
८ भदौ, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित गोरखा मेमोरियल अस्पतालले स्वास्थ्य शिविरको नाममा धर्म प्रचार गरेको भन्दै आलोचना भएको छ ।
शिविर संचालनबारे जानकारी दिदै अस्पतालले जारी गरेको पत्रमा क्रिश्चियन धर्मावलम्वीहरूलाई अस्पतालको सेवामा ५० प्रतिशत छुट दिने व्यहोरा उल्लेख भएपछि आलोचना भएको हो ।
अस्पतालले यही मंगलवार स्त्री रोग, हाडजोर्नी लगायतका बिरामीको निशुल्क चेकजाँच गर्ने भन्दै अनुग्रह मण्डलीलाई गरेको पत्र बाहिरिएको हो ।
निशुल्क भिडियो एक्स–रे समेत उपलब्ध हुने भन्दै गरिएको पत्राचारमा मण्डलीका ३५ वर्ष माथिका प्रत्येक बिश्वासीलाई अस्पतालको विशेष छुट हुने र ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने कुरा उल्लेख भएपछि आलोचना भएको छ ।
चौतर्फी आलोचना भएपछि प्रशासनले शिविर सञ्चालनमा रोक लगाएको छ । विना अनुमति शिविर संचालन गर्न लागेको भन्दै रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
मण्डलीका ३५ वर्ष माथिका प्रत्येक बिश्वासीलाई अस्पतालको सेवामा ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने भनी पर्चा भेटिएको भन्दै त्यसबारे पनि आवश्यक छानबिन गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया 4