+
+
Shares

एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते ७:५०

१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । अपराह्न ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

प्लेअफ पुग्ने ३ टोलीको टुंगो लागिसकेको र १ स्थानका लागि ४ टोली प्रतिस्पर्धामा रहेको अवस्थामा यस खेल महत्वपूर्ण रहनेछ ।

सुदूरपश्चिम रोयल्स ६ खेलमा ६ खेल जितेर शीर्षस्थानमा रहने पक्का भइसकेको छ र पहिलो क्‍वालिफायर खेल्ने छ । काठमान्डु गोर्खाज र विराटनगर किङ्स पनि प्लेअफमा पुगिसकेका छन् ।

लुम्बिनी ६ खेलमा ३ जितसहित ६ अंकका साथ अंकतालिकामा चौथो स्थानमा छ । आजको खेलमा लुम्बिनी विजयी भएमा प्लेअफमा पुग्नेछ । जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोज बाहिरिने छन् ।

यदि जनकपुर विजयी भएको अवस्थामा प्रतियोगिता रोमाञ्चक बन्नेछ । जनकपुरले लुम्बिनीलाई हराएमा लिगको अन्तिम खेलसम्म प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो नलाग्ने अवस्था बन्नेछ ।

आज जनकपुर विजयी भएमा ४ अंक हुनेछ भने लुम्बिनी ६ अंकमै रोकिनेछ । यस्तोमा ६ अंक हुने टोली पनि प्लेअफमा पुग्न सक्छन् । जनकपुरले लिगकै अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग खेल्ने छ ।

त्यसअघि चितवन र पोखराबीच शनिबार हुने खेलको विजेताको पनि ६ अंक हुनेछ । यस्तोमा आइतबार जनकपुरले कर्णालीलाई राम्रो अन्तरले हराएर नेट रनरेटमा सबैभन्दा अगाडि रहे प्लेअफमा नै पुग्नेछ ।

सबैभन्दा सजिलो समीकरण भने लुम्बिनीले आजको खेल जितेमा नै हुनेछ, जसले लिग चरणका ३ खेलअगावै प्लेअफ पुग्ने ४ टोलीको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?