५ मंसिर, गोरखा । गोरखामा मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले छड्के जाँच सुरु गरेको छ । ग्रामिण भेग लक्षित गरी जाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरुलाई फोकस गरेका छौं,’ जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘दुई/तीन दिन आरुघाटबाट सोती हुँदै उत्तरी गोरखाको माछाखोलासम्म छड्के चेकजाँच गर्यौं ।’ सो क्षेत्रमा पठाओको रुपमा चोरीका बाइकहरु चल्ने जनगुनासो आएकाले निगरानी बढाइएको उनले जानकारी दिए ।
चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सोती बजार नजिकै बेवारिसे अवस्थामा फेला परेको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ‘ग १७ प २३९० नम्बरको बाइक सडक छेउमा चाबी फुटाएको अवस्थामा लामो समयदेखि बेवारिसे रहेछ, हामीले नियन्त्रणमा लिएका छौं,’ अर्यालले भने । उक्त बाइक चोरीको भए/नभएको अनुसन्धान भइरहेको उनले बताए ।
चेकिङको क्रममा १३ वटा सवारी कारबाहीमा परेका छन् । सवारी नियम उल्लघंन गरेवापत उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा एउटा स्करपिओ, दुई वटा बोलेरो र बाँकी मोटरसाइकल छन् । ‘बढी भाडा लिन्छन् भन्ने गुनासो पनि थियो त्यो पनि हामीले निगरानी गर्यौं, तर त्यस्तो भेटिएन,’ उनले भने । चेकजाँचसँगै ट्राफिक नियमबारे सचेत समेत गराइएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा छड्के जाँच गरेका हुन् । चेकजाँचमा इलाका प्रहरी कार्यालय आरुघाटका प्रमुख प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा प्रहरी र जिल्ला ट्राफिक इन्चार्ज अर्यालको नेतृत्वमा ट्राफिक प्रहरी खटिएका थिए ।
प्रतिक्रिया 4