२६ मंसिर, काठमाडौं । यदि तपाई यथेष्ट पार्किङ सहितको सुविधासम्पन्न मोबाइल बजारको खोजीमा हुनुहुन्छ भने तपाइको इच्छा पुरा हुने भएको छ । राजधानीको मुटु सुन्धरामा अवस्थित सिटिसी मलमा मोबाइल बजार सञ्चालनमा आउने भएको छ ।
मलको चौथो र पाँचौ तलामा अंग्रेजी नयाँ वर्षदेखि मोबाइल बजार सञ्चालनमा आउने भएको हो । एउटै छानामुनि अधिकांश ब्रान्डेड मोबाइल र सर्भिस सेन्टर रहने यो मोबाइल बजार नेपालकै ठूलो हुने दाबी गरिएको छ ।
मोबाइल बजारमा करिव एक सयवटा साना ठूला मोबाइल तथा ग्याजेटका पसलहरु रहनेछन् । मोबाइल बजारमा सामसुङ, पानासोनिक, अल्काटेल, कार्बन, कलर्स, जियोनी, माइक्रोम्याक्स, लेमन, लाभा, जोलो, एलजी, इन्टेक्स, रेज र बिक्यू मोबाइलले हुवावे लगायतले आधिकारिक सर्भिस सेन्टर समेत राख्दैछन् ।
मोबाइल बजारका अध्यक्ष संदिप श्रेष्ठका अनुसार अहिले त्यहाँ डेकोरेसनको काम तिब्र गतिमा भइरहेको छ । अहिले सिटिसी मललाई विभिन्न मोबाइल ब्रान्डका पोष्टर टाँगेर सिँगारिएको छ ।
अहिले न्यूरोड तथा खिचापोखरीमा मोबाइल पसल तथा सर्भिस सेन्टरहरु भएपनि पार्किङको समस्याले सर्वसाधारण आजित छन् । बाहिर सवारी पार्किङ गरेर न्यूरोड तथा खिचापोखरी मोबाइल हेर्न तथा खरिद गर्न पुग्ने सर्वसाधारणले अब राहत पाउने निश्चित रहेको श्रेष्ठले बताए ।
सिटिसी मलको चौथो तलामा विभिन्न ब्रान्डका मोबाइल, ग्याजेट्स, ट्याबलेट, ल्यापट लगायतका सामग्रीहरु बिक्री गर्नका लागि छुट्टाइएको छ भने पाँचौं तला सर्भिस सेन्टरका लागि छुट्टाइएको छ । पाँचौं तलामा १२ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर रहने छन् ।
त्यहाँ मोबाइल खरिदकर्तालाई निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । साथै, लिफ्टको समेत सुविधा भएको हुँदा सर्वसाधारण ग्राहकलाई अन्यत्रभन्दा सहज हुने अपेक्षा गरिएको छ । साथै, मोबाइल बजारको प्रबर्द्धनका लागि आवश्यक विभिन्न कार्यक्रमहरु गरि ग्राहकहरुलाई सुपथ मूल्यमा सामाग्री बिक्री वितरण गरिने बताइएको छ ।
मोबाइल बजारले कारोबार सुरु भएपछि हरेक मोबाइल खरिदमा प्लाष्टिक कभर निःशुल्क उपलब्ध गराउने र १० हजारभन्दा बढीको मोबाइल खरिद गर्ने ग्राहकहरुलाई गिफ्ट भौचर दिने बताएको छ ।
यो मोबाइल बजार सञ्चालनको जिम्मेवारी संदिप श्रेष्ठ, केशव लुईंटेल, मनोज मानन्धर, माधव रोक्का र आविश्कार लाल श्रेष्ठको जिम्मामा छोडिएको छ । यद्यपी बजार सञ्चालनका लागि मोबाइल व्यवसायीहरुले २१ जनाको व्यवस्थापन व्यवस्थापन समूह बनाएका छन् ।
प्रतिक्रिया 4