झलक सुवेदी
‘ओइ कान्छा !’
‘हजोर …?’
‘जा त जिम्मल बाकाँ गर त्यो अमिनलाई बोलाएर ले ।’
‘किन र बा ?’
‘साँइदुवाले घुस खान खोजेको होला नि । त्यो तलको खरबारी र पाखोबारी जङ्गलमा पर्च भनेर पटक्कै नाप्न मानेन गाँठे । जिबाका पालादेखि चर्चेको जग्गा । नब्बे सालको दर्ता पनि छ । तिरो तिरेको रसित पनि छ । लौ त्यो नाप्न पनि त्यसलाई घुस ख्वाउन पर्ने भो एइ ।’
‘काँ त्यल्लाई ख्वाउँनिओे ? हाम्रो काम अर्न सरकारले पठार आ’सि खुरूखुरू अर्न पर्दैन तिनेरले । म त जान्नँ त्यल्लाई बोलाउन,’ मैले अलिकति विरोधको स्वरमा भनें ।
‘भो, भो धेरै बाठो नहो’, लामा हात हल्लाउँदै बाले भने, ‘हृयाँ आमाले अलिकति खिर पकाइछ । ख्वाउन पर्यो नि अब । सबैले पालो अरेर ख्वाछन् । दीनबन्नुले पैसा, जाँड, रौसी कुखुरो के-के ख्वाच र चन्दनेको पाखो, च्यानडाँडा मुनिको वन सप्पै दर्ता अरेच । क्यार्नी, ख्वाउनी मात्रै हो र ? सबैले तीतीन सय उठार पनि दिनी भनिर्चन् । झट्टै जा त बोला, फेरि रिसाउला ।’
दिनभर मैले अमिनका पछिपछि हिँडेर पिलर ठड्याएँ । जग्गा पनि भने जसरी नै नापियो । मलाईर् के-के अपराध गरेजस्तो लाइरहेको थियो ।
त्यसको भोलिपल्ट साँझपख गाउँलेहरु चौतारामा बसिरहेका थिए । दीनबन्धु, जिम्मल र अमिन अलि पर बसेर खासखुस गरिरहेका थिए ।
तेसीमा खाने जिम्मलले रूम्बा जेठाको छोरासँग दुईसय रूपैयाँ लिएच ए ! जाबो एउटा लंगौटी जत्रो फोउटो थियो, बाउ-बाजेदेखि कमार खाको । पर्ती हो दर्ता अर्न पाइँदैन भनेच र गरिपलाई अँठ्यार खाच,’ रोहित काकाले अनुहार बिगारेर सुनाए र सुर्तीको पहेँलो रस पिच्च थुके ।
‘जमाना पनि कति पापिँदै गको होउ गाँठे । अब आफ्नो जग्गा भन्न पनि मुखियालाई घ्यु ख्वाउन पर्नी । अमिनलाई पैसा ख्वाउन पर्नी । त्यल्लाई त हृवाँ सरकारले भत्ता दिएको छ नि । त्यो पनि त हाम्रै पैसा हो नि हैन र ?’ लाउरेले भन्यो ।
‘बोलबोल माछा मुखभरि पानी । अब सबैले जे गरे त्यै त्यै अर्न पर्दो रच क्यारे । यस्ता कुराँ त गाउँका ठूलाठालाले हेर्न पर्नी हो नि । हामी नजानेका नपढेकालाई के था हुन्च ? हाम्राँ त ठूला मुन्छे नै गरिपमारा छन् । अनि यत्राको हुन्त्यो,’ बाले भने ।
‘हाम्रो त्यो पाखो पनि दर्ता अर्न पाए ढुक्कले निदाम्दा हुम् हजुर,’ साइँलो दमाईर्ले रोहित काकातर्फ फर्केर जम्लाहात गर्यो ।
सर्किनी माइली पनि सँगै थिई ।
अघिल्लो वर्ष दीनबन्धुले लखेटेपछि फाँडेर बसाएको बस्ती दर्ता गराउन सकिन्छ कि भन्ने झिनो आशा बोकेर यी सार्की र दमाईर्हरु आएका थिए । त्यहाँबाट फेरि कतै उठीबास नलागोस् भन्ने चिन्ता उनीहरुको अनुहारमा प्रस्टै झल्किन्थ्यो ।
‘खै त्यै जिम्मललाई एकचोटि भन् । त्यसका बाउको आँडा मोले काम अर्देला नि । मुखियाले रसित नदिए अमिनको भूत पनि मान्दो रैन्च क्यारे । अब हाम्ले भनेर कल्ले सुन्च र बाबै । बरू एकपटक त्यो प्रधानलाई पनि भन् त, उसले भन्यो भने त अमिनले नि मान्ला नि ?’
रोहित काका आँधीखोलेतिर नफर्की परपर हेरेर बोले । उनी यति निरीह यस अगाडि कहिल्यै देखिएका थिएनन् । उनको कछाड हृवात्त भुइँमा लत्रेको थियो अनि लंगौटीको दायाँबायाँबाट पुरूषाङ्गको केही भाग र फुलेका रौं बाहिर निस्केका थिए ।
साइँलो दमाईर्को अनुहार निन्याउरो र अँध्यारो भयो ।
‘ए रोहित काका ! मलाईर् त यो नापी अर्न आउनेको कुरा कत्ति चित्त बुझेन है, मैले भने ।
किन ?
‘यस्ता फटाहाहरु । त्यो जिम्मल र दीनबन्धुको जङ्गलै पनि दर्ता अर्दिनेले यी दमाईर् कामीको जाबो घडेरी त दर्ता अर्दिन पर्नी होइन र ?’
‘अर्न पर्नी हो तो नि क्यार्चस् ? हामीले भनेर नहुनी ।’
‘हैन तपैंहरु सबैले एकपटक अलि कस्सिएर भने त हुन्त्यो कि ?’ मैले अलि चर्किंदै भनें ।
‘तँ केटाटी नै छस् कान्छा हेर । तैंले ऐल्यै कुराबुझ्दैनस । अस्ति नै रत्ने मास्टरले भनेको कुुरा त सुनिस् नि तैंले पनि । यस्तै हो सरकारै फटाहाहरुको भपछि हाम्रो के लाउत्यो ?’
म चुप लागें ।
कुल्फीमा राखेको ठुटो चुरोटको एक सर्को तान्दै सर्किनी माइली बोली, ‘केको हद्दर खाका हौ, ए दमाईर् साइँला ? हृयाँ बस्न नपाए अर्को गाममा जाम्ला । अर्को गाममा पनि नपाए मधेस झरम्ला । दुःखीको काँ छ र घर, रात काट्यो डालीमा बसेर भन्चन् । हामी गरिपको के खोसिन्च र बेर्थै । जग्गा हुनीका पो दर्ता हुन्न भन्ने पिर हाम्लाईर् केको पिर हो । सरखारको दया भए दर्ता अर्ला नभए यत्रैसिती । त्यो जिम्माल र प्रधानका अगाडि नुएर जी हजुर त मरे नि अर्दिनँ म त ।’
त्यसपछि तिनीहरु दुवैजना उठेर आफ्नाघरतिर लागे ।
उनीहरु हिँडेपछि रोहित काकाले भने, ‘सात सालमा कांग्रेसले प्रजातन्त्र ल्यायो । अब त राणाशासन सकियो, फटाहाका दिन पनि सकिए भन्ठानेको ज्युँका त्युँ रओ । फेरि सत्र सालमा महेन्द्रले के-के न अर्चु भनेर पञ्चायत ल्याए, मुलुकी ऐन आयो, भूमिसुधार आयो, गाम र्फक आयो अब त फटाहाले सउतैनन्, दुःखी गरिपलाई पनि राज्यले हेर्च, सरकारले हेर्च भनेको ऐले पनि उनैको राइँदाइँ छ गाँठे । यस्तो ज्यातिबित्ती त अर्न हुँदैन त मुन्छेले मुन्छेलाई । हैन यो अतिचार कल्ले फाल्च खोई ? म ता जुन पाटीले यस्तो अतिचार हटाउँच, दुःखी गरिपलाई हेर्च त्यै पाटीलाई सएता अर्नीर् थिएँ म्ले ।’
गामबाट डोरले आफ्ना काम सकेर फक्र्यो । दलितहरुको घर जग्गा रहेको
कित्ता बुट्यानभित्र पर्यो र दर्ता भएन । चिहानडाँडामुनिको पातालको गैरो जस्तो बाक्लो वन भने जिम्मल दिलनाथ र दीनबन्धुका नाममा दर्ता भएको थियो ।
(सुवेदीको नयां कृति आधा जुनको अंश । फाइनपि्रन्टले प्रकाशित गरेको यस उपन्यासको मूल्य रु ३०० छ ।)
प्रतिक्रिया 4