 
																			५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर भएको छ । यही सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने लगायत ५ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्नुअघि पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधकोसमेत अभियोग पत्र दायर गरिएको हो ।
१८ असोज २०८० मा जिल्ला अदालत कास्कीमा दर्ता भएको मुद्दाका लागि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमासमेत अनुसन्धान गरी ३७५ पृष्ठको थप अभियोग पत्र शुक्रबार दायर गरिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरी फरार रहेका जीबीसहित सञ्चालक र पुर्पक्षका लागि कारागार रहेकाहरूको पनि थप अध्ययन गरी १ सय ५१ करोड बिगोको माग गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
पछिल्लोपटक पोखरा महानगरपालिकाले गराएको वित्तीय प्रतिवेदन, संसदीय विषय छानबिन समितिको प्रतिवेदन, प्रहरीको प्रतिवेदन अनुसार थप अभियोगपत्र लैजानुपर्ने भएकाले सुरुमा मुद्दा दायर भएका १९ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको हो ।
‘सूर्यदर्शन सहकारीबाट अपचलन भएको रकममा हाम्रो मुख्य ध्यान छ । मुख्य बिगोलाई क-कसले कति तिर्ने भनेर पनि देखाएका छौं । उनीहरूको कहाँ कहाँ दुरूपयोगमा संरलग्नता छ भन्ने पनि देखाइदिएका छौं,’ सरकारी वकिलको कार्यालयको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भनिन्, ‘यो अभियोग पत्रमा सूर्यदर्शनबाट कसले कति अपचलन गरेको छ र कति तिर्नुपर्छ भन्ने देखाइदिएका छौं ।’
यही सहकारी ठगीको मात्र मुद्दा चलाइएकाले अब सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि मुद्दा चलाउनुपर्ने देखिएको भन्दै थप भियोग पत्र दायर गरिएको हो । त्यसमा प्रहरी प्रतिवेदनको रायअनुसार नै १ अर्ब ५१ करोड बिगो तोकिएको काफ्लेले बताइन् । त्यो बेला मुद्दा चलाउनुभन्दा पछि पनि जाहेरी परेको र थप २ मुद्दामा पनि अनुसन्धान गरेर अदालतमा बुझाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्ति शर्माले जानकारी दिइन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सहकारी ठगीको मुद्दामा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् । अब उनीहरूलाई सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको पनि मुद्दा लाग्ने भएको हो ।
सुरुमा पक्राउ पुर्जी भएकामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ अझै फरार छन् । उनीहरूलाई पक्राउ गर्न रेडकर्नर नोटिससमेत जारी भएको छ ।
गत साल १८ असोजमा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना भएको भन्दै त्यति नै बिगो माग दाबी गरिएको थियो । उनीहरूलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ । अहिले प्रहरीको अनुसन्धान प्रतिवेदनलाई नै आधार मानेर बिगो तोकिएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ बमोजिम थप अभियोग दाबी गरिएको हो । ‘पूर्व अभियोजन दर्ता गरिएका प्रतिवादीहरूलाई संलग्नताका आधारमा थप अभियोग पत्र दायर गरिएको अवस्था हो,’ सरकारी वकिलको कार्यालयकी सूचना अधिकारीसमेत रहेका सहायक न्यायाधिवक्ताले शर्माले भनिन् ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेर पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित फरार भएपछि १ हजार ३७ जनाले निवेदन दिएपछि २०८० असोजमा पहिलो प्रतिवेदन सार्वजनिक भएको थियो ।
पुरानो प्रतिवेदनमा सबै विस्तृत विवरण नखुलाइएको भन्दै बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ व्यक्ति र संस्थाविरुद्ध पूरक जाहेरी दिएपछि अर्को अध्ययन भएको हो । काठमाडौंबाट २ जना सीआईबीसहितको टोलीले विस्तृत अनुसन्धान गरेको थियो । अनुसन्धानपछि गत २७ वैशाखमा पोखरा महानगरका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४१९ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
त्यही प्रतिवेदनका आधारमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप मुद्दा चलाइएको हो । सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको विवरणसहित सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
अहिले फरार रहेका र पुर्पक्षका लागि जेल चलान भएकाहरूलाई हेरेर सहकारी रकम कसरी दुरूपयोग भएको छ भन्ने प्राप्त प्रमाणको विश्लेषणसमेत गरेर बुझाइएको न्यायाधिवक्ता काफ्लेको भनाइ छ ।
जीबी राईको समूहले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको विवरणसमेत प्रतिवेदनमा खुलाइएको छ ।
महानगरले गराएका अघिल्लो प्रतिवेदनमा सूर्यदर्शन सहकारीबाट पूर्व सञ्चालक महेन्द्र भोटेले ७ करोड लगेको देखिएको थियो । तर, पछिल्लो प्रतिवेदनमा १७ करोड रुपैयाँ देखिएको थियो । पछिल्लो प्रतिवेदनले नै रास्वपा सभापति रवि लामिछानेले १ करोड रुपैयाँ लगेर गोर्खा मिडियाको नाममा मिलान गरेको खुलेको हो ।
सहकारीबाट ठूलो रकम अपचलन गर्नेमा जीबीकै दाजुभाइ देखिएका छन् । जीबीका दाइ भूपेन्द्रले ९ करोड २५ लाख ४ हजार ४२० रुपैयाँ अपचलन गरेको देखिएको छ भने कागजात तथा प्रक्रिया विनै ५३ करोड, ७७ लाख रुपैयाँ प्रवाह गरेको देखिएको छ ।
अध्यक्ष थानबहादुर बुढामगर आफैंले १ करोड ३८ लाख रुपैयाँ चलाएको पाइएको छ । उनी अध्यक्ष भएको कार्यकालमा १ करोड १२ लाख ९ हजार रुपैयाँ कागजात तथा प्रक्रिया नै पूरा नगरी ऋण प्रवाह गरेका छन् ।
२०८० भदौ २१ गतेसम्म सस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८ हजार ७०० वटा बचत खातामा जम्मा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको देखिएको थियो ।
जीबी राई आफैंले करिब ३० करोड अपचलन गरेको देखिएको छ । जीबीले आफ्नै नेतृत्वमा खुलेका विभिन्न संस्थामा सहकारीको पैसा लैजाने गरेको देखिएको सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा छ ।
जीबीकै नेतृत्वमा खुलेको नेचर नेस्ट, नेचर हर्बल्स, गोर्खा ग्रुप मल्टीइन्भेन्ट, गोर्खा मिडिया प्रालिजस्ता संस्थामा सूर्यदर्शनको रकम जाने गरेको अभियोजन पत्रमा छ । गोर्खा मिडियाको नाममा ५ करोड ५८ लाख रुपैयाँ गएको देखिएको छ ।
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4