+
+

गढीमाई मेलामा सहभागी नभइदिन भन्दै भारतकी पूर्वमहिलामन्त्रीले लेखिन् उपराष्ट्रपतिलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १२:२९

२० मंसिर, काठमाडौं । बाराको गढीमाईमा पाँच वर्षमा लाग्ने मेलाका बेला हुने पशु बली कार्यक्रममा सहभागी नजनाइदिन भन्दै भारतकी पूर्वमहिला तथा बाल विकास मन्त्रीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई पत्र लेखेकी छन् ।

गढीमाई मेलामा पशु बली कार्यक्रमको पूर्वसन्ध्यामा भारतकी पूर्वसांसद् एवं पूर्वमन्त्री मनिका गान्धीले यादवलाई पत्र लेखेकी हुन् । गढीमाईमा मेला लाग्ने स्थान उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्र हो ।

त्यसैले ‘सन् २०१९ मा नेपालको सर्वोच्च अदालतले दिएको आदेशको पनि सम्मान गर्दै’ कार्यक्रममा सहभागिता नजनाइदिन अनुरोधसहित यादवलाई उनले पत्र पठाएकी हुन् ।

गान्धी भारतकी पशु अधिकारकर्मी समेत हुन् । सर्वोच्च अदालतले २०७६ सालमा यो धार्मिक आस्थासँग जोडिएको विषय भएकाले तत्काल पशु बली रोक्न आदेश दिन नसकिएपनि यसलाई क्रमशः कम गर्दै हटाउन आदेश दिएको थियो । त्यसका लागि प्रबन्ध गर्न अदालतले सरकारलाई आदेश गरेको थियो ।

यद्यपि, आदेशपछि भएको बेला पनि झण्डै साढे २ लाख पुशपंक्षीको बली दिइएको थियो । भारतमा अदालतले बलीका लागि नेपालमा पशु लैजान रोक लगाएको थियो । यस्तोमा गान्धीले पत्रमा भनेकी छन्, ‘मैले नेपालको सांस्कृतिक परम्पराप्रति सम्मान व्यक्त गर्छु, तर सँगै हामीले जनवारको पनि संवेदनशीलतालाई ख्याल गर्ने वैश्विक सहमतिको पनि स्वीकार गर्नुपर्छ र करुणाको हाम्रो आधारभूत सिद्धान्तको पनि ख्याल राख्नुपर्छ, जसले हाम्रो सभ्यताको प्रतिबिम्ब दिन्छ ।’

मंसिर १७ गते मेलाको उद्घाटन उपराष्ट्रपति यादवले नै गरेका थिए ।

गढीमाई मेलाको उद्घाटनका क्रममा उपराष्ट्रपति रासहायप्रसाद यादव

यस्तो अवस्थामा जनावरको संगठित रुपमा दर्दनाकपूर्ण तरिकाले सामूहिक बली दिने परम्पराका बेला उपस्थित भए आफ्नो देशको सर्वोच्च अदालतको आदेश विपरितको गतिविधिलाई प्रोत्साहित गरेको देखिने उनले भनेकी छन् ।

उपराष्ट्रपतिका रुपमा यो पदको जिम्मेवारी प्रशासनिक मात्र नभइ त्योभन्दा निकै माथिको दात्यिव हुने भएकाले बरु यसलाई रोक्न भूमिका खेल्न गान्धीले भनेकी छन् ।

गढीमाईमा हुने पशु बली रोक्न काम गरिरहेको ह्युमन सोसाइटी इन्टरनेश्नल, भारतका निर्देशक आलोकपर्णा सेन गुप्ताले पनि पशु बलीलाई रोक्ने अभियानमा सरिक भइदिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् ।

‘हामी उपराष्ट्रपतिज्यूलाई यो आग्रह गर्छौं कि गढीमाईमा उपस्थित नभएर जनवारप्रतिको क्रुरताको विरुद्धमा उत्रिनु होला’, उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?