२८ पुस काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आयातको तुलनामा निर्यातको स्थिति कमजोर भएकोले निर्यात बढाउन सरकारले गृहकार्य गरिरहेको बताएका छन । अर्थमन्त्रालयमा तयारी पोशाक उद्योग संघका सुझावहरु ग्रहण गर्दै उहाँले सो कुरा बताएका हुन ।
वाणिज्य मन्त्रालयबाट निर्यात बृद्धिका सम्वन्धमा कुनै सुझाव नआएको बताउँदै मन्त्री महतले- सरकारले सुविधा तथा प्रोत्साहनका कार्यक्रमहरु उपलब्ध गराउँदा यसरी निर्यात बृद्धि हुनेछ भन्ने लक्ष्यसहित आउनुहोस, सरकार जस्तोसुकै सहयोग गर्न तयार छ ।’
उनले घट्दो निर्यातप्रति चिन्ता व्यक्त गरे । सरकार नगद प्रोत्साहनसहित अन्य सुविधाहरु पनि दिन तयार भएको उनले बता । ‘तपाईहरु अध्ययन र निश्कर्षसहित आउनुहोस ।’ उनले भने ।
अर्थमन्त्रीले तयारी पोशाक उद्योगको स्तरोन्नति गर्न, बढीभन्दा बढी स्थानीय भ्यालु एड हुने काम गर्न र आजको तुलनामा थप हुने निर्यातमा प्रोत्साहनका प्याकेज ल्याउने तयारी भैरहेको जानकारी दिए ।
जीएसपी सुविधाका लागि अमेरिकासँग कुरा गरिने उनले बताए । आगामी फेब्रुअरीमा हुने भारतसँगको व्यापार वार्तामा पनि तयारी पोशाकका बारेमा कुरा राखिने जानकारी दिए । सो अवसरमा निर्यात बृद्धिका लागि वाणिज्य मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अध्ययन गर्न आफूले भनिसकेको उल्लेख गरे ।
उनले शिलाई प्रशिक्षण केन्द्रका लागि सरकारले आवश्यक बजेट दिने आश्वासन दिए । अर्थमन्त्री डा. महतले तयारी पोशाक व्यवसायीहरुलाई स्वदेशमै कपडा उद्योग खोल्न आग्रह गर्दै सरकारले चालु आर्थिक बर्षको बजेटमा स्वदेशी कपडा उद्योगलाई विभिन्न कर छुट तथा केही संरक्षणसमेत गरेको प्रष्ट पारे ।
सो अवसरमा संघका पदाधिकारीहरुले उर्जा, कर्जा र प्रोत्साहनको व्यवस्था गरिदिन अर्थमन्त्रीसँग आग्रह गरेका थिए । अर्थमन्त्री डा महतले अहिलेको अनुमान अनुसार आगामी तीन वर्षभित्रमा बिजुली बत्तीको अभाव भोग्नु नपर्ने आश्वासन दिए ।
तयारी पोशाक व्यवसायीहरुले साढे ४ प्रतिशत ब्याजमा पाइरहेको निर्यात कर्जा अल्पकालिन नभएर दीर्घकालिन हुनुपर्ने माग गरेका थिए । उनीहरुले निर्यातमा नगद प्रोत्साहन, सहुलियत दरको व्याजमा कर्जा प्राप्ति, निर्यातमा केही सरकारी पहल हुने र पूर्वाधार विकासमा केही प्रोत्साहन दिने हो भने आगामी तीन बर्षमा तयारी पोशाक निर्यात दोब्बर गर्न सकिने प्रतिवद्धता जनाएका थिए ।
संघका अध्यक्ष चण्डीप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा तयारी पोशाक क्षेत्रका व्यवसायीहरुको सहभागि थिए । सो अवसरमा मन्त्रालयका सहसचिव राजन खनाल तथा अन्य कर्मचारीहरुको सहभागिता थियो ।
प्रतिक्रिया 4