News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको एपीएफ क्लब र भारतको इस्ट बंगाल साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
- इस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० ले पराजित गरेको छ।
- एपीएफले पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गरेको छ र फाइनल खेल आगामी शनिवार हुनेछ।
२८ मंसिर, काठमाडौं । नेपालको लिग च्याम्पियन एपीएफ क्लब र भारतको इस्ट बंगाल काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल प्रवेश गरेका छन् ।
च्याम्पियनसिपअन्तर्गत आइतबारको दोस्रो खेलमा भारतको इस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेपछि यी दुई टोली लिगको अन्तिम खेलमा खेल्नुअघि नै फाइनल पुगेका हुन् ।
दशरथ रंगशालमा भएको खेलमा इस्ट बंगालको जितमा फजिला इकापुट एक्लैले ५ गोल गरिन् ।
एपीएफले आइतबारै भएको पहिलो खेलमा रश्मि कुमारी घिसिङको एक मात्र गोलमा पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गरेको थियो ।
इस्ट बंगालको फराकिलो जितपछि नेपालको एपीएफ र इस्ट बंगाल लिगको अन्तिम खेलअघि नै फाइनल पुगेका छन् । यी दुईबीच बुधबार लिगको अन्तिम खेल हुनेछ भने आउने शनिवार इस्ट बंगाल र एपीएफ नै उपाधिका लागि भिड्नेछन् ।
लगातार तीन खेल जितेको इस्ट बंगाल ९ अंकसहित शीर्ष स्थानमा छ । दुई जित र एक बराबरीबाट ७ अंकसहित एपीएफ दोस्रो स्थानमा छ ।
सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल पुग्नेछन् ।
नसरिन स्पोर्ट्स एकेडेमी, पाकिस्तानको कराची सिटी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी भने फाइनल होडबाट बाहिरिएका छन् ।
प्रतिक्रिया 4