+
+

मृत्युको पूर्व योजना

विभिन्न देशमा भएका अनुसन्धानले देखाएका छन् कि, ८० प्रतिशत सिकिस्त बिरामीहरू परिवार तथा आफन्तको बीचमा प्राण विसर्जन गर्न चाहन्छन्। तर उनीहरूको इच्छा नबुझेर यान्त्रिक अस्पतालको एकान्तमा असहाय रूपमा छोड्छौं।

डा. रवीन्द्र समीर डा. रवीन्द्र समीर
२०८१ असोज १४ गते ७:००

यो खबर सुनेर म स्तब्ध भएको छु। मलाई तिम्रो मृत्युमा विश्वास लागेको छैन। राम्रो मान्छे ईश्वरको पनि प्रिय हुँदोरहेछ। तिमीसँगका पलहरू अब स्मृतिमा मात्र रहे। तिम्रो स्वर्गमा बास होस्।

हामीले दैनिक यस्ता पंक्तिहरू पढ्ने तथा सुन्ने गरेका हुन्छौं। हामीलाई थाहा छ, हरेको जीवित प्राणी जन्म, वृद्धि, क्षय र मृत्युमा रूपान्तरण हुन्छ।

डा. रवीन्द्र समीर

हामीले जीवनका स–साना क्षणको ठूलो पूर्व तयारी गर्दछौं। पढाइ, जागिर, व्यवसाय, घरबार, चाडपर्व, भ्रमणदेखि स–साना कुराको पनि पूर्व योजना गर्दछौं। तर मृत्यु जस्तो अपरिहार्य र ठूलो घटनाको पूर्व तयारी गरेका हुँदैनौं। हामीले स–सानो कुरा किन्दा होस् वा सानो निर्णय लिंदा, परिवार, आफन्त र साथीसँग सल्लाह लिन्छौं, घोत्लिन्छौं, तनाव लिन्छौं अनि योजना बनाउँछौं। यदि हामीले मृत्युको पूर्व तयारी अर्थात् पूर्व योजना बनायौं भने हामी आफूलाई तथा आफ्नो परिवारलाई निकै सहज अवस्था सिर्जना गर्न सक्छौं।

मृत्यु एक जैविक प्रक्रिया हो जुन तब हुन्छ जब जीवित प्राणीको शरीरका मौलिक जीवन प्रणालीहरू स्थायी रूपमा बन्द हुन्छन्। मानिसमा मृत्यु तब हुन्छ जब मस्तिष्क, हृदय र श्वास–प्रश्वासको कार्य स्थायी रूपमा रोकिन्छ। मृत्यु तब हुन्छ जब मुटुको धड्कन बन्द हुन्छ। यसलाई कार्डियोपल्मोनरी फेलरजन्य मृत्यु भनिन्छ र यो ९५ प्रतिशत भन्दा बढी मानिसहरूको लागि मृत्युको परिभाषा हो। एक व्यक्तिको सास बन्द हुन्छ र उसको मस्तिष्क बन्द हुन्छ, जसले सबै जीवन प्रक्रियाहरूलाई स्थायी रूपमा रोक्दछ।

मृत्युको तयारी बहुआयामिक प्रक्रिया हो जसमा भावनात्मक, आध्यात्मिक, व्यावहारिक र चिकित्सकीय विचारहरू समावेश हुन्छ। मृत्युको पूर्व तयारी गर्नु व्यक्तिले आफ्नो जीवनको अन्त्यमा प्रियजनहरूको लागि आफ्ना चाहना र इच्छाहरू स्पष्ट र सुव्यवस्थित रूपमा छोड्न सक्ने एक तरिका हो। यसमा भ्रमण, नेत्रदान, अंगदान लगायत कामहरू समावेश हुन सक्छन्, जसले अरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ। यस्ता तयारीहरूले आफ्नो इच्छा अनुसार जीवनको अन्त्य र मृत्युपछिको प्रक्रिया व्यवस्थापन गर्न मद्दत गर्दछ। यी कदमहरूले न केवल आफूलाई, तर प्रियजनहरूलाई पनि भावनात्मक सान्त्वना र सहजता प्रदान गर्न सक्छ।

जब मृत्यु अप्रत्याशित रूपमा आउँछ, विशेषगरी दुर्घटना वा अचानक रोगको कारण, मानिसहरू स्तब्ध हुन्छन् किनकि उनीहरूले यस्तो परिस्थितिको लागि मानसिक रूपमा तयारी गरेका हुँदैनन्। यस्तो समाचारले शोकको एक गहिरो अनुभूति सिर्जना गर्दछ।

मानिसको मृत्युप्रति स्तब्ध प्रतिक्रिया प्रायः तिनीहरूसँग भावनात्मक रूपमा संलग्नता भएको हुनाले हुने हो। जब कसैले आफ्नो प्रियजन, साथी वा नजिकको व्यक्तिको मृत्युको समाचार थाहा पाउँछ, त्यो अचानक शून्यता र दु:खको अनुभूति हुन्छ। हामीलाई थाहा छ, मृत्युपश्चात् मृतकलाई कुनै दुःख, पीडा वा गाह्रो हुँदैन भन्ने। तर हामी मृतकलाई सम्झेर रुन्छौं, दुःखी हुन्छौं किनकि हामीले आफ्नो प्रिय, सहयोगी र आफन्त गुमाएको फल हामीले भोग्नुपर्ने हुन्छ। कटु भाषामा भन्ने हो भने हामी आफ्नो लागि रोएका हुन्छौं।

आफ्नो मृत्यु योजनालाई डायरीमा लिपिबद्ध गर्नाले परिवारजनलाई ठूलो सहयोग हुन्छ।

मानिसहरू जीवन र मृत्युको अनिश्चिततामा बस्छन्। मृत्यु एक अनिवार्य सत्य हो, तर यसको आगमन कहिले हुन्छ भन्ने कुरा अनिश्चित छ। जब मृत्यु नजिकको व्यक्तिमा घट्छ, त्यसले हामीलाई जीवनको क्षणभंगुरता र मृत्युको अवश्यम्भावी प्रकृतिको सम्झना दिलाउँछ।

समाज र संस्कृतिले मृत्युलाई कसरी हेर्छ भन्ने कुरामा पनि मानिसहरूको प्रतिक्रियामा प्रभाव पर्छ। केही संस्कृतिहरूमा, मृत्युलाई जीवनको एक अनिवार्य चक्रको रूपमा स्वीकार गरिन्छ, तर अरूमा यसलाई शोक र नश्वरताको गहिरो अनुभूतिको रूपमा हेरिन्छ। मृत्युको समाचारले मानिसहरूमा गहिरो भावनात्मक प्रतिक्रिया सिर्जना गर्ने कारणहरू व्यक्तिगत, सामाजिक र सांस्कृतिक पहलुहरूमा आधारित छन्। यसले हामीलाई जीवनको नश्वरता र हाम्रो प्रियजनहरूसँगको सम्बन्धहरूको मूल्यांकन गर्ने मौका पनि दिन्छ।

मानिसहरू प्राय: आफूलाई विश्वास दिलाउन चाहन्छन् कि उनीहरूसँग धेरै समय छ र मृत्यु अझै टाढा छ। यसले उनीहरूलाई मृत्युको सम्भावनालाई इन्कार गर्ने र आफ्नो सम्पूर्ण जीवन शक्ति र सम्पत्तिको संग्रहमा ध्यान केन्द्रित गर्दछन्। जसले गर्दा मान्छेहरू दौडधुपमै जीवनलाई विसर्जन गर्छन्। आफ्नो रुचिका काम गर्ने, विश्राम लिने, प्रियजनसँग अमूल्य स्मरण सिर्जना गर्ने, भ्रमण गर्ने तथा आफूले कमाएको सम्पत्ति उपभोग गर्ने कुरा मान्छेको प्राथमिकतामा पर्दैन।

 मृत्युको पूर्वतयारी

आजको व्यस्त युग र अस्वस्थकर पर्यावरण एवम् जीवनशैलीको कारण जुनसुकै उमेरमा पनि हृदयघात, मस्तिष्कघात वा दुर्घटनामा मान्छेको अकल्पनीय मृत्यु हुनसक्छ। यस्ता असामयिक निधनमा व्यक्तिले तत्काल आफ्ना इच्छा, आर्थिक हिसाबकिताब तथा वारेसनामा बताउनु सम्भव हुँदैन। तसर्थ आफ्नो मृत्यु योजनालाई डायरीमा लिपिबद्ध गर्नाले परिवारजनलाई ठूलो सहयोग हुन्छ।

मृत्यु, जीवनको अपरिहार्य अन्तिम सत्य हो। यो हामी सबैको लागि निश्चित छ, तर यसको लागि तयारी गर्ने कुरा हामीले बेवास्ता गर्दछौं। मृत्युको पूर्व तयारी गर्नु मानिसको मानसिक, भावनात्मक र आर्थिक रूपमा उनीहरूका प्रियजनहरूको लागि सहयोगी हुन सक्छ। यसले मृत्युपछिको प्रक्रियामा सहजता प्रदान गर्दछ र परिवारलाई अनावश्यक तनावबाट बचाउँछ। यहाँ मृत्युको पूर्व तयारी गर्ने केही महत्त्वपूर्ण पक्षहरू उल्लेख गरिएको छ :

आफ्नो हिसाबकिताबलाई प्रस्टसँग राख्नाले परिवारलाई लेनदेनको तनाव हुँदैन। तपाईंले तिर्नुपर्ने ऋण, लिनुपर्ने पैसा, संयुक्त लगानीको प्रतिशत, सेयरको विवरण, सुन, हीरा वा अन्य सम्पत्तिको विवरण, बैंक लकरको जानकारी, आफ्नो लगानी आदिलाई स्पष्ट रूपमा लेख्नुभयो भने यो शोकाकुल परिवारको लागि उपहार हुनेछ। अधिकांश व्यक्तिले यी विवरण आफूमै राख्दा व्यक्तिको मृत्युपछि धेरै कुरा आफूसँगै समाप्त हुन्छन्।

मृत्युको पूर्व तयारीको रूपमा वारेसनामा महत्वपूर्ण कानुनी दस्तावेज हो जुन व्यक्तिको चल अथवा अचल सम्पत्ति कसलाई दिने भन्ने निर्णय गर्दछ। यो आफ्नो चाहना अनुसार सम्पत्ति वितरण गर्ने उपाय हो। वारेसनामा तयार गर्दा, तपाईंले कानुनविद्को सल्लाह लिनु उत्तम हुन्छ।

जीवन बीमाले मृत्युपछि आफ्नो परिवारका सदस्यहरूलाई आर्थिक सहयोग प्रदान गर्न सक्छ। यसले उनीहरूलाई आर्थिक दबाबबाट राहत प्रदान गर्नेछ र जीवनका आवश्यक कार्यहरू जारी राख्न मद्दत गर्दछ।

स्वास्थ्य रेखदेख इच्छापत्रले आफू असमर्थ भएमा स्वास्थ्य रेखदेख सम्बन्धी निर्णयहरू गर्ने व्यक्तिको रूपमा छनोट गर्न सजिलो बनाउँछ। यो दस्तावेजले हाम्रो चिकित्सा उपचारको प्रकार, जीवन रक्षात्मक उपकरणहरूको प्रयोग र अन्य स्वास्थ्य सम्बन्धी निर्णयहरूमा व्यक्तिको इच्छाहरूलाई स्पष्ट गर्दछ। यसले परिवारलाई गम्भीर अवस्थामा निर्णय गर्न सहज हुनेछ।

अन्तिम संस्कारको योजनाले त्यसको विधि, स्थान र अन्य सम्बन्धित कुराहरूमा स्पष्टता ल्याउँछ। जस्तै दाहसंस्कार, भूमि समाधि वा अन्य कुनै विशेष प्रकारको अन्तिम संस्कार। त्यस्तै किरिया कति दिन कस्तो गर्ने ? अन्तिम संस्कारमा को–कोलाई बोलाउने ? कस्तो कार्यक्रम राख्ने ? आदि मार्गदर्शनले परिवारलाई गम्भीर समयमा निर्णय गर्न सजिलो हुनेछ।

आजको डिजिटल युगमा, हामीसँग धेरै डिजिटल सम्पत्ति र खाताहरू हुन्छन्। व्यक्तिको डिजिटल सम्पत्ति र खाताहरूको जानकारी र पहुँच व्यवस्थापनको लागि योजना बनाउनु महत्त्वपूर्ण हुन्छ। यसमा सोसल मिडिया खाताहरू, अनलाइन बैंकिङ खाता र इमेल जस्ता विविध प्रकारका डिजिटल सम्पत्तिहरू समावेश हुन्छन्। इमेल, सामाजिक सञ्जाल, युट्युब, इन्टरनेट बैंकिंग आदिको प्रयोग नाम तथा पासवर्ड लेखेर राख्नाले परिवारलाई त्यसको निरन्तरता दिन सजिलो हुन्छ। ती डिजिटल खाता निष्क्रिय गर्ने भए त्यो पनि लेखेर राख्नु बुद्धिमानी हुन्छ।

त्यस्तै व्यक्तिको बौद्धिक सम्पत्ति र त्यसबाट आउने रोयल्टीको वितरणबारे पनि खुलस्त गर्नु उपयुक्त हुन्छ। आफ्ना सिर्जनाको पुनर्मुद्रण, अनुवाद, कल्याणकारी कोषको स्थापना गर्ने आदि बारे पनि स्पष्ट रूपमा लेख्नु उपयुक्त हुन्छ।

विरासत र स्मृति भन्नाले आफ्नो जीवनभरि आर्जित ज्ञान, अनुभव र मूल्यहरूलाई पुस्तान्तरण गर्ने जनाउँछ। यसले मृत्युको अवधारणासँग जुध्ने र आफ्नो जीवनको अर्थ खोज्ने प्रक्रियामा मद्दत गर्दछ। यसमा पत्र लेख्ने, सन्देश रेकर्ड गर्ने, भिडियो बनाउने, फोटो एल्बमहरू, डिजिटल संग्रहहरू, आत्मकथा लेखन जस्ता माध्यमहरू प्रयोग गरेर आफ्ना विगत र स्मृतिहरूलाई संरक्षण गर्न सकिन्छ। यसले व्यक्तिलाई आफ्नो जीवनको अर्थ र योगदानलाई सम्झन मद्दत गर्दछ। त्यस्तै सामाजिक सेवा, शिक्षा र दान–धर्म जस्ता क्रियाकलापमा संलग्न हुँदा व्यक्ति आफ्नो विरासतलाई सकारात्मक र स्थायी रूपमा छोड्न सक्छ।

हाम्रा इच्छा र योजनाको बारेमा परिवार र निकट सम्बन्धीहरूसँग खुला र इमानदारीपूर्ण छलफल गर्नु महत्त्वपूर्ण हुन्छ। यसले इच्छाहरूको सम्मान गर्ने र तपाईंको मृत्युपछिको समयमा कुनै पनि अनावश्यक भ्रम वा मतभेदलाई न्यूनीकरण गर्न मद्दत गर्दछ।

सबै महत्त्वपूर्ण कानुनी दस्तावेजहरू सुरक्षित र सजिलै पहुँचयोग्य स्थानमा राख्दा आवश्यक समयमा यी दस्तावेजहरू प्राप्त गर्न सहज हुनेछ।

मृत्यु र शोकको प्रक्रियाबारे शिक्षा प्राप्त गर्नाले मृत्युको भावनात्मक र मानसिक प्रभावलाई बुझ्न मद्दत गर्दछ। प्रियजन, मित्रहरू र समुदायसँग नजिकको सम्बन्ध विकास गर्नाले शोक प्रक्रियामा मद्दत हुन्छ।

त्यस्तै व्यक्तिले ऋण लिएको छ भने, त्यसमा घरको कर्जा विवरण, बिलहरू, पेन्सन पट्टा, शैक्षिक ऋण विवरण र अन्य अवैतनिक बिल, सबै बैंक खाता र क्रेडिट कार्डहरूको रूपरेखा, जन्म प्रमाणपत्र र विवाह प्रमाणपत्र, जीवन बीमा कागजातहरू, जागिर र उपदान वा पेन्सन सेवाबाट सम्बन्धित विवरणहरू, गहना वा कलाकृतिहरू, करको विवरण, अंगदान प्रमाणपत्र, पासपोर्ट, ड्राइभिङ लाइसेन्स र कुनै पनि सम्बन्धित सदस्यता कार्डहरू लगायतलाई स्पष्ट लेबल गरिएको फोल्डरमा राख्दा खोज्ने व्यक्तिलाई अझ सजिलो बनाउन सकिन्छ।

महँगो वा असाध्य रोग लागेमा जीवन निरर्थक लम्ब्याउने कि छोटो उपचार प्रक्रियामा लाग्ने कुरा लेखेर राख्दा परिवारजनलाई सजिलो हुन्छ। जस्तै क्यान्सरको निको नहुने अवस्था, भेन्टिलेटर सपोर्ट, दुखाइलाई न्यूनीकरण तथा घरमा वा अस्पतालमा प्राण विसर्जन गर्ने निर्णय लेखेर राख्न सकिन्छ।

आफूले चाहेको दान स्पष्ट लेख्नुपर्दछ। आफ्नो कसैसँग शत्रुता छैन, मैले सबैलाई माया गर्दछु, केही गल्ती गरेको भए क्षमाप्रार्थी छु तथा कसैले नराम्रो गरेको भए उसलाई क्षमा दिएँ भनेर लेख्दा तपाइँको मरणको सार्थकता हुन्छ। आफ्नो जीवन सन्तुष्टिपूर्वक सार्थक रूपले बाँचे, अब मृत्यु भए पनि कुनै गुनासो छैन जस्ता लेखोटले व्यक्तिको परिवारलाई भावनात्मक राहत मिल्दछ।

कसैको मृत्युपूर्व आफूले चाहेको पूजा गर्ने, तीर्थस्थल जाने, दान गर्ने इच्छा हुनसक्छ। ती इच्छा लेखेर राख्दा परिवारलाई सहज एवम् सन्तुष्टि हुनसक्दछ।

सकभर प्रत्येकका लागि व्यक्तिगत लेखन तयार गर्नु विशिष्ट हुन्छ। जस्तै “मैले सधैं तिमीलाई पवित्र माया गरेको छु”। यसले प्रियजनलाई धेरै शक्ति प्रदान गर्छ। आफ्नो जीवनसाथीलाई र आमा बुबालाई पनि बुझाउनु राम्रो हुन्छ कि यदि म छिटो मरें भने जीवनसाथीले पुनः विवाह गर्ने प्रयास गर्नुपर्छ। जीवनसाथी जीवनभरि एक्लै नहुनु उपयुक्त हुन्छ। किनकि एक्लोपन असाध्यै पीडादायी हुन्छ।

स्वास्थ्य सेवाको पहुँच भएका ठाउँमा हुने अधिकांश बिरामीको अस्पतालमा मृत्यु हुन्छ। बाँच्ने सम्भावना नभएका बिरामीलाई कर्तव्य तथा लोकलाजको कारण अस्पतालमै राखिन्छ। विभिन्न देशमा भएका अनुसन्धानले देखाएका छन् कि, ८० प्रतिशत सिकिस्त बिरामीहरू परिवार तथा आफन्तको बीचमा प्राण विसर्जन गर्न चाहन्छन्। उनीहरूले अन्तिम पल परिवार, आफन्त तथा मित्रसँग बिताएर मृत्युवरण गर्न चाहन्छन्। तर हामीले उनीहरूको इच्छा नबुझेर यान्त्रिक अस्पतालको एकान्तमा असहाय रूपमा छोड्छौं।

अस्पतालमा एकजना व्यक्ति कुरुवा राखेर बाँकी परिवारजन घरमा दुःखी भएर बस्छौं। अधिकांश अस्पतालले परिवारजनको आग्रह तथा व्यावसायिक दृष्टिकोणले निको नहुने रोगमा पनि घर पठाउने गर्दैनन्। परिवारजन तथा चिकित्सकबीच यी विषयमा सम्वाद हुनु जरूरी छ।

मृत्युको शोकलाई सहने पूर्वतयारी

मृत्यु जीवनको एक अविभाज्य अंग हो भन्ने तथ्यलाई हरेक व्यक्तिले स्वीकार गर्नुपर्दछ। जन्मेका हरेक प्राणीको मृत्यु हुने कटु सत्य हामीले बिर्सिनुहुँदैन। मृत्यु र शोकको प्रक्रियाबारे शिक्षा प्राप्त गर्नाले मृत्युको भावनात्मक र मानसिक प्रभावलाई बुझ्न मद्दत गर्दछ। प्रियजन, मित्रहरू र समुदायसँग नजिकको सम्बन्ध विकास गर्नाले शोक प्रक्रियामा मद्दत हुन्छ।

त्यस्तै आत्म-चिन्तन, ध्यान र योगाभ्यासले भावनात्मक सन्तुलन र मानसिक शान्तिमा मद्दत गर्दछ। आफ्ना भावना, डर, असुरक्षा र चिन्ताबारे खुलेर कुरा गर्नाले तथा आफ्ना अनुभूति व्यक्त गर्नाले शोकलाई न्यूनीकरण गर्न सकिन्छ। शोकले आकस्मिक अत्यासको अवस्था आएमा मनोवैज्ञानिक परामर्शदाता वा थेरापिस्टसँग सेवा लिनुपर्दछ। जसले शोक प्रक्रियामा मद्दत गर्न सक्दछ। त्यस्तै अन्तिम संस्कार, वारेसनामा र भावी योजनाको व्यावहारिक तयारी गर्नु उपयुक्त हुन्छ।

मृत्युको शोकलाई सहने पूर्व तयारीले तपाईं र तपाईंका प्रियजनहरूलाई भावनात्मक चुनौतीमा सहयोग पुर्‍याउन सक्छ। यसले मृत्युको अनिवार्यता र जीवनको नश्वरतालाई स्वीकार गर्न मद्दत गर्दछ, साथै शोक प्रक्रियामा मार्गदर्शन गर्नका लागि आवश्यक संसाधन प्रदान गर्दछ।

मृत्युअघि पश्चाताप नहोस् भन्ने चिन्ता धेरै मानिसलाई हुन्छ। जीवनको अन्त्यमा पुग्दा कुनै पछुतो नहोस् भन्ने चाहना सामान्य हो।

आत्म-प्रतिबिम्ब र आत्म-स्वीकृतिले मृत्यु पूर्व हुने पश्चात्तापलाई न्यून गर्न मद्दत गर्दछ। यसको लागि आफ्नो विगतलाई मूल्यांकन गर्ने, आफ्ना इच्छा र लक्ष्यबारे स्पष्ट हुने, जीवनमा गरेका गल्ती, भ्रष्टाचार, अपराध वा कुकर्मलाई पहिचान गरेर त्यसको कानुनी तथा नैतिक उपचार खोज्ने, आफ्ना अपूर्ण कामलाई पूरा गर्ने, सबैसँग सम्बन्ध सुधार गर्ने, आफूलाई सन्तुष्टि र खुसी दिने कार्यमा लाग्ने, आत्मविकास र शिक्षामा लगानी गर्ने, स्वस्थ जीवनशैली अवलम्बन गर्ने, आर्थिक योजना तथा दस्तावेज निर्माण गर्ने आदि काम गरेमा मृत्युअघि पश्चाताप नहोस् भन्ने कुरामा मद्दत गर्नेछ।

कहिलेदेखि मृत्युको पूर्वतयारी गर्ने ?

मृत्युको पूर्व तयारी गर्ने समय सबैका लागि फरक हुन सक्छ। तर, यसलाई जीवनको एक अपरिहार्य भागको रूपमा स्वीकार गरी, यथासम्भव चाँडो सुरु गर्नु उत्तम हुन्छ। यस्तो तयारीले भविष्यमा अनपेक्षित परिस्थितिहरूमा आफू र आफ्ना प्रियजनलाई भावनात्मक र आर्थिक रूपमा सुरक्षित राख्न मद्दत गर्दछ। यहाँ केही उदाहरण छन् जुन व्यक्तिलाई मृत्युको पूर्व तयारी गर्ने अवसर मिल्दछ।

  • वयस्क भएपछि छिट्टै जीवनको योजना र वारेसनामा तयार गर्नु उचित हुन्छ। यसले आपतकालीन परिस्थितिमा आफ्ना प्रियजनलाई सहयोग पुर्‍याउन मद्दत गर्दछ।
  • परिवार वा महत्त्वपूर्ण सम्पत्ति भएपछि आफ्नो वारेसनामा र आर्थिक योजना अपडेट गर्नु आवश्यक हुन्छ।
  • गम्भीर स्वास्थ्य अवस्था वा दीर्घकालीन रोगको निदानपछि आफ्नो स्वास्थ्यको रेखदेख गर्न इच्छापत्र र जीवनको अन्त्यमा निर्णय गर्ने अधिकार दिने दस्तावेज तयार पार्नुपर्छ।
  • विवाह, सम्बन्धविच्छेद, सन्तानको जन्म वा प्रियजनको मृत्यु जस्ता जीवनका महत्त्वपूर्ण परिवर्तनहरूमा आफ्नो योजनाहरू पुन: मूल्यांकन गर्नुपर्छ।
  • आर्थिक स्थिति वा करिअरमा परिवर्तन भएमा, जीवन बीमा, आर्थिक योजना र वारेसनामालाई अपडेट गर्नु उपयुक्त हुन्छ।

आफ्ना अतृप्त इच्छाको कारण पुनर्जन्म बेहोर्नुपर्ने भनाइमा विविध दार्शनिक र धार्मिक परम्परामा उल्लेख छन्। यस प्रकारको धारणालाई बौद्ध धर्म र हिन्दु धर्ममा प्राथमिकतापूर्वक वर्णन गरिएको पाइन्छ, जहाँ कर्म र पुनर्जन्मको सिद्धान्तलाई महत्व दिइएको छ। यस विषयमा दार्शनिक पक्ष निम्न रूपमा विचार गर्न सकिन्छ:

 कर्म र पुनर्जन्मको सिद्धान्त

  • कर्म सिद्धान्त: यो सिद्धान्त अनुसार, हाम्रा कर्महरूले हाम्रो भविष्यको जीवनलाई प्रभावित गर्दछ। यदि कसैले धार्मिक र सत्यको मार्गमा जीवन बिताएमा, उसले उच्च स्तरमा पुनर्जन्म लिन सक्छन्, तर यदि नकारात्मक कर्म गरेमा, उसले निम्न स्तरमा पुनर्जन्म लिन सक्छन्।
  • अतृप्त इच्छाहरू र पुनर्जन्म: अतृप्त इच्छा वा आसक्तिहरूले आत्मालाई सांसारिक बन्धनमा बाँध्दछ, जसले पुनर्जन्मको आवश्यकता सिर्जना गर्दछ। यस परिप्रेक्ष्यमा, जीवनमा आफ्ना इच्छाहरू पूरा गर्नु आत्माको विकास र मुक्तिको पथमा महत्वपूर्ण कदम हो।

  मृत्यु नै मोक्ष हो ?

“के मृत्यु नै मोक्ष हो?” भन्ने प्रश्न धार्मिक, दार्शनिक र सांस्कृतिक परिप्रेक्ष्यमा विविध व्याख्या गरिएको छ। मोक्ष भनेको दुःख, इच्छा र सांसारिक बन्धनबाट मुक्ति प्राप्त गर्ने अवस्था हो, जुन कतिपय धर्महरूमा अन्तिम लक्ष्यको रूपमा लिइन्छ। यसको अर्थ विभिन्न धर्म र दार्शनिक परम्पराहरूमा फरक हुन सक्छ:

हिन्दु धर्ममा, मोक्ष आत्माको सांसारिक जीवन चक्रबाट चिरस्थायी मुक्ति हो। यो ज्ञान, कर्म र भक्तिको माध्यमबाट प्राप्त गर्न सकिन्छ। यस दृष्टिकोणमा, मृत्यु आफैंमा मोक्ष होइन, तर मोक्ष प्राप्त गर्ने प्रक्रियाको एक भाग हो।

बौद्ध धर्ममा, मोक्षको समतुल्य अवस्था निर्वाण हो, जुन तृष्णा र अज्ञानबाट मुक्ति र दुःखको अन्त्य हो। निर्वाण प्राप्त गर्ने व्यक्ति संसारको दुःखबाट छुटकारा पाउँछ। यसमा मृत्यु नै मोक्ष होइन, तर निर्वाणको प्राप्ति जीवनमा नै सम्भव छ।

जैन धर्ममा, मोक्षको अर्थ आत्माको कर्मबाट पूर्ण रूपमा मुक्ति र समस्त जीवन चक्रबाट छुटकारा हो। यस अवस्थामा, आत्मा आफ्नो पूर्ण र सर्वोच्च अवस्थामा पुग्छ, जहाँ यसले अनन्त ज्ञान र आनन्द प्राप्त गर्दछ। यहाँ पनि, मृत्यु आफैंमा मोक्ष होइन भनेर देखाइन्छ।

इसाई धर्ममा, मोक्षको अवधारणा आत्माको स्वर्गमा जाने योग्यतासँग सम्बन्धित छ। यसमा विश्वास, पापबाट मुक्ति र परमेश्वरसँगको सम्बन्धमा जोड दिइएको छ।

हिन्दु धर्ममा मृत्युको दार्शनिक पक्ष

हिन्दु धर्ममा मृत्युको दार्शनिक पक्ष विस्तृत छ, जसमा जीवन र मृत्युको चक्र, कर्म सिद्धान्त, पुनर्जन्म र मोक्षको अवधारणा समावेश छ। हिन्दु दार्शनिक परम्परामा, मृत्युलाई जीवनको एक अनिवार्य र निरन्तर प्रक्रियाको रूपमा हेरिन्छ, जुन सांसारिक जीवनको एक चरण मात्र हो।

हिन्दु धर्ममा यसरी वर्णन गरेको पाइन्छ –

  • कर्म सिद्धान्त: “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” भागवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्म गर्नु तर फलको आसक्ति नराख्नु भनेका छन्। यसको अर्थ हो, हाम्रो कर्महरूले हाम्रो भविष्य र पुनर्जन्मलाई प्रभावित गर्दछ।
  • पुनर्जन्म: “जातस्य हि ध्रुवो मृत्युः, ध्रुवं जन्म मृतस्य च।” यसको अर्थ हो, जन्म लिनेको लागि मृत्यु निश्चित छ र मृतकको लागि पुनर्जन्म पनि निश्चित छ।
  • मोक्ष: मोक्ष या मुक्ति प्राप्ति हिन्दु धर्ममा चरम लक्ष्य हो, जहाँ आत्मा सांसारिक बन्धनबाट मुक्त भएर परमात्मासँग एकत्व प्राप्त गर्दछ। “मोक्षो मे परमो धर्मः” भन्ने विचारले आत्माको सर्वोच्च धर्म मोक्ष प्राप्ति हो भन्ने कुरालाई जनाउँदछ।

हिन्दु धर्ममा मृत्युलाई जीवनको एक प्राकृतिक र अनिवार्य अवस्था मानिन्छ, र यसलाई आत्माको आवागमनको रूपमा हेरिन्छ। जीवन र मृत्युको यो अवधारणाले व्यक्तिलाई आफ्नो कर्ममा ध्यान केन्द्रित गर्न र आत्मिक विकासको दिशामा अगाडि बढ्न प्रेरित गर्दछ।

अंगदान :

आफ्नो मृत्युपछि शरीरका अंगहरू दान दिने प्रक्रिया अंगदान भनिन्छ, जुन अन्य व्यक्तिहरूको जीवन बचाउन वा उनीहरूको जीवनको गुणस्तर सुधार गर्न सक्छ। यसको लागि कानुन अनुसार जीवनकालमै सम्बन्धित निकायमा गएर पञ्जीकृत गर्न सकिन्छ।

दान गर्न सकिने अंगहरू:

मुटु : हृदय दानले हृदय रोगले ग्रसित व्यक्तिको जीवन बचाउन सक्छ।

किड्नी: दुवै किड्नीहरू दान गर्न सकिन्छ, जसले मिर्गौला रोगीहरूलाई डायलिसिसबाट छुटकारा दिलाउँछ।

कलेजो : कलेजोको एक भाग वा पूरै दान गर्न सकिन्छ।

फोक्सो: फोक्सोको प्रत्यारोपणले फोक्सोका रोगीहरूको जीवन बचाउन सक्छ।

प्यान्क्रियाज: मधुमेहका रोगीहरूका लागि उपयोगी हुन्छ।

आँखाको कर्निया: कर्निया दानले अन्धोपनलाई निवारण गर्न सक्छ।

छाला, हड्डी र नसाहरू: दुर्घटनामा घाइते भएका व्यक्तिहरूको उपचारमा सहयोगी हुन्छ।

आधुनिक धारणा:

  • जीवन बचाउने उपहार: अंगदानलाई जीवन बचाउने उपहारको रूपमा हेरिन्छ। यसले एक व्यक्तिको मृत्युपछि अरूको जीवनमा आशा र नयाँ अवसर प्रदान गर्दछ।
  • सामाजिक जागरूकता र स्वीकारोक्ति : अंगदानको महत्त्वलाई बढाउन र अधिक व्यक्तिहरूलाई दानकर्ता बन्न प्रेरित गर्न सामाजिक जागरूकता र स्वीकार्यता बढ्दै गएको छ।
  • वैज्ञानिक प्रगति: अंग प्रत्यारोपणको क्षेत्रमा भएको वैज्ञानिक प्रगतिले प्रत्यारोपण प्रक्रियालाई अझ सुरक्षित र प्रभावकारी बनाएको छ।

अंगदानको निर्णय गर्दा व्यक्तिको इच्छा र परिवारको सहमति महत्त्वपूर्ण हुन्छ। यसका लागि आफूले अंगदान गर्ने इच्छा भएमा त्यसको बारेमा परिवार र नजिकका मानिसहरूसँग खुलेर कुरा गर्नु र आफ्नो इच्छालाई दानकर्ताको रूपमा पञ्जीकरण गराउनु उपयोगी हुन्छ।

यसको साथै अंगदानले चिकित्सा अनुसन्धान र शिक्षामा उपयोगी हुन्छ। जस्तै विभिन्न रोगहरूको उपचार र औषधि विकासका लागि मृतकका अंगहरू प्रयोग गर्न सक्छन्।

मेडिकल विद्यार्थी र चिकित्सकहरूले शरीर रोगविज्ञान, शल्यक्रियाका तरिका र अन्य चिकित्सा प्रक्रियाहरूमा शिक्षा र प्रशिक्षणको लागि मृतकका अंगहरूको प्रयोग गर्न सक्छन्। यसको लागि शरीर दानबाट डिसेक्सन, घाउ सिलाउने तरिका, अपरेशन गर्ने विधि लगायतमा उपयोगी हुन्छ। त्यस्तै मानव अस्थिपञ्जर लामो समयसम्म अध्ययन अध्यापनको लागि उपयोगी हुन्छ।

 अन्त्यमा

एकपटक कसैले एलेक्जेण्डरलाई भनेको थियो कि जंगलमा एउटा झरना छ, त्यसको पानी सेवन गरेमा कहिल्यै मृत्यु हुँदैन। एलेक्जेण्डरले त्यो झरना खोज्न सेनाहरूलाई पठाए। वर्षौंको खोजीपछि सेनाले एउटा गुफामा झरना फेला पारे। एलेक्जेण्डरले सेनालाई गुफाको वरपर पहरा दिन आदेश दिए ताकि उनी बाहेक अरू कसैले प्रवेश गर्न नसकोस्।

जब एलेक्जेण्डर भित्र गएर पानी पिउन लागे, उनले एउटा आवाज सुने – “कृपया मलाई सुनेर मात्र पानी पिउनुहोस्”। उनले चारैतिर हेरे र एउटा परेवा देखे। बोल्ने परेवा देखेर उनी चकित भए। परेवाले उनलाई भन्यो कि उसले लाखौं वर्ष पहिले झरनाको पानी पिएको थियो। उसले भन्यो, उ त्यतिबेला धेरै खुशी थियो। परेवाले आफूले चाहेका सबै कुरा गर्‍यो। त्यसपछि, उसले नयाँ कुराहरू फेला पार्‍यो र ती अनुभव गर्‍यो जुन अन्य परेवाले कल्पना समेत गर्न सक्दैनथे। किनकि ऊ अमर थियो।

उसले सकेसम्म धेरै कुरा बुझ्यो, भोग्यो। तर पछि परेवा निकै थाक्यो र मर्न चाह्यो। उसले पानीमा डुबेरदेखि आगोले जलेर मर्नेसम्म धेरै कोशिश गर्‍यो तर ऊ मर्न सकेन, किनकि ऊ अमर थियो। परेवाले भन्यो- अहिले ऊ धेरै दु:खी छ र उसको जीवनमा कुनै रमाइलो छैन। उसलाई आफ्नो अमरत्वप्रति चरम वितृष्णा र घृणा छ।

एलेक्जेण्डरले पानी फ्याँकेर गुफाबाट बाहिरिए र फेरि कहिल्यै फर्किएनन्। उनले त्यो झरनालाई पुर्न लगाए ताकि कसैले पनि दुःख पाउनु नपरोस्। यसबाट हामीले बुझ्नुपर्दछ कि मृत्युभन्दा अमरत्व धेरै डरलाग्दो कुरा हो। मृत्युको डरले नै हाम्रो जीवन सुन्दर हुन्छ।

मान्छेहरू आफ्नो बच्चाहरू हुन् भन्ने चाहन्छन्। यसको मनोवैज्ञानिक कारण मृत्युको डर हो। प्रत्येक मानिसले आफ्नो हृदयको गहिराइबाट बुझेको छ कि ऊ एक दिन मर्नेछ। र अमरत्वको निरन्तर चाहनाले उसलाई आफ्नो नाम आफ्ना बच्चाहरू मार्फत बाँचिरहन बाहेक अरू कुनै विकल्प देख्दैन।

मृत्युबाट डराउनुपर्दैन। मृत्युका कारण नै हामी आफूले गर्ने काममा रमाउँछौं। मृत्यु त्यस्तो कुरा हो जसले सबै दुःख अन्त्य गर्दछ। मृत्यु पनि जीवन जत्तिकै सुन्दर छ।

नित्सेले भनेका छन्– “गर्वका साथ मर्न सकिन्छ तर गर्वका साथ बाँच्न सकिन्न।”

(लेखकको मृत्युको आयु उपन्यास प्रकाशित छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?