१२ वैशाख, गोरखा । गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसले चिल्दा १० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई दिनको अन्तरालमा १० जनाभन्दा बढीलाई सिंगुसले चिलेको स्थानीयले बताएका छन् ।
घाइतेमध्ये केही प्रदेश अस्पताल गोरखामा उपचाररत छन् भने केही उपचार पश्चात घर फर्केका छन् । उपचार पश्चात घर फर्केका स्थानीय कुमार अम्गाईका अनुसार उक्त टोलमा अहिले सिंगुस आतंक छ । तेह्रकिलोबाट छेवेटार जाने सडकखण्डमा आउजाउ गर्नेलाई सिंगुसले सामूहीक रुपमा आक्रमण गर्ने गरेको उनले बताए ।
‘मेरै घरमा मसहित तीन जनालाई टोक्यो,’ उनले भने, ‘वरपरका छिमेकीसहित यो बाटो हिड्नेहरुलाई पनि टोकेको छ ।’ बिशेष गरी मोटरसाइकलमा आउजाउ गर्नेलाई सिंगुसले आक्रमण गर्ने गरेको उनले सुनाए । ‘हिजो एक जनाले स्कुटर चढेर आइरहेको बेला यहाँ आएपछि सिंगुसले टोकेर स्कुटर लडाउनुभएछ, के भयो भनेर हेर्न जाँदा हामीलाई पनि टोक्यो,’ अम्गाईले भने । सो बाटो भएर आउजाउ गर्ने जो केहीलाई समूहमा आएर सिंगुसले आक्रमण गर्ने गरेको उनले बताए ।
सिंगुस आतंकका कारण सो क्षेत्रका स्थानीय त्रसित छन् । घरभित्रै बस्न पनि डरको अवस्था सिर्जना भएको भन्दै उनीहरु चिन्तित छन् । ‘कहाँबाट आयो थाहा छैन, गोलो कता छ त्यो पनि पत्ता लागेको छैन,’ अम्गाईले भने । प्रहरीलाई खवर गरेपनि वेवास्ता गरेको उनको गुनासो छ । उक्त समस्याको समाधान गरिदिन उनीहरुले वन कार्यालय एवं प्रशासनलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4