News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जित्यो।
- प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्ल समान १७ विकेट लिए।
- पोखरा एभेन्जर्सका एडम रोसिङटनले सर्वाधिक ३२३ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी घोषित भए र प्रेसिडेन्सिएल प्लाटिनम क्याप प्राप्त गरे।
२८ मंसिर, काठमाडौं । २७ दिन अनि ३२ खेलपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जित्दै प्रतियोगिता सकिएको छ ।
शनिबार भएको फाइनलमा साविक उपविजेता समेत रहेको सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक उपाधि जित्यो । सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामै रोकियो ।
यस क्रममा टिम प्रदर्शन र खेलाडीहरुको व्यक्तिगत प्रदर्शन पनि महत्वपूर्ण रह्यो । त्यसलाई तथ्यांकमा प्रस्तुत गरिएको छ ।
दुई शतक
एनपीएलको दोस्रो सिजनमा दुई शतक बने । पहिलो सिजनमा एक मात्र शतक बन्दा दोस्रो सिजन डबल भयो ।
यस सिजन कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्स विरुद्ध पहिलो शतक प्रहार गरे । मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध कीर्तिमानी शतक बनाएका थिए ।
यस्तै पोखरा एभेन्जर्सका एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरे । रोसिङटन एनपीएलमा शतक प्रहार गर्ने पोखराका दोस्रो खेलाडी बने । यसअघि पहिलो संस्करणमा आन्द्रेस गौसले शतक बनाएका थिए ।

दुई ह्याट्रिक
एनपीएलको दोस्रो संस्करणमा दुईपटक ह्याट्रिक भए । काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए ।
लुम्बिनी लायन्सका कप्तान रोहितले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । उनी फाइनलमा ह्याट्रिक लिने पहिलो खेलाडी समेत बने ।
शाहब आलमले पोखरा एभेन्जर्सविरुद्ध कीर्तिमानी ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।
ठूलो अन्तरको जित
सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गरेको सबैभन्दा ठूलो अन्तरको जित रह्यो ।
त्यसपछि विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध अनि काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध ५३ रनको जित हासिल गरेको थियो।
त्यस्तै विकेटका आधारमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध ९ विकेटको जित हासिल गरेको नै सबैभन्दा ठूलो अन्तरको जित रह्यो ।
सर्वाधिक विकेट लिने खेलाडी
यस सिजन तीन खेलाडीले संयुक्त रूपमा समान १७ विकेट लिए । त्यसमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्ल रहे ।
फाइनलअघि सन्दीपको मात्र १७ विकेट थियो । तर फाइनलमा शेरले ३ विकेट लिँदै १७ विकेट पुर्याए भने अविनाशले पनि १ विकेट थपेर बराबरी गरे । सन्दीप र अविनाशले समान ९ खेल खेल्दा शेरले १० खेल खेले ।

सन्दीपको इकोनोमी पनि सबैभन्दा राम्रो थियो । उनी औसतमा पनि तीन जनामा अघि रहे । त्यसैले उनी अगाडि रहे ।
सन्दीपले सर्वाधिक विकेट लिने अवार्ड स्वरुप गोल्डेन क्याप प्राप्त गरे साथै ५० हजार चेक पाए । यस्तै उनी प्रतियोगिताको बेस्ट बलर घोषित हुँदै एक थान पल्सर बाइक पनि प्राप्त गरे ।
सर्वाधिक रन बनाउने खेलाडी
पोखरा एभेन्जर्सका इंग्लिस विकेटकिपर ब्याटर एडम रोसिङटन सर्वाधिक रन बनाउने खेलाडी बने । उनले प्रतियोगिताभर ७ खेल खेल्दै १ शतक र २ अर्धशतक मदतमा सर्वाधिक ३२३ रन बनाए ।
पोखरा लिग चरणबाटै बाहिरिएपनि रोसिङटनला२ धेरै रन बनाउनेमा कसैले भेट्न सकेन । उनले सर्वाधिक रन बनाउने खेलाडीले पाउने प्रेसिडेन्सिएल प्लाटिनम क्याप प्राप्त गरे । साथै नगद ५० हजारको चेक प्राप्त गरे ।
सर्वाधिक रन बनाउने नेपाली खेलाडी भने रोहित पौडेल रहे ।

बेस्ट ब्याटर
प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर च्याम्पियन टोली लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल घोषित भए । सर्वाधिक रन बनाउने नेपाली खेलाडी रहेका उनले १० खेलमा २७६ रन बनाए ।
कुनैपनि अर्धशतक नबनाएपनि उनी सर्वाधिक रन बनाउने नेपाली खेलाडी रहे ।
बेस्ट बलर
यस्तै प्रतियोगिताको सर्वोत्कृष्टछ बलर भने विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने घोषित भए । उनले ९ खेलमा १७ विकेट लिए । उनीसँगै लुम्बिनीका शेर मल्ल र सुदूरपश्चिमका अविनाश बोहराको पनि १७ विकेट रहेपनि इकोनोमी र औसतका आधारमा सन्दीप शीर्षमा रहे । सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट बलर बनेर पल्सर बाइक पनि जिते ।
बेस्ट इमर्जिङ प्लेअर
राष्ट्रिय टोलीबाट डेब्यू नै गर्न बाँकी रहेका शेर मल्ल उत्कृष्ट इमर्जिङ खेलाडी बने । लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका शेर मल्ल यसपटक उत्कृष्ट रहे ।
गत संस्करण जनकपुर बोल्ट्सबाट खेलेर उपाधि जितेका शेरले यसपटक लुम्बिनीबाट खेलेर उपाधि जिते । उनका लागि व्यक्तिगत रूपमा पनि यस संस्करणको एनपीएल गज्जब रह्यो ।
उनले आफ्नो मिस्ट्री स्पीनमार्फत विपक्षीको टप अर्डर कोल्याप्स गर्ने काम गरेका थिए । १० खेलमा १७ विकेट लिएका उनी प्रतियोगिताको इमर्जिङ खेलाडी बन्दै पल्सर बाइक उपाधि जिते ।

इनर्जेटिक प्लेअर
सुदूरपश्चिमका पेस बलर अविनाश बोहरा प्रतियोगिताकै एनर्जेटिक खेलाडी घोषित भए । उनले २ लाख रुपैयाँको चेक प्राप्त गरे ।
अविनाशले सुदूरलाई फाइनलमा पुर्याउन उत्कृष्ट बलिङ गर्दै ९ खेलमा १७ विकेट लिए । संयुक्त रूपमा सर्वााधिक विकेट लिने खेलाडी समेत थिए ।
एकै खेलमा सर्वाधिक विकेट
काठमान्डु गोर्खाजका बाँयाहाते स्पीनर शाहब आलमले एकै खेलमा सर्वाधिक विकेट लिने कीर्तिमान बनाए । उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।
प्रतियोगितामा उनले ८ खेलमा १३ विकेट लिएर काठमान्डुका लागि करण केसीसँग संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी रहे ।
६ विकेट शाहब आलम ।
धेरै क्याच
प्रतियोगितामा सर्वाधिक क्याच लिनेमा दुई खेलाडी शीर्षमा रहे । विराटनगर किङ्सका साम हिजलेट र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले समान ११ क्याच लिए ।
यस्तै एकै खेलमा धेरै क्याच लिनेमा काठमान्डु गोर्खाजका मिलिन्द कुमार रहे । मिलिन्दले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सर्वाधिक ५ क्याच लिए।
सर्वाधिक डिसमिसल
सुदूरपश्चिमका विनोद भण्डारी सर्वाधिक डिसमिसल गराउने विकेटकिपरका रूपमा रहे । उनले ७ क्याच र ३ स्टम्पिङ गरी १० सिकार बनाए ।
विकेटकिपरको भूमिकामा उनी सर्वाधिक क्याच लिने खेलाडी हुन् । त्यसपछि सर्वाधिक ४ क्याच लिनेमा पोखराका एडम रोसिङटन र विराटनगरका लोकेश बम छन् ।

सर्वाधिक चौका र छक्का
पोखरा एभेन्जर्सका एडम रोसिङटन सर्वाधिक चौका प्रहार गर्ने खेलाडी रहे । उनले ७ खेलमा ३१ चौका प्रहार गरे । त्यसपछि लुम्बिनीका डार्शी शर्टले १० खेलमा २६ अनि सुदूरपश्चिमका विनोद भण्डारीले ९ खेलमा २३ चौका प्रहार गरे ।
यस्तै कर्णाली याक्सका मार्क वाटले सर्वाधिक छक्का प्रहार गरे । उनले ७ खेलमा २१ छक्का प्रहार गरे । त्यसपछि रोसिङटनले १९ छक्का प्रहार गरे ।
एकै इनिङमा सर्वाधिक छक्का पनि मार्क वाटकै नाममा रह्यो । उनले लुम्बिनीविरुद्ध १२ छक्का प्रहार गरेका थिए ।
एकै इनिङमा सर्वाधिक एक्स्ट्रा
एकै इनिङमा सर्वाधिक एक्स्ट्रा खर्चिने टोली कर्णाली याक्स रह्यो । कर्णालीले विराटनगरसँगको खेलमा २१ रन खर्चेको थियो । जसमा ९ बाइ, ६ लेगबाइ, ५ वाइड र १ नो बल थियो ।
एकै इनिङमा सर्वाधिक रन खर्चने बलर
कर्णाली याक्सका सोमपाल कामीको नाममा एकै इनिङमा सर्वाधिक रन खर्चने खराब रेकर्ड रह्यो । उनले पोखरा एभेन्जर्सविरुद्ध ४ ओभरमा ५० रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

योगफल
यस संस्करणमा उच्च योगफल विराटनगर किङ्सले बनायो । विराटनगरले पोखराविरुद्ध २२० रनको योगफल बनाएको थियो । त्यसपछि पोखराले कर्णालीविरुद्ध २०१ रनको योगफल बनाएको थियो ।
यस्तै सबैभन्दा कम योगफल पनि विराटनगरकै नाममा रह्यो । विराटनगर सुदूरपश्चिमविरुद्ध पहिलो क्वालिफायरमा ७८ रनमा अलआउट भएको थियो ।
पहिले ब्याटिङ गरेर सबैभन्दा कम योगफल बनाउने टोली भने सुदूरपश्चिम रह्यो । सुदूरले फाइनलमा लुम्बिनी लायन्सविरुद्ध ८५ रन मात्र बनाएको थियो ।
यस्तै दुवै टोलीको जोडेर उच्च एग्रेगेट स्कोर विराटनगर र पोखराबीचको खेलमा रह्यो । विराटनगर र पोखराबीचको खेलमा सर्वाधिक ३८७ रन बन्यो । विराटनगरले २२० रन बनाउँदा जवाफमा पोखराले १६७ रन बनायो ।
साझेदारी
सबैभन्दा उच्च साझेदारी विराटानगरका लोकेश बम र मार्टिन गप्टिलबीच भयो । पोखराविरुद्धको खेलमा यी दुई मिलेर दोस्रो विकेटका लागि १३२ रनको साझेदारी बनाएका थिए ।
सर्वाधिक डकआउट
यस संस्करणमा सर्वाधिक डकआउट हुने चार खेलाडी रहे । सुदूरपश्चिमका जोश ब्राउन, जनकपुरका आसिफ शेख, लुम्बिनीका सन्दीप जोरा र सुमित महर्जन सबैभन्दा बढी ३-३ पटक शून्यमै आउट भए ।
यस्तै विराटनगरका जर्ज मन्से, पोखराका कुशल भुर्तेल, जनकपुरका अनिल साह, काठमान्डुका आकाश त्रिपाठी, कर्णालीका प्रियांक पान्चाल र सुदूरका विनोद भण्डारी २-२ पटक डकआउट भए ।
महँगो ओभर
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका लुम्बिनीका बलर रुबेन ट्रम्पलमनको नाममा एउटा खराब रेकर्ड भने रह्यो ।
एकै औभरमा सबैभन्दा धेरै रन खर्चने रेकर्ड उनको नाममा रह्यो । उनले काठमान्डुविरुद्धको खेलमा १९औं ओभरमा ३१ रन खर्चेका थिए ।
यस्तै इनिङको पहिलो ओभरमा सबैभन्दा धेरै रन खर्चने खेलाडी सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी बने ।
उनले फाइनल खेलमा लुम्बिनीविरुद्ध पहिलो ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए ।
प्रतिक्रिया 4