+
+

पत्रकारले शीर्ष नेतालाई बिगतका बाचा सम्झाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १२:००

Samsadiya-mamila-patrakar२० कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले राजनीतिक दलहरुलाई उनीहरुले चुनावका बेला जनतासँग गरेका बाचा स्मरण गराउन अभियान चलाउने भएको छ ।

माघ ८ मा संविधान जारी गर्नबाट दलहरु पछि हट्ने र अघिल्लो संविधानसभाकै नियती दोहोरिने देखिएपछि नागरिक अधिकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अगुवा संस्थाको हैसियतले महासंघले यो अभियान शुरु गरेको हो ।

पत्रकार महासंघ र संसदीय मामिला पत्रकार समाजको आह्वानमा संसद तथा संविधान निर्माण प्रक्रियाको समाचार सम्प्रेषण गरिरहेका पत्रकारहरुबीच विहिवार सिंहदरवारमा भएको छलफलमा शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर उनीहरुका प्रतिबद्धता स्मरण गराउने सहमति भएको छ ।

अघिपछि शीर्ष नेताहरुको छलफल गर्ने थलोका रुपमा रहेको राज्य व्यवस्था समितिको हलमा विहिवार पत्रकारहरुले निर्धारित मितिमै संविधान जारी गर्न मिडियामार्फत दबाब दिनका लागि छलफल गरेका थिए ।

छलफलमा महासंघका अध्यक्ष महेन्द्र विष्टले महासंघको पछिल्लो निर्णय जानकारी गराउदै मिडियाबाट दबाब नदिने हो भने दलका नेताहरु पूरानै अवस्थामा फर्किने अवस्था देखिएको बताए ।

महासंघले ‘नेपाली जनतासँग गरेका बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल नारा सहित देशव्यापी अभियान चलाउने अध्यक्ष विष्टले जानकारी दिए ।

सो अवसरमा संसदीय बिटमा काम गर्ने पत्रकारहरुले महासंघले दलका नेतालाई भेटेर दबाब दिदैमा संविधान नआउने भन्दै शीर्ष नेतालाई एकैठाउँमा राखेर उनीहरुका घोषणापत्र समेत देखाउदै विगतको प्रतिबद्धता स्मरण गराउनुपर्ने सुझाव दिएका थिए ।

अहिले कति प्रदेश हुने भन्ने बहसको अन्तर्य जनताले नबुझेको भन्दै उनीहरुले कुन दलले के आधारमा प्रदेशको संख्या तोकेर हिडेका छन् भन्ने कुरा बाहिर ल्याउन मिडियाले भूमिका खेल्नुपर्ने बताएका थिए ।

मामिलाका उपाध्यक्ष मात्रिका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुले अबका तीन महिना पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका दृष्टिले जोखिमपूर्ण रहेको भन्दै महासंघले त्यसतर्फ पूर्व तयारी गर्नुपर्ने सुझाव समेत दिएका थिए ।

पत्रकारहरुबीचको छलफल लगत्तै महासंघ र मामिलाको टोलीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई समेत भेटेर मिडिया अभियानको बारेमा जानकारी गराएको थियो ।

सभाध्यक्ष नेम्वाङले दलहरुबीच छलफलका लागि अब कुनै विषय बाँकी नरहेको र सहमति गर्न चाहे समस्या नभएको भन्दै यसका लागि पत्रकारहरुले दबाबमूलक अभियान चलाएकोमा महासंघलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?