
ब्राजिली शिक्षाविद् पाउलो फ्रेरीको सन् १९७१ म्ाा प्रकाशित एउटा पुस्तकको नाम हो-‘पेडागोजी अफ अप्रेस्ट’ अर्थात् ‘पीडितहरुको शिक्षण सिकाइ विधि’ । यो पुस्तक संसारकै सर्वाधिक चर्चित पुस्तकमध्ये एक हो । नेपालकै विश्वविद्यालयका शिक्षा संकायका पाठ्यक्रमहरुमा पनि यसको चर्चा छ । नेपालका स्वतन्त्र लेखक तथा विश्लेषकहरुले पनि बारम्बार यसको चर्चा गरेका छन् ।
फ्रेरीले यस पुस्तकका उल्लेख गरेका मुख्य चारवटा गहन विश्लेषणहरु यहाँ उल्लेख गर्ने अनुमति चाहन्छु-
एक-स्वतन्त्रता कहिल्यै पनि बनिबनाउ अवस्थामा प्राप्त हुने चिज हैन, त्यो पीडितहरुको प्रतिरोध क्षमतास्तर हो । पीडितहरुमा जुनस्तरको प्रतिरोध क्षमता हुन्छ, त्यहीस्तरमा उनीहरुले स्वतन्त्रताको उपभोग गर्न सक्छन ।
दुई- शोषकको शोषण गर्ने चाहानाले मात्रै शोषण कहिल्यै पनि संभव हुँदैन, त्यसमा शोषितको शोषित नै रहने चाह पनि मिसिएको हुन्छ । शोषित यसकारण शोषित रहन चाहन्छ कि उसमा ‘स्वतन्त्रताको भय’ हुन्छ । स्वतन्त्रताको उपभोग गर्न जुनस्तरको भयमुक्ति चाहिन्छ, जोखिम मोल्ने साहस चाहिन्छ, त्यसको अभावमा शोषितले बरु स्वतन्त्रताहीन जीवनमा नै सजिलो अनुभूति गर्छन् ।
तीन- शोषितमा हुने वा शोषित नै रहन चाहने भावनाको मुख्य कारण ‘बैंकिङ्ग शिक्षा’ हो । ‘बैंकिङ्ग शिक्षा’ भनेको एउटा यस्तो शिक्षाविधि हो, जुन विधिमा सत्ता, शोषक, शासक, गुरु, अभिभावक, शिक्षक आदि स्थापित संस्थाहरुले बैंकिङ्ग खातामा पैसा जम्मा गरेझैं पीडित समुदाय वा विद्यार्थीहरुको मष्तिष्कमा ज्ञान वा शिक्षा थोपर्छन् । तर बैंकमा राखेको पैसा जसरी राख्नेको हितमा हुन्छ, त्यसरी नै ‘बैकिङ्ग शिक्षा प्रणाली’ बाट दिइएको ज्ञान पनि दिनेकै हितमा हुन्छ ।
चौथो- कुनै पनि समुदाय वा समाजको विकास र क्रान्तिको प्रक्रिया ‘द्वन्द्वात्मक तार्किकता’ (डायोलजिकल ) हुन्छ, स्वतन्त्रता दिन खोजेर पनि दिन सकिन्न, लिने मानसिक रुपमा तयार छैन भने । मुख्यतः लिन चाहनेले लिन खोज्नुपर्छ, त्यसपछि लिन चाहनेको चाहनास्तर अनुरुप दिन चाहनेमा ‘रियलाइजेशन’ नभई धरै छैन । तसर्थ क्रान्ति वा परिवर्तन भनेको पीडितहरुको प्रतिरोधले पीडकहरुमा सिर्जना गर्ने ‘रियलाइजेशन’ हो । पीडकहरु जब ‘बैकिङ्ग शिक्षा प्रणाली’ बाट बाहिर निस्कछन, तब मात्रै उनीहरुमा प्रतिरोध क्षमता विकास हुन्छ । तब मात्र उनीले पीडकहरुमा ‘रियलाइजेशन’ सिर्जना गर्न सक्छन् ।
नेपालको सन्दर्भ
नेपालको सामाजिक, राजनीतिक विकास तथा संविधान निर्माणको प्रक्रियामा अहिले जनु गतिरोध छ, त्यसको जटिलतालाई बुझ्न फ्रेरीका यी विश्लेषणहरु निक्कै उपयोगी हुन सक्छन् ।
हालको संस्थापन पक्ष (कांग्रेस-एमाले गठबन्धन ) संविधान निर्माणका ३ मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा तुलनात्मक रुपले यथास्थितितर्फ फर्किएको कुरा उनीहरुको ‘साझा प्रस्ताव’ मार्फत् प्रष्ट भइसकेको छ ।
यस्तो आरोप लगाउन सकिने, वा निष्कर्षमा पुग्न सकिने मुख्य कारणलाई हेर्दा- एक, उनीहरु संसदीय शासकीय स्वरुप नै अबलम्बन गर्न चाहन्छन, ०४७ पछिको संविधान र त्यसले सिर्जना गरेको संसदीय विकृतिको युगबाट उनीहरुमा कुनै ‘रियलाइजेशन’ सिर्जना भएको छैन भन्ने मान्नुपर्ने हुन्छ ।
दुई, उनीहरु समानुपातिक निर्वाचन प्रणाली पूर्णरुपमा खारेज गर्न चाहन्छन् । यसबाट उनीहरु समावेशिताको आन्दोलनबाट कुनै ‘रियलाइजेशन’ मा पुगेका छैनन् भन्ने पुष्टि हुन्छ ।
दुईपटक भएको संविधानसभा निर्वाचनमा प्रयोग भएको समानुपतिक निर्वाचनप्रणालीलाई त्यति भद्दा र विकृत बनाउनमा पनि उनीहरुको पनि हात थियो । समानुपातिक प्रणालीको प्रयोग त्यो तरिकाले गर्नुपथ्र्यो भन्ने नै थिएन । आफैले सिर्जना गरेको विकृतिलाई निहु बनाएर उनीहरु समावेशिताको मर्म र भावनाबाट भाग्न खोजेको प्रष्टै छ ।
तेस्रो-संघीयताबारे उनीहरुको सामथ्र्यवादी अडान प्रकारान्तले नेपालमा संघीयताको माग हुनुपर्ने आधारभूत कारणकै विरुद्धमा उभिएको छ ।
यी तीन कारणबाट कांग्रेस-एमाले गठबन्धनलाई यतिखेर देशको पीडक पक्ष र संघीयता, समावेशीकरण र शासकीय स्वरुपको परिवर्तन चाहने बाँकी जनसमुदायलाई पीडित पक्ष मान्न सकिन्छ ।
फ्रेरीको विश्लेषण पद्दतिलाई अपनाउँदा यहाँनेर उठ्ने मुख्य प्रश्न के हो भने वर्तमान पीडक पक्षका एजेण्डाहरु तुलानात्मकरुपमा यथास्थितिवादी भएर पनि दोस्रो संविधानसभामा किन उनीहरुले नै धेरै मत पाए ? यसका दुई प्रष्ट कारण देखिन्छन्, नेपालको सीमान्तकृत समुदाय स्वतन्त्रताको उपयोग गर्न डराइरहेको छ । उनीहरुमा फ्रेरीले भनेझैं स्वतन्त्रताको भय सिर्जना भएको छ । आफ्ना हितहरु कहाँ छन् भनेर चिन्न उनीहरुलाई अप्ठ्यारो भएको छ । किनकि उनीहरुमाथि व्यापकरुपमा ‘बैकिङ्ग शिक्षा प्रणाली’ लागू गरिएको छ ।
अहिले पनि आदिवासी, जनजाति, महिला, मधेसी, दलित, मुस्लिमलगायतका सीमान्तकृत समुदाय, संसदीय विकृतिको युगबाट मानसिक आघात व्यहोरिरहेको शहरिया मध्यमवर्ग र केन्द्रीकृत राज्यसत्ताबाट पीडित दुरदराजको स्थानीय समुदाय कांग्रेस-एमाले कै मतदाता रहेको छ । तिनीहरु मध्येको एउटा ठूलो हिस्सा उनीहरुकै संगठनमा छ । यसले के देखाउँछ भने नेपालका पीडितहरुमा प्रतिरोधको क्षमता पर्याप्तरुपमा विकास भएकै छैन । जब लिन चाहनुपर्ने पक्ष नै स्वतन्त्रता लिन मानसिकरुपमा तयार छैन, दिन चाहने पक्षमा दिने ‘रियलाइजेशन’ देखा नपर्नु स्वभाविक हुन्छ ।
नेपालका सीमान्तकृतहरुले यदि साँच्चै स्वतन्त्रता र मुक्ति चाहन्छन् भने उनीहरुले आफूलाई ‘बैकिङ्ग शिक्षा प्रणाली’ बाट बाहिर निकाल्नैपर्छ । एकपटक यसरी सोच कि पीडक पक्षले भनेका सबै तर्क, शिक्षा र ज्ञानलाई शंका गर । अनि मात्र पीडितहरुको आफ्नै शिक्षाविधि तयार हुनेछ ।
फ्रेरी भन्छन् ‘पुस्तकालयमा किताब पढेर पौडी सिक्न सकिन्न, त्यसका लागि पोखरीमै पस्नुपर्छ ।’ योचाहिँ सत्य हो कि नेपालको सत्तासंघर्ष र शक्तिसम्बन्धको खेल खेल्न सबै पोखरीमा पसिसकेका छन् । तर, पीडितहरुको शिक्षण सिकाइ अझै परिपक्क भइसकेको रहेनछ । उनीहरुले ‘द्वन्द्वात्मक तार्किकता’ अझै सिर्जना गरिसकेका छैनन् । २२ दलीय गठबन्धनले त्यसको वास्तविक ध्रुव बन्न सक्ने आधार र विश्वासनियता धेरै हदसम्म गुमाएको छ । त्यसैले पनि सत्तापक्ष सर्वसाधारणले सोचेभन्दा बढी पश्चगामी हुँदै गइरहेको छ । २२ दलीय गठबन्धन कमजोर हुनुको मुख्य कारण एमाओवादी-मधेसवादी शक्तिले विगतमा आफूलाई जनसमुदायबाट व्यापकहरुमा विचलन गर्नु हो ।
साथै विवादित मुद्दाहरुमा उनीहरुसँग कुनै संगतिपूर्ण चिन्तन नहुनु पनि हो । यसको कारण पनि फ्रेरीको पुस्तकमा उल्लेखित छ । उनी भन्छन् ‘पीडित पक्षको नेतृत्वमा देखिने विचलनले प्रकारान्तले पीडक पक्षलाई नै फाइदा गर्छ ।’
‘पीडित पक्षको नेतृत्वमा यदि आफू पीडितहरुको मुक्तिदाता हुँ भन्ने भावना पलायो भने उसमा विचलन आउनु स्वभाविक हुन्छ, त्यस्तो नयाँ मालिकसँग भन्दा पीडितले पुरानो पीडकसमूहसँग मिलेर काम गर्ने बानी बनाइसकेका हुन्छन् ।’ तसर्थ ‘पीडितको नेतृत्वले आफूलाई मुक्तिदाता हैन, स्वयं पीडित समुदायको एक सदस्य वा हिस्साका रुपमा अनुभूत गर्न सक्नुपर्छ ।’
सायद यही शिक्षा नेपालमा कांग्रेस-एमाले बाहेकका पार्टी र नेतृत्वले लिन सकेनन् । फलतः कांग्रेस-एमालेसँग मिलेर काम गर्ने बानी बनाइसकेका पीडित समुदायले बरु त्यही शक्तिसम्बन्धलाई सजिलो ठाने ।
फ्रेरीको एउटा अर्को रोचक विश्लेषण के छ भने पीडक, पीडित शक्तिसंघर्षमा शक्तिसम्बन्धलाई आआफ्नो पक्षमा अनुकूलन गर्न पीडक पक्षसँग ४ र पीडित पक्षसँग ४ हतियार हुन्छन् । दमन, फुटाउ र शासन, घुसपैठ र साँस्कृतिक अनुकूलन पीडक पक्षमा मुख्य हतियार हुन् । यी हतियारलाई साँध्ने वा उध्याउने मुख्य आरन भनेको ‘बैकिङ्ग शिक्षा प्रणाली’ नै हो । त्यसै गरी पीडितका पक्षमा पनि ४ हतियार हुन्छन् ।
सहकार्य, मुक्तिका लागि एकता, संगठन र साँस्कृतिक संघुलन, यी हतियारलाई साँध्ने वा उध्याउँने मुख्य आरन भनेको ‘क्रिटिकल शिक्षा प्रणाली’ हो । जब दुबै पक्षले आफ्ना हतियारहरु पूर्ण क्षमतास्तरमा प्रयोग गर्नेछन्, अनि मात्र वास्तविक रुपमा ‘द्वन्द्वात्मक तार्किकता’ को अवस्था सिर्जना हुन्छ । कम्तिमा शासकीय स्वरुपको परिवर्तन, समावेशी वा सहभागितामूलक लोकतन्त्र, सामथ्र्य र पहिचानको उचित सन्तुलन भएको संघीयता चाहनेहरुले एकपटक आफ्ना हतियारलाई पूर्ण सामथ्र्यका साथ प्रयोग गर्ने बेला भएको छ । अन्यथा देशले पुरानै शक्तिसम्बन्धलाई अनुमोदन गर्ने प्रष्ट संकेत देखापरिसकेको छ ।
प्रतिक्रिया 4