+
+
Shares

मनास्लु नियाल्ने क्रममा

स्थानीयहरू हिँडेरै एक गाउँबाट अर्काे गाउँ पुगेका भेटिन्थे । सामान ढुवानीको माध्यम खच्चडहरू थिए । पदयात्रुको आकस्मीक उद्धार कार्यका लागि साम्दोमा हेलिकप्टर ओहोर दोहोर गर्ने रहेछ साथै त्यस गाउँमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चौकी समेत रहेछ ।

अमृत प्रसाद पौड्याल अमृत प्रसाद पौड्याल
२०८२ भदौ ७ गते २१:२०

हिमाली क्षेत्रको पदयात्रा आफैंमा चुनौतिपूर्ण र रोमाञ्चक हुन्छ । हिमाल, हिमालको आधार शिविर, हिमताल र नदीका मुहानक्षेत्र, हिउँ जमेका पहाडका चुचुराहरू लगायतका प्रकृति प्रदत्त सम्पदाहरू तथा हिमाली जीवन, रहनसहन तथा संस्कृतिको भण्डार रहेको नेपालका हिमाली क्षेत्र पदयात्रा, हिमाल आरोहण, अवलोकन लगायतका गतिविधिका लागि संसारभर प्रसिद्ध छ ।

आफ्नै देशको यस्ता अमुल्य सम्पदाहरू अवलोकनका साथै त्यहाँसम्म पुग्दा सामना गर्ने रमाइलो तथा अप्ठेराका क्षणहरूको प्रत्यक्ष अनुभव गर्न गण्डकी प्रदेशमा अवस्थित मनास्लु क्षेत्रको पद यात्रामा जाने तय गरियो ।

२०८२ वैशाख २० का दिन “हाईक फर हेल्थ” नामक अनौपचारिक समूहका सदस्यहरूमध्ये हामी सातजना बिहान ६ बजे काठमाडौंबाट गोरखाको सिर्दिवास गाउँको माछा खोलासम्मका लागि लाग्यौं ।

धादिङ बेसीबाट पहाडी भुबनौटमा पिच हालिएको आरुघाट सडकमा दायाँ बायाँ देखिने रुख पात, बुट्यानहरूको हरियाली र हुस्सुले घेरेको वातावरण हेर्दै आँखु खोलामा रहेको टारीबेसि पुल पार गरी सल्यानटारका फराकिला खेत बारी र विकसित हुँदै गरेको घर बस्तीबाट ओर्लदै बुढीगण्डकीको तिरैतिर सिर्दिवास गाउँको धार्चेमा रहेको माछाखोला पुग्यौं ।

मनासलु संरक्षण क्षेत्रको प्रवेशमार्गका रुपमा चिनीने साविक सिर्दीबास गाउँ हाल चुमनुब्री गाउँपालिकाको जगतमा प्रति व्यक्ति २ सय तिरेर प्रवेश अनुमति लियौं र अघि बढ्यौं । आकर्षक सेतिखोलाको झरना, सेति खोला तथा कालि खोलाको संगम, चट्टाने भिरमा बनेको साँघुरो कच्चि सडकमा देब्रेतर्फ चट्टानले बनेको आकर्षक भित्तो र दाहिनेतर्फ खोँचमा बगेकी बुढीगण्डकीको सामिप्यताले यात्रालाई रोमाञ्चक बनाएको थियो ।

करिब चार बजे थाङ्चेत गाउँमा रहेको बुढिगण्डकीमा निर्मित झोलुगें पुल भएको ठाउँमा गाडिबाट ओर्लि आ–आफ्नो भारी बोकेर पुल पार गरी फिलिम पुगियो ।

भोलिपल्ट विहान साढे सातबजेबाट शुरु भयो हाम्रो मनास्लु क्षेत्र तर्फको पदयात्रा । चुम उपत्यकाको प्रवेश द्धारका रुपमा परिचित तथा गुरुङहरूको बाहुल्यता रहेको फिलिमबाट गमपुल तर्फ लाग्यौं । देब्रेतर्फ खोँचमा बगिरहेको बुढिगण्डकी र ठिक त्यसको छेउमा उभिएको विशाल पहाडको ठाउँ ठाउँबाट खसेको झरनाको अवलोकन गर्दै अगाडि बढदा पानी पर्न शुरु गरेको थियो ।

सम्भवत: गोर्खा जिल्लाकै सबैभन्दा लामो र अग्लो स्थानमा बनेको झोलुंगे पुललाई हेर्दै करिब एकघन्टाको उकाली ओराली पश्चात एक्लेभट्टी पुगेर एक “टि हाउस तथा लज” मा लगभग तीस मिनट चिया खाँदै पानी धेरैनै परेको अवधिलाई प्रयोग गर्‍यौं । हामी हिँडने बाटोमा खच्डका बथानहरूको आवत जावतसँगै तिनीहरूका मलमुत्रहरू पनि यत्र तत्र देखिन्थे ।

बाटोको केही भाग ठाउँ ठाउँमा छेउतिर फलामेबार ठड्याई सुविधाजनक हिँडाईका लागि सिँढी बनाइएको थियो । आ–आफ्ना भारी बोकेर झोला बोकेर हिँडदा केही कठिनाई महशुस भएपनि झरनाको सौन्दर्य, खोलाको गडगडाहाट, रुखपात, झाडी तथा बुट्टया्नबाट सिर्जित हरियाली एवं चराचुरुगिंको चिरबिरले उत्साहमा उर्जा थपेको थियो ।

चर्चित चुम उपत्यका तर्फ जाने बाटो छोडि १,५५९ मिटरको उचाइमा रहेको गम्पुलबाट झोलुंगे पुल तरि देब्रे्र तर्फ जानुपर्ने संकेत पाटीमा कोरिएको जानकारीले हामीलाई लार्केपास जाने मनासलु मार्ग तर्फ डोर्‍यायो । तिनवटा ढुंगाको गजुर आकृति शिरमा रहेको ढुंगाबाट नै निर्मित द्धारबाट अगाडि बढ्दै गर्दा बाटो केही ओरालो त्यसमाथि पानी परेकोले चिप्लो समेत थियो ।

उर्लिरहेको बुढीगण्डकीको गडगडाहटलाई श्रवण गर्दै पाईला सार्दा खुट्टो चिप्लेलाकी भनी उब्जिएको एक प्रकारको डर पनि यात्राको रोमाञ्चक क्षण थियो ।

अमृत प्रसाद पौड्याल

हामी राना गाउँ हुँदै २,०१० मिटरको उचाइमा रहेको भिइफेदी र पान्दु्रग पुग्दा साँझ पर्न लागिसकेको थियो । उकालो, ओरालो, हिलो र चिप्लो मार्गमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै हिँडे पनि पूर्ण प्राकृतिक सेरोफेरो भएकोले काठमाडौंको धुलो धुवाँ र कोलाहालमा अभ्यस्त हाम्रो फोक्सोले पक्कै पनि पुनर्ताजगि महशुस गरेको थियो ।

तेस्रो दिन बिहान भुरबाट पदयात्रा जारी रह्यो । खच्चडको बथानलाई छेउ दिँदै हिँडेको करिब एक घन्टामा ग्याप नामक स्थानमा पुगियो । नुब्रीघाप लामा अतिथि गृहमा एकछिन चिया खाँदै आराम गर्‍यौं । अघिल्लो दिन दिन भरी जस्तै पानी परिरहेकोमा त्यस दिन भने बिहान देखिनै मौसम सफा थियो र झलमल्ल घाम लागेको थियो ।

 

बौद्ध धर्मसँग सम्बन्धित मन्त्रहरू ढुंगामा कुँदेर बाटोको विचमा लामो पर्खालजस्तो बनाएको, एक आपसमा टाउको जुधाएर बसेको दुई ठुला ढुंगाले बनाएको ककारो हेर्दै पुन: बुढिगण्डकीमा बनेको झोलुगे पुल तरेर सुकसुम तर्फ जाने फेदिबाट नामरुङ्ग तर्फ जाने ठाडो उकालो उक्लियौं ।

नुब्रीमा एक स्याउको बगैंचा देखियो । स्याउका खाद्य उत्पादनहरू बिक्रीका लागी राखिएको बाटैमा अवस्थित होटलको बेन्चमा बसी एकछिन सुस्ताउँदै “एप्पल पाई“ खाएर अगाडि बढ्यौं । करिब दिनको एक बजे २,६३० मिटरको उचाईको नुब्री होटलमा पुगेर खाना खाने तय गर्‍यौं र केही समय विश्राम गर्‍यौं ।

अँध्यारो भैसकेको र पानी पर्न शुरु गरिसकेकोले बाटोमै रहेको “ब्लु स्काई” नामक अतिथिगृहमा बास बस्यौं ।

चौथौ दिन बिहान घाम लागेको र सफा निलो आकाशको प्रतिविम्बले लो गाउँ झलमल्ल देखिन्थ्यो । विहानीको प्रहर गाउँलेहरू आ–आफ्ना कार्यमा व्यस्त देखिन्थे । अधिकांश घरहरू अतिथिगृहको रुपमा संचालन भएकोले स्वदेशी र विदेशी पाहुनाहरू पनि देखिन्थे । बिहानको पौने सातबजे हामी स्यालातर्फ लाग्यौं ।

 पुन: उकालो, ओरालो, झोलुँगे पुल, अस्थायी साँघु पार गर्दै पुगिएको जंगलको विचमा कंचन पानी युक्त खोलाको सुसाई अनि पहेँलो फुलका बुट्टयानले ढकमक्क ढाकेको कान्लाहरू हुँदै नौ बजे पुगियो ३,५०० मिटरको उचाइमा रहेको स्यालामा ।

विशेषत: पर्यटकलाई बेच्न राखिएका सामानहरूको स–साना पसलहरूले सुसज्जित स्याला गाउँबाट उत्तर पश्चिमतर्फ उक्लदैं गएपछि खोलामाथिको लामो झोलुगे पुल पार गरेपश्चात सामागाउँको अगाडि रहेको फराकिलो हरियो चौर देखा पर्‍यो । प्रसिद्ध मनास्लु संरक्षण क्षेत्र भित्रको नुब्री उपत्यकाको रुपमा चिनीने उक्त स्थानमा चौंरीका बथानहरू तथा एकाध याक देखिन थाले ।

लार्के जाने मार्ग, मनास्लु बेसक्याम्पको द्धार, एतिहासिक फ्यूग्यान गुम्बा र विरेन्द्र ताल जस्ता सम्पदाहरूले सु–सज्जित ३,५३० मिटर उचाईमा अवस्थित गोरखा जिल्लाकै आकर्षक सामागाउँ पर्यटकीय दृष्टिबाट समेत महत्वपूर्ण रहेछ ।

मनासलु बेस क्याम जान आउन करिब चार घन्टा लाग्ने भएता पनि र त्यसदिन बाक्लो बादलले आकाश ढाकेको र पानी पर्न सक्ने संभावना भएकोले बेसक्याम्पको भ्रमण सार्थक नहुने निष्कर्ष पश्चात हामी विरेन्द्र ताल हुँदै साम्दो जान तम्सीयौं ।  दिनको एक बजे, हावा लागिरहेको तथा कालो बादलले आकाश ढाकिरहेको बेलामा ३,६९१ मिटरको उचाइमा रहेको हरियो रंगमा मुस्कुराइरहेको विरेन्द्र तालको किनारामा एकछिन रमायौं र साम्दो पुग्न पुन: पाइला अगाडी बढायौं ।

स्थानीयहरू हिँडेरै एक गाउँबाट अर्काे गाउँ पुगेका भेटिन्थे । सामान ढुवानीको माध्यम खच्चडहरू थिए । पदयात्रुको आकस्मीक उद्धार कार्यका लागि साम्दोमा हेलिकप्टर ओहोर दोहोर गर्ने रहेछ साथै त्यस गाउँमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चौकी समेत रहेछ ।

पानी परिरहेको र उचाईमा भएकोले चिसो हुनु स्वभाविक थियो । साम्दोमा रहेका अधिकांश होटलहरूमा स्वदेशी तथा विदेशी पर्यटक, गाइड र भारीबोक्ने सहयोगीहरू थिए । हामी बसेको होटल होटल स्नोमा समेत अन्य स्वदेशी तथा विदेशी पदयात्रुहरू थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?