संयुक्त राष्ट्रसंघले सन् २०१३ को डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय माटो दिवस मनाउने घोषणा गर्यो । त्यसयता हरेक वर्ष आजको दिन विश्वभर माटो दिवस मनाइँदै आइएको छ ।
जीवन्त माटोको महत्व र यसलाई जोगाउनै पर्ने आवश्यकता बारे व्यापक जनचेतना बढाउने उद्देश्यका साथ यो दिवस मनाउन सुरुवात गरिएको हो । नेपालमा पनि यो दिवस मनाउने परम्परा स्थापित भएको छ । यस वर्ष ‘स्वस्थ माटो, स्वस्थ गाउँशहर’ भन्ने मूल नारा सहित यो दिवस मनाइँदैछ । माटो दिवसको नारा सुन्नमा सरल लाग्छ, तर यसमा समेटिएको सन्देश अत्यन्त गम्भीर छ ।
हाम्रा गाउँ र शहर दुवैले दिनदिनै उर्वर माटो गुमाउँदै गएका छन् । समथर मैदानी भाग र शहरहरू कङ्क्रिटले भरिएर डुवान र कटानमा परेका छन् भने गाउँघर बाढी–पहिरोको चपेटामा परेका छन् ।
माटो हाम्रो जैविक प्रक्रियाको मूल आधार हो । यो विना हाम्रो अस्तित्व सम्भव छैन । जीवन्त माटोले मात्र पृथ्वीमा जैविक जीवनलाई सम्भव बनाउँछ । माटो विना जीवनको अस्तित्व कल्पना गर्न समेत सकिंदैन । लाखौं वर्षको प्राकृतिक प्रक्रियाबाट बन्ने माटो अत्यन्त अमूल्य स्रोत हो । करिब एकइञ्च माटो बन्न कम्तीमा ४०० वर्ष लाग्छ । यसरी सोच्दा, माटो हाम्रो जीवनका लागि केवल एक–एक उपयोगी भौतिक स्रोत मात्र नभएर दीर्घकालीन जैविक प्रक्रिया र वातावरणीय सन्तुलनको अभिन्न हिस्सा हो । तर, अहिले माटोको जीवन्त अस्तित्व संकटमा छ । साथै, उर्वर माटो–चक्र समेत विथोलिएको छ । यसले निम्तिने संकट भयावह छन् ।
विश्वव्यापी रूपमा भएका विभिन्न अध्ययनका अनुसार विश्वभर झण्डै ४० प्रतिशत जमिनकोे सतहको माटो अहिले नै खेतीका लागि अयोग्य भइसकेको छ । यही अवस्था रहेमा सन् २०५० सम्म करिब ९० प्रतिशत माटो खेतीका लागि अनुपयुक्त हुने अनुमान पनि गरिएको छ ।
यस्तै, विश्वको ७५ प्रतिशत खेतीयोग्य जमीन मरुभूमीकरणको जोखिममा परिसकेको छ, जसले ३ अर्बभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष प्रभावित पारेको छ । यसले स्पष्ट देखाउँछ कि माटोको ह्रास केवल उत्पादनको प्रश्न मात्र होइन, मानव जीवनको ऊर्जाको बन्दोबस्तमा बढ्दै गएको खाद्य सुरक्षाको संकट समेत हो । यसलाई प्रकृतिको चेतावनी सम्झेर माटो जोगाउन गम्भीर हुन ढिला हुँदै गएको छ ।
माटोको विश्वव्यापी संकटले हामी नेपाली पनि उत्तिकै आक्रान्त छौं । करिब ८५ प्रतिशत पहाडी भूभाग भएको हाम्रो देशमा वर्षेनि लाखौं टन मलिलो माटो विशेषगरी वर्षात्को पानीसँगै बगेर नष्ट हुन्छ । यससँगै अतिवृष्टि–अनावृष्टि, वन फडानी एवं रसायन र विषादीमा आधारित एकल खेती प्रणालीले माटोलाई झन् कमजोर बनाइरहेको छ ।
विडम्वना ! हाम्रो लाखौं टन उर्बर माटो खहरे खोला र नदी हुँदै बंगालको खाडी क्षेत्रको दु:ख बन्न पुगेको छ । उर्वर माटो विनाको उजाड खेतबारीले उत्पादकत्व गुमाइरहेको छ । अहिले अपनाइरहेको अजैविक कृषि प्रणाली, वन र वातावरणीय ह्रासले माटोमा आवश्यक जैविक पदार्थ घटाइरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालको माटोमा औसत प्रांगारिक पदार्थ केवल १.७५ प्रतिशत मात्र रहेको पाइएको छ । यस्तो सरदर तथ्यांक केलाउँदा खाद्य भण्डार भनिने मधेश क्षेत्रमा यो एक प्रतिशतभन्दा कम भएको पाइएको छ । प्रांगारिक पदार्थ माटोको उर्वरता, संरचना, पानी धारण गर्ने क्षमता र सूक्ष्मजीव गतिविधिको आधार हो । तर, यसको कमी दीर्घकालीन उत्पादन क्षमता, पोषण चक्र र समग्र वातावरणीय स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको छ । यसको सम्वोधन गर्न नसके हाम्रो खाद्य प्रणाली नै तहसनहस हुनेछ ।
हुनत माटो सबै स्थलचरको आश्रय र ऊर्जा बन्दोबस्तको आधार हो । हामी मानव जातिले उपभोग गर्ने करिब ९५ प्रतिशत खाना यही जीवन्त माटोमा नै उत्पादन हुन्छ । यसको अर्थ, माटो मर्नु केवल प्रकृति विघटनको लामो प्रक्रिया मात्र होइन, हामी र हाम्रा सन्ततिको खाद्य प्रणाली, कृषि अभ्यास, वातावरणीय सन्तुलन र मानव जीवनको दीर्घकालीन सुरक्षा नै जोखिममा पर्नु हो । माटोको ह्रासले बीउ, बोटबिरुवा, पशुपालन, जलस्रोत, जैविक विविधता र पारिस्थितिक सन्तुलनलाई समेत प्रत्यक्ष असर पुर्याउँछ ।
माटो के हो ? कसरी बन्छ ? कसरी मर्दैछ ?
माटोभित्रको जीवन्त प्रक्रिया र त्यसको जीवनचक्र सूक्ष्म प्रकृतिको हुन्छ । यो बाहिरी आँखाका भरमा माटो हेरेर मात्र देखिंदैन । यस अर्थमा, यो अझै पनि जीवन्त माटो विज्ञानको निरन्तर खोजीको विषय समेत हो । विडम्वना ! हामीले आफ्नै जीवनको आधारका रूपमा रहेको माटोका बारेमा राम्ररी थाहा नपाउँदै यसलाई प्रविधि र रसायनशास्त्रका भरमा परेर कृत्रिम रसायन एवं विषादीको वर्षा गराउँदै यसको जतन गर्न छाडेर आकाश मात्रै ताकेको अवस्था छ । यो नै जीवन्त माटो जोगाउन चुक्नुको एक प्रमुख कारण हो । यो गल्ती महसुस नगरी हाम्रो माटो सम्बन्धी चेत फेरिंदैन । यो चेत नफेरी जीवन्त माटो जोगाउन सकिंदैन ।
माटो जीवन्त हुन्छ । किनभने, यसमा निरन्तर जैविक प्रक्रियाहरू भइरहेका हुन्छन् । सतही माटो खनिज, प्रांगारिक पदार्थ, पानी, हावा र असंख्य सूक्ष्मजीवहरूको सक्रिय अन्तरसम्बन्धबाट जीवन्त बन्छ । माटोमा रहेको ह्युमसमा कार्बन, नाइट्रोजन, फस्फोरस, पोटासियम लगायत पोषक तत्व विभिन्न जैविक चक्रमा आवद्ध भई बोटबिरुवालाई पोषण उपलब्ध गराउँछन् ।
त्यस्तै, सूक्ष्मजीवहरूले यी पोषक तत्वहरूको रूपान्तरण, सन्तुलन र पुन:सिर्जनामा भूमिका खेल्छन् । यही जैविक क्रियाकलापले माटोको भौतिक, रासायनिक र जैविक गुण निर्माण गर्छ । जसले बिरुवाको वृद्धि, पोषण र स्वास्थ्य सुनिश्चित गर्छ ।
माटो मर्दैछ तर किन र कसरी मर्दैछ भन्ने कुरा हाम्रो वर्तमान कृषि प्रणाली, वातावरणीय परिवर्तन र नीतिगत असरहरूसँग गहिरो रूपमा जोडिएको छ । औद्योगिक एवं व्यापारिक कृषि विस्तारसँगै नाफाकेन्द्रित उत्पादन प्रणालीले स्थानीय, जैविक र सन्तुलित प्रणाली विस्थापित गर्दै गएको छ । सबैभन्दा पहिले, बोटबिरुवालाई चाहिने पोषण–भरणका लागि कृत्रिम रूपमा बनाइएका रासायनिक मल, विशेषगरी एमोनिया (नाइट्रोजन) मल, परम्परागत बालीहरूमा प्रयोग गरियो । सुरुआतमा यसले उत्पादन बढाए पनि, त्यसलाई निरन्तर व्यापारिक नाफाको आधार बनाइयो । फलस्वरूप, प्रविधि विज्ञानको नाममा माटो नष्ट गर्ने अनेक प्रविधि ‘उन्नत’ भनेर प्रचार गरिए ।
त्यसपछि खेतीपातीमा यान्त्रीकरण र बाह्य कृषि सामग्रीको निर्भरता झनै बढ्दै गयो । रैथाने एकीकृत तथा मिश्रित खेती प्रणाली विस्थापित भई खेतीपाती एकल प्रणालीतर्फ धकेलियो । जैविक विविधता उपेक्षित भएको यस्तो प्रणालीमा रोगकीराको प्रकोप स्वाभाविक रूपमा बढ्यो । रोगजन्य जीवाणु र कीराको प्राकृतिक नियन्त्रण कमजोर भइरहेपछि रासायनिक विषादीको प्रयोग झनै बढाइयो । यस प्रकारको कृषि अभ्यासले माटोमा रहेका सूक्ष्मजीव, प्रांगारिक पदार्थ र जैविक चक्रहरू नष्ट गर्दै माटोलाई ‘मृत्युशय्या’ मा पुर्यायो ।
माटो मार्ने अविवेकी सोच हाम्रो आफ्नै स्थानीय अनुभव र ज्ञानको परिणाम मात्र होइन, हामीले पाएको शिक्षा र दीक्षाले यसै गर्न उक्साएको हो । खासगरी, आधुनिकता र नाफाका नाममा आज समग्र जैविक जगतको विघटन तीव्र भइरहेको छ । माटोमा प्राङ्गारिक पदार्थ घट्दै जाँदा खनिज, हावापानी र सूक्ष्म जीव बीचको अन्तरसम्बन्धको जालो भत्कँदै गएको छ । यही प्राङ्गारिक पदार्थ असंख्य सूक्ष्मजीवहरूको वासस्थान हो, जसले बोटबिरुवालाई खाना बनाउन मद्दत गर्छन् । तर जीवन्त माटोमा रहेका सूक्ष्मजीव नष्ट हुँदै जाँदा बोटबिरुवाले पोषणको प्राकृतिक चक्र पूरा गर्न सक्दैनन् । यसले माटोमा रहेका जैविक, रासायनिक र भौतिक गुणलाई कमजोर बनाउँछ र दीर्घकालीन उत्पादन क्षमतामा समेत कमी ल्याउँछ । तर, जैविक सन्तुलन नष्ट गरेर गरिने यस्तो अभ्यासलाई नै आज आधुनिक कृषि भनेर प्रायोजित गरिंदैछ ।
आजको आधुनिक कृषि प्रणाली आफैंले थोपरेको समस्याको चाङभित्र समाधान खोज्ने नाममा कृत्रिम रसायन र विषादी थप्न उक्साएको छ । यसले मानव सृजित जलवायु परिवर्तनको संकट समेत थपेको छ । साथै, आनुवंशिक प्रविधि र ‘उत्पादन बढाउने’ बहानामा जीवन्त माटोका सारथि रैथाने बाली, बीउ, पशुजन्य स्रोत र जैविक विविधतामा आज बाह्य नियन्त्रण हावी भइरहेको छ । यसले प्राकृतिक जैविक सन्तुलन, माटो–पानी चक्र र स्थानीय पारिस्थितिक प्रणालीमा समेत दीर्घकालीन नकारात्मक प्रभाव पारेको छ ।
माटोको तीव्र मरुभूमीकरणले आसन्न खाद्य संकटको स्पष्ट चेतावनी दिएको छ । त्यसैले जलवायु परिवर्तनको सम्बोधनसँगै माटो संरक्षणमा सबै तहमा समन्वित प्रयास अनिवार्य भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसहरू अब खनिज ऊर्जा, रासायनिक मल, विषादी र अत्यधिक यान्त्रीकरणबाट हटेर पुन: उत्पादनशील जैविक तथा दिगो कृषितर्फ फर्किनुको विकल्प नभएको निष्कर्षमा पुगिरहेका छन् ।
विशेषत:, माटो जोगाउने मूल उपाय प्रांगारिक पदार्थ वृद्धि भएको माटो निर्माण नै हो, जसले कार्बन पुन:भण्डारण, जैविक तत्वहरूको पुन: उत्पादन, सूक्ष्मजीव सक्रियता, जैविक विविधता संरक्षण तथा माटो–पानी चक्रको सुदृढीकरणमा निर्णायक भूमिका खेल्छ । यसका लागि बोटबिरुवा र पशुजन्य अवशेष माटोमै मिलाएर पुनर्भरण गर्ने, मिश्रित बाली तथा एकीकृत खेती प्रणाली अपनाउने, कृषि–वन प्रणाली सुदृढ गर्ने, गह्रा, बाँध, छेकबार जस्ता भौतिक संरचनाबाट माटो र पानी संरक्षण गर्ने, र प्रांगारिक पदार्थ तथा सूक्ष्मजीव सक्रियता बढाउन जैविक मल, कम्पोष्ट, छापो र अन्य स्थानीय विधिहरू जुन हाम्रा हातले सजिलै गर्न सकिने सरल तर अत्यन्त प्रभावकारी रूपमा अपनाउन सकिने उपायहरू हुन् । यिनै अभ्यासले जीवन्त माटो बचाउन, उत्पादन क्षमता पुन:स्थापित गर्न र भविष्यका लागि सुरक्षित खाद्य प्रणाली निर्माण गर्न आधार तयार गर्छन् ।
जीवन्त माटो बचाउनु केवल किसानको मात्र जिम्मेवारी नभई समग्र समाज, सरकार, वैज्ञानिक समुदाय र उपभोक्ता सबैको साझा कर्तव्य हो । विवेकशील किसानहरूले आफ्नै स्तरमा जैविक अभ्यास, मिश्रित खेती, माटो संरक्षणका उपायहरू जस्तै महत्वपूर्ण प्रयास गरे पनि ती प्रयासले व्यापक प्रभाव पार्न संस्थागत प्रोत्साहन, सामुदायिक सहयोग, नीतिगत समर्थन र दीर्घकालीन लगानी अनिवार्य छ ।
यदि आजै माटो जोगाउने निर्णय लिएर व्यवहारमा उतारियो भने भविष्यका पुस्ताका लागि दिगो कृषि, सुरक्षित खाद्य आपूर्ति र स्वस्थ वातावरण सुनिश्चित गर्न सकिन्छ । तर, ढिलो गरियो भने माटो क्षय, उत्पादन घट्दै जाने र अन्तत: खाद्य संकट अनिवार्य नियति हुनेछ ।
माटो स्वस्थ हुनु भनेको मानव जीवन, खाद्य सुरक्षा, वातावरणीय सन्तुलन र पृथ्वीको दीर्घकालीन स्वास्थ्य सुरक्षित हुनु हो । तसर्थ, हरेक व्यक्ति, समुदाय र नीतिनिर्माताले मिलेर माटो बचाउन सक्रिय भूमिका खेल्न आवश्यक छ ।
अन्त्यमा, यस माटो दिवसले माटोलाई हेर्ने विवेक र यसलाई सम्हाल्ने हातहरू अघि बढाउने हामी सबैमा प्रेरणा देओस् ।
प्रतिक्रिया 4