमा १७ करोड २० लाख ५१ हजार, स्वागत इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनीमा १६ करोड ६० लाख ६८ हजार रुपैयाँ लगानी गरी बक्यौता छ ।

त्यस्तै हेलम्बु कन्स्ट्रक्सन प्रालिको १४ करोड २३ लाख  १५ हजार, जुगल ढुंगागिट्टी, बालुवा उद्योग प्रालिमा १० करोड ३९ लाख  ३० हजार, एभिन्युज नेटवर्क प्रालिबाट ६ करोड ८९ लाख ऋण असुल नभएको पाइएको हो । गायक रामकृष्ण ढकाले लिएको ऋणको सावाँ तथा ब्याज समेत ५ करोड २३ लाख नतिरेको पाइएको हो ।

सहकारीले कुल ऋणको ५९.२६ प्रतिशत ऋण कम्पनीमा लगानी गरेको छ । सहकारीमा सीईओ तथा सचिव भण्डारी बाहेक अरूले ऋण लिएका छैनन् । उनले २ करोड ३० लाख १६ हजार ऋण लिएका छन् । सहकारीले ऋण लगानी गरेको अधिकांश कम्पनी भण्डारी समेत आबद्ध रहेको र केही राजनीतिक पहुँचका आधारमा समेत प्रवाह भएका ऋण हुन् ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था

यो सहकारीको कुल निक्षेप दायित्व ९ अर्ब ५८ करोड ७५ लाख छ । जसमध्ये ऋण लगानी ७ अर्ब ४८ करोड ५६ लाख छ । असुल हुन बाँकी ब्याज १ अर्ब १६ करोड ७८ लाख छ । कुल कर्जामध्ये ४ अर्ब ७४ करोड ४९ लाख ७३ हजार कम्पनीमा लगानी गरेको हो ।

जुन सहकारीको अध्यक्ष केदारनाथ शर्मा, उनको श्रीमती गीता शर्मा, सचिव तेजबहादुर तामाङ लगायत व्यक्तिका नाममा सेयर लगत कायम भई खुलेका कम्पनी हुन् । कुल ऋणको ६३.३९ प्रतिशत कम्पनी र १०.३० प्रतिशत ऋण सञ्चालक समितिका सदस्यले प्रयोग गरी अपचलन भएको हो ।

सञ्चालक समितिले प्रयोग गरेको ऋणमध्ये ७० करोड अध्यक्ष शर्मा र सचिव तेजबहादुरले अपचलन गरेका हुन् । तेजबहादुर गोरखा सेभिङको पनि सबैभन्दा धेरै रकम अपचलन गर्ने व्यक्ति हुन् । सहकारीको २५ ठूला ऋणीले ९१ प्रतिशत ऋण प्रयोग गरेका छन् ।

समानता बचत तथा ऋण सहकारी संस्था

जीबी राई नै अध्यक्ष रहेको समानता सहकारी संस्थाको बचत दायित्व १७ करोड १५ लाख छ । जसमध्ये कर्जा लगानी १४ करोड ५६ लाख छ । सहकारीको कुल ऋण लगानीमा २५ ऋणीले ८९.४२ प्रतिशत प्रयोग गरेका छन् । जीबी राई समूहले सञ्चालन गरेको उक्त सहकारीबाट भने गोरखा मिडिया नेटवर्कमा पैसा ल्याएका छैनन् ।

जीबी राई ।

सहारा चितवन बचत तथा ऋण सहकारी संस्था

जीबी राई समूहले नै सञ्चालन गरेको सहारा सहकारीको कुल बचत दायित्व ५० करोड ४६ लाख ३२ हजार छ ।

सहकारीले गोरखा मिडिया नेटवर्कमा १० करोड २१ लाख, जीबी राई र ज्ञानबहादुर बम्जन तामाङको कम्पनी स्प्रिड बुड रियल स्टेट एन्ड हाउजिङमा ६ करोड ३६ लाख, नेचर हब्र्स इन्टरनेसनलमा ९ करोड २४ लाख, नेचर नेस्टमा ६ करोड १८ लाख तथा जीबी ग्रुप अफ कम्पनीमा ८ करोड ८१ लाख लगानी गरेको छ । जुन कुल ऋणको ६१ प्रतिशत हो । यी कम्पनी जीबी राईकै लगानी रहेका कम्पनी हुन् ।

सुप्रिम बचत तथा ऋण सहकरी संस्था

१ अर्ब ३ करोड ५९ लाख रुपैयाँ बचत दायित्व रहेको सुप्रिम सहकारीले ९९ करोड ४५ लाख ऋण लगानी गरेको छ । जसमध्ये ३७ करोड ३८ लाख रुपैयाँ कम्पनीमा लगानी गरेको देखिन्छ । जीबी राई पूर्वअध्यक्ष र दीपेशकुमार पुन पूर्वसचिव रहेको सहकारीले कुल ऋणको २६.७५ प्रतिशत कम्पनीमा ऋण दिएको हो ।

सहकारीले स्प्रिड बुड रियल स्टेट एन्ड हाउजिङमा १५ करोड ३४ लाख, नेचर नेस्टमा १० करोड ७८ लाख तथा जीबी ग्रुप अफ कम्पनीमा ११ करोड २६ लाख लगानी गरेको छ ।सहकारीको ऋणीको विवरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, सहमहामन्त्री विपिन आचार्य, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी समेतलाई ऋणी देखाइएको छ ।

छविलाल जोशी ।

सहकारीबाट १९ ठूला ऋणीले ७४.७१ प्रतिशत रकम प्रयोग गरेका छन् । तीमध्ये अधिकांश जीबी राईले बनाएका नक्कली ऋणी र उनकै कम्पनी हुन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा

जीबी राई सहकारी क्षेत्रमा प्रवेश गरेको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट हो । जसमा इमेज सहकारी ठगीमा फरार देवकुमार नेपाली पनि उपाध्यक्ष भएका थिए ।

सहकारीको कुल बचत दायित्व १ अर्ब ३५ करोड ५० लाख र ऋण तथा कर्जा १ अर्ब ३१ करोड ५४ लाख छ ।

सहकारीले कुल ऋणमध्ये २०.६७ प्रतिशत कम्पनीलाई लगानी गरेको छ । ती कम्पनी जीबी राई संलग्न कम्पनी हुन् । सहकारीबाट २९ ठूला ऋणीले ६१.७२ प्रतिशत ऋण प्रयोग गरेका छन् ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्था

जीबी राई समूहले नै चलाएको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत दायित्व १ अर्ब ४५ करोड र कर्जा तथा पेश्की १ अर्ब ३५ करोड छ । ३.७७ प्रतिशत ऋण कम्पनीहरूमा प्रवाह गरेको सहकारीले सीमित ऋणीले ठूलो हिस्सा प्रयोग गरेका छन् ।

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष राष्ट्रिय सहकारी बैंक अध्यक्ष समेत रहेका नेकपा एमाले सहकारी विभाग पूर्वसचिव कृष्णबहादुर (केबी) उप्रेती हुन् ।

६ अर्ब २५ करोड ८५ लाख बचत दायित्व रहेको सहकारीकोे कर्जा तथा पेश्की ६ अर्ब ८६ करोड १८ लाख छ । सहकारीले सञ्चालकका कम्पनीलाई विनाधितो ऋण प्रवाह गरेको र ऋण असुल नगरी ब्याज पूँजीकरण गर्ने गरेको देखिएको हो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था

जीबी अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा तत्कालीन हर्बो चलाउने समूहरूको समेत आबद्धता थियो । हर्बोका संस्थापकमध्ये पुष्पराज पौडेल अध्यक्ष भएको कामद बहुउद्देश्यीय सहकारी लगायत मर्जर भएर बनेको सहकारी जीबी राई समूहले सञ्चालन गरेको सबैभन्दा ठुलो संस्था हो । जसको बचत दायित्व २ अर्ब ६५ करोड ८९ लाख छ । कर्जा लगानी २ अर्ब ५२ करोड २३ लाख छ ।

सहकारीबाट ३३ ऋणीले ७६.४८ प्रतिशत ऋण प्रयोग गरेका छन् । हर्बो इन्टरनेसनलको १० करोड २८ लाख, पुष्पराज पौडेलको ८ करोड ७७ लाख, डीबी बम्जनका सालो भीमबहादुर तामाङको २ करोड ४२ लाख, हर्बोको संस्थापक गोकुल श्रेष्ठको ४ करोड ४७ लाख  ऋण तिरिएको छैन । यस्तै जीबी ग्रुप अफ कम्पनीले १ करोड ६९ लाख,  दीपेशकुमार पुनले ४ करोड ४ लाख ऋण तिरेका छैनन् ।

इमेज बचत तथा ऋण सहकारी

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका एमाले नेता देवकुमार नेपालीले बागलुङ र पोखरामा इमेज बचत तथा ऋण सहकारी संस्थाका नाममा दुइटा सहकारी चलाउँदै आएका थिए ।

इमेज पोखराको बचत ४० करोड २० लाख र ऋण लगानी २७ करोड ७८ लाख छ । सहकारीको अधिकांश ऋण देवकुमारले नै अपचलन गरेका हुन् ।

तुलसी बहुमुखी सहकारी

शिवशिखर बहुउद्देश्यीय सहकारीमा रकम अपचलन गर्ने केदारनाथ शर्मा नै तुलसीका पनि अध्यक्ष हुन् । १ अर्ब ४३ करोड ५४ लाख बचत दायित्व रहेको सहकारीको कर्जा भने ४२ करोड ७० लाख मात्रै छ । अन्य सबै रकम केदारनाथले आफ्ना कम्पनीमा अपचलन गरी १ अर्ब ३१ करोड सम्पत्ति देखाएका छन् ।

तुलसी मोटरपम्प उद्योगमा २२ करोड, नटराज एग्रो प्रालिमा ६ करोड ११ लाख, शिखर अर्गनाइजेसनमा ५ करोड ६६ लाख तुलसी कृषि अनुसन्धान केन्द्रमा ३ करोड ३९ लाख रकम लगानी अपचलन गरेका हुन् ।

प्राइम बहुउद्देश्यीय सहकारी संस्था

पोखराको प्राइम सहकारी संस्थामा सहकारी विभागका पूर्वकर्मचारीले नै घुस लिएको आरोपमा तानिएका छन् । १ अर्ब १८ करोड कुल पूँजी तथा दायित्व रहेको सहकारीको ऋण लगानी करिब ९५ करोड छ ।

सहकारीमा शंकरनारायण श्रेष्ठको एकाघर परिवारको सदस्यको नाममा कर्जा देखाइ १६ करोड ६२ लाख र इन्द्रमाया केसीको नाममा कर्जा देखाइ ७ करोड ४२ लाख हिनामिना भएको हो ।

यस्तै बचतकर्तालाई प्रदान भएको भन्दा बढी ब्याज खर्च देखाइ सञ्चालक र व्यवस्थापकले अपचलन गरेका हुन् ।

लुनिभा बहुउद्देश्यीय सहकारी संस्था

२०७५ सालमै समस्याग्रस्त घोषणा भए पनि बचत दायित्व हालसम्म फछ्र्योट हुन सकेको छैन । सहकारीको बचत दायित्व १७ करोड २५ लाख र ऋण लगानी ३ करोड ७९ लाख मात्रै छ ।

सहकरीमा २५ ऋणीले ८८ प्रतिशत ऋण लिएर नतिरेका हुन् । सञ्चालक समितिकै सदस्यहरूले सहकारीको रकम अपचलन गर्दा समस्या आएको थियो ।

सुमेरु बचत तथा ऋण सहकारी

भरत महर्जनले ललितपुर पुलचोकमा सुमेरु बचत तथा ऋण सहकारी संस्था र कालीमाटीमा पनि सोही नामबाट सुमेरु हाउजिङमा आबद्धहरूले कारोबार गर्ने गरी अर्को सहकारी चलाएका थिए । तर, दुवैले सर्वसाधारणबाट बचत रकम उठाइ अपचलन गरेका हुन् ।

हाल सहकारी सञ्चालक समितिमा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह प्रवेश गरेका छन् । सुमेरु पुलचोकको बचत दायित्व ७ अर्ब २४ करोड र ऋण ८ अर्ब ९६ करोड छ ।

सहकारीले सुमेरुसिटी अस्पताल पुलचोकमा ३ अर्ब १२ करोड, सुमेरु कम्युनिटी अस्पताल धापाखेलमा २ अर्ब ८७ करोड र शंकरापुर एकेडेमी लगायत कम्पनीमा ३ अर्ब ३९ करोड लगानी गरेको छ ।

कुल ऋणको ६६.८५ प्रतिशत कम्पनीमा लगानी भएको पाइएको हो । जसको सेयर स्वामित्व भरत महर्जन र उनले बनाएको केही सहकारीका सञ्चालकहरूसँग छ ।

जेस्ट बचत तथा ऋण सहकारी

‘सिते बा’ नामले परिचित कलाकार मदुसूदन पाठक सचिव रहेको जेस्ट सहकारीको बचत दायित्व २ अर्ब ३ करोड र कर्जा २ अर्ब ५४ करोड ५५ लाख छ । विनाधितो ऋण लगानी र ऋणको ब्याज असुल नगरी पूँजीकृत गर्दा सहकारीमा समस्या आएको हो ।

छिपछिपे उपभोक्ता सहकारी

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतका ज्वाइँ नगेन्द्रबहादुर रिमाल र उनको समूहले तीन सहकारीबाट बचत रकम अपचलन गरी गीता बस्नेत समेतको लगानी रहेको कृष्णसार रिसोर्टमा पु¥याएका थिए । १० करोड २२ लाख बचत र ११ करोड ५० लाख ऋण रहेको सहकारीको बचत रकम नगेन्द्र रिमाल, योगेन्द्र पाण्डे, डुण्डीराज गौतम, कृष्णप्रसाद ज्ञवाली र सञ्जीवकुमार महतोको समूहले अपचलन गरेको हो । सोही समूहले चितवनमा सनराइज बचत तथा ऋण सहकारी संस्था र बर्दियामा नमस्ते बर्दिया बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेका हुन् ।

ओरेन्टल कोअपरेटिभ

कुनै समयमा चर्चित रियल इस्टेट व्यवसायी सुधीर बस्नेतले ओरेन्टलसहित पाँच सहकारी संस्थाको बचत रकमबाट आफ्नो व्यवसायको साम्राज्य खडा गरेका थिए । पाँचवटै सहकारी समस्याग्रस्त घोषणा भएका छन् । ओरेन्टलको बचत दायित्व ४ अर्ब २१ करोड र ब्याज ४ अर्ब १७ करोड गरी ८ अर्ब ३८ करोड छ ।

केही ऋण व्यक्तिले लगे पनि अधिकांश सुधीर बस्नेत र उनकै समूहले चलाएका हुन् भने रियल इस्टेटमा पनि लगानी गरे । ४ करोड ३५ लाख बचत मागदाबी रहेको समस्याग्रस्त घोषणा भइसकेको कन्जुमर बचत तथा ऋण सहकारी संस्था यही समूहको हो ।

त्यस्तै यही समूहले चलाएको भेगास बचत तथा ऋण सहकारीको बचत मागदाबी ९३ लाख रुपैयाँ बराबर छ । ५७ लाख ६३ हजार बचत मागदाबी भएको कोहीनुर हिल सेभिङ एन्ड क्रेडिट पनि यही समूहले चलाएको थियो । त्यस्तै प्यासिफिक सेभिङ एन्ड क्रेडिटको बचत मागदाबी १८ करोड ६८ लाख बराबर छ ।

सोसाइटल सेभिङ एन्ड क्रेडिट

१० करोड ८७ लाखको बचत दायित्व रहेको सोसाइटल सहकारीको ऋण नतिर्नेमध्ये अध्यक्ष लक्ष्मीप्रसाद पाण्डे पनि हुन् । उनले आफैं अध्यक्ष तथा प्रिन्सिपल रहेको सोइसाइटल स्कुलमा लगानी गरी सहकारी डुबाएका हुन् ।

हाम्रो नयाँ कृषि सहकारी संस्था

जीबी राई अध्यक्ष रहेको सहकारीमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पूर्वउपाध्यक्ष हुन् । सहकारीमा ५० बचतकर्ताको ७ करोड ७८ लाख बचत दायित्व छ । सहकारी समस्याग्रस्त घोषणा भएको छ ।

चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ

राजु श्रेष्ठ, खुसचन्द्र श्रेष्ठ, राजेश श्रेष्ठ, स्वरुप मरासिनी र खेमराज निरौलाको समूहले काठमाडौं उपत्याकाका विभिन्न स्थानमा पाँच सहकारी संस्था चलाउँदै निजी स्वार्थमा प्रयोग गरेका थिए ।

चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा ८४ लाख ११ हजार मागदाबी भएकोमा ४७ लाख १४ बचत फिर्ता गरेर राफसाफ भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको विवरण छ ।

त्यस्तै प्रभु बचत तथा ऋण सहकारी संस्था पनि सोही समूहले चलाएको थियो । जसमा बचतकर्ताको १२ करोड २५ लाख मागदाबी छ । स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ अध्यक्ष राजु श्रेष्ठ थिए ।

सहकारीमा बचतकर्ताको मागदाबी ७५ लाख २८ हजार छ । यही समूहले चलाएको स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ अध्यक्ष खेमराज निरौला थिए । समस्याग्रस्त घोषणा भइसकेको सहकारीमा मागदाबी ११ करोड १० लाख छ । कुबेर बचत तथा ऋण सहकारी संस्था पनि यही समूहले चलाएको थियो ।

संसदीय विशेष समितिले कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकरी, ठमेलको क्यापिटल बचत तथा ऋण सहकरी , चाबहिलको कुमारी बचत तथा ऋाण सहकरी, धरानको बराह बचत तथा ऋाण सहकारी, सांसद धनराज गुरुङको श्रीमती व्यवस्थापक रहेको मितेरी बचत तथा ऋण सहकारीको समेत वित्तीय विश्लेषण गरेको थियो ।

दिनेश दर्शनधारी अध्यक्ष रहेको दर्शन बचत तथा ऋण सहकरीमा बचत दायित्व ८६ करोड ८१ लाख र सापटी ३४ करोड ७६ लाख तथा ऋण लगानी १ अर्ब ४५ करोड छ । सहकरीको ठूलो रकम अध्यक्ष दिनेश दर्शनधारीले विभिन्न कम्पनी तथा निजी व्यवसायमा लगानी गरी अपचलन गरेका हुन् ।

नेपाली कांग्रसका उपसभापति धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ व्यवस्थापक भएर १२ करोड ५० लाख सावाँ र ब्याज समेत १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको मितेरी बचत तथा ऋण सहकारी संस्थको पनि समितिले वित्तीय विश्लेषण गरेको थियो । सो सहकारीको बचत १२ करोड ४४ लाख र कर्जा १४ करोड १७ लाख छ ।

यस्तै जीबी राईका जेठान ज्ञानबहादुर बम्जनले श्रीमति पुष्पाकुमारी तामाङ संस्थापक अध्यक्ष रहने गरी कुमारी बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेको देखिन्छ । ब्रिटिस गोर्खा ग्रुपले प्रबर्द्धन गरेको भनि बचत संकलन गेरको सो सहकारीमा ज्ञानबहादुरकै साथी सूर्यध्वज न्यौपानले पछिल्लो समय अगाडि बढाएका थिए । सो सहकारीको बचत ९५ करोड ५६ लाख र ऋण लगानी ९६ करोड ५७ लाख छ ।

ठमेलको क्यापिटल सेभिङ एन्ड क्रेडिट सहकारीको अध्यक्ष रामचन्द्र शर्मा छन् । बचत फिर्ता गर्न नसकेर बचकर्ताको उजुरी परिरहेको सहकारीको बचत दायित्व २ अर्ब ८९ करोड र ऋण लगानी २ अर्ब १७ करोड छ । ब्याज रकम ८९ करोड उठ्न बाँकी छ । सहकारीबाट ४६ जना ऋणीले ७७.८५ प्रतिशत ऋण चलाएका छन् । कुल ऋणको १७.९२ प्रतिशत सञ्चालकले र २२.८१ प्रतिशत ऋण सञ्चालकका कम्पनीमा प्रयोग भएका छन् ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले पनि थप रकम अपचलन गरेका छन् । कम्पनीमा लगानी भएको अधिकांश उनकै नेतृत्वमा छन् । सहकारीको उपाध्यक्ष युगेशवर सापकोटा, सचिव अच्युतराज भण्डारी, कोषध्यक्ष अशोक पाण्डे र सदस्य रामहरि थापाले मात्रै ५४ करोड १९ लाख रुपैयाँ अपचलन गरेका हुन् ।

धरानको बराह बचत तथा ऋण सहकारी बराहक ग्रुपको संस्थापकले चलाएका हुन् । सहकरीको हाल अध्यक्ष मानबहादुर विश्वकर्मा छन् । हाल बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा छन् । उनका बुबा सहकारीका पूर्व अध्यक्ष हुन् ।

सहकारीको बचत ६५ करोड ५१ लाख र कर्जा ७१ करोड ८५ लाख छ । सहकरीले सञ्चालक समितिलाई १० करोड ४७ लाख कर्जा र १४ लाख ११ हजार पेश्की दिएको छ । सहकारीको सञ्चालक समितिले भने बचत दायित्व ९ अर्ब ४७ कराड रहेको बताएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखरामा ताण्डव मिडिया सञ्चालन गर्ने समूहले चलाएको थियो । सहकारीको निक्षेप १८ करोड र कर्जा १० करोड रुपैयाँ छ । सहकारी सञ्चालक र व्यवस्थापक मिलेर बचत रकम अपचलन गरेका हुन् ।

यसबाहेक नियमन अभावले समेत सहकारीमा समस्या देखिएको पाइएको छ । धेरैजसो सहकारी ऋण नोक्सानी व्यवस्था उल्लंघन गर्दै अनियमित वित्तीय कारोबार गर्दा समस्यामा परेको देखिएको छ । सहकारी संस्थामा वित्तीय अनुशासन अभाव समेत अर्को समस्याका रूपमा देखिएको छ ।

वित्तीय जोखिमको पर्याप्त मूल्यांकन नगरी ऋण दिने, सहकारीले लिएको जोखिमको उच्च स्तर नहुनु र वित्तीय सुरक्षा अभावजस्ता समस्या सहकारीमा देखिएका छन् । ऋण लिने व्यक्तिको वित्तिय स्थिति, ऋणको जोखिम र फिर्ता गर्ने क्षमताको विश्लेषण नगरी ऋण दिँदा समेत संस्थाहरू ठूलो आर्थिक समस्यामा फसेको पाइएको छ ।

जोखिम व्यवस्थापनमा असमानता

समस्याग्रस्त १८ सहकारीको ऋण रकम र नोक्सानी व्यवस्थाको अध्ययन गर्दा यी संस्थाको जोखिम व्यवस्थापनमा असमानताको स्थिति देखिएको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी सहितका सहकारीमा न्यून ऋण नोक्सानी व्यवस्था गरिएको पाइएको छ । ऋण नोक्सानी व्यवस्था सम्बन्धमा सहकारी विभागले जारी गरेको एकीकृत निर्देशिका २०७९ मा उल्लेख भएको व्यवस्था अनुसार ऋण प्रवाह गर्नासाथ ऋण रकमको एक प्रतिशत, एक वर्षभन्दा कम अवधिले भाखा नाघेको ऋणको ३५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिले भाखा नाघेको ऋणको शतप्रतिशत ऋण नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसो हुन नसकेको देखिएको छ ।

सीमित सदस्यमा ऋण प्रवाह

समस्याग्रस्त सहकारी अध्ययन गर्दा सबैजसोमा बचत खाताको तुलनामा ऋण खाताको संख्या न्यून देखिएको छ । उदाहरणका लागि सुप्रिम बचत तथा ऋण सहकारीमा बचत खाता १९ हजार ३५ रहेकोमा ऋण खाता २ सय ६६ मात्र देखिएको छ । यसले ऋण प्रवाह सीमित सदस्यमा अधिक भएको देखिएको छ ।

बचतको संख्या उच्च हुँदाहुँदै ऋणको सीमित वितरणले संस्थाको लाभदायकता र आर्थिक विकासमा अवरोध गर्ने समितिको निष्कर्ष छ । धेरै मात्राको ऋण रकम एउटै क्षेत्र वा केही सीमित क्षेत्रमा केन्द्रित हुँदा उक्त क्षेत्रमा आर्थिक अवरोध आए संस्थालाई ठूलो असर पार्न सक्छ ।

ऋण कम वितरणले संस्थाको नगद प्रवाहमा असन्तुलन सिर्जना गर्छ । ऋण वितरण कम हुँदा संस्थाको ब्याज आयमा कमी आउन सक्छ ।

सहकारी कानुन विपरीत अप्राकृतिक व्यक्ति र संस्थामा ऋण

सहकारीको अर्को समस्याका रूपमा कानुन विपरीत लगानी देखिएको छ । समितिले गरेको अध्ययनले विभिन्न सहकारीबाट प्रचलित सहकारी कानुन विपरीत अप्राकृतिक व्यक्ति र संस्थाका सञ्चालकका नाममा ऋण लगानी गरेको पाइएको देखाएको छ ।

उदाहरणका लागि शिवशिखर बहुउद्देश्यीय सहकारीले ७ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेकोमा कम्पनीमा ४ अर्ब ७४ करोड ऋण लगानी गरेको छ । जुन कुल ऋण लगानीको ६३.३९ प्रतिशत हो ।

सञ्चालकलाई ७७ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेको छ । जुन १०.३० प्रतिशत हुन आउँछ । धेरैजसो सहकारीले संस्थामार्फत ठूलो ऋण लगानी गरेका छन् । जुन कानुन विपरीत काम हो ।

कुल सम्पत्तिमा ऋण लगानी अनुपात अस्थिर

सहकारी संस्थाको कुल सम्पत्तिमा ऋण लगानी अनुपातको उचित मापदण्ड ७०–८० प्रतिशत हुनु राम्रो मानिन्छ । समितिले २१ सहकारीको कुल सम्पत्तिमा ऋण लगानी अनुपात विश्लेषण गरेको थियो । जसबाट १० सहकारीमा ५० प्रतिशतभन्दा कम अनुपात रहेको देखिएको छ ।

अनुपात धेरै कम हुँदा संस्थाले उपलब्ध सम्पत्तिलाई पूर्णक्षमतामा प्रयोग गर्न नसकेको अर्थ लाग्छ । यसले सहकारीको अवसर गुम्ने र पूँजीलाई प्रभावकारी लगानी गर्न असफल हुन्छ । चार सहकारीको अनुपात तोकिएको प्रतिशतसम्म रहेको देखिन्छ ।

यसबाट संस्थाको ऋण लगानी अनुपात सन्तोषजनक रहेको देखिन्छ । बाँकी सहकारीको भने ८० प्रतिशतभन्दा माथि देखिन्छ । यसले संस्थाको वित्तीय अस्थिरता र दीर्घकालीन समस्यातर्फ उन्मुख रहेको संकेत गर्छ ।

कुल सम्पत्तिमा पुगेन बचत अनुपात मापदण्ड

सहकारी संस्थामा कुल सम्पत्तिमा बचत अनुपातको उचित मापदण्ड ७०–८० प्रतिशत हुनु राम्रो मानिन्छ ।

समितिले गरेको अध्ययनबाट आधा दर्जन सहकारीमा मापदण्डभन्दा कम कुल सम्पत्तिमा बचतको अनुपात देखिन्छ । यसले सहकारी संस्था वाह्य स्रोतमा निर्भर रहनुपर्छ ।

यसले संस्थाको आर्थिक स्थिरता कमजोर भएको संकेत गर्छ । बाँकी सहकारीमा यस्तो अनुपात तोकिएको मापदण्डभन्दा बढी रहेको देखिन्छ । यसबाट अत्यधिक बचत हुने र संस्थाले आफ्नो पूँजी प्रभावकारी लगानी गर्न असफल हुन्छ ।

वाह्य ऋणमा अधिक निर्भर

कुल सम्पत्तिमा वाह्य ऋण अनुपातको उचित मापदण्ड बढीमा ५ प्रतिशत हो । तर, अध्ययन गरिएका सहकारीमध्ये कतिपयमा यस्तो अनुपात ६९.५७ प्रतिशतसम्म रहेको देखिएको छ । वाह्य ऋणको अत्यधिक निर्भरताले वित्तीय स्थिरतामा समस्या देखाउँछ । यसले वित्तीय जोखिम र ऋण व्यवस्थापनमा समस्या ल्याउन सक्ने समेत देखिएको छ ।

कुल सम्पत्तिमा सेयर पूँजी न्यून

सहकारी संस्थामा कुल सम्पत्तिमा सेयर पूँजी अनुपातको उचित मापदण्ड बढीमा २० प्रतिशत हुनु स्वस्थकर मानिन्छ । तर, अध्ययन गरिएका सहकारीमा यस्तो अनुपात ७ प्रतिशतभन्दा बढी देखिएको छैन । यसले सहकारी सदस्यको आफ्नो लगानीभन्दा धेरै गुणा बचत परिचालन गरी सञ्चालनमा रहेको देखिएको छ ।

दयनीय जगेडा कोष

कुल सम्पत्तिमा जगेडा तथा अन्य कोष अनुपातको उचित मापदण्ड ५ प्रतिशत हो । अध्ययन गरिएका सहकारीमा जगेडा कोषको अनुपात माइनस (ऋणात्मक) १४२ प्रतिशत रहेको देखिन्छ । यसले पूँजी संरचनामा असन्तुलन र सम्भावित वित्तीय अस्थिरताको संकेत गर्छ ।

तरलता व्यवस्थापन गर्न असफल

सहकारी संस्थाहरू तरलता व्यवस्थापन गर्न असफल अवस्थामा देखिएका छन् । एकीकृत निर्देशन २०७९ को दफा २८ बमोजिम सहकारीले राख्नुपर्ने तरलता अनुपात कुल निक्षेप दायित्वको कम्तीमा १० प्रतिशत रहनुपर्छ । तर, अध्ययन गरिएका सहकारीमा यो अनुपात भेटिएको छैन ।

ठूला ऋणीमा केन्द्रित सहकारी

अध्ययनबाट सहकारीमा ठूला ऋण संख्या र रकम अत्यधिक देखिन्छ । सुमेरु बचत तथा ऋण सहकारीमा ८६.३९ प्रतिशत ऋण ३४ ठूला ऋणीले चलाएको देखिन्छ । समानता बचत तथा ऋण सहकारीमा २५ ठूला ऋणीले ८७.४३ प्रतिशत ऋण चलाएको देखिएको छ ।

यसरी सहकारीको विश्लेषण गर्दा व्यवस्थापकीय कमजोरी, कानुनी नियमन अभाव, वित्तीय अनुशासन कमी र स्रोत–साधन दुरुपयोगलाई मुख्य कारण मानिएको छ ।

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?