२६ मंसिर, काठमाडौं । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता मणि थापा एक जमानामा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । मात्रिका यादवभन्दा पहिल्यै पार्टीबाट विद्रोह गरेर अलग्गै समूह बनाएका थापा यतिबेला ३३ दलीय मोर्चामा सक्रिय हुनुहुन्छ । यद्यपि उहाँलाई वैद्य माओवादीका नेताहरुले संविधानसभा विघटनको माग गरेकोमा भने चित्त बुझेको छैन । त्यस्तै एमाओवादी नेताहरुले संविधानसभामा नजाने भनेको पनि थापालाई मन परेको छैन ।
‘प्रचण्डजीहरुले अहिलेको चुनावी प्रक्रियालाई स्वीकार गर्नुपर्छ । संविधानसभाभित्रै गएर संघर्ष गर्नुपर्छ । तर, अहिले उनीहरुले उल्टोबाट ‘रियलाइजेसन’ गरिरहेको देखिन्छ,’ ३३ दलीय मोर्चाका नेता थापाले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो- ‘संविधानसभा भित्रै रहेर काम गर्नुभयो भने प्रचण्ड र बाबुरामको भविश्य छ, तर संविधानसभा बाहिर आएर संघर्ष गर्नुभयो भने गलत हुन्छ । बाहिर त हामी छौं, बाहिरबाट हामी संघर्ष गर्छौं ।’ थापाले संविधान सभाभित्रको मोर्चा एमाओवादीले र बाहिरको मोर्चा ३३ दलले सम्हाल्नु पर्ने बताउनुभयो ।
‘एमाओवादी सरकारमा जानु हुँदैन । तर, संविधानसभामा जानुपर्छ र सक्रिय भूमिका खेल्नुपर्छ । सरकारमा जानुभयो भने उहाँहरु सकिनुहुन्छ,’ थापाले एमाओवादीलाई सुझाव दिँदै भन्नुभयो, ‘संविधानसभामा जाने र प्रतिपक्षमा बस्ने । उहाँहरुलाई जनताले सरकार बाहिरै बस्ने म्यान्डेड दिएका छन्, जनताले दिएको म्यान्डेड एमाओवादीले पालना गर्नुपर्छ ।’
संविधानसभा विघटनको माग गलत
जसरी प्रचण्ड पक्षलाई संविधानसभा बाहिर जाने अधिकार छैन, त्यसैगरी चुनाव बहिस्कार गरेको वैद्य माओवादी ३३ दललाई संविधानसभामा पस्ने अधिकार नभएको थापाले बताउनुभयो । साथै संविधानसभा विघटन गर्नुपर्छ भन्ने माग पनि जायज नभएको थापाले बताउनुभयो । ‘संविधानसभालाई विघटन गर्नुपर्छ भन्ने माग जायज माग होइन’ थापाले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो ।
‘वस्तुगत रुपमा संविधानसभा निर्माण भैसकेको छ, त्यसैले शक्ति सन्तुलनको एउटा केन्द्र संविधानसभा र अर्को केन्द्र हामी बहिस्कारवादीहरु बन्नुपर्छ । वीचमा प्रचण्डजीहरुको कहाँ हुन्छ, त्यो उनीहरुले जान्ने कुरा हो, थापाले वैद्यपक्षसँग असहमति राख्दै भन्नुभयो- ‘हामीले संविधानसभालाई निषेध गर्नु हुँदैन । त्यहाँ जनताबाट निर्वाचित भएर आएका व्यक्तिहरु हुनाले त्यसलाई अधिकतमरुपमा जनताको पक्षमा काम गर्न हामीले प्रेसर गर्नुपर्छ मेरो वैद्यजीहरुलाई पनि सुझाव छ ।’
संविधानसभामा छिर्न खोज्नु पनि गलत
‘केही सीट पाइयो भने संविधानसभामा जाने जायज कुरा होइन, यो राजनीतिक कुरा होइन । दृश्य, अदृश्यमा त्यस्तो कुनै बार्गेनिङ भएको छ भने पनि त्यसो गर्नु हुँदैन,’ थापाले अनलाइनखबरसँग भन्नुभयो- ‘हामीले यो संविधानसभालाई बहिस्कार गरेको हुनाले हामी यसबाट बाहिरै बस्नुपर्छ ।’ ‘हामीले संविधानसभा बहिस्कार गरेको हुनाले हामीले जनपक्षीय संविधान लेख्नका लागि संविधानसभा बाहिरैबाट संविधानसभालाई केन्द्र बनाएर आन्दोलनहरु गर्ने र संविधान निर्माणका लागि दबाव सिर्जना गर्ने काम गर्नुपर्छ,’ थापाको विश्लेषण छ, ‘ हामीले जनताका मुद्दाहरुलाई संविधानसभाबाट पास गराउने कोसिस गर्नुपर्छ । संविधानसभाबाट पास हुन सकेन भने गोलमेच सम्मेलनको दिशातिर जाने र त्यो पनि हुन सकेन भने जनआन्दोलनको माध्यमबाट नयाँ शक्ति सन्तुलन गरेर अघि बढ्ने दिशा नै मुख्य हो भन्ने मलाई लाग्छ ।’
सुध्रिएनन् भने प्रचण्डको भविश्य सिद्धियो
पूर्व माओवादी नेता थापाले गल्ती महसुस गरेनन् भने अब प्रचण्ड बाबुरामको भविश्य सकिएको दावा गर्नुभयो । तर, गल्ती स्वीकारे भने प्रचण्ड र बाबुरामका प्रतिस्पर्धीहरु अझै पनि नरहेको उहाँले तर्क गर्नुभयो । ‘यदि उनीहरुले रियलाइजेशन गरेनन् भने एकीकृत माओवादीको भविश्य सिद्धियो । त्यसैले बाबुराम र प्रचण्डले रियलाइजेसन गर्नुपर्छ’ उहाँले भन्नुभयो- ‘समग्र शान्ति प्रक्रियाको रियलाइजेसन गर्नुभयो भने मैले प्रचण्ड र बाबुरामको भविश्य फेरि पनि देखेको छु । रियलाइजेसन गरेनन् भने उनीहरुको भविश्य छैन ।’
रियलाइजेसन भनेको के हो ? अनलाइनखबको प्रश्नमा थापाले व्याख्या गर्दै भन्नुभयो- ‘रियलाइजेसन भनेको उनीहरु सच्चिनुपर्यो । बाह्रबुँदेमा पनि गल्ती भएको थियो, जनयुद्ध बिसाउने क्रममा पनि गल्ती भएको थियो, हामी सरकार र सत्तामा लाग्यौं, त्यो पनि गल्ती भएको थियो, जसरी साम्राज्यवादलाई बुझ्यौं, त्यो पनि गल्ती भएको थियो । र, जसरी कांग्रेस र एमालेलाई बुझेका थियौं, त्यो पनि गल्ती गर्यौं भनेर रियलाइजेसन गर्नुपर्यो । यसो गर्ने हो भने अहिले पनि प्रचण्ड र बाबुरामको प्रतिस्पर्धामा अरु कोही पनि छैनन् ।’
तर, एमाओवादी र वैद्यपक्षवीच तत्कालै पार्टी एकताको सम्भावना भने आफूले नदेखेको थापाको भनाइ छ । ‘पार्टी एकताको तुरुन्तै सम्भावना छैन । प्रचण्डजीहरु जनयुद्धको मुद्दामा प्रचण्डहरु रुपान्तरण भएर आउने हो भने एउटा मोर्चा बन्न सक्छ र नेपालमा नयाँ धु्रवीकरण भएर नयाँ कम्युनिष्ट केन्द्र बन्ने नयाँ आधार निर्माण हुन सक्छ ।’ एकताका प्रचण्ड र बाबुारमबाट क्रान्ति सम्भव नदेखेर विद्रोह गरेका थापाले अनलाइनखबरसँग लामो कुारकानी गर्दै भन्नुभयो- ‘परिस्थितिमा आएको बद्लावले गर्दा जनयुद्धका उपलब्धीहरुको रक्षाका निम्ति प्रचण्ड र बाबुरामसँग थोरै कम्प्रोमाइज्ड हुन सक्छ ।’
तर, अब ०५२ सालमा फर्केर जान सम्भव नरहेको थापाको विश्लेषण छ । ‘०५२ साल दोहोरिने सम्भावना नेपालमा अहिले छैन । नेपालमा अहिलेको राजनीतिक प्रक्रिया र कोर्षको अन्त्य होस् भन्ने जनताले चाहेका छन् ।’
चुनावको बहिस्कार र धाँधली
चुनावमा एमाओवादी धाँधलीले नभई आफ्नै बद्नामीका कारण पराजित भएको थापाको दाबी छ । ‘चुनावमा उहाँहरुको मुख्य हार धाँधली होइन, संसदीय चुनावमा यस्ताखालका धाँधली हुन्छन् । हारको मुख्य कारण उहाँहरुको बद्नामीकरण नै हो । उहाँहरुको विचलन नै हो ।’वैद्य नेतृत्वमा ३३ दलले गरेको बहिस्कार आन्दोलन प्रभावकारी हुन नसकेको र बहिस्कारका क्रममा प्रचण्डपथीय कमजोरी रहेको थापाले बताउनुभयो । ‘बहिस्कार आन्दोलनलाई प्रचण्डकै विरुद्धमा केन्दि्रत गर्नुपर्छ भन्ने आएको थियो, गलत हो । यो राजनीतिक प्रकृतिको बहिस्कार जसरी देखिनुपथ्र्यो त्यसमा अलिकति कमजोरी भयो ।’ -थापाले भन्नुभयो ।
‘हामीले धेरै गर्न सक्छौं भन्ने ठानेका थियौं, सकेनौं । हामीले पनि आफ्नो शक्तिलाई बढी आँक्यौं । हामीमा पनि प्रचण्डपथीय कमजोरी देखियो’ बहिस्कारको समीक्षा गर्दै थापाले भन्नुभयो- ‘हाम्रो प्रहार चार दलका चार नेतालाई हराउने नै हो, तर भोटै हाल्ने भन्ने होइन । वैद्यजीहरुले त्यसो गर्नुभएको भए वैद्यजीहरुको कमजोरी हो । पैसा लिएर भोट लिएर हालेका रहेछन् भने आत्मालोचना गर्नुपर्छ । त्यस्तो भएको रहेछ भने जनतासँग हामीले माफी पनि माग्नुपर्छ ।
उहाँले भन्नुभयो- ‘राजनीतिक बहिस्कार भनियो, तर वैद्यजीहरुले फैाजी बहिस्कार गर्नुभयो, त्यहीँ रहेका हामीलाई पनि थाहै भएन । बम विस्फोटनमा सरकारले पनि अनैतितक गर्यो, हामी पनि नैतिक हुन सकेनौं । यत्रो बम विस्फेटन भैरहँदा सरकारले नेतालाई पक्रन सकेन, हामीले पनि विस्फोटनको जिम्मा लिन सकेनौं ।
चुनावपछि देश धु्रवीकरणतिर गयो
थापाले चुनावपछि देश धु्रवीरकणतिर गएको दाबी गर्नुभएको छ । ‘चुनावको परिणामपछि देश एउटा ठूलो धु्रवीकरणतिर गयो । जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शक्तिहरुको पराजय भयो तर विचारको पराजय भएको छैन,’ थापाले भन्नुभयो, ‘विचारको आन्दोलन त बल्ल सुरुभयो भन्ने मलाई लागेको छ ।’ थापाले निर्वाचनमा एमाले र कांग्रेसले पाएको मत लोकपि्रय मत नभएर एमाओवादी र मधेसवादीको वितृष्णाबाट सिर्जित मतको संज्ञा दिनुभएको छ ।
‘चुनावको यो परिणामलाई जनताकै परिणाम मान्ने हो भने पनि एमाले र कांग्रेसले पाएको मत लोकपि्रय मत होइन । एमाओवादी र मधेसवादी दलबाट वितृष्णा भएको मतका रुपमा एमाले र कांग्रेसले मत पाए, थापाले भन्नुभयो,- ‘यसलाई उनीहरुले जातीय पहिचान, संघीयता र क्षेत्रीयताको पराजयका रुपमा पुँजीकृत गर्न खोजिरहेका छन् । जनयुद्ध र मधेस आन्दोलनको पराजय भनेर गलतरुपमा व्याख्या गर्न खोजिरहेका छन् ।’उहाँले थप्नुभयो- ‘एमाओवादी र मधेसवादीहरुमा साँच्चै पो पराजित भयौं कि भन्ने महसुस भइरहेको देखिन्छ । वस्तुगत स्थितिको सही विश्लेषण गर्न दुईवटै पक्ष चुकेका छन् । तर, अब सही रुपमा विचारको बहस सुरु भएको छ । अब जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनको प्रगतिशील धाराको वीचमा धु्रवीकरण हुन्छ ।’
मधेसवादी र एमाओवादीले जुन विचार अगाडि ल्याएका थिए, त्यसमा भ्रष्टाचार र वर्गचरित्रका कारण उनीहरु बदनाम भएको र यसबाट वितृष्णा भएर जनताको मत कांग्रेस र एमालेमा गएको थापाको टिप्पणी छ । ‘यसबाट यिनीहरुले पाठ सिके भने अब बल्ल एकातिर संसदवादी शक्तिहरु र अर्कातिर संघीयता दिँदा बलियो राष्ट्रपतीय प्रणाली चाहिन्छ भन्ने शक्तिहरुवीच नेपालमा धु्रवीकरण सुरु भयो । बाह्रबुँदे समझदारी यता यिनीहरु एउटैजस्तो देखिँदै आएका थिए, अब यिनीहरुवीच धु्रवीकरण देखापर्यो । त्यसैले अब वास्तविक विचारको लडाइँ सुरु हुन्छ । र, यसको नेतृत्व अब करिब-करिब वैद्य पक्षले लिन्छ । ३३ दलले अब यसको मनोवैज्ञानिक र वैचारिक नेतृत्व लिन्छ ।’
प्रतिक्रिया 4