+
+
Shares

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १० लाख धरौटीमा छुटे पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन जिल्ला अदालत कास्कीबाट १० लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
  • बम्जनले आइतबार कास्की जिल्ला अदालतमा बयान दिएपछि १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेको सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।
  • सहकारी ठगीमा ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको र १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग गरिएको छ।

८ भदौ, पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन जिल्ला अदालत कास्कीबाट १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

सहकारी ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएका बम्जन फरार थिए । उनले आइतबार नै कास्की जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।

न्यायाधीश शंकरकुमार राईको इजलासमा बम्जनको बयानपछि १० लाख रुपैयाँ धरौटी माग गरेकोमा रकम बुझाएर उनी छुटेको सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

बम्जन सहकारी ठगी प्रकरणका मुख्य योजनाकार तथा पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राईका जेठान हुन् । २०६५ सालको सुरुवाततिर देशभर सहकारीको सञ्जाल बिस्तार गर्दै गइरहेको समूहका ज्ञानबहादुर बम्जन पोखरा पुगेका थिए । उनैमार्फत पोखरामा सूर्यदर्शन सहकारीको दतर्थ समिति बनेको हो ।

दोस्रो विश्वयुद्धसमेत लडेका दर्जबहादुर तामाङका छोरा डीबी बम्जन र उनकै भाइ ज्ञानबहादुरसहित उनको परिवारले सहकारीको जालो बिस्तार गर्दै लाने क्रममा पोखरामाथि उनीहरूले नजर लगाइरहेका थिए । सहकारीलाई अगाडि बढाउने माध्यम उनीहरुले पूर्व गोर्खा सैनिकहरुलाई बनाइरहेका थिए ।

उनीहरूमार्फत नै मानिसहरु जम्मा गरेर सुरुमा सहकारी खोलेका थिए । तर, सहकारी ठगी प्रकरणमा भने उनले अदालतमा इन्कारी बयान दिएका छन् ।

तत्कालीन अध्यक्ष ज्ञानबहादुर बम्जनले २६ लाख ७० हजार ८७१ रुपैयाँ सहकारीको ठगी गरेको अभियोग थियो । तर, उनी अध्यक्ष हुँदा सहकारीबाट संयुक्त रुपमा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ ।

२०६५ भदौ २७ गते पहिलो साधारण सभाले ज्ञानबहादुर बम्जनको अध्यक्षतामा गठित सहकारी कानूनी रुपमा दर्ता भएको थियो ।

२०६७ पुस ६ गतेको तेस्रो साधारणसभाबाट अध्यक्षमा जीवी राई निर्वाचित भएका हुन् । सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको थियो ।

१८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुल मुद्दा दायर भएको थियो । सहकारीबाट १ अर्ब ५१ करोड रुयैयाँ ठगी भएको भन्दै बिगो माग दाबी गरिएको छ ।

यही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?