
२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको अगुवाइमा अघिल्लो साता अनामनगरमा एक कार्यालय खोलिएको छ । त्यो कार्यालयको उद्देश्य १५ औं महाधिवेशन नियमित समयमा गर्नका लागि दबाब दिनु हो । दबाब कार्यालय खोलेर संस्थापनइतरका नेता डा. शेखर कोइराला निकटका नेताहरुले सक्रियता लिएका छन् ।
यता, समूहभित्रको गतिविधिलाई हेरेर नेता शेखर र महामन्त्री गगन थापाको सम्बन्ध टाढिएको विश्लेषण पनि कांग्रेसभित्र हुँदै आएको छ । सम्पर्क कार्यालय स्थापना हुँदै गर्दा उक्त कार्यमा महामन्त्री गगन थापा निकटका व्यक्तिहरु सहभागी नहुँदा दुई नेताको सम्बन्ध थप टाढिएको आकलन गर्ने नेता कार्यकर्ता पनि छन् ।
दबाब कार्यालय खोल्न अगुवाइ लिएका नेता गुरुराज घिमिरेसँग कार्यालय सञ्चालन गर्नुको उद्देश्य, समूहमा देखिएको तिक्तता लगायत विषयमा रहेर अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः
तपाईंको अगुवाइमा सम्पर्क कार्यालय अघिल्लो सातादेखि सुरु गर्नुभएको छ । यो कार्यालय सुरु गर्नुपर्ने आवश्यकता किन पर्यो ?
नेपाली कांग्रेसको १५औं महाधिवेशनको वर्षमा हामी प्रवेश गरिसकेका छौं । कांग्रेसको विधान अनुसार सबै तहका कार्यसमितिको म्याद चार वर्ष छ । हामीले तीन वर्ष पुरा गरिसक्यौं । पार्टीको वैधानिक व्यवस्था अनुसार २०८२ सालको मंसिरसम्म महाधिवेशन हुनुपर्दछ ।
तर, २०८२ मंसिरभित्र १५ औं महाधिवेशन गर्छौं भनेर आएको नेताहरुको अभिव्यक्ति पछिल्लो समय सुन्न छाडिएको छ । महासमिति बैठकमा २०८२ मंसिरमा महाधिवेशन गर्ने भन्ने प्रतिबद्धता नै आएको थियो । तर, त्यसयता त्यो आवाज सुनिन छाड्यो ।
विधानमा भएको एक वर्ष बढाउने व्यवस्था विशेष परिस्थितिका लागि मात्रै हो । अहिले मुलुकमा विशेष परिस्थिति छैन । एमालेसँग मिलेर कांग्रेस सरकारमा छ । महाधिवेशन पर सार्न सामाजिक, राजनीतिक, दैवी, प्राकृतिक लगायतका कुनै पनि व्यवधान पार्टीलाई अहिले छैन । महाधिवेशन समयमा नहुने परिस्थिति बन्ने गरी देशमा ठूलो राजनीतिक आन्दोलन, वैदेशिक हस्तक्षेप, गृहयुद्ध भएको पनि अवस्था छैन । मुलुकमा संकट हुने गरी कुनै पनि विशेष परिस्थिति छैन ।
सम्पूर्ण शक्ति लगाएर चार वर्षभित्र महाधिवेशन गर्यौं भने आउने स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा तयारी गर्न सजिलो हुन्छ । नियमित समयमा महाधिवेशन गर्यौं भने पार्टीभित्र हुने विवाद पनि चुनावको बेला सेलाइसकेको हुन्छ । महाधिवेशनका कारणले हामी बीचमा देखिएका कटुता चुनावसम्म पुग्दा हराइसकेको हुन्छ । निर्वाचनको परिणाम स्विकार्ने उच्च राजनीतिक संस्कार हामीमा बनिसकेको छैन । समयमा महाधिवेशन हुन सकेन भने पार्टी निर्वाचनको कटुतालाई स्थानीय तहदेखि संसदीय चुनावसम्म लिएर जान्छौं । २०८२ मंसिरमा महाधिवेशन गरेर त्यसपछि चुनावको तयारीमा लाग्नुपर्छ भन्ने हामीलाई लागेको हो ।
महाधिवेशनको कार्यतालिका यतिञ्जेलसम्म बनिसक्नु पर्ने थियो । क्रियाशील सदस्यता वितरण र नवीकरण सुरु भइसक्नुपर्ने थियो । जहिले पनि महाधिवेशनको मुखमा सदस्यता वितरण/नवीकरण हतार हतारमा गर्ने र छोटो बाटो अपनाउने हाम्रो बानी लागेको छ । यो परम्परागत बाटो किन हिँड्ने ? हाम्रा वरिपरिका चुनौतीहरु घटेका छैनन् । महाधिवेशन समयमा गर्न नसकिने असामान्य अवस्था पनि छैन । आन्तरिक काममा जुट्नका लागि अनुकूल समय छ । यो अनुकूलतालाई उपयोग किन नगर्ने ?
विधिको शासन स्थापनाका लागि लामो लडाइँ लडेको कांग्रेसलाई पार्टी सञ्चालनको सन्दर्भमा प्रश्न पनि उठ्दै आएको छ । विधिको शासन स्थापना हाम्रो विश्वास र अठोट हो, त्यो अनुसार पार्टी र नेतृत्व चल्यो त ? यसमा गम्भीर प्रश्न उठेको छ । सार्वजनिक रुपमा हामीले चलाउने सरकार र पार्टी सञ्चालनको विधिमा प्रश्न उठेको छ । अझ, नयाँ पुस्ताले धेरै प्रश्न उठाएको छ । केन्द्रीय समितिका कतिपय साथीहरुले प्रश्न उठाउनु भएको छ ।
समयमा महाधिवेशन गरेर उठेका प्रश्नको समूचित जवाफ दिनुपर्ने अवस्था पनि छ । यदि त्यसो गर्यौं भने कांग्रेस नयाँ शीराबाट अघि बढ्न अग्रसरता देखायो भन्ने कुरा स्थापित हुन्छ । समयमा महाधिवेशन नगर्ने, समयमा बैठक नबस्ने, समयमा कार्यसमिति विस्तार नगर्ने, विभाग नबनाउने, भ्रातृ संस्थाको अधिवेशन नगर्नेे, तदर्थवादी ढंगले पार्टी चलाउने भनेर पार्टीको छवि धुमिल हुँदै गएको छ । समयमा १५औं महाधिवेशन गर्यौं भने विधिसम्मत पार्टी चलाउने युगमा प्रवेश गर्छौं । पार्टी महाधिवेशन चाँडै होस् भनी वातावरण, माहोल बनाउन सम्पर्क कार्यालय खोलिएको हो । साथीहरुसँग भेटघाट गरेर संगठित रुपबाट अघि बढ्नका लागि कार्यालयको महसुस गरेर कार्यालय खोलेका हौं ।
विधानले एक वर्ष अवधि थप्ने सुविधा दिएको छ । अवधि थप्न विधानको व्यवस्था छ भने अहिले दिएको दबाबले सार्थकता पाउँदैन भन्ने कांग्रेसका नेताहरु टिप्पणी गर्छन् नि ?
विधानको एक वर्ष थप्ने व्यवस्था बाध्यकारी होइन । विशेष परिस्थितिमा थप्ने हो । महाधिवेशनको तयारी गर्दा गर्दै आन्तरिक व्यवस्थापन गर्न अवधि पुगेन भने पो थप्ने हो त । प्रक्रिया सुरु गर्न त पर्यो नि ।
अथवा, असामान्य परिस्थिति सिर्जना भयो भने न अवधि थप्ने हो । पार्टीभित्र असमान्य अवस्था छैन । असामान्य अवस्था देश र समाजमा आउने हो, पार्टीभित्र होइन । पार्टीको हुने भनेको तयारी गर्दा गर्दै महाधिवेशनका समय नपुग्ने हो । महाधिवेशनको काम किन प्रारम्भ भएन त ? महाधिवेशनको कामका लागि अहिले सबै व्यस्त हुँदाहुँदै समय नपुगेको भए परिस्थितिले थप समय माग गरिहाल्छ नि !
तपाईं नेतृत्वमा सञ्चालन हुने यो कार्यालयले दबाबका लागि केके काम गर्छ ?
काठमाडौंमा रहेका साथीहरुसँग निरन्तर भेटघाट र सम्पर्क गर्छौं । जिल्ला जिल्लामा साथीहरुले बोलाइ रहनुभएको छ । जिल्ला दौडाहा पनि गर्छौं । तहगत संरचनामा रहेका साथीहरुलाई भेट्छौं ।
पार्टीको आधारभूत एकाइ भनेको क्रियाशील सदस्य हो । सदस्यता वितरण र नवीकरणको अवस्था तल्लो तहमा गएर बुझ्छौं । क्रियाशील सदस्यता कतिले नवीकरण गरे र कतिले गर्न बाँकी छ ?
कहिलेसम्म सकिन्छ बुझ्छौं । चाँडो सिध्याउन साथीहरुलाई भन्छौं । महाधिवेशन चार वर्ष भित्र गर्नुपर्छ भनेर माग मात्रै हामी गर्दैनौं । क्रियाशील सदस्यता वितरण र नवीकरण चाँडो गर्नुस् भनेर साथीहरुलाई भन्छौं । त्यसो भयो भने एक खुड्किलो त अघि बढिन्छ नि ।
अहिले के देखिएको छ भने सभापतिले महाधिवेशन गराए हुन्छ नत्र हुँदैन भन्ने देखिएको छ । महाधिवेशनका लागि त वडा सभापति पनि संलग्न हुनुपर्यो नि त । क्रियाशीलहरु पनि क्रियाशील हुनुपर्यो । महाधिवेशन गराउनका लागि संस्थापन र इतर भन्ने छैन । सबै संस्थापन हौं । पार्टी संरचना बाहिरको त कोही छैन । सम्पूर्ण क्रियाशील सदस्यहरुलाई जागृत बनाएर महाधिवेशनका लागि सक्रिय गराउनु आजको आवश्यकता हो ।
महाधिवेशन चार वर्षभित्र हुनुपर्दछ भनेर शीर्ष तहका नेतामा बोल्नेमा नेता डा.शेखर कोइराला अलि अघि देखिनुभएको छ । उहाँको बोलीलाई साथ दिने गरी तपाईंहरुले दबाब कार्यालय खोल्नुभएको हो ?
मूल कुरा त सभापतिलाई साथ दिनका लागि हो । समयमा महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नुभयो भने उहाँको नाम इतिहासमा सुनौलो अक्षरले लेखिन्छ । समयमा महाधिवेशनका लागि पदाधिकारीहरुले पनि बोल्दै आउनुभएको छ । अहिले मधुरो सुनिएको भए बेग्लै कुरा हो । समयमा महाधिवेशन पदाधिकारीले अल्छी गर्नुहोला भन्ने लाग्दै लाग्दैन । किनकि, पदाधिकारी भएकालाई अघिल्लो खुड्किलो चढ्नु छ ।
शेखर दाइ अघिल्लो महाधिवेशनमा सभापतिको निकटतम् प्रतिस्पर्धी हो । निकटतम् प्रतिस्पर्धीले जुन तहको भए पनि चाँडो महाधिवेशन गराउन खोज्छ नै । उहाँले समयमा महाधिवेशन भन्नुको एउटा कारण विधानको पालना होस् भन्ने हो । उहाँले सभापतिको उम्मेदवारी घोषणा गरिसक्नु भएकाले समयमा महाधिवेशन भयो भने प्रतिस्पर्धाका लागि धेरै समय कुर्नुपर्दैन भन्ने होला । व्यक्ति विशेषलाई बल पुग्ने भन्दा पनि महाधिवेशन समयमा हुँदा सिंगो केन्द्रीय समिति र पार्टीलाई बल पुग्छ ।
कांग्रेस र एमाले वीचमा २०८३ को असारमा देउवा प्रधानमन्त्री हुने गरी सहमति बनेको छ । २०८२ को मंसिरमा महाधिवेशन गराएर सभापतिबाट हटेर देउवा कसरी प्रधानमन्त्री हुने अवस्था होला र ? त्यही विश्लेषण गरेर सभापति देउवा नै अर्को आगामी मंसिरमा महाधिवेशन गराउन चाहँदैनन् भनी नेताहरु भन्छन् । सभापति इच्छाविपरीत हुने गरी त्यो बेला महाधिवेशन होला ?
अहिले शेरबहादुर देउवा सभापति भएकै बेलाको यो सहमति हो । संसदीय दलको नेता उहाँ नै हो । संसदीय दलको नेता उहाँ नै भएपछि अर्को व्यक्ति प्रधानमन्त्री हुने सम्भावना हुँदैन ।
महाधिवेशनबाट अर्को सभापति बनेको अवस्थामा शेरबहादुर देउवा २०८३ असारमा प्रधानमन्त्री हुने भनेर एउटा सहमति गरे भयो त । २०५२ र २०५८ मा उहाँ सभापति नहुँदा पनि प्रधानमन्त्री भएकै हो । शैलजा आचार्य, रामचन्द्र पौडेल, खुमबहादुर खड्काले हालेको दरखास्त निकाल्न लगाएर गिरिजाप्रसाद कोइराला नै देउवालाई त्यो बेला प्रधानमन्त्री बनाउनु भएको हो । प्रथमपटक प्रधानमन्त्री बनेको २० वर्षपछि मात्रै देउवा पार्टीको सभापति हुनुभएको हो । त्यसकारण प्रधानमन्त्री हुनका लागि पार्टी सभापति भइराख्नुपर्ने छैन ।
तपाईंहरुको समूह एकत्रित भएर महाधिवेशनका लागि दबाब दिँदा बल पुग्ने थियो होला । समूह एकढिक्का नहुँदा तपाईंहरुको दबाब कमजोर हुँदैन ?
१४औं महाधिवेशनको बेलामा यही कार्यालय सुरु गर्ने साथीहरुले शेखर दाई र गगन जीलगायतका नेताहरुको सामूहिक प्रचार गरेका हौं । कार्यालय खोल्नेहरु पनि यही समूहमा छौं । यद्यपि, पार्टीभित्रका सबै समूहका साथीहरुलाई आग्रह गरेर महाधिवेशनका लागि माहोल बनाउन भनेर हामी लागेका छौं । कार्यालय सञ्चालन गर्ने साथीहरुको योगदानमा उहाँहरू नेता बन्नुभएको हो ।
तर, एउटा समूह त्यसमा पनि डा.शेखर कोइराला पक्षका मात्रै रहेर दिने कार्यमा देखिनुहुन्छ ?
यही समूहका कतिपय साथीहरूले धेरै अघिदेखि सम्पर्क कार्यालय चलाइरहनु भएको छ । कसैले प्रश्न उठाउनु भएको छैन । कसै न कसैले अग्रसरता त लिनु पर्यो नि । यही भित्रका साथीहरुले पनि सम्पर्क कार्यालय चलाइरहनु भएको छ । यसमा कुनै तितरवितर र छरपष्ट भन्ने छैन । कतिपय साथीहरुलाई फोन गरेर हामी एकठाउँ बस्नुपर्छ भनेको छु । नेतृत्वमा को जाने भनेर फेरि सहमति गरेर जान पनि सकिन्छ ।
शेखर दाइले अघिल्लो महाधिवेशनमा ‘एकपटक यसैपटक’ भन्नुभयो । गगन जीले अर्को महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई लिएर आएर १५ औंको सभापति शेखर दाइ भन्नुभयो । त्यो उहाँहरुले गरेको सहमति हो । सहमति सुनाइएको हो । वास्तविक कुरा के हो त ? शेखर दाइले १५ औंमा फाइनल उम्मेदवार भएको अरु कुरा नसोच्नुस् भन्नुभएको छ । गगन जीले पनि स्वाभाविक मेरो दाबा पुग्छ भन्नुभएको छ । यसमा सल्लाह गरेर अघि बढ्नुपर्छ ।
अहिले शेखर–गगन समूह छ कि छिन्नभिन्न भयो ? कतिपयले यो समूह एकठाउँमा नभएको दाबी गर्छन् नि ?
मलाई त एउटै समूह जस्तो लाग्छ । उहाँहरुले छुटिट्यौं पनि भन्नु भएको छैन ।
औपचारिक निर्णय गरेर छुट्एिको भन्नुपर्ने हुन्छ र ?
शेखर दाइको कार्यकारी भूमिका छैन । दैनन्दिन कार्यालय र संगठन हेर्ने महामन्त्रीले हो । सभापतिसँग महामन्त्री गगन जीले समन्वय गर्नु बाध्यकारी हो । र, सभापतिले महामन्त्रीलाई काम गर्ने बाध्यकारी नै हो । यसलाई हामीले समूह फुटेको रुपमा बुझ्न हुँदैन । शेखर दाइ र गगन जीले आ–आफ्ना काम गर्दै हुनुहुन्छ, फुटको संज्ञा दिनु हुँदैन ।
आफू-आफू मनमौजी हिँड्न हुँदैन । उहाँहरु हिजो कसरी जित्नुभयो र प्रतिस्पर्धा गर्नुभयो बुझ्न जरुरी छ । तपाईंहरु समन्वय गरेर जानुस् है भनेर कुरा पनि भएको छ ।
अहिले शेखर–गगन बीच समस्या आएको भनिन्छ । तपाईंको बुझाइमा कोबाट समस्या आएको हो ?
उमेरजन्य कारणले समस्याहरु हुन्छन् । शेखर दाइ सात दशक पार गर्नुभएको छ । गगन जीले पाँच दशक पनि पुरा गर्नुभएको छैन । एउटा युगलाई गगन जी र अर्को युगलाई शेखर दाइले प्रतिनिधित्व गर्नुहुन्छ ।
फरक पृष्ठभूमि र धरालतबाट शेखर दाइ पार्टीको नेता हुनुभएको छ । गगन जी नेविसंघको राजनीतिबाट उठेर यहाँसम्म आइपुग्नुभयो । त्यसकारण, सोचाइ र गराइमा फरक पर्दछ । उहाँहरुका फरक–फरक विशेषता छन् । कार्यशैलीगत केही द्वन्द्व जस्तो देखिन्छ । यो कुरा शेखर दाइ र गगन जीले पनि भन्नुभएको छ । फरक–फरकको योगफल नै सिंगो पार्टी हो । हाम्रो पहिलो प्राथमिकता एकतावद्ध भएर जाऔं भन्ने हुन्छ । अधिकतम् प्रयास हुन्छ ।
समूहको नेता भएकाले एकतावद्ध राख्न नेता शेखर कोइरालाको दायित्व हुन्छ । समूह एकतावद्ध राख्न नसकेको, संसद र पार्टी बैठकमा जोडदार रुपमा प्रस्तुत हुन नसकेको आरोप उहाँ माथि लाग्छ । समूहको नेता भएकाले निर्वाह गर्नुपर्ने कतिपय भूमिकामा नेता शेखर चुकेको आरोपमा तपाईं के भन्नुहुन्छ ?
शेखर दाइको कार्यशैली सुशील दाइको जस्तो छ । संसदमा लास्ट बेञ्चमा बस्ने, बैठकमा शालिनताका साथ कुरा राख्ने, झगडा नगर्ने, आलोचना गरे पनि सुशील दाइ रिसाउनु हुन्नथ्यो । उहाँको कार्यसमितिमा बसेको हुनाले सुशील दाइको व्यवहार देखें ।
देउवा र सुशील दाइको शैली आकाश जमिनको फरक छ । शेरबहादुर दाइ त रिसाउने मात्रै होइन, झम्टिने गर्नुहुन्थ्यो । शेरबहादुर देउवा अघिल्लोपटक सभापति हुँदा केन्द्रीय समितिमा कतिपटक म नै उहाँको झम्ट्याइमा परेको छु । त्यसैले एकै किसिमको कार्यशैली हुनै सक्दैन ।
उहाँहरुका आ–आफ्ना प्रभावकारिता छन् । एउटा पूर्ण बेठीक र अर्को पूर्ण ठीक भन्ने कुरा यहाँ छैन ।
१४ औंमा एक ठाउँमा मिलेको समूहमा अलि मतभिन्नता हुँदा त्यसबाट लाभ पाउने सभापति देउवाले होइन ?
त्यही भएर त एक हुने भनेको हो । जति बाहिरका मानिसहरु चिन्तित हुनुहुन्छ । शेखर दाइ र गगन जीमा त्यति सिरियस खालको द्वन्द्व म देख्दिनँ । अस्ति मन्त्री सँगै भएर पठाएको होइन ?
सभापति देउवाले कहिले कुन व्यक्ति त कहिले कुन व्यक्तिलाई प्रयोग गरेका छन् भने त्यो कुरा उहाँहरुले बुझ्ने कुरा हो । बाजा यहाँ दुईथरी बजेका छन् । एक समय बाहिर मान्छेहरु यो त शेरबहादुर देउवासँग मिल्यो भनेर शेखर दाइलाई भन्थे । अहिले के बाजा बज्दैछ, के भन्दैछन् ? महामन्त्री शेरबहादुरसँग मिल्यो भन्दैछन् । यी समय–समयका मौसमी बाजा हुन् ।
दुईटाको सम्बन्धमा त्यत्रो दरार आएजस्तो मलाई लाग्दैन । दुई जनाले एकापसमा तिक्तता गरेको मैले सुनेकै छैन ।
तिक्तता छैन भने समूहको बैठक बस्न चाहिं किन सक्दैन ?
बैठक बस्न सुझाव दिन्छौं । झिनामसिना समस्याका समाधान नगर्ने हो भने त समूहलाई ठूलो क्षति हुन्छ ।
१४औं महाधिवेशनको अघिल्लो रातमा कुरा मिलेको हो । अहिले पनि समय छ । त्यतिबेलाको एकता कायम हुने मलाई विश्वास छ । समझदारी गर्नै नचाहने कोही होला जस्तो मलाई लाग्दैन ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4