१४ कात्तिक, काठमाडौं । साना दलका नेताहरुले प्रक्रियामा गएर नयाँ संविधानका विवाद टुंगो लगाउन सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबारको छलफलमा राप्रपा नेपाल, राप्रपा लगायत दलका शीर्ष नेताहरुले सहमतिको सम्भावना सकिएको भन्दै अब प्रक्रियामा जान सुझावदिएका हुन् । सहमतिको नाममा समय खेर फाल्दै गए माघ ८ मा नयाँ संविधान जारी नहुने उनीहरुको भनाइ थियो ।
प्रधानमन्त्रीसँग छलफल गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । गच्छदारले भने सहमतिको लागि अझै पहल गर्नुपर्ने बताएका थिए ।
कोइरालाले संबिधान निर्माणमा सबै दललाई सहमतिमा ल्याउने प्रयास स्वरुप साना दलसँग छलफल शुरु गरेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
दलहरुबीच राज्य पुनसंरचना, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर मतभेद छ । मतभेद टुंगो लगाउन भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच पटक पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन । सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले १४ कात्तिक शुक्रबारसम्मको समयसीमा पाएको छ ।
प्रतिक्रिया 4