३० असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रस्तावित अध्यक्ष अनुपराज शर्माले जातिय र लैंगिक हिंसा तथा विभेद विरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् । विहीबार संसदीय सुनुवाई विशेष समिति बैठकमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
‘भोली नै सुनको फुल पार्ने कुखुरा जन्माउछु भन्दैन तर संघर्ष गर्छु,’ शर्माले भने ।
राज्यको प्रविति नै ऐनकानुन मिच्ने हुने गरेको भन्दै त्यसलाई अंकुश लगाउने उनले दावी गरे । सर्बोच्च अदालतका पूर्वप्रधानन्यायाधीश समेत रहेका शर्माले सभासदहरुको जिज्ञासा समाधानको प्रयासमा प्रहरी प्रशासनको काम पनि गलत रहेको औंल्याएका हुन् ।
‘प्रहरी प्रशासनको पहिला थुन्ने अनि सुन्ने प्रवृत्ति छ,’ उनले भने, ‘अब त्यसो होइन पहिला सुन्ने अनि थुन्ने गर्नुपर्छ ।’ प्रहरी प्रशासनलाई अभिमुखीकरण तालिम दिनुपर्नेमा उनको जोड थियो । प्रहरी प्रशासनको गलत कार्यशैलीको मारमा निर्दोष व्यक्ति पर्न नहुने उनको भनाइ थियो ।
आफू राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनेमा आर्थिक, सामाजिक. साँस्कृतिक अधिकार संरक्षणलाई प्राथमिकता दिने उनले जनाए । उनले मानवअधिकार आयोगको शाखा कार्यालय बिस्तारको योजना रहेको पनि सुनाए ।
‘मानवअधिकार आयोग काठमाडौंमा मात्रै क्रियाशील हुनु हुदैन अब सीमामा र गाउँ गाउँमा पनि जानुपर्छ,’ प्रस्तावित अध्यक्ष शर्माले भने । दुर्गम जिल्लाहरुमा पनि मानवअधिकार आयोगको कार्यालय खोल्नुपर्नेमा उनले जोड दिए ।
गोर्खाका फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु सम्वन्धमा सभासदहरुले राखेको जिज्ञासामा शर्माले निधन दुःखद भएको भन्दै निष्पक्ष भइ मानवअधिकार संरक्षणको काममा क्रियाशील हुने बताए । उनले भने, ‘यस्ता मुद्दामा राजनीतिक दृष्टिकोण हुदैन, मानवअधिकार संरक्षणको काम गर्छु ।’
मानवअधिकार आयोगको अध्यक्षमा प्रस्तावित अनुपराज शर्मा र सदस्यमा प्रस्तावित प्रकाश वस्तीविरुद्ध दुई-दुईवटा उजुरी परेका छन् । यसैगरी सदस्यमा प्रस्तावित अधिकारकर्मी सुदीप पाठक विरुद्ध एक र नीतिगत विषयका तीन उजुरी परेका छन् ।
अध्यक्षमा सिफारीस शर्मालाई साझा पसल सेवा सहकारी संस्था लिमिटेडको मुद्दामा त्रुटिपूर्ण फैसला गरेको तथा केहि मुद्दामा मानवअधिकार संरक्षणको पक्षमा निरुपण नगरेको आरोप लागेको छ ।
यसैगरी वस्तीमाथि सर्वोच्च अदालतको न्यायाधीश भएकोबेला घुस लिएको, कमिसन लिने गरेको र पाठकमाथि दोस्रो जनआन्दोलनमा सकारात्मक भूमिका नखेलेको आरोप लागेको छ । सदस्यमा सिफारीस मोहना अन्सारी र गोविन्द शर्माविरुद्ध भने कुनैपनि उजुरी परेको छैन ।
प्रतिक्रिया 4