+
+

जब विश्वले सुन्यो बेचिएकी नेपाली चेलीको कथा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १२:५५

sunita-2-final२०, कात्तिक, काठमाडौं । सुनिता दनुवारको मुम्बईको कोठीदेखि स्वीडेनको स्टकहोमसम्मको यात्राको कथा सुन्दा स्वीडेनकी रानी सिल्भियाले पनि सायद आँशु थाम्न सकिनन् । यो कथा थियो, आँशुलाई शक्तिमा रुपान्तरण गरेका बेचिएका नेपाली चेलीहरुको ।

विश्वप्रसिद्ध सी टेन अवार्ड लिनका लागि स्टकहोम पुगेकी शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार विहीबार स्वदेश फकिर्ंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीजस्तै पीडित र उनले उद्दार गरेका महिलाहरु भव्य स्वागतका लागि व्यग्र थिए ।

जसै उनी विमानस्थलबाट बाहिर निस्किइन्, शक्ति समूहका सहकर्मी र बेचबिखनबाट प्रभावित महिलाहरुले उनको स्वागतमा खादा, माला र अबिरमात्र होइन, दुई थोपा आँशु पनि झारे ।

विश्वका मान्छेहरुलाई आँशु पिएर शक्ति पाएको कथा सुनाएर फर्किएकी सुनितालाई स्वागत गर्नेहरुले झारेका आँशु सायद खुसीका आँशु हुन्, जो आँशुलाई शक्ति बनाउँछन् ।

बेचबिखनमा परेका नेपाली महिलाहरुको प्रतिनिधिका रुपमा सुनिता सी टेन अवार्ड पाउने पहिलो नेपाली भएकोमा उनीहरु दंग थिए ।
‘बेचबखिनमा परेका नेपाली छोरीहरुले चलाएको मानव बेचबिखन विरुद्धको अभियानलाई विश्वले सम्मान गरेको छ, हाम्रा लागि यो सबैभन्दा खुसीको दिन हो’ उनीहरु भन्दै थिए ।

sunita6-final

जब विश्वले सुन्यो

नोभेम्बर ३ मा स्वीडेनको स्टकहोममा त्यहाँकी महारानीको उपस्थितिमा सी टेन अवार्ड ग्रहण गर्दै सुनिताले दैलेखदेखि मुम्बईका कोठीमा बेचिएको कथा अनि त्यहाँबाट शुरु भएको संघर्षले मानव बेचबिखन विरुद्ध पाएको सफलता विश्वलाई सुनाइन् ।

‘अवार्डको मुख्य आह्वान नै शक्ति समूहको नारा आँशुलाई शक्तिमा बदलौं भन्ने रहेछ, त्यहाँ मेरो कथालाई नै मुख्य बनाइएको थियो’ दनुवारले अनलाइनखबरसँग भनिन् ‘हाम्रोबारे बनाइएको श्रव्यदृष्य कथा र बेचबिखन विरुद्धको मेरो लडाइँको कुरा सुनेर महारानी स्तब्ध भइन्’ ।

सुनिताको कथा सुन्ने अन्य देशका अवार्ड बिजेताहरुले समेत आश्चर्य प्रकट गरे । किनकि उनीहरु बेचबिखनविरुद्ध लड्छन्, तर सुनिता आफैं बेचबिखनमा परेर आफ्नो कथा अरुमा नदोहोरियोस् भनेर लडेको विदेशीले थाहा पाए ।

‘मेरो र शक्ति समूहको कथाले विश्वका धेरै मान्छे गम्भीर बनेको पाएँ’ उनले भनिन् ‘उनीहरु नेपालको मानव बेचबिखनको अवस्था सुनेर चकित भए’ । त्यहाँ बेचबिखनका शैली र पीडाका बारेमा अन्तरक्रियामा पनि उनले भाग लिइन् ।

बेचबिखनको नयाँ गन्तव्य

सुनिता र शक्ति समूहले पाएको यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । यसअघि उनले रोमन म्यागासेसे पुरस्कार पाइसकेकी छन् । त्यस्तै चरिमाया तामाङले आधुनिक दासताविरुद्धको प्रसिद्ध अमेरिकी पुरस्कार पाएकी थिइन् ।

आफैं बेचबिखनमा परेका महिलाहरुले आँशुलाई शक्तिमा रुपान्तरण गरेर स्थापना भएको शक्ति समूह मानव बेचबिखन विरुद्ध अब नयाँ ढंगको लडाइ लड्नुपर्ने निष्कर्षमा पुगेको दनुवारले बताइन् ।

‘बेचबिखनमा परेकाहरुलाई मात्र बेचिनुको पीडा थाहा हुन्छ, त्यसैले यो अभियान अब कसरी लैजानुपर्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ’ उनले भनिन् ‘ नेपालमा परम्परागत बेचबिखनको शैली फेरिएको छ, अब मुम्बईका कोठीबाट बेचबिखनको गन्तव्य नयाँ ठाउँमा गइसकेको छ’ ।
भोग्नेलाई मात्र थाहा हुन्छ पीडा

आफ्नो अभियानले अन्तर्राष्ट्रिय पहिचान पाएपछि सुनिताहरुको काँधमा जिम्मेवारी पनि बढिरहेको छ । अब सरकार र सरोकारवालाहरुसँग छलफल गरेर बेचबिखन विरुद्ध नयाँ ढंगको अभियान चलाउने योजना उनले अनलाइनखबरलाई सुनाइन् ।

‘अब जोगबनी र सुनौलीका बोर्डरमा बसेर मात्रै चेलिबेटी बेचबिखन रोक्न सकिँदैन’ दनुवारले भनिन् ‘हामीलाई थाहा छ, कहाँ प्रहार गर्ने भन्ने कुरा, हामी अब नयाँ ढंगले अघि बढ्छौं, यो कलंक अन्त्य गर्न’ ।

अवश्य पनि बेचिएकाहरुलाई थाहा हुन्छ, बेचिनुको पीडा अनि यसको उपचारको तरिका । विश्वमै  पहिलोपटक बेचबिखन प्रभावित महिलाहरु आफ्नै पहलमा शुरु भएको शक्ति समूहको १६ वर्षको यात्राले अवश्य पनि सुनिताहरुलाई परिपक्व बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?