News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले प्रधानमन्त्री बालेन शाहलाई विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन्।
- भूसालले प्रधानमन्त्री शाहलाई शक्तिशाली भए पनि गल्ती गर्ने छुट नभएको र त्यसले संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
- उनले केपी ओलीलाई दिएको सल्लाह बेवास्ता हुँदा ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै इतिहासलाई गिज्याएर सन्तोष नमान्न आग्रह गरेका छन्।
२३ वैशाख, काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढन प्रधानमन्त्री बालेन साहलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौंको बबरमहलस्थित सडकमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री शाह शक्तिशाली प्रधानमन्त्री रहेको उल्लेख गर्दै गल्ती गर्ने छुट नभएको बताए ।
उनले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न सुझाए पनि त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको भन्दै प्रधानमन्त्री बालेनले पनि त्यसबाट पाठ सिकेर अघि नबढे सोही हालत बेहोर्नुपर्ने अवस्था आउने चेतावनी दिए ।
उनले भने, ‘तपाईं जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँमाथि संकटहरू आईपर्नेछ । म फेरि पनि दोहोर्याएर भन्छु– बालेन शाह नेतृत्वको सरकार असफल हुँदा प्रतिपक्षका हिसावले कोही खुसी होलान् । तर यसको मूल्य सबैले तिर्नुपर्छ । यो डर हामी सबै नागरिकलाई छ । यस्तो मूल्य फेरि तिर्न नपरोस् ।’
नेता भूसालले प्रधानमन्त्री साहलाई इतिहासलाई गिज्याउने खालको काम नगर्न पनि सचेत गराए ।
उनले अगाडि भने, ‘म सम्झिन्छु २०७६ सालको सम्भवतः भदौ वा असोजको कुरा हो । मैले कमरेड ओलीलाई भनेको थिएँ । राति ११/१२ बजेको थियो । कमरेड ओली, तपाईंको व्यक्तित्व यो राष्ट्रको पूँजी हो । किनकी यस्तो व्यक्तित्वहरू जसको बन्छ, यो राष्टको पूँजी हुन्छ । यो धेरै ठूलो कुरा हो । राष्ट्रका लागि यो बलियो आधार हो । अझ पार्टीका लागि त यो ठूलो पूँजी हो । तर कमरेड ख्याल गर्नुस् । तपाईंको व्यक्तित्व ओरालो लाग्दैछ है । मैले त्यो कुन बेलामा भनेको थिएँ भने जति बेला कमरेड ओली सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो । त्यो बेला कमरेड ओलीको खुट्टा विस्तारै अन्त हिँडदै थिए । उहाँको खुट्टा देखिराखेको थिएँ मैले । उहाँको खुट्टा पछाडि फर्कन लागेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ । उहाँले अलिकति बेवास्ता, अलिकति खिसीको भावमा मेरो कुरालाई उडाइ दिनुभयो । म अहिले पनि सम्झन्छु, कमरेड ओलीलाई यस्ता सल्लाहहरू मान्य भएन । र त्यसको मूल्य धेरै ठूलो भयो । यो ओलीजीको मात्रै होइन, संसारका जुनसुकै मानिस, जसका खुट्टा पछाडि फर्किन्छन् र उनीहरू पावरमा छन् । तिनीहरूको नियति यस्तै हुन्छ । यो कुराबाट तपाईंहरूले सिकिदिनुस् है । इतिहासलाई गिज्ज्याएर मात्रै तपाईँहरू सन्तोष नगर्नु होला ।’
भूसालले जतिसुकै शक्तिशाली शासकले विगतबाट पाठ सिकेर अघि नबढे नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने तथ्य पनि स्मरण गराए ।
प्रतिक्रिया 4