+
+
Shares

ट्रम्पपछि सीको आँगनमा पुटिन : के चीनले बदलिँदो विश्वको नेतृत्व गर्दै छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबारदेखि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबारदेखि दुई दिने औपचारिक चीन भ्रमणमा जान लागेका छन्।
  • पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय सम्बन्ध, रणनीतिक सहयोग र अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्नेछन्।
  • पुटिनको भ्रमण ट्रम्पको चीन भ्रमणपछि एक हप्तामा हुँदैछ र दुवै नेताले चीन-अमेरिका कुराकानीमा विचार आदानप्रदान गर्नेछन्।

४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबारदेखि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत शनिबार यसबारे जानकारी दिँदै यो राजकीय भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको बताएका थिए । क्रेमलिनले पनि यसअघि नै एक विज्ञप्ति जारी गर्दै पुटिनको चीन भ्रमणको पुष्टि गरेको थियो ।

यसअघि ट्रम्पले मे १३ देखि १५ सम्म चीनको औपचारिक भ्रमण गरेका थिए । यस भ्रमणमाथि पूरै विश्वको नजर अडेको थियो । करिब एक दशकमा कुनै पनि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन यात्रा थियो ।

यद्यपि, यस भ्रमणमा ट्रम्प अमेरिकाका शीर्ष टेक कम्पनीका सीईओहरूका साथ चीन पुगेका थिए, तर भ्रमण समाप्त हुँदा पनि कुनै सम्झौताको घोषणा भने भएन । यसको ठीक तीन दिनपछि अब रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै छन् ।

चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएअनुसार पुटिन र सी जिनपिङले द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्नेछन् । चीन र रुसबीचको बृहत् साझेदारी एवम् रणनीतिक सहयोगलाई थप सुदृढ बनाउने उपायहरूका बारेमा कुराकानी गर्नेछन् । महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदानसमेत हुनेछ ।

दुवै देशले उच्च तहमा एउटा संयुक्त वक्तव्य र कैयौँ द्विपक्षीय कागजातहरूमा हस्ताक्षर गर्ने योजना बनाइरहेका छन् । यसबाहेक चीन र रुसका राष्ट्राध्यक्षहरू चीन-रुस शिक्षा वर्षको उद्घाटन समारोहमा समेत सहभागी हुनेछन् ।

सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास

रुसले पुटिनको चीन भ्रमण असल छिमेकीपन र मैत्रीपूर्ण सहयोग सन्धिका कार्यहरूमा हस्ताक्षर भएको २५औँ वर्षगाँठको अवसरमा हुन लागेको बताएको छ । यो सन्धि सन् २००१ मा मस्कोमा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन र पुटिनबीच भएको थियो ।

पुटिन र सी जिनपिङबीच यसअघिको भेटघाट गत वर्षको सेप्टेम्बरमा भएको थियो, जब उनीहरू दुवैले साङ्घाई सहयोग सङ्गठन (एससीओ) को वार्षिक शिखर सम्मेलनमा भाग लिएका थिए ।

त्यसपछि उनीहरू जापानविरुद्धको प्रतिरोध युद्धमा प्राप्त विजयको ८०औँ वर्षगाँठका अवसरमा सेप्टेम्बर ३ मा आयोजित सैन्य परेडमा सहभागी हुन बेइजिङ गएका थिए । उक्त परेडमा उत्तर कोरियाली नेता किम जोङ उन र इरानी राष्ट्रपति मसुद पेजेस्कियान पनि उपस्थित थिए ।

गत मे महिनामा सी जिनपिङले पनि पुटिनको निमन्त्रणामा मस्कोको चार दिने राजकीय भ्रमण गरेका थिए र सोभियत सङ्घको ग्रेट पेट्रियोटिक वारमा प्राप्त विजयको ८०औँ वर्षगाँठको समारोहमा भाग लिएका थिए ।

राष्ट्रपति बनेपछि सी जिनपिङको यो रुसको ११औँ भ्रमण थियो । रुस यस्तो देश हो, जहाँ उनले सबैभन्दा बढी भ्रमण गरेका छन् । त्यस समय सी जिनपिङले भाषण दिँदै चीन र रुस ‘कदापि अलग गर्न नसकिने असल छिमेकी, सुखदुःख साटासाट गर्ने सच्चा मित्र र एकअर्काको सफलतामा भागीदार बन्ने असल साझेदार’ भएको बताएका थिए ।

रोयटर्सका अनुसार, पुटिन र सी जिनपिङले पछिल्ला केही वर्षहरूमा ४० पटकभन्दा बढी भेटघाट गरिसकेका छन् । दुवै नेताले सन् २०२२ को फेब्रुअरीमा ‘नो-लिमिट्स’ रणनीतिक साझेदारीमा समेत हस्ताक्षर गरेका थिए, जुन रुसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा ठीक अघि भएको थियो ।

रुस-युक्रेन युद्ध सुरु भएपछि रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र एक्लोपन बढ्दै गयो, तर चीनले न त रुसको सार्वजनिक रूपमा आलोचना गर्‍यो, न त ती प्रतिबन्धहरूको समर्थन नै गर्‍यो । दुवै देशले राजनीतिक र आर्थिक सहयोगलाई निरन्तरता दिए र चीनमाथि रुसको आर्थिक निर्भरता लगातार बढ्दै गयो ।

चीन र रुसले गत सेप्टेम्बरमा मङ्गोलिया हुँदै ‘पावर अफ साइबेरिया-२’ प्राकृतिक ग्यास पाइपलाइन निर्माण सुरु गर्नका लागि कानुनी रूपमा बाध्यकारी सम्झौतामा समेत हस्ताक्षर गरेका थिए र अन्य दुईवटा मार्गहरूबाट प्राकृतिक ग्यास आपूर्ति बढाउने कुरामा सहमति जनाएका थिए ।
रुसी सरकारी सञ्चारमाध्यम आरटीका अनुसार, रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पुटिन सन् २०२६ मा दुई पटक चीन भ्रमणमा जाने अपेक्षा गरिएको बताएका छन् । नोभेम्बरमा शेन्जेनमा आयोजना हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनका लागि पनि उनको अर्को भ्रमण तय भइसकेको छ ।

चीन-अमेरिका बैठकमा थियो रुसको नजर

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले चीन र अमेरिकाबीच ‘फुटाउ र राजनीति गर’ को रणनीति नअपनाउने बताएका छन् ।
उनले भने, ‘यदि चीन र अमेरिकाबीच कुनै सम्झौता भएको छ वा हुन गइरहेको छ भने, त्यो हाम्रा चिनियाँ मित्रहरूको हितमा छ र यसले हामीलाई खुसी नै तुल्याउनेछ ।’

लाभरोभले अगाडि थपे, ‘चीन र रुसको सम्बन्ध परम्परागत सैन्य र राजनीतिक गठबन्धनभन्दा पनि बढी गहिरो र बलियो छ । यो एउटा यस्तो नयाँ सम्बन्ध हो, जसले अन्य कुनै पनि कारकभन्दा बढी वैश्विक राजनीतिक र आर्थिक स्थिरता सुनिश्चित गर्न सक्छ ।’

पुटिनको चीन भ्रमणको समयले अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान निकै आकर्षित गरेको छ । साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उद्धृत गर्दै यो पुटिनको नियमित भ्रमण भएको र यस पटक कुनै ठुलो सैन्य परेड वा भव्य स्वागत समारोहको अपेक्षा नगरिएको उल्लेख गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टले यो पनि भनेको छ- चीनले एकै महिनामा दुई शक्तिशाली देशका नेताहरूको आतिथ्य गरिरहेको यो पहिलो अवसर हो ।

यसले चीन दुवै देशसँगको सम्बन्धलाई सन्तुलित राख्ने प्रयास गरिरहेको सङ्केत गर्छ । साथै कठिन परिस्थितिबाट गुज्रिरहेको वर्तमान विश्वमा चीनले आफूलाई एउटा महत्त्वपूर्ण र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने कोसिस गरिरहेको छ ।

राजनीतिक संस्कृतिका विद्वान् एवम् समसामयिक मामिलाका टिप्पणीकार हुआङ वेइगुओ चीन, अमेरिका र रुसको त्रिकोणीय सम्बन्धमा फरक प्रकारको शक्ति प्रतिस्पर्धा चलिरहेको र ट्रम्पको चीन भ्रमणले चीन-रुस सम्बन्धलाई कुनै असर नगर्ने ठान्छन् ।

उनले भने, ‘सतही रूपमा हेर्दा अमेरिका र रुस एकअर्काका विरोधी देखिन्छन्, तर अमेरिका रुस-युक्रेन युद्धमा मध्यस्थकर्ताको भूमिका खेल्न चाहन्छ र आफूलाई शान्ति स्थापना गर्ने राष्ट्रका रूपमा प्रस्तुत गर्न सक्छ ।’ यी तीन देशहरूमध्ये वर्तमान समयमा चीनसँग ‘एडभान्टेज’ रहेको उनको बुझाइ छ ।

हुआङ वेइगुओले अगाडि भने, ‘ट्रम्प पुनः सत्तामा आएपछि अमेरिका र युरोपेली देशहरूबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । हामीले देखिरहेका छौँ कि युरोपेली देशहरूले पनि लगातार चीनको भ्रमण गरिरहेका छन् र केही हदसम्म कम टकरावपूर्ण सम्बन्ध कायम राखिरहेका छन् ।’

यस प्रकारको अपेक्षाकृत अराजक वैश्विक वातावरणमा चीनले कूटनीतिमार्फत केही पश्चिमा देशहरूसँग सम्बन्ध स्थापित गर्ने प्रयास गर्न सक्ने र ‘विपक्षी खेमाका सहयोगीहरूलाई आफ्नो पक्षमा ल्याउन सक्ने’ उनको विश्लेषण छ ।

ट्रम्पको भ्रमणमा चासो

अर्कातर्फ, ट्रम्पले आफ्नो चीन भ्रमण समापन गरेसँगै सी जिनपिङलाई सेप्टेम्बरमा ह्वाइट हाउस आउन निमन्त्रणा दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सी जिनपिङ यसै वर्ष अमेरिका जाने कुराको पुष्टि गरेका छन् ।

पुटिनको चीन भ्रमणको खबर ट्रम्पको चीन यात्रा सकिएको २४ घण्टाभन्दा पनि कम समयमा बाहिर आएको हो र पुटिनको यो यात्रा ट्रम्पको भ्रमणको एक हप्तापछि भइरहेको छ ।

रुसी सरकारी समाचार एजेन्सी ‘तास’ ले राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै क्रेमलिनले अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणसँग सम्बन्धित मिडिया रिपोर्टहरूलाई नजिकबाट नियालिरहेको र रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणका क्रममा यसबारे प्रत्यक्ष जानकारी हासिल गर्ने अपेक्षा राखेको उल्लेख गरेको छ ।

उनले आगामी चीन-रुस बैठकमा दुवै पक्षले चीन र अमेरिकाका नेताहरूबीच हालै भएको कुराकानीका विषयमा समेत विचार आदानप्रदान गर्ने बताए । पेस्कोभले भने, ‘विश्वका दुई ठूला अर्थतन्त्रका शीर्ष नेताहरूबीचको प्रत्यक्ष संवादले स्वाभाविक रूपमा रुसलगायत विश्वका सबै देशहरूको ध्यान आकर्षित गर्ने नै छ ।'(बीबीसी हिन्दीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?