+
+
Shares

स्वास्थ्य विज्ञान विश्वविद्यालय उपकुलपतिमा दुई पटक विज्ञापन गर्दा पनि परेन आवेदन

शिक्षामन्त्री पुनले भने– कोही देशभक्त सन्तान हुनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस्

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले उपकुलपतिका लागि १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. भई काम गरेको इच्छुक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व लिन सार्वजनिक आह्वान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते ९:०९

१९ मंसिर, काठमाडौं । कैलालीको गेटामा रहेको नेपालकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपल्ट विज्ञापन गर्दा पनि कसैको आवेदन परेको छैन ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी दिएका हुन् ।

‘सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदको लागि दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन,’ मन्त्री पुनले लेखेका छन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले २०८२ कात्तिक १६ गते प्रथम पटक दरखास्त आह्वान गरेको थियो । तर आवश्यक सङ्ख्यामा दरखास्त नपरेपछि समितिले २०८२ कात्तिक ३० गतेको निर्णय अनुसार मिति २०८२ मंसिर ५ गतेसम्म दरखास्त पेस गर्ने समय थप दिएको थियो ।

मन्त्री पुनले उपकुलपतिका लागि १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. भई काम गरेको इच्छुक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व लिन सार्वजनिक आह्वान पनि गरेका छन् ।

‘मातृभूमिलाई योगदान दिने उद्देश्यले १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. भई काम गरेको नेपाल आमाको कोही देशभक्त सन्तान हुनुहुन्छ भने आउनुहोस् वा मलाई नै सम्पर्क गर्नुहोस्,’ मन्त्री पुनले भनेका छन् ।

कैलालीको गेटामा २०७३ सालमा झन्डै ८ अर्ब ११ करोडको लागत अनुमानमा मेडिकल कलेज निर्माण सुरु भएको थियो । तर त्यहाँ बनाइएका भव्य भवनहरु प्रयोगविहीन भएका थिए ।

त्यसै भवनमा सरकारले देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चाललन गर्ने निर्णय गरेको थियो । त्यस सम्बन्धी विधेयक गत जेठ महिनामा संघीय संसदबाट पास भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?