१४ कात्तिक, काठमाडौं । काठमाडौंको कालीमाटीमा रहेका स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा भएको रकम अपचलनको प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न १६ वटा कम्पनीहरूमा रकम लगेर अपचलन गरेको भेटिएको छ ।
अवैधानिक रुपमा १६ वटा कम्पनीहरूमा रकम लगेर अपलचन गरेको पाइएपछि प्रारम्भिक चरणमा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी गरिएको छ ।
पक्राउ पुर्जी जारी हुनेहरूमा जीबी (गीतेन्द्रबाबु) राई समेतका व्यक्ति छन् । रेड नोटिस जारी भएका उनी अहिलेसम्म फरार छन् । उनी सहकारीका अध्यक्ष समेत थिए ।
उपाध्यक्ष देवेन्द्रबाबु राई, सचिव इरान लामा, सहसचिव कविता तामाङ, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारी, रविना रिमाल विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
त्यसैगरी कर्जा उपसमितिका पूर्वसदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मिरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पूर्वअध्यक्ष दीपक लामा, सचिव प्रदिप लामा, कोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, लेखा समिति संयोजक गणेशराज श्रेष्ठ, लेखा समिति सदस्यद्वय सुनिता नेवा, शान्तिकुमारी सुवेदीलगायत २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यसरी अपचलन गरिएको रकम अवैधानिक रूपमा विभिन्न कम्पनीहरूमा लगेकोदेखि गैरसदस्यहरूलाई समेत कर्जा प्रवाह गरेको भेटिएको छ ।
काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको यो सहकारीमा २०७९ असार मसान्तसम्म ३ अर्ब ७१ लाख १७ हजार २३ रुपैयाँ रकम बचत भएको अडिट रिपोर्टमा छ । जसमध्ये ३ अर्ब १० करोड ५३ लाख, २७ हजार ७७ रुपैयाँ ऋण लगानी गरेको देखाएर अपचलन गरेको भेटिएको छ ।
केही ऋण लगानी कानुनसम्मत भए पनि धेरैजसो ऋण लगानी गैरकानुनी रहेको खुलेको प्रहरी परिसर काठमाडौंका एक अधिकारी बताउँछन् । जसमा यो सहकारीले सदस्य नै नभएका व्यक्तिको नाममा समेत रकम लगानी गरेको पाइएको छ ।
१६ वटा कम्पनीमा रकम लगेर अपचलन
प्रारम्भिक रूपमा १ अर्ब ११ करोड रकम अपचलन भएको पाइएकोमा जसमध्ये अवैधानिक रूपमा विभिन्न १६ वटा कम्पनीमा पनि रकम लगेको भेटिएको छ । १६ वटा कम्पनीमा मात्रै २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम लगिएको अडिट रिपोर्टबाट खुलेको छ ।
जसमध्ये सबैभन्दा बढी जीबी (गीतेन्द्रबाबु) राईकै हर्बो इन्टरनेसनल प्रालिमा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ लगेर अपचलन गरेको भेटिएको हो ।
त्यसैगरी सिद्धार्थ विद्या सदन हाइस्कुलको नाममा लगेकोमध्ये ७ लाख ३ हजार २९७ अझै उठ्न बाँकी नै छ । जीबी ग्रुप अफ कम्पनी प्रालिमा १ करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिमा १३ लाख ११ हजार ४४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा ३ करोड ७८ लाख ७ हजार ९३६ रुपैयाँ रकम लगेको भेटिएको छ ।
मन्दरा टुर्स एन्ड एक्सपेन्डेसन प्रालिमा २ करोड ३ लाख १ हजार ३४०, गोर्खा हर्बल प्रोडक्सन प्रालिमा १ करोड ८२ लाख ५ हजार ७४५ रुपैयाँ, स्पिङ वुड रियल स्टेटमा ८८ लाख ७६ हजार ४३० रुपैयाँ, गोर्खा ग्रुप अफ कम्पनीमा ४० लाख ७ हजार ७२३ रुपैयाँ, सारेगम रेकर्ड प्रालिमा १२ लाख १९ हजार ९६७ रुपैयाँ गएको अनुसन्धानबाट खुलेको छ ।
न्यु सुलक्स अफसेट प्रिन्टस प्रालिमा ४३ लाख, १५ हजार २ सय ५८ रुपैयाँ, सुपर सिटी इन्टरप्राइजेज प्रालिमा ७३ लाख ८ हजार १ सय ६४ रुपैयाँ, होम प्रालि ११ लाख ७ हजार ५ सय ५७ रुपैयाँ, ओम ग्रान्ड एनबी मार्टमा ९२ हजार ३२ रुपैयाँ, बागमती बालुवाखानी प्रालिमा ७६ लाख ९० हजार ८ सय ९३ रुपैयाँ र गोर्खा बेभरेजमा १ लाख ५९ हजार ६ सय ३९ रुपैयाँ गएको भेटिएको छ ।
प्रहरीमा आएको १० महिनापछि बल्ल अनुसन्धान
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको विषय १० महिनापछि बल्ल सुरु भएको छ । बागमती प्रदेश संस्कृती पर्यटन तथा सहकारी मन्त्रालयले अनुसन्धान गर्न भन्दै स्वर्णलक्ष्मीको अडिटसहितको फाइल १० महिना अघि नै पठाएको थियो ।
मन्त्रालयले २३ पुस २०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न भन्दै पत्राचार गरेको थियो । त्यतिबेला सञ्चालकको विवरण, रकम अपचलन गरेको निष्कर्षसहित सञ्चालकहरूको विवरण, अडिट रिपोर्ट, साधारण सभाको निर्णय लगायतका कागजातहरू मन्त्रालयले प्रहरीलाई पठाएको थियो ।
त्यतिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । उक्त पत्रअनुसार प्रहरी वृत्त कालिमाटीले अनुसन्धान सुरुवात गरेको थियो । तर त्यसको दुई महिनापछि २३ फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भइसकेका थिए ।
अनुसन्धानले प्रारम्भिक गति लिएइको उक्त फाइल त्यसपछि अघि बढ्न सकेन । अनुसन्धान जहाँको त्यहीँ रोकियो । यही बीचमा सत्ता समीकरणमा फेरबदल आएसँगै ३१ असारदेखि गृहमन्त्रीमा कांग्रेस नेता रमेश लेखकले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले स्वर्णलक्ष्मीसहित ४० वटा सहकारीको छानबिन गरेर ३१ भदौमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि भने अहिले स्वर्णलक्ष्मीको अनुसन्धान समेत प्रहरीले अघि बढाएको छ । कालीमाटी वृत्तमा रहेको अनुसन्धान फाइल जिल्ला प्रहरी परिसर भद्रकाली तानेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
परिसर स्रोतका अनुसार केही दिनअघि मात्रै स्वर्णलक्ष्मीको कार्यालयमा छापा हानेर केही महत्त्वपूर्ण फाइलहरू समेत बरामद गरेको छ ।
तर यसबारे के–कस्ता फाइल बरामद भए भन्नेबारे प्रहरीले औपचारिक रूपमा केही बोलेको छैन ।
यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरे भन्छन्, ‘अहिले प्रारम्भिक अनुसन्धानकै चरणमा रहेकाले केही भनि हाल्ने अवस्था छैन ।’
रविको नाममाथि पनि अनुसन्धान
परिसरमा फाइल तानेको प्रहरीले केही दिनअघि मात्रै स्वर्णलक्ष्मीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रकम गएको विषयका कागजातहरू पनि भेटिएका छन् ।
रवि लामिछानेको नाममा गाडी किन्न भन्दै दुईपटक ४६ लाख ८८ हजार रुपैयाँका दरले रकम गएको कागजात पनि भेटिएका छन् ।
तर ती कागजताहरु के–कस्ता हुन् भन्ने पुष्टि हुन बाँकी नै रहेको प्रहरी स्रोत बताउँछ । ‘रविको नाम कसरी रह्यो, कागजातको सत्यता के हो भन्ने विषय अनुसन्धान गर्न बाँकी नै छ,’ परिसरका एक अधिकृतले भने ।
जसमा गोर्खा मिडियाका लागि भनेर जीबी राई र रविको नाममा उक्त रकम गएको देखिएको छ । उक्त कर्जा मध्ये २९ लाख ५२ हजार ४३६ रुपैयाँ तिर्न बाँकी नै रहेको उल्लेख छ ।
प्रतिक्रिया 4