२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा चार करोड रुपैयाँ बढीको बिगो मागदाबी हुने भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
बुटवलका डीएसपी विजय पण्डितले लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको बताए ।
‘व्यक्ति र सामूहिक गरेर उहाँविरुद्ध चार करोड बढी बिगो मागदाबी गर्नुपर्ने राय हाम्रो छ,’ डीएसपी पण्डितले अनलाइनखबरसँग भने ।
डीएसपी पण्डितले भनेजस्तै २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको छ । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।
भौचर सदर गर्ने सागर केसी, रकम जम्मा गर्ने रोसनी गुरुङको नाम उल्लेख छ । सागर केसी सहकारीका व्यवस्थापक हुन् भने रोशनी लेखा शाखामा काम गर्ने कर्मचारी हुन् । लामिछानेको नाममा गएको यही २ करोड र अर्को सामूहिक २ करोड गरेर चार करोड बढी बिगो मागदाबी गर्नुपर्ने राय प्रहरीको छ ।
१४ नयाँ प्रतिवादी
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
अहिले थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको डीएसपी पण्डितले बताए । उनका अनुसार रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, अनन्तबाबु राई, विज्ञान राई, दीपक लामा, लक्ष्मी पौडेललगायत १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको छ । यसअघि २८ जनासहित जम्मा ४२ जना प्रतिवादी हुने देखिएको छ ।
त्यसैगरी बिगो पनि पनि बढेको छ । पहिला ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ बिगो रहेकोमा अहिले उक्त बिगो बढेर १ अर्ब १२ रुपैयाँभन्दा बढी पुगेको डीएसपी पण्डितले बताए ।
काठमाडौंपछि रविलाई रुपन्देहीमा उपस्थित गराइने
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्यननकै क्रममा रहेको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रतिवेदन अध्ययनपछि आइतबार वा सोमबारतिर मात्रै मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयको भनाइ छ ।
यता सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रविलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन् । लामिछानेविरुद्ध काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।
गत आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।
स्वर्णलक्ष्मी ठगी प्रकरणमा अदालतमा उपस्थित भएपछि लामिछानेलाई साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि कारागार पठाउने मध्ये एक आदेश आउने छ । त्यसपछि लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउने तयारी छ ।
प्रतिक्रिया 4