News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि जितेको छ जसमा ३२ खेल र १४० भन्दा बढी खेलाडी सहभागी थिए।
- एनपीएल टिम अफ दि टुर्नामेन्टमा ११ खेलाडी छन् जसमा लुम्बिनी लायन्सबाट ४, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबाट २-२ खेलाडी समावेश छन्।
- रोहित पौडेललाई कप्तान बनाइएको टिममा एडम रोसिङटन, डार्शी शर्ट, विनोद भण्डारी लगायत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू छन्।
२८ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले उपाधि जितेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण शनिबार भव्यताका साथ सम्पन्न भइसकेको छ ।
मंसिर १ देखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कुल ३२ खेल भए । झण्डै १४० भन्दा बढी खेलाडी एनपीएलमा सहभागी थिए ।
त्यसमध्ये अधिकांशले एनपीएलको खेल खेल्ने अवसर पाए । तीमध्ये पनि केही खेलाडीले शानदार प्रदर्शन गरे अनि व्यक्तिगत उत्कृष्ट अवार्डहरु पाए ।
त्यसबाहेक पनि प्रतियोगितामा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । ३२ खेलपछि हरेक पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु समावेश गरेर अनलाइनखबरले एनपीएल टिम अफ दि टुर्नामेन्ट तयार पारेको छ ।
४ विदेशी खेलाडी सहित ११ जनाको टिम तयार पारिएको छ जसमा उपाधि विजेता टोली लुम्बिनी लायन्सबाट सबैभन्दा धेरे ४ जना खेलाडीहरू समावेश छन् । यस्तै उपविजेता टोली सुदूरपश्चिम रोयल्स र तेस्रो भएको विराटनगर किङ्सबाट २-२ जना खेलाडी छन् । पोखरा एभेन्जर्स, काठमान्डु गोर्खाज र चितवन राइनोजबाट १-१ खेलाडीहरू छन् ।
टोलीको कप्तान रोहित पौडेल तथा विकेटकिपर विनोद भण्डारी रहनेछन् । टोलीमा बाँयाहाते-दाँयाहाते ओपनिङ ब्याटिङको जोडीसँगै बाँयाहाते र दाँयाहाते पेस बलर छन् ।

अनलाइनखबर टिम अफ दि टुर्नामेन्ट
ओपनर : एडम रोसिङटन (पोखरा), डार्शी शर्ट (लुम्बिनी)
मिडल अर्डर : रोहित पौडेल (लुम्बिनी), विनोद भण्डारी (सुदूरपश्चिम), रवि बोपारा (चितवन), बसिर अहमद (विराटनगर), शेर मल्ल (लुम्बिनी)
लोअर अर्डर : सन्दीप लामिछाने (विराटनगर), रुबेन ट्रम्पलमन (लुम्बिनी), अविनाश बोहरा (सुदूरपश्चिम), शाहब आलम (काठमाडौं)
प्रशिक्षक : टीनु योहान्नान
एडम रोसिङटन : पोखरा एभेन्जर्सका ओपनिङ ब्याटर एडम रोसिङटनले एनपीएल २०२५ मा सबैभन्दा धेरै रन बनाए । उनले ७ खेलमा १ शतक र २ अर्धशतकसहित ३२३ रन बनाए । ५३ को औसतमा रन बनाएका उनले १५० को स्ट्राइक रेटमा खेले । उनको उच्च स्कोर १०८ नटआउट थियो । पावरप्लेमा आक्रामक ब्याटिङ गर्ने उनलाई हामीले पहिलो ओपनरको रूपमा राखेका छौं ।

डार्शी शर्ट : अस्ट्रेलियाक बाँयाहाते ब्याटर हामीले अर्को ओपनरका रूपमा राखेका छौं । शर्टले १० खेलमा १ अर्धशतकसहित २५६ रन बनाए । लुम्बिनीको उपाधि यात्रामा उनको भूमिका पनि महत्वपूर्ण रह्यो । पिचलाई बुझेर संयमित ब्याटिङ गरेका उनले आवश्यकता अनुसार ठूलो हिटको पनि क्षमता राख्दछन् ।
विनोद भण्डारी : सुदूरपश्चिम रोयल्सका टप अर्डर ब्याटर विनोद भण्डारीले पनि एनपीएलमा शानदार प्रदर्शन गरे । ९ खेलमा २ अर्धशतकसहित २६४ रन बनाएका उनी सुदूरका सर्वाधिक रनकर्ता तथा समग्र प्रतियोगिताकै दोस्रो सर्वाधिक रनकर्ता बने ।
रोहित पौडेल : नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहित पौडेलले यसपटक लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाए । हामीले टिम अफ द टुर्नामेन्टमा पनि उनलाई नै कप्तान बनाएका छौं । प्रतियोगितामा शानदार पुनरागमन गरेर प्लेअफमा स्थान बनाएको लुम्बिनीले फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जित्दासम्म रोहितले शानदार प्रदर्शन गरे । उनी प्रतियोगितामा फेरि पनि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बने । उनले १० खेलमा २७६ रन बनाएका थिए भने बलिङबाट १० विकेट पनि लिएका थिए । सुदूरपश्चिमविरुद्धको फाइनलमा उनले ह्याट्रिक नै लिएका थिए ।

रवि बोपारा : गत संस्करण पनि चितवन राइनोजका लागि सर्वाधिक रनकर्ता रहेका रवि बोपाराले यस संस्करणमा पनि राम्रो खेले । चितवन यसपटक प्लेअफमा पुग्न नसकेपनि उनले राम्रो खेले । ७ खेलमा ३ अर्धशतकसहित २३३ रन बनाए । पार्ट टाइम मिडियम पेस बलिङ पनि गर्नसक्ने उनी अर्का अलराउन्डरका रूपमा हुनेछन् ।
बसिर अहमद : विराटनगरका बाँयाहाते ब्याटर बसिर अहमद मिडल अर्डर ब्याटर तथा बाँयाहाते पार्ट टाइम स्पीन बलिङ अलराउन्डरका रूपमा टोलीमा छन् । बसिरले ९ खेलमा १९१ रन बनाएका थिए ।
शेर मल्ल : लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका शेर मल्ल बलिङ अलराउन्डरका रूपमा रहनेछन् । तल्लोक्रममा ब्याटिङबाट योगदान दिन सक्ने उनी यस संस्करणमा बलिङमा सबैभन्दा उत्कृष्ट रहे । गत संस्करण जनकपुर बोल्ट्सबाट खेलेर उपाधि जितेका शेरले यसपटक लुम्बिनीबाट खेलेर उपाधि जिते । उनका लागि व्यक्तिगत रूपमा पनि यस संस्करणको एनपीएल गज्जब रह्यो । उनले आफ्नो मिस्ट्री स्पीनमार्फत विपक्षीको टप अर्डर कोल्याप्स गर्ने काम गरेका थिए । १० खेलमा १७ विकेट लिएका उनी प्रतियोगिताको इमर्जिङ खेलाडी बन्दै पल्सर बाइक उपाधि जिते ।
सन्दीप लामिछाने : सन्दीप लामिछाने टोलीमा मुख्य स्पीनरका रूपमा रहनेछन् । उनको कप्तानीमा विराटनगर किङ्सले पहिलोपटक प्लेअफमा स्थान बनायो । उनले प्रतियोगितामा ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट टेकरको अवार्ड पाए । सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट बलर बनेर पल्सर बाइक जितेका थिए ।

रुबेन ट्रम्पलमन : प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित ट्र्म्पलमन टोलीमा बाँयाहाते पेस बलरका रूपमा हुनेछन् । पावरप्लेमा शानदार बलिङ गर्दै आएका उनले १० खेलमा १३ विकेट लिए ।
अविनाश बोहरा : अविनाश बोहरा टोलीमा दाँयाहाते पेस बलिङ विकल्पका रूपमा हुनेछन् । उनले ९ खेलमा १७ विकेट लिएका थिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा संयुक्त शीर्षमा रहेका थिए । सुदूरलाई फाइनलमा पुर्याउन बलिङमार्फत उनको भूमिका महत्वपूर्ण रह्यो ।
शाहब आलम : बाँयाहाते स्पीनर शाहब आलम पनि टोलीमा अर्का स्पीनरका रूपमा हुनेछन् । काठमान्डु गोर्खाजलाई प्लेअफमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । उनले टोलीका लागि संयुक्त रूपमा सर्वाधिक १३ विकेट लिए । उनले एक खेलमा कीर्तिमानी ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।
लुम्बिनीलाई पहिलो उपाधि दिलाएका प्रशिक्षक टिनु योहान्नान टिम अफ द टुर्नामेन्टको पनि प्रशिक्षक रहनेछन् ।
क्रिकेट एनालिस्ट सम्राट महर्जनको साथमा अनलाइनखबर स्पोर्ट्स टिमले एनपीएलको टिम अफ दि टुर्नामेन्ट तयार गरेको हो ।
प्रतिक्रिया 4