+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
विश्व माटो दिवस :

माटोको स्वास्थ्य : कृषि, खाद्य सुरक्षा र वातावरण संरक्षणको आधार

आज हामीले अपनाएका स-साना अभ्यासले भोलिको माटोको अवस्था निर्धारण गर्छ । त्यसैले तहगत सरकारहरू किसान र सचेत नागरिक सबैले मिलेर माटो स्वास्थ्यलाई प्राथमिकतामा राख्नैपर्छ।

उद्धव अधिकारी उद्धव अधिकारी
२०८२ मंसिर १९ गते ८:३४

संयुक्त राष्ट्रसंघको ६८ औं महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउन सुरु गरेको हो। सन् २०१४ देखि नेपालमा राष्ट्रिय माटो दिवस निरन्तर मनाउदै आइरहेको छ। यस बर्ष सन २०२५ लाई १२ औं माटो दिवसका रूपमा मनाउँदैछौं। संयुक्त राष्ट्रसंघले सन् २०१५ लाई अन्तराष्ट्रिय माटो वर्ष र सन २०१५ देखि २०२४ सम्म अन्तर्राष्ट्रिय माटो दशक मनाएको थियो, जसको नारा ‘जीवनका लागि माटो र दलहन बाली’ रहेको थियो।

माटो दिवसले पृथ्वीको सबैभन्दा मौलिक तर प्रायः बेवास्ता गरिने प्राकृतिक स्रोत माटोको संरक्षणतर्फ विश्व समुदायलाई जागरूक गराउने उद्देश्य बोकेको छ। माटो केवल खेती गर्ने जमीन मात्र होइन, पृथ्वीमा जीवन चक्र सञ्चालन गर्ने एक जटिल र संवेदनशील प्रणाली हो, जसलाई संरक्षण नगरे भावी पुस्ताको जीवनयापन कठिन हुनेछ।

प्रत्येक वर्ष डिसेम्बर ५ मा विश्व समुदायले माटोको महत्व सम्झने गर्दछ। संयुक्त राष्ट्रसंघले निर्धारण गरेको यो दिवसले केवल प्रतीकात्मक रूपमा मात्र होइन, मानव जीवनको मूल आधारभूत स्रोतको रक्षा गर्न सबैलाई सचेत बनाउने काम गर्छ। कृषि उत्पादनदेखि वातावरणीय सन्तुलनसम्म, पानी चक्रदेखि जैविक विविधता संरक्षणसम्म माटोले ढुंगाझैँ मौन भएर स्थिर भूमिका निर्वाह गरिरहेछ। तर, यही माटो आज अनेकौं दबाब र जोखिमको बीचमा छ।

माटो : जैविक भू-रासायनिक प्रक्रियाहरूको केन्द्र

पृथ्वी, पानी, अग्नि, वायु र आकाश यी पाँच तत्व मिलेर मानव शरीर बनेको हुन्छ। शरीरलाई सबै प्रकारका अन्न, दालमार्फत पृथ्वीतत्व प्राप्त हुन्छ। पानी तथा सबै प्रकारका तरकारी र कन्दमूल मार्फत जल तत्व प्राप्त हुन्छ । यसैगरी सूर्यको तापबाट फल्ने, फुल्ने र पाक्ने फलहरूबाट अग्नि तत्व प्राप्त गर्न सकिन्छ । जसमा रङ र मिठास दुवै हुन्छ । आकाश तत्वलाई भने सेवन गर्न सकिँदैन । यो तत्व केवल उपवास गरेर मात्र प्राप्त गर्न सकिने विश्वास गरिन्छ । वायु तत्व विशेष रूपमा रूख बिरूवाका पातहरूमा पाइन्छ, जसलाई हामीले श्वासमार्फत प्राप्त गरिरहेका हुन्छौं।

यी पाँच तत्वमध्ये आकाश बाहेक सबै तत्वहरूको उद्गमस्थल भनेको माटो नै हो । माटोबिना पृथ्वी, जल, अग्नि र वायुको उपभोग सम्भव छैन। त्यसैले  माटोबिना हाम्रो भौतिक शरीर र मानव सभ्यताको परिकल्पनासम्म गर्न सकिँदैन।

माटो केवल धुलो र कणहरूको थुप्रो होइन, यो एक जटिल जीवित प्रणाली हो, जहाँ लाखौँ सूक्ष्मजीव जैविक पदार्थ खनिज अणु पानी र हावा मिलेर जीवनचक्र सञ्चालन हुन्छ। यही माटोभित्र बीउ अंकुरिन्छ, बोटबिरुवाले पोषण लिन्छन् , जुन प्रक्रियामा प्राङगारिक पदार्थ विघटन हुन्छ र कार्बन दीर्घकालसम्म स्थिरीकरण भएर बस्छ।

हाम्रो कृषि तन्त्र जनजीवनको खाद्य आपूर्ति, प्राकृतिक वनस्पति र जैव विविधता सबैको आधार यही माटो हो। यति महत्वपूर्ण हुनुका बाबजुद माटोलाई जोगाउन ध्यान नदिँदा यसले दशकौं लगाएर बनाएको संरचना केही वर्षमै क्षतविक्षत भइरहेको छ।

माटो स्वास्थ्यमा देखिएका प्रमुख संकटहरू

नेपालसहित दक्षिण एसियामा माटोले भोगिरहेका मुख्य चुनौतीहरू धेरै छन् तर केही त अत्यन्तै गम्भीर रूपमा देखिन थालेका छन्। अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले माटोको जैविक संरचना कमजोर हुँदै गएको छ। केही दशकअघिसम्म सन्तुलित रहेको माटोको पोषण पक्ष अहिले असन्तुलित र कृत्रिम रसायनमा निर्भर बन्दै गएको छ। यस्तै, वर्षा अनियमित हुँदै जाँदा पहाडी क्षेत्रका खेतीयोग्य जमिनमा भू स्खलन तीव्र भएको छ। पाखाबारी, डाँडाकाँडा र नदी तटीय क्षेत्रहरू प्रत्येक मनसुनमा बगेर जाने क्रम बढ्दैछ।

भारी मेसिनरीको प्रयोग र अनियन्त्रित खेती पद्धतिले माटो अत्यधिक थिचिने अवस्था देखिएको छ । जसका कारण माटोभित्र हावा र पानी प्रवेश गर्न कठिन भई जरा विकास कमजोर हुँदै गएको छ। अर्कोतर्फ रसायनमा आधारित खेतीपाती प्रणालीले माटोमा जैविक पदार्थ घट्दै गइरहेको छ। परम्परागत रूपमा खेतमा गोठेमल सोत्तर पत्कर कम्पोस्ट राख्ने चलन कम भएसँगै माटोको कार्बन स्तर घट्ने क्रम जारी छ। जलवायु परिवर्तनले तापक्रम वृद्धि वर्षाको अनियमितता र चरम मौसमी घटना बढाएपछि यी समस्याका कारण माटोप्रति थप गम्भीर हुनुपर्ने अवस्था देखिएको छ।

माटोको बहुआयामिक महत्व

विश्वमा मानव उपभोग हुने खाद्य पदार्थहरूको लगभग सम्पूर्ण उत्पादन माटोमा निर्भर छ। त्यसैले माटोलाई खाद्य सुरक्षा कवचका रुपमा लिनुपर्छ। स्वस्थ माटोबिना स्वस्थ बाली उत्पादन असम्भव हुन्छ र यसको प्रत्यक्ष असर जनस्वास्थ्य र आर्थिक समृद्धिमा पर्छ।

माटो उर्वराशक्ति घट्दै जाँदा उत्पादन कम हुने, लागत बढ्ने र खाद्य सुरक्षामा संकट आउन सक्ने खतरा बढ्छ। माटोभित्र लाखौँ सूक्ष्म जीव, कीरा–फट्याङ्ग्रा, बोट–बिरुवाका जराहरू र सूक्ष्म जीवाणुहरूको संसार बस्छ। यी जीवहरूले पोषक तत्व घुलनशील बनाउन, माटो खुकुलो राख्न र वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। माटोको ह्रासले जैविक विविधता नै संकटमा पर्न सक्छ।

माटो जैविक विविधताको आधारस्थल हो। माटोभित्र बस्ने जीवाणु, ढुसी, किरा र अन्य सूक्ष्मजीवहरूले प्राकृतिक पोषण चक्र सञ्चालन गर्छन्। यिनै जीवहरूको सन्तुलन बिग्रँदा पूरै पारिस्थितिक प्रणाली कमजोर हुनेगर्छ।

माटोले वर्षाको पानी सोस्ने जम्मा गर्ने र बिस्तारै भूमिगत जल पुनर्भरण गर्ने काम गर्छ। साथै कार्बन अवशोषण गरी पृथ्वीको तापक्रम कम गर्न पनि मद्दत गर्छ। अम्लीयपन वा अत्यधिक रासायनिक प्रदूषणले माटोको प्राकृतिक प्रणाली अवरुद्ध हुन्छ ।

नेपालमा माटोको अवस्था र चुनौत

विविधतायुक्त भूगोल भएकाले  हरेक क्षेत्रमा हुने माटोका प्रकार र समस्या फरक-फरक छन्। गएको पाँच दशकदेखि गरिएको कृत्रिम रसायनमा आधारित व्यापारिक खेतीपातीले माटोको गुणस्तरमा पुर्‍याएको क्षति भने समान प्रकृतिको नै देखिन्छ। तथ्याङ्कहरूका अनुसार देशको कृषियोग्य जमिनमध्ये ६५ प्रतिशत माटो अम्लीय भएको र माटोमा प्राङ्गारिक पदार्थ १ प्रतिशत मात्र रहेको पाइन्छ। यी दुवै सूचकहरू प्रलयकारी छन्।

नेपालको कुल जमिनमध्ये ६८ प्रतिशत जमिन पहाड भूबनोट छ। यसमा हिमाल बाहेकका हिमाली क्षेत्र पनि जोड्ने हो भने पहाडी भिरालो जमिनको क्षेत्रफल दुई तिहाईको वरिपरि पुग्छ। देशको ठूलो भूभाग भिरालो जमिन भएका कारण तीव्र भू-क्षय हुने र मलिलो माटो बगाएर उत्पादनमा  क्षति पुर्‍याइरहेको छ।

यसका साथै जलवायु परिवर्तनका कारण निम्तने प्राकृतिक प्रकोप र मनसुनी वर्षामा पहाडी खेतीयोग्य माटो बग्ने  र तराईको जमिनहरू कटान वा डुबान हुने समस्या बर्सेनि बढ्दो छ। तत्काल उत्पादन बढाउन किसानले अनियन्त्रित रासायनिक मल र कीटनाशक प्रयोग गर्दा माटोमा भएका सूक्ष्मजीव नष्ट हुँदै माटो ‘जीवहीन’ बन्दै गएको छ। उब्जाउयोग्य जमिनमा कंक्रीटको विस्तारले कृषियोग्य माटोको क्षेत्रफल घटिरहेको छ ।

तथ्याङ्क अनुसार २०६८ देखि २०७८ सम्म मात्र ३ लाख हेक्टर कृषियोग्य जमिन घडेरीमा रूपान्तरण भइसकेको छ। अझै पनि यो प्रक्रिया रोकिने कुनै छनक देखिएको छैन। भविष्यका पुस्ताका खाद्य सुरक्षाको लागि यो गम्भीर चुनौती हो। यसका अलावा सिंचाइ तथा पानीको उचित व्यवस्थापन तथा बर्सेनि वनजङ्गलमा लाग्ने डढेलो पनि माटो संरक्षणको चुनौती बनेका छन्।

माटो स्वास्थ्यको महत्व

खाद्य सुरक्षाको मेरुदण्ड नै स्वस्थ माटो हो। माटो यदि पोषणयुक्त र संरचनागत रूपमा सक्षम छ भने मात्र बोटको वृद्धि प्रभावकारी हुन्छ, उत्पादन स्थिर रहन्छ र किसानको आर्थिक स्थायित्व बढ्छ। माटो वातावरणीय सन्तुलनको मुख्य धरोहर पनि हो। पृथ्वीको कार्बन चक्रमा माटो सबैभन्दा ठूलो कार्बन भण्डार मानिन्छ ।  जसले वातावरणबाट कार्बन सोस्दै जलवायु परिवर्तनको असर कम गर्न सहयोग गर्छ। पानी व्यवस्थापनसँग पनि माटोको सम्बन्ध टुट्नै सक्दैन। स्वस्थ माटोले बर्सेनि पानी सोस्ने र भण्डारण गर्ने क्षमता बढाउँछ, जसले खेतमा आवश्यक चिस्यान बस्ने मात्र होइन, बाढीको जोखिम पनि कम गर्छ।

अन्ततः माटो जैविक विविधताको आधारस्थल हो। माटोभित्र बस्ने जीवाणु, ढुसी, किरा र अन्य सूक्ष्मजीवहरूले प्राकृतिक पोषण चक्र सञ्चालन गर्छन्। यिनै जीवहरूको सन्तुलन बिग्रँदा पूरै पारिस्थितिक प्रणाली कमजोर हुनेगर्छ।

माटो संरक्षणका उपायहरू

जैविक मल, कम्पोस्ट मल, हरियो मल मिश्रित बाली र बाली चक्र जस्ता दिगो कृषिको अभ्यासले माटोको पोषण सन्तुलन सुरक्षित राख्छ। अग्रज किसानहरूले  हजारौं वर्षदेखि गर्दै आएको अभ्यास आफैंमा वैज्ञानिक छ। खेतमा पानी जमाउन होस् या माटो बग्न नदिन होस् मनसुनको समयमा फोगटा वा गरा मा आली लगाउने र आवश्यकताभन्दा बढी भएको पानी समाहाबाट आफैं बगेर जाने बन्दोबस्त गर्ने गरिन्छ।

यसका अतिरिक्त बारीहरूमा माटो बग्न नदिने कोदो वा मकै लगाउने, बर्खे भेलहरूको व्यवस्थापन गर्ने र खोला खहरेहरूमा जैविक तटबन्ध लगाउने काम किसानहरूले गर्दै आइरहेकै छन्। यसले गर्दा खेतीयोग्य माटो बचाउन र माटोभित्रको आर्द्रता सुरक्षित राख्न मद्दत पुग्छ।

विश्व माटो दिवस केवल एक स्मरण दिवस होइन, यो भविष्यको खाद्य सुरक्षा, दिगो वातावरण र मानव अस्तित्व बचाउने महाअभियान हो।

सम्बन्धित सरोकार समूहहरूले डढेलो नियन्त्रण र पशुवस्तुहरूको चरन प्रणालीलाई निरन्तरता दिँदा वन जङ्गलभित्र रहेको सतहको माटो मलिलो र सुरक्षित रहन्छ। यसले पर्यावरण सन्तुलन र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान दिने गर्छ। खेतबारीमा कृत्रिम रसानहरूको प्रयोग बन्द गरेर प्लास्टिक पेट्रोलियम पदार्थ र विषको वैकल्पिक समाधान खोज्न जरुरी छ। समय समयमा माटो परीक्षण गर्ने र आवश्यक मात्रामा कृषि चुन तथा जैविक खाद्य तत्त्वहरूको व्यवस्थापन गर्दा माटो र वातावरण दुबै सुरक्षित रहन्छ।

नेपालमा माटो संरक्षणका सम्भावित रणनीतिहरू

नेपालजस्तो भौगोलिक विविधताले भरिएको देशमा माटो संरक्षणका रणनीतिहरू बहुआयामिक हुनैपर्छ। सबैभन्दा पहिले तहगत सरकारहरूको पहलमा जैविक तथा दिगो कृषि पद्धति विस्तार गर्न आवश्यक छ।

कृषि बजेटको ५५ प्रतिशत रकम,किसानहरूले बेहोर्ने रकम र अनौपचारिक रूपमा आयात हुने मलको रकम समेत जोड्दा झन्डै पौने खर्बको हाराहारी रकम रासायनिक मल खरिदका लागि हरेक वर्ष खर्च भइरहेको छ। यो रकमलाई गोठेमल कम्पोस्ट जैविक मलहरु हरियो मल जस्ता प्राकृतिक स्रोतहरू को प्रयोग बढाउँदै माटोको उर्वरता पुनर्जीवित गराउन कृत्रिम रसायनिक मलको आयात प्रतिस्थापन गर्ने नीति लिनुपर्छ।

भूस्खलन रोकथामका लागि पहाडी क्षेत्रका खेतीयोग्य जमिनका वरिपरि जैविक बाँध, ढुंगामाटोका पर्खाल वृक्षारोपण र नदीछेउमा जैविक तटबन्द जस्ता उपाय आवश्यक छन्। यसले वर्षा हुँदा माटो बग्न मात्र रोकिन्न, बर्सेनि माटोको उर्वरता पनि स्थिर राख्छ। यसका साथै पानीका स्रोतहरू जोगाउन वैज्ञानिक सिँचाइ प्रणाली र वर्षादको पानी संकलन प्रविधिहरु विस्तार गर्नुपर्छ।

माटो परीक्षण सेवा सहज उपलब्ध गराए किसानले माटोमा कुन खाद्य तत्त्वको कमी छ र यसको वैज्ञानिक समाधान के हुनसक्छ भन्ने बारेमा निर्णय लिन सक्नेछन्।

निष्कर्ष : दिगो भविष्यका लागि माटो संरक्षण अनिवार्य

यस दिवसले ‘माटो जोगाउनु भनेको जीवन संरक्षण गर्नु हो।’ भन्ने चेतनालाई जनस्तरमा फैलाउने, प्रकृतिमैत्री वैज्ञानिक शोधलाई प्रोत्साहन गर्ने र सरकारलाई दिगो कृषि नीति निर्माण गर्न प्रेरित गर्ने सन्देश प्रवाह गर्छ। यसका लागि सरोकार समूहहरूले आ-आफ्नो ठाउँबाट अभियानहरू सञ्चालन गरिरहेका छन्।

विश्व माटो दिवस केवल एक स्मरण दिवस होइन, यो भविष्यको खाद्य सुरक्षा, दिगो वातावरण र मानव अस्तित्व बचाउने महाअभियान हो। माटो क्षयको गति रोक्न नसकिए निकट भविष्यमा खाद्य संकट, पानी अभाव र वातावरणीय असन्तुलनको जोखिम झन् बढ्नेछ। त्यसैले, माटो संरक्षण अब केवल किसानको जिम्मेवारी होइन, सम्पूर्ण समाज, नीति निर्माता र विश्व समुदायको साझा कर्तव्य हो।

आज हामीले अपनाएका स-साना अभ्यासले भोलिको माटोको अवस्था निर्धारण गर्छ । त्यसैले तहगत सरकारहरू किसान र सचेत नागरिक सबैले मिलेर माटो स्वास्थ्यलाई प्राथमिकतामा राख्नैपर्छ। स्वस्थ माटोबिना खाद्य सुरक्षा र दिगो विकास सम्भव छैन।

(लेखक अधिकारी खाद्यका लागि कृषि अभियानका संयोजक तथा राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?