८ फागुन, काठमाडौं । सरकारले एकीकृत सेवा केन्द्रको स्थापनालार्इ लिएर बाराको सिमरामा भइरहेको आन्दोलन स्थगित गर्न आग्रह गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी एकीकृत सेवा केन्द्रको स्थापना गर्ने वा कार्यालय विस्तार गर्ने विषयलाई लिएर बाराको सिमरा लगायत अन्य जिल्लाका भइरहेको विरोध कार्यक्रम स्थगित गरेर संविधान निर्माणको संवेदनशील घडीमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
नागरिकलाई दिइनुपर्ने सार्वजनिक सेवा सहज र सुलभ होस् भन्ने उद्देश्यले आवश्यक देखिएका सबै ठाउँमा यस्ता सेवा केन्द्रको स्थापना गर्ने वा कार्यालय विस्तार गर्ने सरकारको नीति रहेको विज्ञप्तीमा उल्लेख छ ।
प्रत्येक जिल्लाबाट व्यापकरुपमा सेवा केन्द्र वा कार्यालय स्थापनाको निमित्त माग भइआएकामा प्रस्तावित सेवा केन्द्र वा त्यस्तो कार्यालयबाट लाभान्वित हुने जनसङ्ख्याको र भौगोलिक अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी त्यस्तो कार्यालय स्थापना गर्ने सरकारको सोच रहेको मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ-‘तर केही प्रस्तावित ठाउँको सम्बन्धमा स्थानीय तहमा विवाद र असन्तुष्टी देखिएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’
जनतालाई यथासम्भव नजिकबाट सेवा दिने कार्यलाई विवादरहीत रुपमा सञ्चालन गर्न विवाद उठेका जिल्लामा स्थानीय आवश्यकता र सहमति गरेर आवश्यकताअनुसार विज्ञको रायसमेत लिई यस्ता सेवा केन्द्र स्थापना हुने सरकारले प्रष्ट पारेको छ ।
प्रतिक्रिया 4