राजकुमार थापा
प्राकृतिक सौन्दर्ययुक्त गाउँमा आतिथ्य स्वीकार गर्न पाउँदा बेग्लै रमाइलो हुन्छ । यस्तो सौभाग्य होम स्टेमा मात्र पाइन्छ । होम स्टेमा बस्न जानेहरुलाई गाउँलेहरुले मालासहित स्वागत गर्छन् ।
क्याप्टेन रुद्रमान गुरुङ्गले ०५४ सालमा स्याङजाको सिरुबारीबाट सुरु भएको होम स्टे अहिले देशभरि विस्तार भइरहेको छ । घरायसी वातावरणअनुसार स्वागत गर्ने तथा घरमै बसेको अनुभूति हुने भएकाले यसतर्फ मानिसहरु आकषिर्त भएका हुन् ।
सरकारले लमजुङको काउलेपानीलाई उत्कृष्ट गाउँ पर्यटन गन्तब्य घोषणा गरेपछि होम स्टेमा बास बस्न जानेको संख्यामा वृद्धि भएको छ । अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे लगायतका दर्जनौं हिमाललाई आँखै अगाडि हेर्न पाइने काउलेपानीमा अहिले १३ वटा घरमा होम स्टे रहेका छन् ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटाफ) ले गाउँ पर्यटनलाई विस्तार गर्ने उद्देश्यले काम गरिरहेको छ । भिटाफले काउलेपानीमा आयोजना गरेको कार्यक्रममा सहभागी भई पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले समेत होमस्टेको अनुभव लिएका छन् । उनले काउनले पानी बाट हिमालको दृश्य अवलोकन गरेपछि यहाँ आउने पर्यटकलाई हिमालको दृश्य हेर्नका लागि भ्यू टावरसमेत बनाउने वाचा गरेका छन् ।
पोखराबाट १ सय १५ किमी टाढा रहेको काउलेपानीमा गुरुङ, नेवार र भुजेल जातिको बसोबास छ । हरेक गाउँलाई नमूना पर्यटकीय गाउँका रुपमा बिकास गर्ने तथा गाउँलेहरुको आर्थिक, सामाजिक, प्राविधिकरुपले समेत उन्नति गर्नका लागि आयोजना गरिएको काउलेपानी भिलेज फार्म टिममा पत्रकार, पर्यटन व्यवसायीहरुको सभागिता थियो ।
काउलेपानीमा होम स्टे मात्रै नभएर यहाँबाट केही दिनको पदयात्रा समेत गर्न सकिन्छ । तनहुसुर, गहते, पुरानकोटलाई जोडेर ५ दिनको पदयात्रा गर्न सकिन्छ । यो पदयात्रामा ऐतिहासिक, सांस्कृतिक झलक एवं प्रकृतिका मनोरम दृश्यहरुसहित गाउँलेहरुको आथित्य स्वीकार गर्न सकिन्छ ।
(लेखक भिटाफका महासचिव हुन् )
प्रतिक्रिया 4