+
+
Shares

रुसविरुद्ध लामो दूरीका मिसाइल प्रहार गर्न युक्रेनमाथि अमेरिकाले लगायो रोक

ट्रम्पले अमेरिकामा निर्मित लामो दूरीका हतियार उपलब्ध गराउने सोचमा नभएको बताएका भए पनि अमेरिकी अधिकारीहरूले भने मिसाइल बिक्री स्वीकृति गरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई लामो दूरीमा मार हान्न सक्ने मिसाइल प्रयोग गर्न गत जेठदेखि रोक लगाएको छ।
  • ट्रम्प प्रशासनले रुसी राष्ट्रपति पुटिनलाई वार्ताको टेबलमा ल्याउन यस्तो रणनीति अख्तियार गरेको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ।

८ भदौ, काठमाडौं । अमेरिकाले आफूले दिएका लामो दूरीमा मार हान्न सक्ने मिसाइल रुसविरुद्ध प्रयोग गर्न युक्रेनमाथि रोक लगाएको खुलेको छ ।

अमेरिकी रक्षा अधिकारीहरूले अमेरिकाबाट आपूर्ति भएका लामो दूरीका मिसाइल प्रयोग गरी रुसभित्र आक्रमण गर्न गत जेठको मध्यदेखि युक्रेनमाथि रोक लगाएको खुलेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताको टेबलमा ल्याउन ट्रम्प प्रशासनले यस्तो रणनीति अख्तियार गरेको हुनसक्न द वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै गार्जिएनले लेखेको छ ।

द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले युक्रेनलाई अमेरिकामा निर्मित ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ प्रयोग गर्न दिएको छैन ।

युक्रेनले उक्त मिसाइल प्रणाली प्रयोग गर्न अनुमति मागेकोमा अमेरिकाले रोक लगाएको समाचारमा उल्लेख छ ।

अमेरिकी रक्षा मन्त्रालयका उपसचिव एल्ब्रिज कोल्बीले तयार पारेको ‘रिभ्यु मेकानिज्म’ नीति अन्तर्गत युक्रेनलाई मिसाइल प्रयोग गर्न नदिइएको बताइएको छ ।

पेन्टागनको यस नीति अनुसार अमेरिकाका लामा दूरीका हतियारहरू र अमेरिकी सूचना तथा सामान प्रयोग गर्ने युरोपेली सहयोगीहरूका हतियारहरू कसरी प्रयोग गर्न सकिन्छ भनेर मापदण्ड बनाइएको छ ।

अमेरिको यो नीति बेलायतको ‘स्टर्म श्याडो’ क्रूज मिसाइलमा पनि लागू हुन्छ । किनकी बेलायतले अमेरिकासँग खरिद गरेको उक्त प्रणाली पनि अमेरिकी टार्गेटिङ डेटामै निर्भर छ ।

यी मिसाइल प्रयोग गर्न अमेरिकी रक्षा मन्त्री पिट हेगसेथको स्वीकृति लिनपुर्ने प्रावधान राखिएको छ । यी मिसाइलले झन्डै ३०५ किलोमिटर (१९० माइल) दूरीमा मार हान्न सक्छन् ।

पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा उत्तर कोरियाली सैनिक रुसको तर्फबाट युद्धमा प्रवेश गरेपछि सन् २०२४ नोभेम्बरमा युक्रेनलाई रुसभित्र प्रहार गर्न यस्ता मिसाइल प्रयोगको अनुमति दिइएको थियो ।

ट्रम्पले पदभार सम्हाल्नु अघि अमेरिकी पत्रिका टाइमलाई दिएको अन्तर्वार्तामा सो निर्णयलाई ‘बाइडेनको भुल’ भनेका थिए ।

उनले भनेका थिए, ‘म रूसी भूभागमा सयौं माइल टाढासम्म मिसाइल प्रहार गर्ने कुरामा पूर्ण असहमत छु । यसले युद्धलाई झन् चर्काउँछ । यस्तो गर्न अनुमति दिनु हुँदैन ।’

व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले द वाल स्ट्रीट जर्नलसँग भनिन्, ‘राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुनुपर्छ भन्ने कुरा स्पष्ट रूपमा बताइसक्नुभएको छ । अहिले सम्म अमेरिकाको सैन्य रणनीतिमा कुनै परिवर्तन आएको छैन ।’

तर, गत हप्ता ट्रम्पले युक्रेनले रुसविरुद्धको युद्ध जित्न आक्रमण गर्न सक्नुपर्ने टिप्पणी गरेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीबीच शान्ति वार्त गराउने प्रयास भइरहेका बेला ट्रम्पले यस्तो पनि भन्न भ्याएका थिए ।

उनले भनेका थिए, ‘युक्रेनले युद्ध जित्न आक्रमण पनि गर्न सक्नुपर्छ । कुनै पनि टिम केवल उत्कृष्ट डिफेन्सले मात्र जित्दैन, युद्धको खेल खेल्न हतियार प्रयोगको अनुमति नदिए जित्ने सम्भावना हुँदैन ।’

गत महिना युरोपेली मुलुकहरूले खर्च बेहोर्ने शर्तमा अमेरिकाले युक्रेनलाई नयाँ हतियार प्रणाली उपलब्ध गराउने सहमति गरेको थियो ।

ट्रम्पले अमेरिकामा निर्मित लामो दूरीका हतियार उपलब्ध गराउने सोचमा नभएको बताएका भए पनि अमेरिकी अधिकारीहरूले भने मिसाइल बिक्री स्वीकृति गरेको बताएका छन् ।

ट्रम्प प्रशासनले ४०० किलोमिटर (२८० माइल) दूरीमा मार हान्न सक्ने ३ हजार ३५० वटा ‘एक्सटेन्डेड रेन्ज अट्याक म्युनिसन’ ( ई–राम्स) मिसाइल बिक्री स्वीकृत गरेको द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?