२१ गते शुक्रबार ।
हामी गढीमाई पुग्दा मान्छे र पशुको सराबरी भीड थियो । मान्छेहरु टाढा–टाढादेखि पाडा डोर्याउँदै आउँथे र वधशालामा पुर्याउँथे । यसरी भाकलका नाममा पाडा ल्याउनेहरुले मेला समितिलाई प्रतिपाडा ५०० रुपैयाँ पनि छुट्टै बुझाउनुपर्ने रहेछ । यस हिसाबले यसपालि कम्तीमा १० हजार पाडाबाट ५० लाख रुपैयाँ संकलन भएछ ।
भर्खर दूध छुटाएका कलिला पाडाहरु त्यहाँ काट्नका लागि ल्याउने क्रम जारी थियो । तिनीहरुको शरीरमा रातो कपडा बेरिएको हुन्थ्यो । यत्तिकैमा ट्याक्टरमा राखेर लगभग तीन महिनाको पाडालाई वधशाला अघिल्तिर झारियो । त्यो कलिलो पाडालाई घिच्याउँदै उनका मालिकले अलि केही परसम्म पुर्याए । मेला समितिलाई पाँच सय रुपैयाँ बुझाए, अनि पाडालाई ढोगेर फर्किए ।
त्यहाँ तैनाथ पाले अन्यत्र व्यस्त थिए । त्यसैले पाडा वधशालाभित्र नगई बाहिर निस्किएर भाग्न खोजे । त्यो मायालाग्दो पाडा कतै टाढा भागोस्, कसैले नदेखोस्, कसैले नकाटोस् भनेर मैले मनमनै कामना गरें । त्यो पाडा यताउता भौतारिन थाल्यो । सायद आफ्नो मालिकलाई खोजिरहेको थियो । तर मालिक फेला नपरेपछि आत्तिएर यताउता दौडिन थाल्यो । तर त्यो कलिलो खुट्टाले दौडिएर ऊ कहाँसम्म भाग्न सक्छ र ?
***
२२ गते शनिबार।
पाडाहरुलाई ६–७ घण्टासम्म लगातार हिंडाएर त्यहाँसम्म ल्याइने रहेछ । त्यसैले अधिकांश पाडाहरु थकित र बिरामी थिए । कतिलाई सलाइन दिएर बलीका लागि तयारी गरिंदै थियो ।
केही पर दुई जना पुरुषले एउटा सानो पाडोलाई घिच्याएर ल्याउँदै थिए । पाडा हिंड्नै नसक्ने स्थितिमा थियो । यद्यपि ती उनीहरुले पाडालाई झुण्ड्याउँदै र घिसार्दै ल्याउँदै थिए । लामो हिंडाइ, भोक, थकाइले सायद पाडा बिरामी थियो । त्यो हलचल गर्नै नसक्नेगरी भुईंमा पछारियो ।
हामीले उक्त पाडालाई आराम गर्न र पानी दिन भन्यौं । तर त्यसका मालिकहरुलाई यसबारे कुनै सरोकार थिएन । उनीहरुलाई त जसरी हुन्छ, वधशालासम्म पुर्याउने हतारो थियो ।
केही क्षणपछि पाडाले बिस्तारै आँखा खोल्यो र चलमलाउन खोज्यो । तब ती दुई पुरुषले पाडालाई जबर्जस्ती घिसार्दै वधशालासम्म पुर्याए ।
****
२३ गते राति ।
गढीमाई पूजा सुरु हुँदै थियो, मध्यरात १२ बजे । त्यहाँ दियोमा स्वत: बत्ती बलेपछि बली सुरु हुने भनिएको थियो । मान्छेहरु अघिल्लो दिनदेखि नै बत्ती बलेको र त्यसपछि बली दिएको हेर्न हतारिएका थिए ।
पुजारीले बिहान २ बजेपछि पूजा हुने बताए । त्यहाँ पूजा भइरहँदा बली दिन खटाइएका मान्छेहरु डरलाग्दो हातहतियार बोकेर आइसकेका थिए । ५ बज्यो । पूजारीले भने जसरी त्यहाँ बत्ती बलेन । अघिल्लो रातदेखि बत्ती बलेको हेर्न ओइरिएका मान्छेहरु खासखुस गर्न थालिसकेका थिए ।
६ बजेपछि पुजारीले बलि दिन भनेपछि मुसा, बङ्गुर, कुखुरा, बोका र राँगालाई काट्न थालियो । ती पशुहरु छिनाएको र कराएको दर्दनाक आवाज सुनिनसक्नु थियो । त्यहाँ उपस्थित भीडलाई यसबाट कति पनि पीडाबोध भएको थिएन, बरु उनीहरु उत्सव मनाउन थालिसकेका थिए ।
****
२३ गते बिहान ।
वधशाला नजिक एउटा पीपलको बोट थियो जसलाई ब्रह्मस्थान भनिंदो रहेछ । त्यसबाहिर एउटा खाल्डो खनेर ठूलो मुडा ल्याएर ठडाइयो । त्यसमा पूजा गरेर पाडोलाई बलि दिन तयार पारियो । पाडोलाई बलि दिन लामो तरबार लिएर व्यक्ति उभिएका थिए । एउटा पाडोलाई मुडामा बाँधेर बलि दिइयो र टाउको दौडिंदै पीपलको बोटमा लगेर चढाइयो ।
मेला समितिले निषेध गरेपनि मान्छेहरु भिडियो र फोटो खिच्न उत्सुक थिए । लगभग १० वटा पाडाको बलि दिएर तिनलाई त्यहीं छोडियो । बाँकी बलि दिन उनीहरु वधशालातर्फ लागे । पीपलको बोट र आसपासको भुईंमा रगतको खोला बग्यो ।
****
२३ गते साँझ ।
दिन छिप्पिंदै थियो । बलि पशुहरु ल्याउने क्रम उस्तै थियो । यसरी ल्याइएका पशुहरु वधशालामा कोचाकोच राखिएका थिए । वधशालालाई घेरेर अग्लो पर्खाल बनाइएका थिए । त्यही पर्खाल नाघेर ‘तीर्थालु’हरु रमिता हेर्न तँछाडमछाड गरिरहेका थिए ।
बलि दिन सुरु गरेको लगभग तीन घण्टामा नै सबै पाडाहरूको बलि दिइसकेको थियो । त्यसपछि भीडबाट एक हुल व्यक्ति भित्र पसे । केहीले पाडाको टाउकोलाई ढोग्न थाले भने कसैले रगतको टीका लगाउन थाले ।
गढीमाई मेला समितिले २४ गतेलाई बोका लगायत अन्य बलिका लागि छुट्याएको थियो । त्यसैले २३ गते पाडा बलि दिनेहरू फर्किने र बोका बलि दिनेहरू आउने क्रम तीव्र थियो ।
मन्दिर परिसरमा अत्यधिक भीड रहने भएकाले सीमामा पुगेकै स्थानमा बलि दिने व्यवस्था गरिएको थियो । त्यसका लागि ठूलो संख्यामा स्वयंसेवकहरू बलि दिने हतियारसहित सीमा क्षेत्रमा घुमिरहेका थिए । मन्दिर पुग्न भीडभाड धेरै भएकाले त्यहाँ वरपरको खेतमा नै असंख्य बोकाहरूको बलि दिइरहेको थियो । त्यहाँ एकै परिवारबाट पाँचवटासम्म बोका बलि दिइरहेको थियो ।
****
‘बलि चढाउन’ भन्दै बाजागाजासहित पाडा ल्याइँदै थियो । एकै व्यक्तिले तीन, चारवटासम्म पाडा डोर्याएर ल्याउँदै थिए । जति धेरै भाकल, उति नै पाडाको संख्या हुने रहेछ । उनीहरु भन्दै थिए- ‘तीनवटा भाकल थियो, त्यसैले तीनवटा पाडा ल्याएको ।’
त्यहाँ आउने धेरैजसो ‘भक्तजन’ मधेशी समुदायका देखिन्थे, जसको खुट्टामा चप्पल हुँदैनथ्यो । खाली खुट्टै घण्टौंको यात्रा छिचोलेर उनीहरु भाकल बुझाउन आएका थिए । यसरी भाकल बुझाइएन भने घरमा दुःख हुने र पिरोल्छ भन्ने उनीहरुको बुझाइ थियो । बच्चा जन्मिएमा भाकल पूरा भएको ठान्ने र निःसन्तान भएमा भाकल पूरा नभएको ठान्ने प्रवृत्ति देखियो । त्यसैले ऋण गरेर पनि राँगा, पाडा वा बोका ल्याउने गरेको उनीहरुले बताए ।
त्यहाँ बुढापाका, महिला, बालबच्चासमेत आएर खुला चौरमा रात बिताइरहेका थिए । उनीहरु मुराई, चिउरा र पानी खाएर बसिरहेका थिए । किनभने त्यहाँ खानेकुरा एकदमै महंगो थियो । मासु र रक्सी पाइए पनि अन्य खानेकुराको अभाव थियो ।
तस्वीर : किरण अधिकारी
प्रतिक्रिया 4