+
+

एनपीएलमा सनसनी मच्चाएका १६ वर्षीय विपिन

बिहीबारको दोस्रो क्वालिफायरमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग २ विकेटले स्तब्ध हुनुपर्‍यो । तर कर्णाली पराजित भएपनि विपिनले आफ्नो बलियो प्रभाव छाडे ।

विकास रोकामगर विकास रोकामगर
२०८१ पुष ४ गते २१:११

४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदै गर्दा टीम कर्णाली याक्सको खुबै चर्चा थियो । किनकि चारवटा खेलकै लागि भए पनि उसले विश्व स्टार क्रिकेटर शिखर धवनलाई मैदानमा उतारेको थियो ।

तर, दोस्रो क्वालिफायरमा बिहीबार जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि होडबाट कर्णाली याक्स बाहिरिंदा अर्का क्रिकेटर चर्चामा छन्, विपिनप्रसाद शर्मा ।

जबकि एनपीएलका लागि टिम बनिरहँदा अक्सनमा समेत उनको नाम थिएन । कर्णालीले १६ वर्षीय लेफ्ट आर्म अर्थडक्स बलर शर्मालाई ट्यालेन्ट हन्टबाटै टिममा राखेको थियो । कर्णालीबाटै क्रिकेट खेलिरहेका ५ क्रिकेटरमध्ये उनलाई छनोट गरिएको थियो ।

यो प्रक्रियामा ९३ क्रिकेटरबाट उत्कृष्ट १५ अनि ५ हुँदै विपिन कर्णालीको आइकोनिक खेलाडीका रुपमा टिम कर्णाली याक्समा प्रवेश पाएका थिए ।

तिनै शर्माको चर्चा अहिले कर्णाली याक्सभन्दा बढी भइरहेको छ । चर्चाको कारण प्रष्ट छ, उनको सनसनीपूर्ण बलिङ ।

एनपीएलमा ८ खेल खेल्दा १३ विकेट लिएर उनी लिगमा सर्वाधिक विकेट लिने बलरको चौथो स्थानमा छन् । यो उपलब्धि उनले कर्णालीको दोस्रो खेलयता बनाएका हुन् ।

पहिलो खेलमा उनलाई बेञ्चमा राखिएको थियो । तर दोस्रो खेलमै मौका पाइहाले । त्यसपछि उनको उत्कृष्ट प्रदर्शनका कारण पहिलो रोजाईँमा अनिवार्य सदस्य बने ।

बिहीबारको दोस्रो क्वालिफायरमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग २ विकेटले स्तब्ध हुनुपर्‍यो । तर, कर्णाली पराजित भएपनि विपिनले आफ्नो बलियो प्रभाव छाडे । उनले जनकपुरको महत्त्वपूर्ण ३ विकेट लिए ।

दोस्रो ओभरमै बलिङ गर्न आएका विपिनले जनकपुरका शुभ कंशाकारको विकेट लिंदै विपक्षीलाई दबाब सिर्जना गरे । उनी यतिमै रोकिएनन् ।

१५.३ ओभरमा विपिनले जेम्स निशमको विकेट लिँदा खेलले नै नयाँ मोड लिएको थियो । किनकि दबाबमा परिरहेको जनकपुरलाई जितउन्मुख गराउन १७ बलमा विस्फोटक ब्याटिङ गर्दै ४५ रन जोडिसकेका थिए । उनै निशमलाई विपिनले बोल्ड गरिदिए ।

११९ रनको मध्यम लक्ष्य पछ्याएका जनकपुरलाई विपिन असाध्यै ठूलो भारी बने । यद्यपि खेल जनकपुरले २ विकेटले जित्यो । खेलपछि मिडियासँग कुरा गर्दै विपिनले केही दिनअघि निशमसँग भेटेको र विकेट आफूले लिने बताएको पनि सुनाए ।

‘अस्तिको भेटमा पनि मैले निशमलाई आउट गर्छु भनेको थिएँ, उसले ‘फ्यान्टास्टिक’ भनेको थियो’, विपिनले खुसी हुँदै सुनाए, ‘अहिले अफ गरें ।’

व्यक्तिगत रुपमा आफूले उत्कृष्ट खेले पनि टिमले हार्दा भने विपिन खुसी देखिएनन् । तर, उनको बलिङले नेपाली क्रिकेट समर्थक खुशी देखिएका छन् ।

हुन पनि विपिन कुनै पनि खेलमा विकेटविहीन भएनन् । चितवन राइनोजविरुद्धको खेलमा ३ विकेट लिएर सबैको आँखामा परेका थिए । चितवनका महत्त्वपूर्ण विदेशी खेलाडी सोहेल तनभिर, लफ्टी इटन र अमर राउटेलाको विकेट लिएका थिए । आफ्नो पूरा ४ ओभर बलिङ गरेका उनले ३ विकेट लिएर जम्मा २१ रन दिएका थिए ।

त्यसअघि कर्णाली काठमाडौंविरुद्ध मैदानमा उत्रिएको थियो । उक्त खेलमा काठमाडौंसँग ३ विकेटले पराजित भए पनि विपिनले १ विकेट लिएका थिए । उनले माइकल लेभिटको विकेट लिएका थिए ।

एनपीएलमा कर्णालीको तेस्रो खेलमा पनि उनी रोकिएनन् । विराटनगर किंग्समाथि ७ रनले रोमाञ्चक जित निकाल्ने क्रममा उनको २ विकेटको योगदान रह्यो । उनले विराटनगरका महत्त्वपूर्ण विदेशी खेलाडी मार्टिन गप्टिललाई १८ रनमै रोक्न सफल भए । त्यही खेलमा उनले लोकेश बमलाई पनि विकेट लिँदै पेभेलियन फर्किन बाध्य पारे ।

एनपीएलमा एकमात्र शतक प्रहार गरेका पोखरा एभेन्जर्सका एन्ड्रिज गौसको पनि विपिनले विकेट लिए । लिग चरणको १७ औं म्याचमा ७ विकेटको फराकिलो अन्तरले पराजित गर्ने क्रममा उनले गौसको विकेट लिएका थिए ।

विपिन लिग चरणमा जति पनि बलिङ गरेका छन्, खाली हात फर्किनु परेन । उनी सम्मिलित टिमले लुम्बिनी लायन्सलाई लिग चरणमा ५ रनले पराजित गरेको थियो । त्यसमा पनि विपिनले नै १ विकेट लिएका थिए, त्यो पनि विदेशी खेलाडी बेन कटिङलाई सस्तैमा समेटे ।

लिग चरणको अन्तिम खेल कर्णालीले सुदूरपश्चिम रोयल्ससँग खेलेको थियो । ६ विकेटले हार व्यहोरे पनि उनले १ विकेट लिए । इलिमिनेटर अन्तर्गतको खेलमा कर्णालीले चितवन राइनोजमाथि २१ रनको जित निकाल्यो । त्यसमा पनि उनले १ विकेट लिएका थिए । उनले चितवन राइनोजका कप्तान समेत रहेका कुशल मल्ललाई पेभेलियन फर्काएर टिमलाई सहज जिततर्फ अग्रसर गराए ।

एनपीएलका लागि ट्यालेन्ट हन्टबाट छानिएर पहिलो पटक अभ्यासका लागि आउँदा आफू नर्भस विपिनले खेलपछिको पत्रकार सम्मेलनमा बताए । ‘सबै दाइहरूलाइ देखेर नर्भस नै थिएँ । तर सबैले मलाई कम्फर्ट बनाइदिनुभयो’, उनले भने, ‘त्यसपछि त मेरो कन्फिडेन्स बुस्ट हुँदै गयो ।’

प्रतियोगितामा आफूले शिखर धवनजस्ता खेलाडीसँग खेल्न पाउँदा नै धेरै कुरा सिक्ने मौका पाएको पनि विपीनले छुटाएनन् । ‘धवनसँग एउटै क्रिजमा पुग्नु नै हाम्रो लागि ठूलो कुरा हो । त्यति भए पनि बलरको मनमा पनि धेरै कुरा आउँछ’, उनले भने, ‘धवन सरले खेल सबै दिमागबाटै खेल्ने हो भनेर सिकाउनुभाको थियो ।’

घरेलु लिग खेलिरहेको आफूजस्तो खेलाडीलाई प्रशिक्षक ज्ञानेन्द्र मल्ल लगायतले धेरै सहयोग गरेको विपिनको भनाइ छ । ‘यो ठूलो कुरा हो मेरा लागि । मैले पनि त्यो अवसर सदुपयोग गर्न सकें, यसमै खुसी छु’, उनले भने ।

ट्यालेन्ट हन्टदेखि एनपीएलको मैदानमा उत्कृष्ट देखाउँदासम्म उनको खेल प्रदर्शनको व्यापक चर्चा चुलिएको छ । अर्थात् उनले छोटो समयमै व्यापक ‘हाइप’ पाएका छन् । तर, उनी आफूलाई यो चर्चाले खेलमा असर नपार्ने बताए ।

‘हाइपमा पुगिस् के गर्छस् ? भनेर धेरैले सोधिराखेका छन् । यस्ता धेरै खेलाडी हुन्छन्, जो आउँछन्, हराउँछन् । म त्यो खेलाडी बन्न चाहन्नँ’, विपिन भन्छन्, ‘मलाई धेरै हाइप पनि चाहिन्न । प्रोसेस फलो गर्छु, जे हुन्छ, आफैं हुन्छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?