
१५ मंसिर, बारा । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धर्मिक, सांस्कृति एवं पुरातात्विक महत्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन निर्देशन दिएका छन् ।
बारामा बसेको सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्री लेखीले प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन निर्देशन दिएका हुन् ।
उनले भारतको अयोध्यामा दिनहुँ अढाई लाखसम्म दर्शनार्थीहरू रामलालको दर्शन गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै गढीमाईमा पनि तिनै तहको सरकार मिलेर आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भारतका धार्मिक मेलाहरूको अवलोकन गर्नेहरूलाई गढीमाईलगायत मधेशका धार्मिकस्थलको अनिवार्य दर्शन गर्ने गरी माहोल मिलाउन निर्देशनसमेत दिए । ‘मधेश प्रदेश सरकारले गढीमाईमा बढीभन्दा बढी दर्शनार्थी आउने वातावरण बनाउन भौतिक पूर्वाधारदेखि पर्यटकलाई आकर्षित गर्न आवश्यक सहयोगका लागि तयार छ । जनकपुरधामस्थित माता सीताको पुण्य भूमिबाट अयोध्या जोड्ने सर्किट विकास गर्ने कुरा छ, गढीमाईको मन्दिर बरियापुरबाट पनि अयोध्या जोड्ने सर्किटको निर्माण गर्न पहलकदमी लिन सरकार लागिपर्छ । यहाँहरूले पनि यसमा सहयोग गर्नुपर्यो’, मन्त्री लेखीले भने ।
मेलामा शान्तिसुरक्षाको भरपुर व्यवस्था मिलाउन, जोखिम क्षेत्रको पहिचान गरेर त्यसैअनुसार सतर्कता अपनाउन, मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटना न्यूनीकरणका लागि कटिबद्ध भएर लाग्न उहाँले सुरक्षा प्रमुखहरूलाई आग्रह गरे ।
गढीमाई मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेलाको तयारीका बारेमा जानकारी दिँदै भरपुर सुरक्षाको माग गरेका थिए।
बैठकमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिल्सिना र मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि अर्चायलगायत बारा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4