+
+
Shares

ओछ्यानमुनि भेटिए १८ अर्ब बढी पर्ने २०औं शताब्दीका चित्र, वास्तविकतामाथि प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोमानियाको राष्ट्रिय आधुनिक कला सङ्ग्रहालयमा रसियाका चित्रकार काजिमिर मालेभिचका तीन अज्ञात चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्।
  • ती चित्रकलाहरूको प्रमाणिकतामा इतिहासकारहरूले प्रश्न उठाएका छन् र सङ्ग्रहालयले तिनीहरू सक्कली हुन् वा होइनन् स्पष्ट पारेको छैन।

रसियाका काजिमिर मालेभिच २०औँ शताब्दीका चर्चित चित्रकार मध्येका एक थिए ।

शुद्ध ज्यामितीय आकारहरू कलामा ल्याएर सुप्रिम्याटिज्म नामक कला आन्दोलनको सुरुवात गर्न र त्यसलाई फैलाउन उनको ठूलो भूमिका छ । उनै मालेभिचका हालसम्म अज्ञात तीन वटा चित्रकला प्रदर्शनीमा राखिएको छ । यी चित्रकला रोमानियाको राजधानी बुखारेस्टमा अवस्थित राष्ट्रिय आधुनिक कला सङ्ग्रहालयमा अगस्ट महिनाभर प्रदर्शनीमा रहनेछन् । तर यो प्रदर्शन विवादित बन्न पुगेको छ ।

कारण, कला इतिहासकाहरूले चित्रको प्रमाणिकतामाथि प्रश्न उठाएका छन् । अनि सङ्ग्रहालयले समेत ती सक्कली हुन् वा होइनन् भनेर स्पष्ट पारेको छैन ।
यदि ती सक्कली प्रमाणित भएमा तिनीहरूको मूल्य १० करोड पाउण्डभन्दा बढी हुन सक्ने सम्भावना छ ।

000

हालको युक्रेनी भूमिमा जन्मिएका मालेभिचका चित्रकलाहरू आज कला बजारमा अन्य कुनै पनि युक्रेनी वा रुसी कलाकारका भन्दा बढी मूल्यवान् छन् । सन् २०१८ मा मात्रै उनको एउटा चित्र ८ करोड ५० लाख डलरको कीर्तिमानी मूल्यमा विक्री भएको थियो ।

तर, बुखारेस्टमा बस्ने इजरायली व्यवसायी तथा ती चित्रकलाका मालिक यानिभ कोहेनका अनुसार सन् २०२३ मा घर सार्ने क्रममा इजरायली पेन्सनर (पेन्सन पाउने व्यक्ति) इभा लेभान्डोको म्याट्रेसमुनि मालेभिचका ती अज्ञात चित्रकलाहरू फेला परेका थिए ।

ती पेन्सनर कोहेनकी श्रीमतीकी हजुरआमा हुन् । र उनले नै ती चित्रकलाहरू दिएकी थिइन् । यसरी कोहेनले ती चित्र हात पारेका थिए ।अहिले ती चित्रहरूको नाम ‘सुप्रिमाटिस्ट कम्पोजिसन विथ ग्रिन एन्ड ब्ल्याक रेक्ट्याङ्गल’ (सन् १९१८), ‘क्युबोफ्युचुरिस्ट कम्पोजिसन’ (सन् १९१२-१३) र ‘सुप्रिमाटिस्ट कम्पोजिसन विथ रेड स्क्वायर एन्ड ग्रिन ट्राएङ्गल’ (सन् १९१५-१६) दिइएको छ । र, यी चित्रकलाहरूको प्रदर्शनीको प्रायोजन कोहेनकै डेन्टल क्लिनिकले गरिरहेको छ ।

तर कला जगत भने ती चित्रहरू मालेभिचकै हुन् भन्नेमा शंका व्यक्त गर्छन् । कला इतिहासकार तथा क्युरेटर कोन्स्टान्टिन अकिनशाका अनुसार मालेभिच जीवित हुँदा कुनै पनि अभिलेखमा, फोटोमा वा प्रदर्शनीमा यी चित्रहरू नराखिएको हुँदा शंका गर्नु परेको हो ।

‘सन् १९२० को दशकको अन्त्य र १९३० को दशकको सुरूमा रुसी वा युक्रेनी कला बजारमा मालेभिचका कामहरू चलेको कुनै प्रमाण छैन । मालेभिचको आफ्नै अभिलेखमा पनि सन् १९१७ पछि कुनै चित्रकला विक्रीको उल्लेख छैन’ ती चित्रहरूबारे उनी भन्छिन् ।

000

इभा लेभान्डोले आफ्ना बुबाबाट ती चित्रकला पैतृक सम्बन्धीका रूपमा पाएकी थिइन् । उनका बुबाले तीमध्ये एउटा किनेको र बाँकी दुईवटा आफ्ना सेवाको भुक्तानी स्वरूप पाएको बताइएको छ ।

कोहेनका अनुसार स्टालिन युगमा कलामाथि दमन भएको हुँदा यो कुरालाई प्रमाणित गर्ने अभिलेखहरू नभएको हो । लेभान्डो सन् १९९० मा ती चित्रकलाहरू लिएर इजरायल बसाइँ आएकी थिइन् ।

त्यस्तै आफ्नो दाबीलाई बलियो बनाउन यानिभ कोहेनले किभका कला इतिहासकार दिमित्रो होर्बाचोभका प्रमाणपत्रहरू प्रस्तुत गरेका छन् । जसमा ती चित्रकलाहरू मालेभिच शैलीका ‘प्रथम श्रेणीका उदाहरण’ भएको उल्लेख छ ।

दिमित्रोले चित्रकलाको शैली र प्रविधिको विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन् । तर दिमित्रोले यसअघि पनि विवादित कलाकृतिहरूको झुटो प्रमाणीकरण गरेको विगत छ । यसकारण बाँकी कला इतिहासकारहरूले दिमित्रोको दावीमा विश्वास नगरेका हुन् ।

बीबीसीले तीनै चित्रकलामा तयार पारिएको रिपोर्टहरूको समीक्षा गर्दा रङ र अन्य तत्वहरू मालेभिच जीवित छँदाकै समयका भएको लेखेको छ । तर ठोस निष्कर्ष निकालेको छैन ।

000

लाखौं मूल्यमा विक्री हुन सक्ने भएता पनि यानिभ कोहेनले ती चित्रकलाबाट पैसा कमाउने कुनै योजना नभएको बताएका छन् । तर चित्रहरूको प्रमाणिकताबारे प्रश्न गर्दा कोहेनले उल्टै आफ्ना संवाददाताहरूलाई थर्काएको बीबीसीले लेखेको छ ।

यता कोन्स्टान्टिन अकिनशाले चित्रकलाको स्रोतमाथि प्रश्न उठाएपछि सङ्ग्रहालयले एक विज्ञप्ति जारी गर्दै कोहेनले उपलब्ध गराएका कागजातहरूमा भर परेको र त्यसो हुनेबित्तिकै चित्रको रचनाकार वा प्रमाणिकताको संस्थागत प्रमाणीकरणको रूपमा व्याख्या गरिनु हुँदैन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?