+
+

सय दिने अभियानमा खटिएका नेता भन्छन्- कांग्रेस चलायमान छैन

पार्टी संगठनका लागि काम गर्नेगरी ७७ जिल्लामा प्रतिनिधि खटाइएको छ । ७ असोजदेखि सुरु भएको अभियान १६ पुसमा सकिनेछ । केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा पेश गर्नुपर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १८:२४

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सय दिने विशेष अभियानमा रहेका केन्द्रीय नेताहरूले पार्टीको उपल्लो तहले निम्त्याएको समस्या तलसम्म पुगेको बताएका छन् ।

पार्टी संगठनका लागि काम गर्नेगरी ७७ जिल्लामा प्रतिनिधि खटाइएको छ । ७ असोजदेखि सुरु भएको अभियान १६ पुसमा सकिनेछ । जाडो मौसममा हिमाली जिल्लामा अभियान सम्भव नहुने हुँदा दशैंअघि नै ती जिल्लाको अभियान सकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

केन्द्रीय प्रतिनिधिहरूले संगठन प्रभावकारी हुन नसकेको, सदस्यता वितरण विधान अनुसार हुन नभएको, गुटगत समस्या वडातहसम्म रहेको, भ्रातृ संस्थाहरूमा विवाद रहेको लगायतका समस्या औंल्याएका छन् ।

अर्खाखाँचीमा खटिएका केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टी पंक्तिमा उत्साह नदेखिएको बताए । ‘संगठन राम्रो भएन नै भन्ने छ । पार्टीभित्र एकता होस् भन्ने छ,’ गौतमले अनलाइखबरसँग भने, ‘गुटगत समस्या व्यापक छ । भ्रातृ संस्थाहरू चलायमान छैनन् ।’

अभियानमा खटिने प्रतिनिधिका लागि पार्टी केन्द्रले कार्यादेश दिएर पठाएको थियो । प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनुपर्ने कार्यादेश छ । विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन लगाउने जिम्मेवारी दिइएको छ ।

जिल्लामा पुगेका प्रतिनिधिले पार्टीभित्रको समस्या समाधान गर्न लागेपनि माथिल्लो तहका नेताका कारणले सम्भव हुन नसक्ने अवस्था रहेको इलाममा खटिएका केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

‘प्रतिनिधिले त्यहाँ समस्या भए समाधान गर्न लागेका हुन्छौं । माथिको नेताले मिलाउन नदिने नियत राखे विवाद समाधान गर्न सकिँदैन,’ महरले भने ।

क्रियाशील सदस्यता कार्ड पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्ने जिम्मेवारी दिइएको छ । तर, प्रतिनिधि खटिएका नेताहरूले क्रियाशील सदस्यता वितरण हुन नसकेको जानकारी गराएका छन् ।

कांग्रेसमा महाधिवेशन हुने वर्ष बाहेक हरेक वर्ष क्रियाशील सदस्यता वितरण र नवीकरण हुने विधानको व्यवस्था छ । विधान अनुसार सदस्यता वितरण नगरी महाधिवशेन भएकै वर्ष वितरण र नवीकरण गर्ने प्रचलन बनेको छ । विधान कार्यान्वयन गराउने गरी दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पटक पटक तल्लो तहलाई परिपत्र जारी गरेपनि क्रियाशील सदस्यता वितरण र नवीकरण तिव्रता पाउन सकेको छैन ।

पार्टीको चुनाव आएपछि मात्रै तात्तिने प्रवृत्ति पार्टीमा रहेको सिन्धुलीमा खटिएकी केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् । ‘क्रियाशील सदस्यता वितरण र नवीकरण खासै अघि बढेको देखिएन । क्रियाशील सदस्यता म गएपछि सुरु भएको छ,’ गौतमले भनिन् ।

क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए नभएको, प्राप्त भएर पनि वितरण भए नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि वढाउने केन्द्रीय प्रतिनिधिलाई कार्यादेश दिइएको छ । क्रियाशील नवीकरण सदस्यता फारम रोकिएको भए समस्या भए फुकाउने र वितरण सुनिश्चित गर्ने काम प्रतिनिधिको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणमा उत्साह नआएको डोटीमा खटिएका केन्द्रीय सदस्य गुरु बराल बताउँछन् ।

महाधिवेशनको बेला मात्रै नवीकरण गर्ने कांग्रेसको रोग डोटीमा पनि देखेको बरालले सुनाए ।

केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या पनि समाधान गर्नुपर्नेछ । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निक्र्यौल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ ।

इलाम महिला संघको सभापतिमा विवाद रहेको केन्द्रीय सदस्य महर बताउँछन् । केन्द्रले इलाममा महिला संघको सभापति तोकेपछि नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको थियो । मुख्य भ्रातृ संस्थाहरू सिन्धुलीमा चलायमान नरहेको त्यहाँ खटिएकी केन्द्रीय सदस्य गौतमले जानकारी गराइन् । ‘मुख्य–मुख्य भ्रातृ संस्थाहरूको नियमित महाधिवेशन नहुँदा क्रियाशीलता कम छ,’ गौतमले अनलाइनखबरसँग भनिन् । नेविसंघको नेतृत्व जिल्लामा भएपनि गतिविधि शून्य रहेको डोटीको अवस्था बरालले सुनाए ।

प्रतिनिधिलाई समसामयिक विषयमा समेत पार्टी पंक्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडान लगायतमा प्रतिनिधिले जानकारी गराउनुपर्ने दायित्व छ ।

डोटीमा खटिएका केन्द्रीय सदस्य बरालले दुई ठूला दल मिलेर सरकार बनाएकोप्रति जनता र कार्यकर्तामा गुनासो नसुनेको बताए । ‘यो अहिले बनेको गठबन्धनप्रति नकरात्मक टिप्पणी सुनिन्नँ । पटक पटक सरकार फेरिने, साना दलले पनि ठूलो बार्गेनिङ गर्ने गरेकोप्रति वाक्क भएको देखें,’ बरालले भने ।

केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?