+
+
Shares

खेलकुद ‘मेगा इभेन्ट’ ले आतिथ्य उद्योग गदगद

यस्ता मेगा इभेन्ट आयोजना हुँदा ठूला होटलमा प्रत्यक्ष व्यापार बढेको देखिने भए पनि त्यससँग जोडिने सबैजसो क्षेत्र एकसाथ चलायमान हुने होटल एसोसिएसन अध्यक्ष शाह बताउँछन् ।

अच्युत पुरी अच्युत पुरी
२०८२ मंसिर २८ गते २२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको ८ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता शनिबार समापन भएको छ जसले आतिथ्य उद्योगमा ठूलो व्यापार बढाएको छ।
  • दक्षिण एसियाली फुटबल महासंघ महिला क्लब च्याम्पियनसिप नेपालमा जारी छ जसमा पाँच देशका क्लबले भाग लिएका छन्।
  • आगामी जनवरीदेखि फेब्रुअरीसम्म हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर नेपालले आयोजना गर्नेछ जसमा १० टोली सहभागी हुनेछन्।

२८ मंसिर, काठमाडौं । समकालीन नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा स्थापित ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) शनिबार समापन भएको छ ।

८ फ्रेन्चाइज टोली सहभागी यो प्रतियोगितामा अर्बौंको कारोबार भएको अनुमान गर्न सकिन्छ । त्यसमध्ये प्रत्यक्ष लाभ लिएको एक क्षेत्र हो– आतिथ्य उद्योग ।

८ टोलीले आफ्ना खेलाडी, प्रशिक्षक र अन्य सपोर्ट स्टाफलाई प्रतियोगिता अवधिभरि तारे होटलमा राखे । प्रतियोगितामा भाग लिएका टिममात्र होइन, प्रसारण अधिकार पाएको स्टार स्पोर्ट्सले समेत प्राविधिक सहित आफ्नो ठूलो टोलीलाई होटलमा राख्यो ।

होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाहका अनुसार जसरी खेलप्रेमीबीच एनपीएल एक ठूलो मेला वा पर्व हो, त्यसले आतिथ्य सेवालाई पनि उत्साहित बनाएको छ ।

‘स्वाभाविक रूपमा यति ठूलो इभेन्टले मैदान आसपास चटपटे, पानी र बदाम बेच्नेदेखि पाँचतारे होटलसम्मलाई लाभ हुन्छ,’ उनी भन्छन्, ‘लगातार दुई वर्षको सफलताले नेपालको आतिथ्य सेवा खेलकुदका मेगा इभेन्ट आयोजनामा सक्षम छ भन्ने पुष्टि गरेको छ ।’

यस्ता इभेन्ट आयोजना हुँदा ठूला होटलमा प्रत्यक्ष व्यापार बढेको देखिने भए पनि त्यससँग जोडिने सबैजसो क्षेत्र एकसाथ चलायमान हुने उनी बताउँछन् ।

‘कृषकको उपजले बजार पाउँछ, व्यापारीको व्यापार बढ्छ,’ उनी भन्छन्, ‘सडकदेखि हवाईजहाज कम्पनीसम्मको बिजनेस चलायमान हुन्छ ।’

एनपीएल चल्दाचल्दै नेपालमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिप आयोजना भइरहेको छ । जसमा नेपालको एपीएफदेखि ५ देशका क्लबले भाग लिएका छन् ।

१९ मंसिरदेखि ५ पुससम्म चल्ने यस प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, भुटान र पाकिस्तान महिला लिग च्याम्पियन क्लब सहभागी छन् ।

प्रत्येक टोलीले लिग चरणमा चार खेल खेल्ने गरी प्रतियोगिता भइरहेको छ । यो प्रतियोगिताका कारण समेत तारे होटलले थप व्यापार पाइरहेका छन् ।

नेपाली खेलकुदमा निकट भविष्यमा अर्को मेगा इभेन्ट आयोजना हुँदैछ । आगामी १२ जनवरीदेखि १ फेब्रुअरीमा ‘आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर’ नेपालले आयोजना गर्र्दैछ ।

यस प्रतियोगितामा १० टोली सहभागी हुँदैछन् । यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली जुन २०२६ मा इङ्ल्यान्डमा आयोजना हुने महिला टी–२० विश्वकपमा सहभागी हुनेछन् ।

२० दिन भन्दा लामो समय १० टोलीले आफ्नो टिमलाई नेपालका ठूला होटलमा राख्नेछन् । यस इभेन्टका लागि पनि व्यवसायी उत्साहित रहेको हान अध्यक्ष शाह बताउँछन् ।

‘नेपालको आतिथ्य सेवा जुनसुकै स्तरको सेवा दिन तयार छ, क्षमता पनि छ,’ उनी भन्छन्, ‘अब बढिभन्दा बढी इभेन्टका लागि सरोकारवालाले पहल गर्नुपर्छ ।’

विदेशी खेलाडी–नेपाली पर्यटनका अघोषित ‘ब्रान्ड एम्बेसडर’

खेलकुद प्रतियोगितामा सहभागी सबैजसो विदेशी खेलाडी नेपाली पर्यटनका अघोषित ‘ब्रान्ड एम्बेसडर’ हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी चर्चित खेलाडीको एक ‘सोसल साइट पोस्ट’ ले ठूलो रकम खर्च गर्दा पनि सम्भव नहुने विज्ञापनसरह काम गर्ने बताउँछन् ।

स्पोर्ट्स इभेन्टले मुख्यतया तीन क्षेत्रमा ठूलो योगदान गर्ने उनी बताउँछन् । एक त स्थानीय अर्थतन्त्र चलायमान बनाउने र रोजगारी सिर्जनामा योगदान दिने उनको भनाइ छ ।

 

दोस्रो, नेपाल ठूला इभेन्ट आयोजनामा सक्षम कसरी हुने भनेर सिकाइको काम गर्छ । तेस्रो, नेपाली खाना, गन्तव्य, होटल र पर्यटनको विदेशमा प्रचार हुने उनको भनाइ छ ।

सोहीकारण पर्यटन बोर्डले समेत स्पोर्ट्स इभेन्टलाई सहयोग र प्रवर्द्धन गरिरहेको सीईओ जोशीले बताए ।

स्थानीय राजनीतिक गतिविधिबाट अपेक्षा

२३ र २४ भदौको जेनजी आन्दोलन क्रममा आन्दोलनकारीको तारोमा परेको क्षेत्रमध्ये एक पर्यटन पूर्वाधार (होटल/केबुलकार) पनि थियो । यसले दीर्घकालीन असर गर्ने चिन्ता व्यवसायीमा थियो ।

तर, छोटो समयमै पर्यटन लयमा फर्किएको छ । पर्यटक आगमन समेत उत्साहजनक छ । यसबीच मुलुकभित्रका अन्य राजनीतिक गतिविधिबाट समेत पर्यटन र आतिथ्य सेवालाई सहयोग नै पुगेको छ ।

अहिले नेकपा एमालेको महाधिवेशन काठमाडौंमा जारी छ । यसमा भाग लिन देशका सबै जिल्लाका प्रतिनिधि काठमाडौंमा आएका छन् ।

default

यसले अफ सिजनमा यातायात र विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्टलाई ठूलो फाइदा पुग्ने व्यवसायी बताउँछन् ।

त्यस्तै सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ । निर्वाचनले समेत साना व्यवसायी र सडक तथा हवाई यातायातमा सकारात्मक असर गर्छ ।

तर, नेपाल सहित दक्षिण एसियामा हुने निर्वाचनका बेला अन्तर्राष्ट्रिय पर्यटकमा भने राम्रो छाप नरहेको हान अध्यक्ष शाह बताउँछन् । ‘जुलुस, झडप, आन्दोलन जस्ता गतिविधि बढी हुने भएकाले निर्वाचनको छाप राम्रो छैन,’ उनी भन्छन् ।

अंग्रेजी नयाँ वर्षले पनि ल्याउँदैछ बहार

आतिथ्य उद्योगलाई नजिकिएको अंग्रेजी नयाँ वर्षले समेत उत्साहित बनाउँदै छ । काठमाडौंको ठमेलदेखि पोखरा, चितवन, धरान सहित गन्तव्यमा यस अवसरमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ ।

अंग्रेजी नयाँ वर्षसँगै पोखरालाई ‘ह्याप्पेनिङ प्लेस’ का रूपमा स्थापित गराउन अधिकतम इभेन्टमा जोड दिन थालिएको पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने बताउँछन् ।

‘तथ्यांकले अहिले भारतीय र चिनियाँ पर्यटक घटिरहेको देखाउँछ,’ उनी भन्छन्, ‘यसको सबैभन्दा ठूलो असर पोखराको पर्यटनमा पर्छ, त्यसकारण हामी पोखरालाई इभेन्टका माध्यमबाट थप चलायमान बनाउने योजनामा छौं ।’

एनपीएल सुरु हुनुभन्दा अगाडि नेपथ्यको कन्सर्ट पोखरामा आयोजना गरिएको थियो । यो कन्सर्टमा भाग लिन हजारौं युवायुवती पोखरा पुगेका थिए । संगीत, खेल र पर्यटनलाई कसरी एक साथ जोड्न सकिन्छ भन्ने यो गतिलो उदाहरण बनेको उनको भनाइ छ ।

अहिले अंग्रेजी नयाँ वर्षसँगै देशभरि मेला महोत्सव आयोजना हुँदैछन् । त्यसले आतिथ्य सेवामा सकारात्मक प्रभाव पार्ने हानको भनाइ छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?