News Summary
Generated by OK AI. Editorially reviewed.- फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ।
लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ । फेसबुक र इन्स्टाग्राम फिडको खस्किँदो गुणस्तर, अत्यधिक विज्ञापन र दोहोरिएका सामग्रीहरूका कारण प्रयोगकर्ताहरु असन्तुष्ट बन्दै गएका छन्।
प्रयोगकर्ताहरू दिक्क मान्दै यी सोसल मिडियाबाट बाहिरिन थालेपछि मेटाले आफ्नो एल्गोरिदममा व्यापक परिवर्तन सुरु गरेको छ । समाचार अनुसार मेटाको उद्देश्य अब फेसबुक र इन्स्टाग्राममा मौलिक सामग्रीलाई प्राथमिकता दिनु रहेको छ ।
प्रयोगकर्ताहरू किन असन्तुष्ट छन् ?
पछिल्लो समय फेसबुक तथा इन्स्टाग्राममा प्रयोगकर्ताहरूले फेसबुक र इन्स्टाग्रामको फिड पहिलेजस्तो नभएको गुनासो गर्दै आएका छन् । फिडमा अत्यधिक विज्ञापन आउन थालेको, प्रायोजित पोस्टहरू, बारम्बार दोहोरिने सामग्री र एल्गोरिदममा आधारित सिफारिस गरिएका पोस्टहरूको अत्यधिक मात्रा देखिन थालेको प्रयोगकर्ताको अनुभव छ।
परिणामस्वरूप साथीहरू र फलो गरिएका अकाउन्टबाट गरिएका पोस्टहरू कम देखिन थालेका छन् । धेरै प्रयोगकर्ताहरूको भनाइ अनुसार, सोसल मिडिया अब सोसल भन्दा पनि एल्गोरिदमबाट सञ्चालित मनोरञ्जन प्लाटफर्म जस्तो बनेका छन्।
विशेषज्ञहरूका अनुसार मेटाले प्रयोगकर्ता संलग्नता (इन्गेजमेन्ट) बढाउन रिकोमेन्डेड कन्टेन्टमा बढी ध्यान दिएको छ । तर यसले प्रयोगकर्ताको अनुभूतिमा चाहिँ नकारात्मक असर पारेको छ ।
मेटाको बिजनेस मोडेल विज्ञापनहरूमा आधारित छ। तर अहिले यही रणनीति प्रयोगकर्ताको अनुभवमाथि भारी पर्न थालेको देखिन्छ। प्रयोगकर्ताहरूलाई नियमित अन्तरालमा प्रायोजित विज्ञापन र प्रमोशनल सामग्री देखाइन्छ । जसले प्रयोगकर्तालाई दिक्क बनाउँछ।
धेरै प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई विज्ञापनले भरिएका तथा अव्यवस्थित अनुभव गर्न थालेका छन्।
मेटाले गरेका परिवर्तनहरू
बढ्दो आलोचनालाई ध्यानमा राख्दै मेटाले अब आफ्नो रिकमेन्डेशन एल्गोरिदममा परिवर्तन गर्दैछ । इन्स्टाग्राममा उल्लेख्य परिवर्तन गर्दै उसले मौलिक कन्टेन्टलाई बढी प्राथमिकता दिँदैछ । जबकि रिपोस्ट गरिएको र कम एडिट गरिएको सामग्रीको पहुँच घटाइनेछ।
कपी-पेस्ट गरिएका वा नक्कल गरिएका गैरमौलिक अकाउन्टहरूको भिजिबिलिटी पनि कम गरिनेछ । साथै रिकमेन्डेशन खण्डलाई अझ बढी सान्दर्भिक बनाउने प्रयास गरिएको र प्रयोगकर्तालाई मौलिक र विविध सामग्री देखाउनु मेटाको उद्देश्य रहेको बताइएको छ ।
इन्स्टाग्रामसँगै फेसबुकमा पनि कन्टेन्ट र्याङ्किङ र फिड डिस्प्ले प्रणालीमा सुधार गर्ने तयारी मेटाले गरिरहेको छ ।
यद्यपि फेसबुक र इन्स्टाग्राममा घट्दो प्रयोगकर्ता संख्या मात्र उसको प्रमुख टाउको दुखाइ होइन । अन्य सोसल मिडिया प्लेटफर्महरूसँग पनि मेटाले कडा प्रतिस्पर्धा गर्नुपरिरहेको छ । ती नयाँ प्लेटफर्महरूले प्रयोगकर्तालाई आफ्नो फिडमाथि बढी नियन्त्रण दिने सुविधा दिएका छन् ।
मेटाका लागि अहिले सबैभन्दा ठूलो चुनौती मनिटाइजेशन र प्रयोगकर्ता सन्तुष्टि बीच सही सन्तुलन कायम गर्नु हो । किनकि धेरै प्रयोगकर्ताहरू अहिले त्यस्ता सोसल मिडिया प्लेटफर्महरूतर्फ स्थानान्तरण भइरहेका छन् जसमा प्रयोगकर्ता फिडमाथि आफ्नो अधिक नियन्त्रण हुनुका साथै प्लेटफर्ममा कम विज्ञापन, समुदायमा आधारित सामग्री र एल्गोरिदमको कम हस्तक्षेप हुन्छ ।
तर मेटाका लागि समस्या के छ भने यदि विज्ञापन घटाइयो भने आम्दानीमा असर पर्न सक्छ अनि विज्ञापन बढाउँदा प्रयोगकर्ताहरू टाढिन सक्छन् ।
त्यसैले आगामी महिनाहरूमा मेटाले एल्गोरिदममा गर्ने परिवर्तनहरूबाट फेसबुक र इन्स्टाग्रामले आफ्नो लोकप्रियता कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने कुरा निर्धारण गर्नेछ ।
एजेन्सी
प्रतिक्रिया 4