+

एनपीएलले नेपाली क्रिकेटमा ल्याएको छलाङ र कर्पोरेट क्षेत्रको जिम्मेवार साथ

२०८२ पुष  १६ गते १३:०६ २०८२ पुष १६ गते १३:०६

सबैको निरन्तर साथ, प्रतिबद्धता र पारदर्शीता कायम रहने हो भने एनपीएल एउटा क्रिकेट लिग मात्र नभई नेपाली खेलकुदको दीर्घकालीन परिवर्तनको प्रतीक बन्न सक्छ ।

एनपीएलले नेपाली क्रिकेटमा ल्याएको छलाङ र कर्पोरेट क्षेत्रको जिम्मेवार साथ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग (एनपीएल) ले फ्रेन्चाइज मोडलमा आधारित दोस्रो संस्करण सम्पन्न गरी नेपाली क्रिकेटमा नयाँ युगतर्फ डोहोर्‍याएको छ।
  • एनपीएलले खेलाडी उत्पादन, रोजगारी सिर्जना, कर्पोरेट लगानी र राष्ट्रिय पहिचान जोड्दै नेपाली खेलकुदमा फरक स्थापित गरेको छ।
  • एनपीएलले खेल र शिक्षालाई सँगै अघि बढाउने प्रयास गर्दै दीर्घकालीन योजना र महिला क्रिकेट विकासमा जोड दिनुपर्ने सन्देश दिएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) छोटो समयमै नेपाली खेलकुदमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । फ्रेन्चाइज मोडलमा आधारित एनपीएलको दोस्रो संस्करण भर्खरै सम्पन्न भएको छ । एनपीएल एउटा प्रतियोगिता मात्र नभई नेपालीहरूलाई एकताबद्ध गर्ने माध्यम पनि बनेको छ ।

त्यति मात्र होइन, खेलाडी उत्पादनका साथै उनीहरूलाई अवसर प्रदान गर्ने थलो बनेको छ । साथै लगानीकर्ताहरूका लागि लगानीको माध्यमसमेत बनेको छ । पहिलो संस्करणमा करिब ७० करोड रुपैयाँको कारोबार गरेको एनपीएलमा दोस्रो संस्करणमा झण्डै दोब्बर कारोबार भएको आकलन छ । एनपीएलले कर्पोरेट क्षेत्रलाई पनि चलायमान बनाएको छ ।

विश्वका स्टार क्रिकेट खेलाडीहरूको आगमन तथा विश्वचर्चित स्पोर्ट्स च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनुले नै एनपीएलको चर्चा र प्रभाव कति छ भन्ने प्रष्ट हुन्छ । अर्को अर्थमा भन्नुपर्दा एनपीएलले नेपाली क्रिकेटलाई नयाँ युगतर्फ डोहोर्‍याएको छ । यसमा खेलको प्रतिस्पर्धा मात्र छैन, क्रिकेटले देखाएको सम्भावना, यसले सिर्जना गरेको रोजगारी अनि नेपाल राष्ट्रकै गौरवका रूपमा यसको पहिचान जोडिएको छ ।

नेपालमा क्रिकेट क्रेजबारे त सबै जानकार नै छन् । नेपाली समर्थकहरूको उत्साहका कारण क्यानले दुई पटक आईसीसी फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्डसमेत जितिसकेको छ । अब एनपीएलले नेपाली समर्थकहरूको त्यो उत्साहमा अझ इँटा थप्ने काम गरेको छ । यसले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटलाई संस्थागत गर्दै व्यावसायिकतातर्फ डोहोर्‍याउँदै अन्तर्राष्ट्रिय मञ्चमै चिनाउने काम गरिरहेको छ ।

गल्ली र चोकदेखि स्कुल, कलेज अनि राष्ट्रिय स्तरसम्म क्रिकेट त हुँदै आएको थियो । तर यो उत्साहलाई व्यवस्थित गर्दै दीर्घकालीन रूपमा अगाडि बढाउन चुनौती थियो । एनपीएलले भने त्यो चुनौतीलाई चिर्दै कम्तीमा नेपालमा पनि विश्वस्तरीय लिग आयोजना गर्न सकिन्छ भन्ने देखाएको छ । यसले क्रिकेटलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ र व्यावसायिकतासँग जोड्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

फ्रेन्चाइज मोडलमा आधारित लिग भएकाले एनपीएलले खेल मात्र नभई मनोरञ्जन प्रदान गर्ने, रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रमा टेवा पुर्‍याउनेदेखि राष्ट्रिय पहिचानलाई समेत जोडेको छ ।

यसको अर्को महत्वपूर्ण पाटो कर्पोरेट क्षेत्र हो । एनपीएलमा विभिन्न फ्रेन्चाइज टिममा गरिएको लगानीदेखि प्रायोजनसम्म कर्पोरेट क्षेत्रले ठूलो साथ दिएको छ । कर्पोरेट क्षेत्रको साथले गर्दा क्रिकेट टोलीको ब्रान्डिङ, फ्यान कल्चर तथा व्यावसायिक व्यवस्थापनमार्फत एनपीएल नेपाली खेलकुदमा फरक रूपमा स्थापित हुँदै आएको छ । यसले लिगसँगै एनपीएलका टिमहरूलाई पनि आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

खेलकुदमा खर्च मात्र हुन्छ भन्ने धारणा चिर्दै खेलकुदमा लगानी गर्दा फाइदा हुन्छ भन्ने सोच र बुझाइका साथ कर्पोरेट क्षेत्रले आफ्नो लगानी विस्तार गर्दै गएको छ । कर्पोरेट क्षेत्रको साथ आर्थिक पक्षमा मात्र सीमित नभई यसले व्यावसायिक रूपमा कसरी व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय अभ्यासअनुसार कसरी अघि बढ्ने र दीर्घकालीन रूपमा कसरी काम गर्ने भन्ने विषयमा पनि प्रभाव पारेको छ । खेलाडीहरूको तलबदेखि सेवा सुविधासम्म स्पष्ट सुधार देखिएको छ । दर्शकहरूले खेलसँगै फुड स्टलदेखि मनोरञ्जनसम्मको अनुभव पाएका छन् ।

यस्तै एनपीएल क्रिकेट मैदानमा मात्र सीमित नभई यसले खेलबाहेक पर्यटनदेखि विज्ञापन बजार, सेवा सुविधा तथा समग्र अर्थतन्त्रका धेरै क्षेत्रमा प्रभाव पारेको छ । यसले खेलकुद अर्थतन्त्रमा नेपालमा ठूलो सम्भावना रहेको देखाएको छ ।

घरेलु क्रिकेटमा थोरै अवसर पाएका खेलाडीहरूले एनपीएलमा आफ्नो प्रतिभा देखाउने अवसर पाए । नेपालको सिनियरदेखि जुनियर खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरका स्टार खेलाडीहरूसँग ड्रेसिङ रुम सेयर गर्ने, सँगै प्रशिक्षण लिने तथा एउटै टिमबाट खेल्ने अवसर पाए । यसले नेपाली खेलाडीहरूमा अझ राम्रो गर्नुपर्छ भन्ने सिकाइका साथै आत्मविश्वास पनि बढाएको छ, जुन भविष्यमा नेपाली क्रिकेटका लागि लाभदायक हुनेछ ।

एनपीएलको सफलता नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउने मात्र नभई खेलकुदलाई राष्ट्र विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न सकिन्छ भन्ने सशक्त सन्देश हो । यस यात्रामा साथ दिने कर्पोरेट क्षेत्र, खेलाडी तथा क्रिकेट समर्थक सबै धन्यवादका पात्र छन् ।

यस्तै ट्यालेन्ट हन्टमार्फत स्थानीय प्रतिभावान् खेलाडीहरूले पनि फ्रेन्चाइज टिममा समावेश हुने र मैदानमा खेल्ने अवसर पाए । राम्रो खेलाडी उत्पादन गर्न ग्रासरूट तहदेखि नै तयारी गर्नुपर्ने र दीर्घकालीन संरचना निर्माण आवश्यक रहेको तथ्य पनि यसले देखाएको छ ।

एनपीएलमा खेलकुद र शिक्षाको सम्बन्ध देखिनु अर्को सकारात्मक पक्ष रह्यो । खेलाडीहरूको करियरमा शिक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन खेल र शिक्षालाई सँगै अघि बढाउने प्रयासलाई एनपीएलले व्यवहारमा उतार्ने प्रयास गरेको छ ।

यसै सन्दर्भमा प्रेसिडेन्टल ग्रयाजुएट स्कुलले एनपीएलका दुवै संस्करणमा एजुकेसन पार्टनरको रूपमा सहकार्य गर्नु हाम्रो लागि पनि गौरवको विषय हो । यस सहकार्यले खेल र शिक्षा सँगसँगै अघि बढाउन सकिन्छ भन्ने सन्देश दिएको छ । खेलाडीहरूको भविष्य सुरक्षित गर्न शिक्षा अपरिहार्य हुन्छ भन्ने विषयलाई संस्थागत गर्ने प्रयासस्वरूप हामीले पनि एउटा इँटा थपेका छौँ । खेल जीवनपछि पनि सम्मानजनक जीवन बिताउन शिक्षा सहयोगी माध्यम बन्न सक्छ ।

खेल र शिक्षाको सहकार्यले अभिभावक र विद्यार्थीलाई खेलकुदप्रति सकारात्मक रूपमा हेर्न सहयोग गर्छ । एनपीएलका दुई संस्करण सफल र भव्य रूपमा आयोजना हुँदा यसको चर्चा विश्वभर देखिएको छ । धेरैले यसलाई एसियामा आईपीएलपछिको राम्रो लिग बन्न सक्ने सम्भावना देखाएको भन्दै प्रशंसा गरेका छन् । तर त्यसका लागि तत्कालको चर्चाले मात्र पुग्दैन । अहिले सबैभन्दा ठूलो चुनौती भनेकै यसको निरन्तरता र दिगो विकास हो ।

दुई संस्करणको उत्साह कायम राख्न दीर्घकालीन योजना आवश्यक छ र नीतिगत तथा संस्थागत संरचनागत सुधार गर्नुपर्नेछ । कर्पोरेट क्षेत्रको साथ र सहयोगलाई अझ बलियो र स्पष्ट रूपमा अघि बढाउनुपर्छ । साथै महिला क्रिकेटको विकासका लागि पनि एनपीएलजस्तै लिग आयोजना गर्न आवश्यक छ ।

फ्रेन्चाइज लिगको चर्चामा मात्र सीमित नभई ग्रासरुटदेखि विद्यालय र महिला क्रिकेट विकासमा समेत लगानी र दीर्घकालीन योजना अघि ल्याउनुपर्नेछ । निजी क्षेत्र, खेल संघ–संस्था, शिक्षा क्षेत्र र मिडियाको सहकार्यमा यसले राष्ट्रकै वास्तविक क्षमतालाई उजागर गर्न सक्छ भन्ने सन्देश एनपीएलले दिएको छ । यो सहकार्यले खेलकुदमा मात्र होइन, युवाहरूलाई आशा र सपनाको बाटोमा हिँड्ने अवसरसमेत दिनेछ । कर्पोरेट क्षेत्रको समर्थन खेलकुदका लागि सकारात्मक ऊर्जा बन्नेछ ।

अन्त्यमा, एनपीएलको सफलता नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउने मात्र नभई खेलकुदलाई राष्ट्र विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न सकिन्छ भन्ने सशक्त सन्देश हो । यस यात्रामा साथ दिने कर्पोरेट क्षेत्र, खेलाडी तथा क्रिकेट समर्थक सबै धन्यवादका पात्र छन् ।

सबैको निरन्तर साथ, प्रतिबद्धता र पारदर्शीता कायम रहने हो भने एनपीएल एउटा क्रिकेट लिग मात्र नभई नेपाली खेलकुदको दीर्घकालीन परिवर्तनको प्रतीक बन्न सक्छ ।

(लेखक प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलका अध्यक्ष हुन्)

एनपीएल एनपीएल २०२५

धेरै कमेन्ट गरिएका

लेखक
लक्ष्मण केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय