News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण शनिबार सम्पन्न भएको छ जसमा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार पाएका छन्।
- एनपीएलमा राम्रो प्रदर्शन गरेका शेर मल्लले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् र राष्ट्रिय टोलीमा स्थान पक्का गर्ने सम्भावना देखाएका छन्।
- विनोद भण्डारी र अविनाश बोहरा जस्ता खेलाडीले पनि एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् जसले राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावना बढाएको छ।
२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण शनिबार सम्पन्न भएसँगै विभिन्न खेलाडीहरूले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कारहरू पनि पाए ।
केही खेलाडीले भने व्यक्तिगत रूपमा राम्रो गरे पनि टिमले भने राम्रो गर्न सकेन । राष्ट्रिय टोलीकै केही खेलाडी पनि ‘फ्लप’ हुँदा केहीले भने राम्रो लय कायमै राखे ।
त्यसैगरी राष्ट्रिय टोलीमा पछिल्लो समय नरहेका तथा राष्ट्रिय टिमबाट खेल्नै बाँकी रहेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीको ढोका पनि ढक्ढक्याएका छन् ।
अबको दुई महिनामा भारत र श्रीलंकामा आईसीसी टी-२० विश्वकप क्रिकेट पनि सुरु हुँदैछ अनि त्यसका लागि पनि टोली घोषणा हुन बाँकी छ ।
एनपीएलमा गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा केही फेरबदल हुनसक्ने चर्चा पनि सामाजिक सञ्जालहरूमा सुरु भइसकेको छ । क्यानका सदस्य, नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल अनि सेलेक्टरहरूले पनि एनपीएलमा खेलाडीले गरेको प्रदर्शनलाई नजिकबाट नियालेका छन् ।
यस्तोमा एनपीएलकै प्रदर्शनले विश्वकप खेल्ने टोलीमा स्थान पक्का गर्ने सम्भावना त न्यून नै हुन्छ किनभने विश्वकपमा छनोट गराएको टोलीबाट धेरै परिवर्तन गर्ने कुरा अर्थपूर्ण नहुन सक्छ ।
टी-२० विश्वकप छनोटका बेला राष्ट्रिय टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आदिल आलम, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, शाहब आलम र ललित राजवंशी खेलेका थिए । यही टोलीमा एक-दुई खेलाडी मात्र परिवर्तन हुन सक्छन् ।
एनपीएलका दुवै संस्करणमा राम्रो खेलेका सुदूरपश्चिम रोयल्सका ब्याटर तथा यसअघि पहिलो विश्वकप सहभागितामा पनि खेलेका राष्ट्रिय खेलाडी विनोद भण्डारीले त यसअघि नै घरेलु क्रिकेटमा प्रदर्शनले राष्ट्रिय टोलीमा पर्ने ग्यारेन्टी नभएको भन्दै ‘सटायरिकल’ टिप्पणी दिइसकेका छन् ।
‘एनपीएल सेलेक्सन म्याच हो भनेर क्लियर नै छेन । गत सिजन पनि राम्रो खेलेको थिएँ, क्याम्पमा पनि परिनँ । यो प्रदर्शनले राष्ट्रिय टोलीमा परिने ग्यारेन्टी छैन’ उनले भनेका थिए ।
यद्यपी उनीसहितकै केही खेलाडीले भने एनपीएलमा आफ्नो तर्फबाट शानदार प्रदर्शन गरेर सेलेक्टरहरूको ध्यान भने तानेका छन् । एक-दुई खेलाडीले विश्वकपकै लागि पनि टोलीमा पर्ने बलियो सम्भावना देखाएका छन् ।
अब विश्वकपअघि नेपालले खेल्ने अन्तर्राष्ट्रिय शृंखलामा कोको खेल्छन् अनि त्यहाँ कस्तो प्रदर्शन गर्छन् भन्ने कुराले पनि केही हदसम्म छनोटको बाटो भने खोलिदिनेछ ।
यस्तोमा हामी आज एनपीएलमा राम्रो प्रदर्शन गरेका र राष्ट्रिय टोलीका लागि दाबेदार हुनसक्ने केही खेलाडीहरूको बारेमा चर्चा गर्नेछौं ।
शेर मल्ल

यस संस्करण सबैभन्दा बढी चर्चा जसको भएको छ ती हुन् शेर मल्ल । लगातार दोस्रोपटक एनपीएलको उपाधि जितेका शेरले अघिल्लो सिजनभन्दा धेरै निखारिएको प्रदर्शन गरे ।
लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मुख्य पात्रमध्येका शेरले मिस्ट्री स्पीनमार्फत विपक्षी ब्याटरलाई समस्यामा पारे । पावरप्लेमै टोलीका लागि विकेट निकालेर दिए ।
कप्तान रोहित पौडेलले त उनको भविष्य उज्जवल भएको प्रतिक्रिया दिइसकेका छन् । तल्लोक्रममा ब्याटिङबाट योगदान दिन सक्ने उनी यस संस्करणको एनपीएलमा बलिङमा सबैभन्दा उत्कृष्ट रहे अनि १० खेलमा १७ विकेट लिएर संयुक्त रूपमा शीर्षस्थानमा रहे ।
यसअघि यू-१९ र नेपाल ‘ए’ बाट खेलिसकेका शेर अब राष्ट्रिय टोलीमा पर्ने बलियो संकेत दिएका छन् । मिस्ट्री स्पीनरका रूपमा उनी नेपालको विश्वकप टोलीमा पनि पर्ने सम्भावना छ ।
त्यसो नभएमा पनि निकट भविष्यमा नेपाली राष्ट्रिय टोलीमा आउने कुरा भने निश्चितप्राय छ ।
बसिर अहमद

विराटनगर किङ्सबाट दुई सिजन एनपीएल खेलेका बसिर अहमदले यसअघि पनि नेपाल ‘ए’ अनि राष्ट्रिय टोलीबाट भने खेलिसकेका छन् । निरन्तर टोलीमा स्थान बनाइराख्न भने सकेका छैनन् ।
यद्यपी उनले नेपाल ‘ए’ अनि घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबबाट खेल्दा पनि मध्यक्रममा भरपर्दो ब्याटरका रूपमा आफूलाई प्रमाणित गरेका छन् ।
यस संस्करणको एनपीएलमा उनले ९ खेलमा १९१ रन बनाएका थिए । टिमलाई संकटबाट पार लगाउने क्षमता भएका बसिरले त्यस क्षमताअनुसारको प्रदर्शन पनि गरिसकेका छन् ।
कर्णाली याक्सविरुद्धको खेलमा उनले संघर्षपूर्ण अवस्थाबाट टिमलाई जित दिलाएका थिए ।
नेपालले हङकङमा भएको चारदेशीय टी-२० शृंखलाको फाइनलमा कुवेतविरुद्ध ९२-८ को अवस्थामा पुगेपछि बसिरले नन्दन यादवसँग मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए तर नेपाल ३ रनले पराजित हुन पुग्यो ।
कन्सिस्टेन्सी कायमै राख्न सके बसिरले नेपाली टोलीमा चाँडै पुनरागमन गर्न सक्छन् ।
विनोद भण्डारी

नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडी विनोद भण्डारी नेपालको ऐतिहासिक टी-२० विश्वकप खेलेका खेलाडी हुन् । पारस खड्काको कप्तानीमा २०१४ को विश्वकप उनीसँगै खेलेका पेस बलर सोमपाल हालसम्म पनि राष्ट्रिय टोलीको नियमित सदस्य रहँदा ३५ वर्षीय विनोदको भने राष्ट्रिय टोलीमा नियमित स्थान बन्न सकेको छैन ।
विनोद पछिल्लो डेढ वर्षयता राष्ट्रिय टोलीमा छैनन् । यद्यपी यसबीचमा उनको घरेलु क्रिकेटको प्रदर्शन भने राम्रो भइरहेको छ ।
गत संस्करणको एनपीएलमा पनि राम्रो खेलेका विनोद यसपटक पनि सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक अनि समग्र एनपीएलमा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी रहे । उनले ९ खेलमा २६४ रन बनाएका थिए ।
विनोदकै भनाइमा भन्नुपर्दा यहाँको प्रदर्शनबाट राष्ट्रिय टोलीमा पर्ने कुनै ग्यारेन्टी नभएपनि उनको प्रदर्शनले दाबेदारी भने यसपटक पनि दिएको छ ।
विशेषगरी राष्ट्रिय टोलीका नियमित विकेटकिपर ब्याटरबाट राम्रो प्रदर्शन नभएको अवस्थामा उनले मौका पाउने सम्भावना भने छँदै छ ।
अविनाश बोहरा

अविनाश बोहरा नेपालका लागि टी-२० स्पेलशिस्ट बलर हुन् । गत संस्करणको टी-२० विश्वकपमा पनि खेलेका उनी त्यसयता नेपाली टोलीमा छैनन् ।
अस्ट्रेलिया बसोबास गर्ने उनी एनपीएल खेल्न नेपाल आएका थिए र शानदार बलिङ गरे पनि । ९ खेलमा १७ विकेट लिँदै उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने सूचीमा संयुक्त रूपमा शीर्षस्थानमा रहे ।
पछिल्ला खेलहरूमा अविनाशको स्थानमा नन्दन यादवले नेपाली राष्ट्रिय टोलीमा खेल्दै आएका थिए । नन्दनले टी-२० विश्वकप छनोटमा खेलेकाले उनी नै विश्वकप खेल्ने टोलीमा पर्ने सम्भावना प्रवल छ ।
यद्यपी अविनाशले आफ्नो डेथ ओभर बलिङमा यही लय कायमै राख्न सके राष्ट्रिय टोलीमा फेरि फर्कने सम्भावना छ ।
शाहब आलम

वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला खेलेका बाँयाहाते स्पीनर शाहब विश्वकप छनोटका लागि भने १४ सदस्यीय टोलीमा परेनन् । उनी नेपाली टोलीबाट कहिलाकाहीँ मौका पाउने खेलाडी हुन् ।
यसपटकको एनपीएलमा उनले काठमान्डु गोर्खाजका लागि सर्वाधिक ८ खेलमा १३ विकेट लिएका थिए । एकै खेलमा ह्याट्रिकसहित ६ विकेट लिएर कीर्तिमान पनि बनाए ।
एनपीएलमा फितलो देखिएका बाँयाहाते स्पीनर ललित राजवंशीको ठाउँमा शाहबलाई मौका दिनुपर्ने भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेपनि तत्काल त्यो सम्भावना भने देखिँदैन ।
यद्यपी उनको उत्कृष्ट प्रदर्शनले निरन्तरता पाइराखेमा धेरै समय राष्ट्रिय टोलीबाट बाहिर बसिरहनुपर्ने छैन ।
***
यी खेलाडीबाहेक अन्य केही खेलाडीले पनि एनपीएलमा राम्रो प्रदर्शन गरेका छन् । तर तत्काल राष्ट्रिय टोलीमा पर्ने सम्भावना भने छैन ।
ब्याटर आकाश त्रिपाठी, अलराउन्डर सन्तोष यादव र बाँयाहाते स्पीन बलर बिपिन खत्रीले त्यो सम्भावना देखाएको हुँदा केही समयमा मौका भने पाउन सक्छन् । यद्यपी विपिनले भने घरेलु क्रिकेटमा गण्डकी प्रदेशको कप्तानी गरेर लामो समयदेखि राम्रो खेल्दै आएपनि नेपालको कुनैपनि टोलीमा हालसम्म मौका पाएका छैनन् ।
राष्ट्रिय टोलीबाट केही खेल खेलेका राशिद खान, रुपेश सिंह, प्रतिश जीसी, इशान पान्डे अनि यसअघि राम्रो सम्भावना देखाउँदै आएका पवन सर्राफ र अनिल साहले अझै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4