२७ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले वर्तमान सरकार ०८४ सम्मै जान पनि सक्ने अनुमान गरेका छन् ।
पार्टी स्थायी कमिटी बैठकमा पेश गर्न तयार पारेको दस्तावेजमा भूसालले राजनीतिक परिस्थिति र सरकारबारे विश्लेषण गरेका हुन् । ‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको दस्तावेजमा उनले यो सत्ता गठबन्धन आगामी चुनावसम्मै जान पनि सक्ने निष्कर्ष प्रस्तुत गरेका हुन् ।
‘… सरकारको अकर्मण्यता र त्यसको विरोध सँगसँगै २०८४ सम्म यो गठबन्धन टिक्न पनि सक्छ । तर त्यसले अर्थराजनीतिक तनावलाई बढाइरहनेछ, र २०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रुपले बिग्रिँदै जान सक्छ’, महासचिव भूसालले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।
अर्थात् कांग्रेस र एमाले गठबन्धनको सरकार टिकिरहे पनि मुलुकको संकट समाधान गर्न नसक्ने उनको विश्लेषण छ । ‘अहिले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेको छ । ती पार्टी र खासगरी नेतृत्वका कारणले गर्दा यसले संकट दुश्चक्रलाई समाधान गर्न सक्दैन’, उनले लेखेका छन् ।
कांग्रेस र एमालेको विचारधारात्मक अडान, नेतृत्वमा रहेको समस्या र वर्तमान संकटको पृष्ठभूमिका कारणले यो सरकारले समाधान दिन नसक्ने भूसालले उल्लेख गरेका छन् ।
‘संसदीय मूल्यका हिसाबले यिनीहरू दुई ठूला पार्टीहरु मिलेर बनेका छन्, विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परामादेशद्वारा सरकारमा पुर्याइएको र सरकारबाट निकालिएको पार्टीहरू हुन्,’ भूसालले दस्तावेजमा लेखेका छन्, ‘प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरू हुन् । जसले गर्दा यिनीहरूबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन ।’
सत्ता बनाउन गरिएको संविधान संशोधनको एजेण्डाले अन्तरविरोध झनै बढाएर जाने महासचिव भूसालको तर्क छ । ‘अब यिनीहरूले जेसुकै गरे पनि समस्या बढ्दै जानेछ । सत्ताको विरोध अझ बढ्छ,’ उनलले लेखेका छन्, ‘सत्ता गठबन्धनले विरोधको जवाफ दमन र षडयन्त्रबाट दिने प्रयत्न गर्छ । त्यसले पपुलिष्ट अराजकतालाई अझ बढाउनेछ ।’
अन्ततः यो सरकार फासिस्ट बन्दै जाने सम्भावना पनि उनले केलाएका छन् । ‘सङ्क्षेपमा, सत्ता फासिष्ट बन्दै जाने र सडक अराजक बन्दै जान सक्छ,’ भावी संकटबारे भूसालले लेखेका छन् ।
यद्यपि यो गठबन्धनको विकल्पमा आउने सरकार झनै अस्थिर हुने र त्यसले मुलुकको समस्या हल गर्न नसक्ने उनको विश्लेषण छ । ‘वर्तमान संसद्भित्र बन्न सक्ने गठबन्धनमध्ये अहिलेको गठबन्धन सबैभन्दा बलियो गठबन्धन हो । यसका ठाउँमा बन्ने सक्ने कमजोर गठबन्धनले पनि मुलुकलाई अझ डरलाग्दो अस्थिरता र अराजकतातर्फ लैजान नै मद्दत गर्ने छ’, भूसालले लेखेका छन् ।
प्रतिक्रिया 4