नविन अर्याल
३० पुस, काठमाडौं । जहाज अभावमा हुँदाखाँदाका अन्तराष्ट्रिय उडान कटौती गरेर खुम्चिइरहेको नेपाल बायु सेवा निमगले हप्तामा ५० उडान गर्दै छ भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।
तर, दुई नयाँ एयरबस ल्याएपछि पुरानो शाखलाई फर्काउने खाका बनाइरहेको नेपाल बायुसेवा निगमका लागि यो सपना त्यति धेरै टाढा छैन् ।
निगमले खरिद गर्न लागेका दुईवटा एयरबस ‘ए-३२०’ जहाजमध्ये पहिलो जहाज माघ २४ गते नेपाल आउँदैछ । अर्को जहाज पनि चैतको अन्त्यसम्म नेपाल आइपुग्ने बताइएको छ ।
यही बर्षभित्र निगमले अहिले उडान भरिरहेका चारवटा गन्तव्यलाई बढाएर ९ पुर्याउँदै छ भने उडान संख्या ५० पुग्ने छ । अहिले निगमले दुईवटा बोइङबाट हङकङ, दोहा, बैंकक र मलेसियामा उडान भरिरहेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज पुगेपछि मुम्बई, बैङलोर, दिल्ली, दुबई, चीनको गोन्झाओमा उडान सुरु गर्ने निगमका प्रवक्ता रामहरि शर्माले बताए । यी गन्तव्यहरुमा निगमको उडानसँगै बिदेशी बायुसेवा कम्पनीहरुको दबदबा केही कम हुने छ ।
अहिले निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि प्रयाप्त जहाज नहुँदा विदेशी विमान कम्पनीहरुले यात्रुहरुसँग चर्को भाडा असुल्दै आएका छन् ।
प्रवक्ता शर्माका अनुसार पहिलो जहाजबाट फागुन ८ गते भारतको नयाँ दिल्लीमा उद्घाटन उडान हुने छ । दिल्ली उडानका लागि निगमले तालिकासमेत तयार पारिसकेको छ ।
विस्तारै भारतको मुम्बई र बैंगलोरमा पनि उडान विस्तार हुने निगमका उप-निर्देशक पुष्पलाल पोतेले जानकारी दिए । निगमले अहिले ल्याउन लागेको न्यारो बडी जहाज लगातार ६ घण्टा मात्र उड्न सक्छन । जसले गर्दा युरोप, जापान लगायत टाढाका गन्तव्यमा यी जहाजबाट तत्काल उडान सम्भव छैन् ।
निगमले चारवटा जहाज पुगेपछि हप्तामा दिल्ली १४, मुम्बई ३, बैङलोर ३, हङकङ ३, बैंकक ३, ग्वाङ्झाउ ३, दुबई ७, दोहा ७ मलेशिया ७ वटा उडान गर्ने तयारीमा रहेको छ ।
सुरुमा निगमले दुबईमा हप्ताको ४ वटा उडान भर्ने बताउँदै प्रवक्ता शर्माले विस्तारै ७ वटा उडान पुर्याउने लक्ष्य रहेको बताए । त्यस्तै, अहिले हप्तामा ४ वटा उडान भइरहेको दोहामा पनि ७ वटा उडान पुर्याउने तयारी छ ।
चारवटा जहाज पुगेपछि निगमले उडान गर्ने गन्तव्यहरू
गन्तव्य | उडान संख्या (हप्तामा) |
---|---|
दिल्ली | १४ |
मुम्बई | ३ |
बैङलोर | ३ |
हङकङ | ३ |
बैंकक | ३ |
गोन्झाउ | ३ |
दुबई | ७ |
दोहा | ७ |
मलेशिया | ७ |
कुल उडान | ५० |
नेपाली कामदारको पहिलो गन्तव्यका रुपमा रहेको मलेसियामा भने अहिले पनि निगमले दैनिक एक उडान भर्दै आएको छ । नयाँ जहाज आएपनि मलेसियामा भने उडान थप नगर्ने शर्माले जानकारी दिए ।
नेटवर्क धमाधम
निगमले मलेसिया, हङकङ, बैंककमा त्यहाँको प्यासेन्जर सेल्स एजेन्ट (पीएसए)को सहयोगमा आफ्नै कार्यालय खोलेर व्यवस्थापनको काम गर्दै आएको छ । कतारको दोहामा भने जनरल सेल्स एजेन्ट (जीएसए) मार्फत टिकट बिक्री गरिहेको छ ।
दुबई र भारतका लागि पनि जीएसएको प्रकृया अगाडि बढाइसकेको निगमले जानकारी दियो । भारतमा निगमको जीएसए लिने एजेन्टले तीनै ठाउँमा कार्यालय खोलेर सेवा प्रदान गर्ने छ । चीनको गोन्झाओका लागि पनि जीएसएको प्रकृया अघि बढ्दै छ ।
‘निगमले सिमित साधनबाट अधिकतम सेवा उपलब्ध गराउँदै आएको छ’ प्रवक्ता शर्माले भने । निगमले दैनिक १४ घण्टासम्म जहाजलाई उडाएर यात्रुहरुलाई सेवा प्रदान गरेको छ ।
प्रतिक्रिया 4