
११ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारेको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । जाहेरीको १० महिनापछि अनुसन्धानलाई गति दिएको प्रहरीले आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन गरेर अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धमा प्रहरीले सहकारी ठगीका साथै संगठित अपराध कसुरमा पनि अनुसन्धान गरिरहेको छ । २० कात्तिकमा सहकारीको लेखा सुपरिवेक्षण समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेर प्रहरीले ठगी प्रकरणमा अनुसन्धान सुरु गरेको थियो । संगठित ठगीको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने हदम्याद हुन्छ । सहकारीको अनुसन्धान पनि अन्तिम चरणमा पुगेकाले आउँदो हप्ता अनुसन्धान प्रतिवेदन बुझाइसक्ने जिल्ला प्रहरी परिसर काठमाडौंको तयारी छ ।
अहिले अनुसन्धान अन्तिम चरणमा पुगेको र सोहीअनुसार काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । प्रहरीले अनुसन्धान प्रतिवेदनको अन्तिम चरणको काम गरिरहेको छ ।
६० दिने हदम्यादअनुसार २० पुसभित्र यो सहकारीको मुद्दा अदालत गइसक्नुपर्ने हुन्छ । त्यसअघि नै सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गर्छ । त्यसैले अबकाे चार, पाँच दिनभित्रै प्रहरीले सरकारी वकिलकाे कार्यालयमा फाइल पठाउने गरी तयारी गरिरहेकाे छ ।
ठगी प्रकरणमा अहिलेसम्म ६५० भन्दा बढी बचतकर्ताले जाहेरी दिइसकेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गर्दा ६४५ जनाले जाहेरी दिएका थिए । ठगिएको भन्दै अहिले पनि जाहेरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । ‘जाहेरी आउने क्रम अहिले पनि जारी छ । यो संख्या थप बढ्न सक्छ,’ परिसर मुद्दा फाँटका डीएसपी हरि खतिवडाले भने ।
सुरुमा एक अर्ब ११ करोड रूपैयाँ ठगिएको दाबी गर्दै जाहेरी दिइएकाे थियो । अहिले जाहेरी दिने र रकम दावी गर्नेकाे संख्या बढेकाले बिगो पनि बढ्दै गएको छ । बिगो बढेर हाल एक अर्ब १८ करोड रुपैयाँभन्दा बढी पुगेको एक अनुसन्धान अधिकृतले अनलाइखबरलाई बताए । ‘जाहेरी आउने क्रम अझै जाहरी रहेकाले बिगोको दरसमेत थप हुनसक्ने देखिन्छ,’ ती अनुसन्धान अधिकृतले भने ।
स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम ट्रान्सफर गरिएकाे अडिट रिपोर्टबाट खुलेको छ । जसमध्ये सबैभन्दा बढी जीबी (गीतेन्द्रबाबु) राईकाे हर्बो इन्टरनेसनल प्रालिमा गएकाे छ। त्यहाँ १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ अपचलन भएकाे भेटिएको छ ।
जीबी ग्रुप अफ कम्पनी प्रालिमा एक करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिमा १३ लाख ११ हजार ४४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा तीन करोड ७८ लाख सात हजार नाै सय ३६ रुपैयाँ रकम ट्रान्सफर गरेर अपचलन गरिएकाे भेटिएको छ ।
४४ बढीलाई प्रतिवादी बनाउने तयारी
बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले अनुसन्धान गर्न भन्दै स्वर्णलक्ष्मीको अडिटसहितको रिपोर्ट २३ पुस २०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेकाे थियो । त्यतिबेला रकम अपचलन गरेको निष्कर्षसहित सञ्चालकहरूको विवरण, अडिट रिपोर्ट, साधारणसभाको निर्णयलगायतका कागजातहरू मन्त्रालयले प्रहरीलाई पठाएको थियो ।
साेही पत्रका आधारमा प्रहरी वृत्त कालिमाटीले अनुसन्धान सुरुवात गरेको थियो । त्यतिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । उनले पनि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए । दुई महिनापछि २३ फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री भए भने स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानले गति लिएन ।
तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगातार सदन अवराेध गर्दै सहकारीमा भएकाे अपचलनकाे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग उठाएपछि नेकपा एमालेका सांसद सूर्य थापाकाे नेतृत्वमा संसदीय छानबिन समिति गठन भयाे । साे समितिले स्वर्णलक्ष्मीसहित ४० वटा सहकारीको छानबिन गरेर ३१ भदौमा प्रतिवेदन बुझाएपछि मात्र स्वर्णलक्ष्मीमा भएकाे अपचलनकाे अनुसन्धानले गति लिएको थियो ।
त्यसपछि प्रहरी वृत्त कालिमाटीमा रहेको अनुसन्धान फाइल परिसर काठमाडौं तानेर अनुसन्धान सुरु गरेको थियो । वृत्त कालिमाटीमा हुँदा नै २१ वैशाखमा सञ्चालक समितिका व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
दोस्रो चरणमा २ भदौमा र तेस्रो चरणमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेसहितका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि १३ मंसिरमा कास्की प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याएर रविको बयान लिइएको थियो ।
अहिलेसम्म यो सहकारी ठगी प्रकरणमा ४४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । जसअनुसार ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाउने तयारी काठमाडौं परिसरको छ ।
‘अहिलेसम्मको अनुसन्धानअनुसार ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाउने तयारी छ,’ परिसरका एक अनुसन्धान अधिकृतले भने, ‘यसमा थपघट गर्नुपर्ने देखिए सरकारी वकिल कार्यालयले सोही अनुसार गरेर मुद्दा दायर गर्नेछ ।’
अहिले काठमाडौं परिसरको हिरासतमा नेवाका साथै २६ कात्तिकमा पक्राउ परेका तत्कालीन ऋण उपसमिति सदस्य कमल लामा छन् । पक्राउ पुर्जी जारी भएका रवि, छविलाल जोशीसहितका केही व्यक्ति जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । अधिकांश भने फरार छन् ।
रवि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । पोखराको सूर्यदशन सहकारीको रकम अपचलनको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको छ । उक्त सहकारीले बचतकर्ताको एक अर्ब ५१ करोड रुपैयाँभन्दा बढी अपचनल गरेको आरोप छ ।
सहकारी ठगीका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि रवि, जीबीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा भने करिब २८ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
परिसरमा फाइल तानेको प्रहरीले केही दिनअघि मात्रै स्वर्णलक्ष्मीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रकम गएको विषयका कागजातहरू पनि भेटिएका छन् ।
स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछानेको नाममा गाडी किन्न भन्दै दुईपटक ४६ लाख ८८ हजार रुपैयाँका दरले रकम गएको कागजात पनि भेटिएका छन् । जसमा गोर्खा मिडियाका लागि भनेर जीबी राई र रविको नाममा उक्त रकम गएको देखिएको छ । उक्त कर्जामध्ये २९ लाख ५२ हजार ४३६ रुपैयाँ तिर्न बाँकी नै रहेको प्रहरी अनुसन्धानले खुलेकाे छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लागेका रविमाथि बिहीबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले थुनछेक बहस सकिएपछि साधारण तारेखमा तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गर्नेछ ।
कास्कीको अदालती काम सकिएपछि रविलाई काठमाडौं ल्याउने तयारी प्रहरीको छ । ‘संयोग नै भन्नुपर्छ कास्कीको मुद्दाको टुंगो लाग्ने समय र यता (काठमाडौं) को मुद्दा दर्ता हुने समय एकै परेको छ । त्यसपछि हाम्रो मुद्दाका प्रतिवादीहरूलाई अदालत उपस्थित गराउँछौं,’ परिसर काठमाडौंका एक अधिकृत भन्छन्, ‘नामै लिएर फलानोलाई काठमाडौं ल्याउँछौं भन्दा पनि कानुन अनुसार प्रतिवादीलाई अदालतमा उपस्थित गराउँछौं ।’
प्रतिक्रिया 4