+
+

आँपको रुखमा राजकुमारीका २६ घण्टा !

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ७ गते १९:१०

७ भदौ, बर्दिया । गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला बर्दियामा राजकुमारी थारुसहित ११ जनाले बबई नदीको बाढी छल्न २६ घण्टा रुख चढेर बिताए । रुखमा ६ महिनाको बच्चादेखि ७० वर्षकी वृद्धासमेत थिए ।

रुखको हाँगामा बसेर मृत्युलाई जित्न सफल रामकुमारीले सेभ द चिल्ड्रेनद्वारा वितरीत राहत थाप्न आउँदा उक्त त्रासदीपूर्ण घटनाबारे यसरी वर्णन गरिन्-

Raj-kumari-tharu

आपतमा परेपछि लाज पनि हराउँदो रहेछ, दिशा-पिसाब आउँदा रुखबाटै छाडिदिन्थ्यौं, तल्लो हाँगामा बसेकालाई लाग्थ्यो ।
बिहानको ५ बजेको हुँदो हो, बबई नदी बढेर आयो । एकै छिनमा घरको छाप्रो भत्कायो । भागौं, कता जाउँ ? जतात्यतै पानी नै पानी । घर नजिकैको सिसमको रुखमा लोग्ने र तीन छोरीसहित चढेर बस्यौं ।
दिनभरि बसेपछि साँझमा त्यो रुख पनि बगाउँछ जस्तो डर लाग्यो । त्यसपछि बाढीमा बगाएर ल्याएको रुखको सहाराले नजिकै रहेको आँपको रुखमा सर्‍यौं र त्यही रुखमा रात कटायौं । त्यो रुखमा हामी ११ जना थियौं । त्यहाँ रहेकी गर्भी थारु ७० वर्षकी थिइन् ।
छिमेकी कमला गुरुङ्ग आफ्नो ६ महिनाको नानी लिएर रुखमा हामीसँगै बसेकी थिइन् । कमला बेलाबखत बेहोस हुने र बान्ता गर्ने गरेपछि उनलाई र उनको बच्चालाई बचाउन गाह्रो भयो । कमलाका पति विजय गुरुङ्ग भारतको दिल्लीमा कमाउन गएका थिए । बाढीका कारणले उनी बाटैमा थुनिएका थिए ।
अहिले कमला र बच्चा दुबै बिरामी छन् । उनी भुरीगाउँमा देवरका घरमा आश्रय लिइरहेकी छन् । गर्भी पनि विरामी भएर उपचार गराइरहेकी छन् ।
रुखमा हामी ११ जनाले ज्यान जोगाउन झण्डै २६ घण्टा बसेका हौं । शुक्रबार बिहानै ५ बजे रुख चढेका हामी शनिबार बिहान ६ बजे मात्र ओर्लिएका  हौं ।
रुखमा बस्दा आपतमाथि आपत थपियो । जतात्यतै पानी नै पानी थियो । दिसा-पिसाव लाग्दा जहाँ बसेका थियौं, त्यहीँबाट गरिदिन्थ्यौं । यसो गर्दा तल बस्नेको जिउभरि हुन्थ्यो ।
बाढीले बगाउने डर त छँदै थियो, अर्कोतिर बाढीले बगाएर ल्याएका विषालु सर्पले कतिबेला डस्ने हो, भनेर त्राहीत्राही भइयो । कतिपटक त सर्प टिपेरै फालियो । कतिपटक सर्पसँगै एउटै हाँगामा बसियो ।
विपद र बाढीमा पर्दा राज्यले खोजेर उद्धार गर्छ भन्ने सुनेका थियौं । रेडियोमा हेलीकोप्टरले उद्धार गर्छ भन्ने पनि सुनेका थियौं । तर, २६ घण्टासम्म रुखमा बसेका बेला न त हामीलाई बचाउन कोही आयो, न त हामीले खानका लागि नै केही पायौं ।
रुखबाट ओर्लिएपछि नजिकै रहेको आफन्तको घरमा पुगेर झण्डै ४८ घण्टापछि मात्रै केही खानेकुरा खान पाएको हौं । हामी विपन्न र गरिबका लागि राज्यले उद्धारमा लागि न चासो देखायो, न त राहत लिएर नै आयो ।
विपतमा परेकालाई बचाउन हेलिकोप्टर आउने यसअघि रेडियोबाट सुन्ने गरेका थियौं । तर, हामीलाई बचाउन कोही न कोही त आउलान् कि भन्दै आशैआशमा दिन र रात बिताइयो । हामीजस्ता गरिवको उद्धार गर्न कोही आएन ।

मदनालाई स्वदेश र विदेशबाट सहयोग
यसैवीच गत शुक्रबार बाँकेको मानखोलामा आएको बाढीमा परेर छाप्रो बगाउँदा बेसाहारा बनेकी उढरापुर-२ आठविगाहकी मदना सुनारलाई सहयोग गर्ने हातहरु फेला परेका छन् ।
तीन छोराछोरीकी आमा मदनाको बेदना अनलाइनखबरमा प्रकाशित भएलगत्तै उनलाई सहयोग गर्नेहरुले विभिन्न माध्यमबाट सहयोग उपलब्ध गराएका छन् ।
भारत गएका पतिसमेत २ वर्षदेखि बेपत्ता रहेको र बाढीले घर बगाउँदा तीन स-साना बच्चाहरुको रेखदेखमा समस्या परेको खबर प्रकाशित भएपछि सेभद चिल्ड्रेन नेपालगञ्जले बच्चाहरुका लागि कपडा, ल्याक्टोजिन र बेबी ब्लाङ्केट उपलब्ध गराएको छ ।

Madana
त्यसैगरी भेरी अञ्चल अस्पतालमा कार्यरत डा. बद्री चापागाईमार्फत काठमाण्डौ घर भई हाल दक्षिण अफ्रिकामा रहेका दीपक निरौला र नुवाकोट घर भई हाल कोरियामा रहेका रमेश भण्डारील अनलाइनखबर पढेपछि मदनालाई पाँच/पाँच हजार रुपैयाँ नगद सहयोग अनलाइनखबरकर्मी आरपी सुवेदीमार्फत् बुझाएका छन् ।
सोही समाचारबाट प्रभावित भएर चौधरी समुहमा कार्यरत सुमन थपलियाले १५ हजार नगद र मदनाका लागि लत्ताकपडा सहयोग गर्ने जानकारी गराएका छन् ।
मदनाका लागि जुटेको नगद सहयोग तत्काल उनलाई उपलब्ध गराउँदा सुरक्षा हुन नसक्ने भएकाले सदुपयोग हुने गरी व्यवस्था मिलाइने बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले जानकारी दिए ।
मदना र उनका विरामी बच्चाहरुलाई जिल्ला महिला विकास कार्यालयको सेल्टरमा ल्याएर उपचार गराउने पहल गर्दा उनले नमानेको महिला विकास अधिकृत पुष्पा रिजालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?